७-१३ वैशाख २०७१ | 20-26 April 2014

शिक्षा र स्वास्थ्यमा आशा

Share:
  
- बच्चु विक, धनगढी
स्वास्थ्य र शिक्षामा अहिले दयनीय अवस्थामा रहेको सुदूरपश्चिम त्यही क्षेत्रमा अघि बढ्ने सम्भावना छ।

दीर्घराज उपाध्याय
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले वि.सं. १९८७ मा सत्यवादी प्राथमिक विद्यालय खोलेर रामदत्त अवस्थीलाई शिक्षकमा नियुक्त गरी सुदूरपश्चिममा शिक्षाको जग हालेका थिए। तर, अहिले पनि त्यहाँको शैक्षिक अवस्था धेरै राम्रो छैन। बझाङका १ कक्षामा अध्ययनरत ५९ प्रतिशत विद्यार्थीले मात्रै सबै विषयका पुस्तक पाउने गरेको सरकारी तथ्याङ्क छ।

बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा सहित कैलाली र कञ्चनपुरको अवस्था पनि शिक्षामा उस्तै छ। अरू क्षेत्रको तुलनामा सुदूरपश्चिमको शैक्षिक अवस्था कमजोर रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामहरिदास श्रेष्ठ पनि स्वीकार्छन्। शिक्षामा जस्तै यो क्षेत्रको स्वास्थ्य क्षेत्र पनि राम्रो छैन। प्राथमिक स्वास्थ्य सेवा पाउन यहाँका कैयौं गाउँका बासिन्दाले एक/दुई दिन हिंड्नुपर्छ या त भारतीय शहर बजार नै पुग्नुपर्छ। पहाडी क्षेत्रमा प्रत्येक वर्ष छाउपडी गोठमा गर्भवती आमा र शिशु तथा महिनावारी भएका युवतीले अकालमा ज्यान गुमाउँछन् भने तराईका जिल्लामा सर्पदंश, झाडापखाला, निमोनियाले बालबालिकादेखि वृद्धवृद्धासम्मको मृत्यु हुन्छ।

धुमिल विगत

बझाङमा सत्यवादी प्राथमिक विद्यालय खुलेपछि २००४ मा बैतडीको पुर्चौडीमा अर्को प्राथमिक विद्यालय स्थापना भयो। त्यसअघि पनि बझाङ, बैतडी र डोटीका विभिन्न स्थानमा भाषा पाठशाला सञ्चालनमा रहेको शिक्षाविद् डिल्लीराज लेखक बताउँछन्। बनारस, कर्नाटक, दार्जीलिङबाट ल्याइएका 'गुरु' हरूले त्यो वेला भाषा पाठशालामा अक्षरारम्भ गराउँथे।

२००७ को क्रान्तिपछि २००८ मा बैतडी, बझाङ, डोटी, डडेल्धुरा सदरमुकाम तथा केही गाउँहरूमा प्राथमिक विद्यालय खुले। तर, पञ्चायतकाल र २०४६ को प्रजातन्त्रपछि सुदूरपश्चिमले राज्यको प्राथमिकता नपाएकाले शिक्षा क्षेत्रमा पछि परेको बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका पूर्व प्रमुख लेखक बताउँछन्। २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पनि सुदूरपश्चिमका बासिन्दाले शिक्षाका लागि भारतीय शहर वा काठमाडौं धाउनुपर्ने अवस्था कायम छ। शिक्षामा पछि परेकाले गर्भवती आमालाई व्यथा लाग्दा वा अरूलाई झाडापखाला लाग्दा धामी–झाँक्रीलाई देखाउने चलन कायम रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक परशुराम श्रेष्ठ बताउँछन्।

ढुलमुल वर्तमान

अछाम जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो वर्ष छाउपडीमा ८ जना युवतीले ज्यान गुमाए। बाजुरामा पनि उपचार नपाएर यो वर्ष पाँच जना गर्भवती आमाको मृत्यु भयो। तराईका कैलाली–कञ्चनपुरमा गत तीन महीनामा भएका सात वटा सवारी दुर्घटनामा सामान्य घाइते भएकाको उपचार गर्न नसकेर भारत लैजाँदा १३ जनाले बाटोमै ज्यान गुमाए। “ह्युमन रिसोर्सको कमी रहेकाले स्वास्थ्य सेवा राम्रो हुनसकेको छैन” क्षेत्रीय स्वास्थ्य निर्देशक श्रेष्ठ स्वीकार्छन्।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिममा २५ प्रतिशत स्वास्थ्यकर्मी अपुग छन्। पहाडी जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा कहिलेकाहीं चिकित्सकको पदपूर्ति हुने भए पनि तराईका कैलाली र कञ्चनपुरमा सधैंभरि चिकित्सक दरबन्दी रिक्त हुन्छ। महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा १८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी दुई वर्षदेखि खाली छ। धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा एनेस्थेसिया र फिजियोथेरापिष्टको दरबन्दी सधैं रिक्त हुन्छ। पहाडी जिल्लाहरूमा दुई वर्ष काम गर्दा थप अध्ययन र पदोन्नतिका लागि सहयोग पुग्ने भएकाले चिकित्सक जान्छन् भने तराईका जिल्लामा केही नपाइने भएकाले चिकित्सक नआउने महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष खड्कबहादुर बस्नेत बताउँछन्।

