नेपालप्रेमी स्वीस नागरिक जँ लाभेगोले स्वीट्जरल्याण्डको जेनेभा शहरमा नेपालको रोटे पीङ हालेका छन्। जेनेभाका तीन पार्कमा दुई वर्षदेखि सञ्चालित रोटे पीङबाट हजारौं स्वीस र अन्य देशका नागरिकले मनोरञ्जन लिइरहेका छन्। स्वीस जिब्रोले यसलाई 'रोटी पीङ' भन्ने गरेको छ। पीङका निर्माता लाभेगोले नेपालका पहाडी भागमा यसलाई 'रोटी पीङ' नै भनेको आफूले सुनेको बताए।
जेनेभाको रोटे पीङ मनोरञ्जनका लागि मात्र चाहिं हैन। लाभेगो भन्छन्, “खासमा यो मनोरञ्जनसँगै स्वीसहरूलाई नेपाली संस्कृति सिकाउनका लागि पनि हो।” उनका अनुसार, रोटे पीङ खेल्न समूह चाहिन्छ। एक–दुई जना मात्रै पिर्कामा बसेर यो घुम्दैन। यसका चारै दिशामा मिलेर बसेपछि बल्ल सन्तुलन मिल्छ र घुम्छ। एउटै पीङमा धेरै जना खेल्न मिल्ने हुनाले यसले धनी, गरीब, भिन्न भाषा, शैली, उमेर, समुदायका मानिसहरूलाई सँगै बसेर, मिलेर खेल्न प्रेरणा दिन्छ।
आजकाल पश्चिमी समाजमा मानिसहरू एक्लिंदै गएका छन्। आफ्नै भाषा राम्रो, महत्वपूर्ण ठान्ने प्रवृत्ति छ। हुनेखानेहरूले गरीबहरूलाई अलग्याउँछन्। जमघट हुन आफ्नै भाषाका, आफ्नै उमेरका र आफ्नै जस्तो संस्कृति बोकेका मानिसहरू खोज्ने गर्छन्। “त्यसैले समूहमा मिलेर बस्ने, रमाउने संस्कृति पनि सिकून् भनेर मैले यसलाई स्वीट्जरल्याण्ड ल्याएको हुँ”, लाभेगो भन्छन्। यही वर्षको राष्ट्रिय दिवसका दिन १ अगष्टमा जेनेभाको मुख्य भागमा यो पीङ प्रदर्शन गरिएको थियो।
लाभेगो पहिलो पटक सन् १९८० मा नेपाल गएका थिए। त्यतिबेलै रोटे पीङ देखेका उनलाई आफ्नो देशमा पनि यस्तो चिज बनाउन पाए कस्तो होला भन्ने लागेको थियो। त्यस बेला उनले रोटे पीङको नक्शा भएको नेपाली रु.१ को नोट पनि बोकेर काठमाडौं छाडे। त्यसको तीन दशकपछि स्वीस सरकारले 'दिगो विकास महोत्सव' आयोजना गर्ने निर्णय गर्दा उनलाई यो मौका जुरुर्यो। महोत्सवको ढाँचा तयार गर्नेमध्ये पनि परेकाले उनलाई झ्न् सजिलो भयो। उनले आफ्नो सपनालाई कार्यान्वयन गरिहाले, सिकर्मीहरूलाई आफूले कोरेको रेखाचित्र र त्यही पुरानो रु.१ को नोटमा अंकित नक्शा देखाएर। “तर, दुःखको कुरो ३० वर्षअघि मैले नेपालको जुन ठाउँमा यस्तो पीङ देखेको थिएँ, गत जनवरीमा त्यहाँ पुग्दा त्यो भत्किसकेको पाएँ”, लाभेगोले भने।
स्वीट्जरल्याण्डको 'रोटी पीङ' जेनेभाबाट अन्यत्र पनि फैलिन लागेको छ। लाभेगोलाई यस्तै पीङ बनाइदिन फ्रान्सेलीहरूबाट समेत आग्रह आइसकेको छ। “यो जति फैलिन्छ उति नै युरोपेलीमा पनि नेपालीहरू झै भिन्न समुदाय, भाषा, लिङ्ग, धर्म, संस्कृति, पहिरन, संस्कार, उमेर र स्तरका मानिसहरू मिलेर बस्ने संस्कृति बढ्नेछ”, लाभेगो भन्छन्, “यसबाट नेपाल र युरोप दुवैलाई फाइदा पुग्नेछ।”