७-१३ वैशाख २०७१ | 20-26 April 2014

नियमित गराउँदैनन्

Share:
  
- मीना शर्मा
गर्भवतीले चार पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने भए पनि ५० प्रतिशत महिलाले मात्रै परीक्षण गराएका छन्।

देबकी बिष्ट
थापाथलीस्थित प्रसूतिगृहमा स्वास्थ्य परीक्षण गराउन आएका गर्भवती महिला।
वाक्वाकी आउने, खान मन नलाग्ने र रिंगटा लाग्ने हुन थालेपछि नजिकैको स्वास्थ्य संस्था पुग्दा ललितपुरकी विष्णु तामाङ (१७) लाई आफू गर्भवती भएको थाहा भयो। गर्भवती बनेपछि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने थाहा नपाएकी उनी स्वास्थ्य चौकीमा पुरुष मात्र हुने भएकाले आफ्ना समस्या भन्न लाज लागेर स्वास्थ्य परीक्षण नगराएको बताउँछिन्। पहिलो पटक आमा बन्न लागेकी उनी अहिले आठ महीनाकी गर्भवती छन्।

महिलामैत्री छैनन् स्वास्थ्य संस्था

घरबाट दुई घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ परीक्षण गराएकी प्यूठानकी विन्दु केसी (२३) (नाम परिवर्तन) पनि परिवारले जानु नपर्ने भनेकाले थप परीक्षण नगराएको बताउँछिन्। गर्भवती हुँदा खानुपर्ने औषधि र अपनाउनुपर्ने सावधानी बारे जानकारी नपाएकी उनले स्वास्थ्य परीक्षणबारे स्वास्थ्यकर्मी र परिवारका सदस्यको भनाइ विपरीत रहेको बताइन्। सासूले हिंड्दा हिंड्दै बच्चा जन्माएको बताएर परीक्षण गराउन निरुत्साहित गर्ने गरेको उनको भनाइ छ।

ललितपुरकी आशामाया लामा (२३) (नाम परिवर्तन) ले १८ किलोमिटर टाढा काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेकोे उनको परिवारलाई थाहा छैन। पहिलो बच्चा घरमै जन्माएकी उनी स्वास्थ्य समस्या नभए पनि जचाउनुपर्छ भन्ने थाहा पाएर बजार जाने निहुँमा अस्पताल आएको बताउँछिन्। नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने रेडियो सुनेर थाहा पाएको उनको भनाइ छ।

विष्णु, विन्दु र आशामायाको भनाइले स्वास्थ्य संस्थाहरूमा महिला स्वास्थ्यकर्मी नभएको तथा परिवारबाट साथ नपाएकोले सरकारले निःशुल्क दिएको गर्भ परीक्षणको सुविधा महिलाले नलिएको देखाउँछ। त्यसैगरी कैयौं महिलाहरूले गर्भावस्थामा चार पटक परीक्षण गराउनुपर्नेमा एक पटक मात्र गराएको पनि देखिन्छ। काठमाडौंमा मजदूरी गर्ने विष्णुमाया मगर (२५) पाँच महीनाको गर्भ हुँदा दुई पटक जानुपर्नेमा एक पटक मात्र स्वास्थ्य संस्था गएकी छन्। सब थाहा भए पनि समस्या नदेखिएकाले अस्पताल जाने झ्न्झ्ट नउठाएको उनको भनाइ छ। गह्रौं भारी नउठाउन र खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीले दिने सल्लाह मजदूरी गर्नुपर्ने भएकाले मान्न नसकिने हुँदा स्वास्थ्य संस्था नियमित नगएको उनी बताउँछिन्। आइरन चक्की खानुपर्ने कारण थाहा नभएको बताउने उनी आइरन चक्कीले दिसा कालो बनाउने थाहा नपाएर जचाउन अस्पताल पुगेको र चिकित्सकले बताएपछि ढुक्क भएको उनको भनाइ छ।

तर, २०६५ देखि 'आमा सुरक्षा कार्यक्रम' लागू भएपछि स्वास्थ्य संस्था जाने गर्भवती महिलाको संख्यामा वृद्धि भएको परिवार स्वास्थ्य महाशाखा टेकुको सुरक्षित मातृत्व कार्यक्रमकी फोकल पर्सन डा. शिलु अर्याल बताउँछिन्। उनको भनाइमा परामर्श सहितको प्रभावकारी सेवा भने अझ्ै दिन बाँकी छ।

आमा सुरक्षा कार्यक्रमले सन् १९९६ मा प्रति लाखमा ५३९ रहेको मातृ मृत्युदर अहिले १७० मा झ्ारेकोले यसलाई अरू प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। सहस्राब्दी विकास लक्ष्यमा पुग्न नेपालले सन् २०१५ सम्ममा मातृ मृत्युदर प्रति लाखमा १३४ मा झ्ार्नुपर्नेछ भने बाल मृत्युदर प्रति हजारमा ४५ रहेकोमा ३३ मा झ्ार्नुपर्नेछ। परिवार स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार अहिले अस्पतालमा प्रसूति सेवा लिने महिलाको संख्या ४५ प्रतिशत पुगेको छ। सहस्राब्दी लक्ष्य भेट्टाउन ६० पुग्नुपर्छ।