धनगढी–महेन्द्रनगरका सेती र महाकाली अञ्चल अस्पताल नेपालगञ्ज र भारतका अस्पतालमा बिरामी पठाउने 'रिफरल सेन्टर' जस्तै बनेका छन्, पहाडका जिल्ला अस्पतालहरू भने भौतिक पूर्वाधार, औषधि र उपकरण अभाव झ्ेलिरहेका छन्। मध्यपश्चिमबाट छुट्याएको ३५ वर्ष बितिसक्दा पनि सुदूरपश्चिममा न क्षेत्रीय अस्पताल छ, न मेडिकल कलेज। डडेल्धुरामा उपक्षेत्रीय अस्पताल भनेर विभागीय घोषणा गरिएको आठ महीना भए पनि मन्त्रिपरिषद्ले निर्णय नगरेकाले उपचार शुरू भएको छैन। बाढीले बगाएको दार्चुला जिल्ला अस्पताल दश महीनादेखि सडकमै छ भने कैलालीको मालाखेती, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा प्राथमिक स्वास्थ्य केन्द्रलाई दश/दश शैच्चयाको अस्पताल भएको घोषणा गरेर पनि संचालन गरिएको छैन।

तीन वर्षयता एसएलसीको उत्तीर्ण दर घटेको छ। सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, शिक्षक, शिक्षण सामग्रीको अभाव छ भने संस्थागत विद्यालयमा निम्न तथा मध्यम वर्गीय परिवारका बालबालिकाको पहुँच छैन।

सामुदायिक उच्च माविहरू प्रत्येक वर्ष थपिए पनि गुणस्तरीय छैनन्। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसहरू प्रतिस्पर्धी छैनन्। बाहिर पढ्न जानेले उतै जागिरे भएर घरजम गर्ने हुनाले यो क्षेत्रले दक्ष जनशक्तिको अभाव पनि भोग्नु परेको छ। सरकारले यहाँ प्राविधिक शिक्षण संस्था खोलेको छैन भने निजी क्षेत्रले खोलेका शिक्षण संस्थाहरू महङ्गा छन्। चार वर्षअघि स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नेपाल सरकारको लगानीमा सञ्चालन हुने भनेर ऐन बनाइए पनि सरकारले बजेट नदिएकाले समस्यामा छ।

आशलाग्दो भविष्य

तर, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी संकायका डीन डा. टेकराज पन्त शिक्षा र स्वास्थ्यबाट सुदूरपश्चिमलाई आर्थिक रूपमा समुन्नत बनाउन सकिने विश्वास व्यक्त गर्छन्। त्यसका लागि अर्धदक्ष जनशक्ति नै भए पनि तयार गरेर उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ छ। प्राविधिक शिक्षालय र मेडिकल कलेज स्थापना भएमा सुदूरपश्चिमलाई चाहिने जनशक्ति उत्पादन हुने उनी बताउँछन्। महेन्द्रनगरमा रहेको सेती–महाकाली नर्सिङ क्याम्पसले अन्य क्षेत्रका विद्यार्थी पनि आकर्षित गरेकाले यो क्षेत्रका बासिन्दा उत्साहित बनेका छन्। (हे.बक्स)

