७-१३ वैशाख २०७१ | 20-26 April 2014

सुन्दर सुदूरपश्चिम

Share:
  
- वेद उप्रेती
बाटो, विमानस्थल, केबलकार र होटल जस्ता भौतिक पूर्वाधार हुने हो भने सुदूरपश्चिमका धेरै ठाउँले पर्यटक तान्न सक्नेछन्।

बिक्रम राई
क्याप्टेन उप्रेतीले 'फोकर जेट' जहाजभित्र धनगढीमा संचालन गर्न लागेको म्युजियम।
नेपाल सुन्दर देश भएर पनि पर्यटन क्षेत्रको विकास हुनसकेको छैन। नेपाल आउन महङ्गो हवाई टिकट लाग्ने, टिकट नपाउने जस्ता समस्या पर्यटनको विकास नहुनुको एउटा कारण देखिन्छ। खुम्बु र अन्नपूर्ण क्षेत्रले राम्रै संख्यामा पर्यटक ताने पनि अन्य क्षेत्र र सुदूरपश्चिम पर्यटनमा अझै पछि छन्।

यो क्षेत्रमा पर्यटक बढाउन सडक, विमानस्थल, केबलकार लगायत भौतिक पूर्वाधार बनाउन सरकार र निजी क्षेत्रले प्रयास गरेका छैनन्। मेला वा उत्सव बाहेकको समयमा आन्तरिक पर्यटक पनि नपुग्ने यो क्षेत्रमा भौतिक पूर्वाधारको अवस्था यस्तै रहे आउँदो १० वर्षमा पनि पर्यटकको संख्या बढ्ने देखिंदैन।

संसारमा सबैभन्दा सुन्दर शहर मानिने फ्रान्सको पेरिसमा सिन नदी बाहेक प्राकृतिक रूपमा केही छैन। तर, मानव निर्मित इफेल टावर, लुभ म्युजियम, क्रुज, वासिलिका चर्चले वार्षिक ८ करोड पर्यटक बोलाउने गरेका छन्। लन्डन, रोम, म्याड्रिड, स्टकहोम र स्वीडेनका शहरहरूले लोभ्याउने कारण पनि मानव निर्मित वस्तु नै हुन्। स्वीट्जरल्याण्ड पनि हिउँले भरिएका पहाडसम्म रेलमार्ग, होटल, स्की–क्षेत्र बनाएकैले आकर्षक बनेको हो।

तर, प्राकृतिक रूपले आकर्षक सुदूरपश्चिमका नौ वटा जिल्ला भने भौतिक पूर्वाधार नभएकाले पछिपरेका छन्। ती जिल्लालाई यो पंक्तिकारले आकाश र जमीनबाट अध्ययन गर्दा पर्यटकीय हिसाबले धेरै आकर्षक बनाउन सकिने सम्भावना देखेको थियो।

सम्भावनाको खानी

कैलालीलाई आन्तरिक पर्यटकको गन्तव्य बनाउन सकिने सम्भावना छ। समुद्रमा मात्र पाइने डल्पि्कन यहाँको मोहना र कर्णाली नदीमा पाइन्छन्। तिनलाई स्वीमिङ्ग पुल (डोल्पि्कनेरियम आकार) मा राख्न सकिन्छ। स्पेन लगायत युरोपका कैयौं देशले त्यस्तै गरेका छन्। तर भारत जस्ता कैयौं मुलुकले यस्तो गर्न नपाउने नीति बनाएकाले के गर्ने भन्ने निर्णय हाम्रो सरकारले गर्नुपर्नेछ।

कैलालीको घोडाघोडी तालको चारैतिर पदमार्ग र डुंगा राखेर जल बिहार गराउन सकिन्छ। यो सिमसार क्षेत्र पनि भएकोले सिमसार विशेषज्ञहरूसँग समन्वय गरेर पूर्वाधार निर्माण गर्नु उपयुक्त हुन्छ।

सन् १९७३ मा बनेको कञ्चनपुरको शुक्लाफाँटामा फागुन, चैत, वैशाख र जेठमा बाह्रसिङ्गे लगायतका जनावर राम्रोसँग देख्न पाइन्छ। त्यहाँ एक किमी लम्बाइ र ३०० मिटर चौडाइ क्षेत्रमा तारबार गरेर 'मिनी वाइल्ड लाइफ' स्थापना गर्न सकिन्छ। त्यसो गर्दा पर्यटकले बाह्रै महीना जंगली जनावर हेर्न पाउने छन्।
नेपाल प्रवेश गर्ने नाका सहज र फराकिला सडक बनाउने हो भने भारतको दिल्ली, आगराको ताजमहल, नैनीताल आउने पर्यटक यता आउन सक्छन्। तर, नेपाल छिर्ने सिमानाको पुल समेत दिनभरि खुला हुँदैन।

खप्तडको सुन्दरता

डोटी जिल्लाको खप्तड यो क्षेत्रकै सुन्दर स्थान भए पनि महोत्सव र पर्व बाहेक अन्य वेला पर्यटक पुग्दैनन्। खप्तडको किनारसम्म अझै बाटो पुगेको छैन भने त्यहाँ पर्यटक बस्ने रिसोर्ट/होटल पनि छैनन्। दिपायल विमानस्थललाई सुचारु गरी सिलगढीबाट झिग्रानासम्म पक्की सडक बनाउने र त्यहाँबाट केवलकार खप्तड पुर्‍याउने हो भने पर्यटकको चाप थेगिनसक्नु हुनेछ। त्यहाँ स्की–स्पट पनि बनाउन सकिन्छ। त्यसो गर्दा सिलगढी बजारका सबै घर होम–स्टेमा परिणत हुनेछन्।

अछामको सुन्दर क्षेत्र रामारोशन जोड्ने सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ। तर सदरमुकाम मंगलसेनबाट दुई घन्टाको जीप यात्रा र दुई घन्टाको पैदल यात्रामा पुगिने रामारोशनमा बास बस्ने ठाउँ अझै छैन।

बाजुरामा रहेको सुदूरपश्चिमको ठूलो शक्तिपीठ बडिमालिका, बझाङको सैपाल र दार्चुलाको अपि हिमालछेउ अझै सडक लगायत भौतिक पूर्वाधार पुगेका छैनन्। बैतडीका त्रिपुरासुन्दरी, मेलौली भगवती, देहीमाण्डौंले धार्मिक पर्यटक आकर्षित गर्न सक्छन्।

सदरमुकामको दक्षिणतिरको खोंचमा ताल बनाउने हो भने डडेलधुरालाई भारतको नैनीताल जस्तै हिल स्टेशन बनाउन सकिन्छ। त्यहाँ धार्मिक पर्यटक तान्न सक्ने उग्रतारा भगवती मन्दिर पनि छ।

(धनगढीका स्थायी बासिन्दा र हाल इन्डोनेशियाको लायन एअरलाइन्स्मा प्रशिक्षक पाइलट रहेका उपे्रतीको 'इम्याजिनरी फारवेस्ट नेपाल' पुस्तक प्रकाशनको तयारीमा छ।)

comments powered by Disqus

रमझम