२२-२८ असार २०७१ | 6-12 July 2014

सन्तान पिरोल्ने झोंक

Share:
  

युवराज श्रेष्ठ
कुनै समय रेडियो नेपालबाट सर्वाधिक बज्ने लोकगीतहरूकी गायिका हुन्– ५२ वर्षीया माया गुरुङ। प्रजातन्त्र दिवसको अवसरमा ७ फागुन २०४५ मा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'गाउँशहरमा लमजुङ दरबार...' गाएर प्रथम भएकी लमजुङ नाल्माकी मायाले त्यसपछिका दिनहरूमा 'सैलुङ्गे डाँडा नाल्माको..., माया सरर...' लगायत करीब २०० गीत गाइन्, रेकर्ड गरिन्। ११ वटा त एकल अल्बम नै निकालिन्। “र पनि, घरायसी कारणले गायनलाई व्यवसाय बनाउन सकिनँ”, माया भन्छिन्, “त्यसमाथि नागरिकताको लागि भौंतारिनुपरेको एक जुग भइसक्यो।”

हुन पनि, लेखमान गुरुङसँग अन्तरजातीय विवाहपछि लगातार दुई छोरा र दुई छोरी हुर्काएकी मायाले नागरिकताका लागि माथापच्ची गरेकै २० वर्ष भइसक्यो। नातिनातिना समेत भइसक्दा पनि उनले नागरिकता नपाउनुमा आफ्नै ससुरा मनिराज गुरुङ (७०) तगारो भएका छन्। मनिराज बाको रीस कति मापाको भने, उनले गुरुङ भएर मगरकी छोरीसँग विवाह गर्ने छोरालाई नागरिकता नदिने दुई दशक पुरानो अड्डी अझै छाडेका छैनन्– कान्छो बाहेक सबै नातिनातिनाबाट पनाति–पनातिनी पाइसक्दा पनि। “ससुराबाले हामी छोराबुहारीलाई नै नागरिकताको सिफारिश गरिदिनुभएन”, मायाले भनिन्, “हामीले अंश खोजेको छैन, वंश त दिनु भनेर पटक–पटक ज्यूविन्ती गर्‍यौं, तर मान्नुभएको छैन।”

नागरिकताको अभावमा मायाका दम्पतीको नाता प्रमाणितदेखि छोराछोरीको जन्म दर्ता र जागीरसम्म हुनसकेको छैन। दुई ज्वाईं विदेश रहे पनि छोरीहरूको नागरिकता नहुँदा पैसा अरुकै नाममा पठाउनु परेको मायाले बताइन्। “नागरिकता भएको भए मेरो छोराहरू ब्रिटिस–गोर्खामा भर्ती हुन सक्थे, श्रीमान् पनि वैदेशिक रोजगारीमा जान पाउनुहुन्थ्यो”, माया भन्छिन्।

माया र लेखमानले नागरिकताको लागि जिल्ला प्रशासन र प्रहरीदेखि अधिकारकर्मी र नेतासम्म गुहारेका छन्। तर, ससुराले हरेक पटक 'बाटो खोलिदिन्छु' भन्दै टार्दै आएको माया बताउँछिन्। चर्चित कलाकार भए पनि वंशजको प्रमाण नभएसम्म नागरिकता दिलाउन नसकिने बताउँदै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु भन्छन्, “उहाँको ससुरालाई बोलाएर वंश प्रमाणित गराउन पहल भने गर्ने नै छौं।”

युवराज श्रेष्ठ, लमजुङ

comments powered by Disqus

रमझम