शिक्षाविद् डिल्लीराज लेखकको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा 'वाइल्डलाइफ रिसर्च सेन्टर' स्थापना गरेर विश्वको ध्यान तान्ने सोच छ। त्यसपछि खप्तड राष्ट्रिय निकुञ्जमा 'बायोडाइभर्सिटी रिसर्च सेन्टर' खोलेर जैविक विविधतामा चासो राख्नेहरूलाई तान्न सकिने उनको भनाइ छ। कञ्चनपुरको कुतियाकभरदेखि दार्चुलाको अपिसम्मको करीब ९० किलोमिटरको क्षेत्रमा ८ किसिमका हावापानी रहेको उनी बताउँछन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मार्फत पर्यटन सम्बन्धी अध्ययन/अध्यापन गर्न 'टुरिज्म साइन्स' को पाठ्यक्रम विकास गर्न सकिने सम्भावना पनि छ। कैलाली, कञ्चनपुर वा पहाडी जिल्लाका क्याम्पसहरूमा 'पर्यटन विज्ञान' को सैद्धान्तिक अध्ययन/अध्यापन गराएर दार्चुला र बाजुराको पहाडी तथा हिमाली क्षेत्रमा प्रयोगात्मक अभ्यास गराउन सकिन्छ। कृत्रिम भीर तथा पहरा बनाएर पर्वतारोहण सम्बन्धी अभ्यास हुँदै आएकोमा दार्चुला र बाजुराका पहाडहरूमा प्राकृतिक भीर प्रशस्त छन्।

कैलालीको गेटा आँखा अस्पतालले अहिले नै सुदूरपश्चिमलाई धेरै सहयोग पुर्‍याएको छ। (हे.बक्स) अरू स्वास्थ्य संस्थालाई पनि त्यस्तै बनाउने हो भने भारतीय बिरामीहरूलाई उपचार गर्न ल्याउन सकिने सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक श्रेष्ठ बताउँछन्। पूर्वपश्चिम राजमार्गको अत्तरिया, लम्की, चिसापानी, पहाडी राजमार्गको स्याले, बुडर, खोड्पेमा 'ट्रमा सेन्टर' स्थापना गर्दा सडक दुर्घटनाको उपचार सजिलो हुनेछ। धनगढीको सेती अञ्चल अस्पताललाई क्षेत्रीय अस्पताल र महेन्द्रनगरको महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउँदा स्वास्थ्य सेवा सहज हुने चिकित्सक बताउँछन्।


भारतीय आकर्षण

नेपाल नेत्र ज्योति संघले सन् १९८२ मा गेटा आँखा अस्पताल स्थापना गरेको थियो। सामान्य आँखा उपचारबाट शुरू भएको यो अस्पतालले अहिले आँखाको नानी पनि प्रत्यारोपण गर्छ।

कम खर्चमा उत्कृष्ट सेवा दिएकाले यो अस्पतालमा भारतका बिरामीहरूको पनि घुँइचो लाग्छ। नौ जिल्लामा झन्डै ९ हजार आँखाका सर्जरी क्याम्प सञ्चालन गर्दै यो अस्पतालले ४३ हजारको सफल शल्यक्रिया गरेको छ भने ८ लाख ८३ हजारको आँखा जाँच गरेको छ। भारतमा भारु १५ हजारदेखि भारु २५ हजार लाग्ने आँखाको नानी प्रत्यारोपण यहाँ रु.२२०० मै हुने अस्पताल बताउँछ।

अस्पतालका निर्देशक डा. विद्याधर पन्तले एक दिनमा ३१२ आँखाको शल्यक्रिया गरेर रेकर्ड नै बनाएका छन्। महेन्द्रनगर र टीकापुरमा पनि शाखा अस्पताल सञ्चालन गरेको यो अस्पतालले सुदूरपश्चिमका नौ वटै जिल्लामा उपचार केन्द्र राखेको छ।


उदाहरणीय नर्सिङ क्याम्पस

डा. नेत्रराज चटौतले सन् २००१ मा महेन्द्रनगरमा सेती–महाकाली नर्सिङ क्याम्पस स्थापना गर्दा धेरैले राम्रो मानेनन्। छोरीलाई नर्सिङ पढाए बिग्रिन्छन् भन्ने विश्वासले त्यस्तो भएको डा. चटौतको भनाइ छ। शुरूआतमा विद्यार्थी नपाइएकाले पूर्वबाट लगेर क्याम्पस चलाएको उनी सम्झन्छन्।

तर अहिले त्यहाँ पढ्न विद्यार्थीको तँछाडमछाड देखिन्छ। अहिले यहाँ पचास प्रतिशत भन्दा बढी सुदूरपश्चिमकै विद्यार्थी छन्। “स्तरीय शिक्षा दिन सक्दा अन्य क्षेत्रका विद्यार्थीलाई सुदूरपश्चिम तान्न सकिन्छ भन्ने यो उदाहरण हो” डा. चटौत भन्छन्। अहिले अरू नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, अनमी, सीएमए पढाउने कलेज पनि खुल्न थालेका छन्।

comments powered by Disqus

रमझम