बुझाउन कठिन

स्थानीय एकीकृत विकास समाज (सोलिड) नेपालले चैत २०६९ देखि कात्तिक २०७० सम्म प्यूठान, ललितपुर, दार्चुला, कपिलवस्तु र संखुवासभामा गरेको अध्ययनले स्वास्थ्यकर्मी बिरामीमैत्री हुन नसकेकाले स्वास्थ्य परीक्षण गराउने महिलाको संख्या बढ्न नसकेको देखाउँछ। सोलिडका कार्यकारी निर्देशक डा. खेम कार्की स्वास्थ्य संस्थामा राम्रो भौतिक संरचना नहुनु, गोपनीयता नराखिनु, महिला स्वास्थ्यकर्मी नहुनु, लामो समय कुर्नुपर्ने जस्ता समस्याका कारण स्वास्थ्य परीक्षण गर्न महिला उत्साहित नभएको बताउँछन्। अध्ययनले स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणको महत्वबारे बुझाउन नसकेको तथा तराईमा संस्कारका कारण तथा पहाड र हिमालमा परामर्श नपुगेकाले महिलाहरूले गर्भ परीक्षण नगराएको उनी बताउँछन्। स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सुधार शाखाका प्रमुख डा. बाबुराम मरासिनी पनि पहाड र हिमालमा भौगोलिक र तराईमा संस्कारका कारण परीक्षण गराउनेको संख्या कम भएको स्वीकार्छन्।

तर, आवश्यक भन्दा निकै कम रहेका स्वास्थ्यकर्मीले कामको बोझ्का कारण कहिलेकाहीं राम्रो व्यवहार गर्न नसके पनि उनीहरूकै कारण मातृ तथा शिशु मृत्युदर घटेको भने बिर्सन नहुने मरासिनीको भनाइ छ। धेरै हेल्थपोष्टसम्म यातायात सुविधा नपुगेकाले हिंडडुल गर्न नसक्ने अवस्थाका ६ महीना पुगेका गर्भवतीलाई चौथो पटक स्वास्थ्य परीक्षण गर्न गाह्रो भएको पनि उनी बताउँछन्। बच्चा उल्टो हुँदा वा गर्भवतीलाई रगतको आवश्यकता पर्दा घरमा भन्दा स्वास्थ्य संस्थामा बच्चा जन्माउनु आमा र बच्चाका लागि सुरक्षित हुने डा. मरासिनीको सुझाव छ।

परिवार स्वास्थ्य महाशाखाका अनुसार आर्थिक वर्ष २०६९/७० मा पहिलो पटक ६ लाख ५२ हजार ७० जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएकोमा चौथो पटक तीन लाख ६६ हजार १९६ ले मात्र परीक्षण गराएका थिए। हिमालमा पहिलो पटक ३९ हजार १२४ र चौथो पटक १९ हजार ७३०, पहाडमा पहिलो पटक दुई लाख ६२ हजार ३९५ र चौथो पटक एक लाख ५३ हजार ९३६ तथा तराईमा पहिलो पटक तीन लाख ५० हजार ५५५ र चौथो पटक एक लाख ९२ हजार ५३० ले परीक्षण गराएको महाशाखाको तथ्याङ्क छ।

नर्सिङ क्याम्पस महाराजगञ्जकी सह– प्राध्यापक किरण बज्राचार्य पनि स्वास्थ्यकर्मीले गर्भ परीक्षणको महत्व बुझाउन नसकेकाले नियमित स्वास्थ्य परीक्षण गर्ने महिलाको संख्या नबढेको बताउँछिन्। महिनामारीको वेला चाहिने सुविधा पनि महिलाहरूले नपाएको उनको भनाइ छ। मिडवाइफ सोसाइटी अफ नेपाल (मिडसन) की अध्यक्ष समेत रहेकी उनले सन् २००६ मा सबै गाउँमा 'मिडवाइफ' को व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयको लक्ष्य पूरा नभएको पनि बताइन्। गर्भ जाँच गर्न सक्ने मिडवाइफ हुँदा अस्पतालमा थोरै स्वास्थ्यकर्मी हुँदा पनि पुग्ने र गर्भवती महिलाले अस्पताल धाउनु नपर्ने बज्राचार्यको भनाइ छ। त्यसो हुँदा मातृ तथा शिशु मृत्युदर घटेर सहस्राब्दी लक्ष्य हासिल हुने उनको विश्वास छ।

comments powered by Disqus

रमझम