३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

सवस्टेशन निर्माणमा ढिलाइ

Share:
  

गोपाल गडतौला
पूर्वी क्षेत्रको विद्युतीकरण व्यवस्थित गर्न र भोल्टेज सन्तुलित गर्न निर्माण शुरू गरिएको कावेली करिडोर १३२ केभी प्रसारण लाइनको झापा लखनपुरस्थित सवस्टेशन निर्माण ठेकेदार कम्पनीको लापरबाहीका कारण अवरुद्ध भएको छ। १८ माघ २०६९ मा बनिसक्नुपर्ने सवस्टेशनको मुख्य टावर अझै बनेको छैन। १७ असार २०६७ मा सवस्टेशनको संयुक्त ठेक्का लिएका चीनको 'डालियन गुयांगमिंग मेकानिकल एन्ड इलेक्ट्रिकल इन्स्टलेसन कम्पनी लिमिटेड' र 'मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि' ले निर्माण पूरा गरेपछि पाउनुपर्ने रु.२० करोडमध्ये प्राधिकरणसँग रु.१७ करोड लिइसकेका छन्। निर्माण पूरा नगरी ठेकेदार कम्पनीका प्रतिनिधि दुई महीनादेखि सम्पर्कबाहिर रहेकाले रु.२ करोड ३८ लाख जरिवाना तोकेर चिट्ठी पठाइएको आयोजनाका साइड इन्चार्ज राजेन्द्र प्रसाईं बताउँछन्।

यो सवस्टेशन एशियाली विकास ब्याङ्कको रु.२ अर्ब ५८ करोड ४० लाखको ऋण सहयोगमा बन्ने आयोजनाको एक भाग हो। आयोजना अन्तर्गत इलामको गोदक, पाँचथरको फिदिम र कावेलीमा पनि सवस्टेशन निर्माण हुँदैछन्।

दक्षिण इलामको माइखोलामा सानिमा हाइड्रोले २२ मेगावाट विद्युत् उत्पादन शुरू गर्दैछ। जसलाई केन्द्रीय प्रसारणमा जोड्न सवस्टेशन आवश्यक पर्छ। बुटवल पावर कम्पनीले ठेक्का लिएको ३५ मेगावाट उत्पादन हुने कावेली एको निर्माण पनि चालु छ। मेचीका हेवाखोला, कनकाई र कावेलीबाट १५० मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोड्ने आयोजनाको लक्ष्य छ।

गोपाल गडतौला, झापा


महँगियो अलैंची

अलैंचीको मूल्य बढेर किसानले यो वर्ष फाइदा लिए पनि रोग र कीराबाट अलैंची खेती खतरामा परेको छ।

लक्ष्मी गौतम
फिदिम बजारमा अलैंची बिक्रीका लागि गाउँबाट आएका किसान।
२६चैतमा पाँचथरको एकतिन गाविसका दिलप्रसाद अधिकारी फिदिम बजारमा १५० किलो अलैंची बिक्री गरेर रु.३ लाख १८ हजार ७५० हात पारेपछि खुशी देखिए। अलैंचीको मूल्य चैत अन्तिम साता अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाले उनले नसोचेको रकम हात पारेका थिए। अहिले त्यहाँ अलैंचीको मूल्य प्रति मन रु.८५ हजार अर्थात् प्रतिकिलो रु.२ हजार १२५ पुगेको छ।

अरु अन्न उत्पादन नहुने भिरालो खोल्सा र पाखामा फल्ने 'खोल्साको सुन' भनिने अलैंची पूर्वी पहाडी जिल्लाबाट झापाको बिर्तामोड हुँदै भारत र बंगलादेश पुर्‍याइन्छ।

मसला, बिस्कुट, बेकरी, सुगन्धित तेल र रक्सी बनाउन प्रयोग हुने अलैंचीको माग भारत र बंगलादेशको बजारमा बढेकाले मूल्य बढेको फिदिमका व्यापारी प्रकाश नेपाल बताउँछन्।

भदौदेखि मंसीरसम्ममा उत्पादन हुने यसको मूल्य बढे पनि धेरै किसानसँग अहिले 'स्टक' छैन। धेरै किसानले पहिले नै बिक्री गर्ने हुनाले स्टक नरहेको एकतिन गाविसका अधिकारी बताउँछन्। तर, भण्डारण गर्ने व्यवसायीले भने मूल्य वृद्धिबाट लाभ पाएका छन्। मूल्य बढ्दै गएकाले केही दिनमै प्रति मन रु.१ लाखसम्म पुग्न सक्ने व्यापारीहरु बताउँछन्।

तीन वर्षअघि प्रति मन रु.६५ हजारसम्म पुगेको अलैंचीको मूल्य दुई वर्षयता घटेर प्रति मन रु.४५ देखि रु.५० हजारसम्म पुगेको थियो।

अलैंची विकास कार्यालय फिक्कल इलामका प्रमुख पदमप्रसाद अधिकारीका अनुसार, पछिल्लो समय लमजुङ, कास्की, दोलखा, काभ्रे, बागलुङ, अर्घाखाँची, सल्यान जाजरकोट र धादिङ लगायतका जिल्लामा पनि अलैंची खेती विस्तार भएको छ।

वैद्यखानाहरुले रक्तशोधक, शक्तिवर्द्धक, दम र खोकीका औषधि बनाउन प्रयोग गर्ने अलैंची २ हजारदेखि ३ हजार मिटरसम्मको उचाइ, ७ देखि २० डिग्री सेल्सियस तापक्रम र वार्षिक १५ सयदेखि ५ हजार मिलिमिटरसम्म वर्षा हुने पहाडको पूर्वी र उत्तरी मोहडा भएको सेपिलो जग्गामा फल्छ।

रोग कीराको प्रकोप

पूर्वी पहाडको प्रमुख आम्दानीको स्रोत रहेको अलैंचीलाई छिर्के–फुर्के, लाई र ढुसी कीराको प्रकोपले समस्या पारेको छ।

पाँचथरमा गत वर्ष ५९० टन अलैंची उत्पादन भएकोमा यो वर्ष १२ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय पाँचथरका प्रमुख रोहिणी घिमिरे बताउँछन्।

रोग कीराको प्रकोपले अलैंची बगान मासिने खतरा आएपछि जिल्ला कृषि विकास कार्यालय, पाँचथरले रवि, रानीटार र थर्पु गाविसमा अलैंचीका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ। यो वर्ष ती नर्सरीबाट करीब १२ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिइएको घिमिरे बताउँछन्। स्वस्थ बिरुवाबाट अलैंची उत्पादन हुन थालेपछि उत्पादन वृद्वि हुने उनको विश्वास छ।

लक्ष्मी गौतम, पाँचथर

comments powered by Disqus

रमझम