मजलिस घरबाट निस्कनासाथ भोटाहिटी क्षेत्रमा पदार्पण गरिन्थ्यो, अनि दरबार स्कूलको उत्तरी ढोकाबाट निस्कँदा भने कमलाछी टोल पुग्थ्यौं हामी। अचेल त्यता पुग्दा त अल्मलिन्छ कताबाट छिर्ने र कता निस्कने भनेर! हाम्रो चाहिं गन्तव्य जताबाट निस्के पनि असन हुनेगर्थ्यो। काठमाडौं खाल्डाको केन्द्रविन्दु नै हो कि जस्तो लाग्थ्यो त्यो असन। संसारै त्यहाँ आउँछन् भने जस्तो लाग्ने!
भोटाहिटी र कमलाछी दुवैतिरका बाटा मात्र होइन अरू पाँचतिरबाट आएर खनिन्थे– त्यस्तै पसलहरूले भरिएका बाटाहरू असनमा। सबै पसल जुनसुकै बेला खचाखच भरिएका हुन्थे माल र मान्छेले! असनमा त हेरी मात्र रहँदा पनि रमाइलो लाग्थ्यो। ऊ बेला असन भनेपछि त्यो बीचको चोक मात्र होइन पूरै क्षेत्र बुझ्िन्थ्यो। २०४१ सालमा इतिहासविद् भुवनलाल प्रधानले लेखेको 'असं' भन्ने कितापले पनि त्यही भन्छ। यता भोटाहिटी, उता कमलाछी, तँलाछी, त्यौड इत्यादि र पश्चिममा केलटोल, बालकुमारी, न्हैकन्तला र महाबौद्ध सबै क्षेत्रलाई एकमुष्ट असन तुल्याएका छन् भुवनलालजीले। त्यसको कारण छ।
नेपालमा राणाशासनका विरुद्ध पैले छिटपुट र पछि सशक्त रूपले उठेको विरोधको थलो यही नै थियो भन्ने प्रमाणित भएको छ, 'असं' मा। त्यस विषयको विज्ञ आफू नभएकाले मैले साधिकार भन्न सक्ने कुरो भएन। तर मेरै अनुभवको चुरो भनूँ भने लहरो तान्दा पहरो गर्जेको प्रमाण दिनुपर्छ। कुरा तान्दै ल्याउँदा कतिसम्म भन्न सकिन्छ भने, मपुपुको जन्मको इतिहास समेत त्यही असन इलाकाबाट शुरू भएको हो! कसरी त? मपुपुको बीउ 'कमलको नेपाली संग्रह' हो भन्ने सबैले मानिसकेका छन्। त्यो 'कमलको नेपाली संग्रह' को सुरुआत असन कमलाछीको 'मानदास चित्तधर' को किताप पसलबाट भएको हो भन्ने पनि मैले धेरै पटक भनिसकेको छु। भनेपछि प्रमाणित भएन?
असन इलाका एकताका कितापहरूको केन्द्र थियो। पैले मखनटोलमा एक या दुई पुस्तक पसल थिए रे! मैले जान्दा भने किताप किन्न भोटाहिटी, कमलाछी या न्हैकन्तला नै पुग्नुपर्थ्यो। हो, सन्तानब्बे सालको काण्डले बन्द भएको 'मानदास चित्तधर' को पसल पछि 'मानदास सुगतदास' भएर आए पनि पैलेको रौनक रहेन। त्यसपछि त म विरलै पुगेको छु त्यहाँ।
पछि, २०१३ सालमा मदन पुरस्कार पुस्तकालय खडा भएपछि भने मेरो मुख्य गन्तव्य नै भोटाहिटी रह्यो। रत्न पुस्तक भण्डार जस्ता नामूद किताप पसल त थिए नै त्यहाँ तर कसैले नाम नसुने जस्तो 'हरेक पुस्तक भण्डार' पनि त्यहीं थियो। त्यसले 'सेकेनह्यान' किताप पनि बेच्थ्यो सस्तोमा। मैले त्यहाँबाट नेपाली भाषाका अनेकौं अप्राप्य र दुर्लभ पुस्तकहरू मपुपुमा ल्याएको छु। अनेकौं अनमोल रत्नहरू फेला पारेको छु मैले बुङ्ग धूलो उड्ने त्यो अँध्यारो खोप्रामा! त्यहाँ भेटेको पाएको यौटै मात्र रत्नको नाम लिंदा मैले 'रत्नावली' भन्नुपर्छ। शम्भुप्रसादले लेखेको 'रत्नावली नाटिका' अप्राप्य थियो। हाम्रो साहित्यका महारथी, इतिहासकारहरूले आशुकविको त्यो अनमोल कृति देख्न पाएकै थिएनन्।
भोटाहिटी भन्ने नामलाई नेपाली भाषाभाषी कसैले कैल्यै बिर्सन सक्ने छैन। त्यो थिति बाँधिदिएका हुन् हाम्रै पुस्तकहरूले। यहाँनिर मैले नबुझिने अलि आलङ्कारिक भाषा बोलें क्यारे, क्षमा पाऊँ। भन्न खोजेको के मात्र हो भने कममा पनि ३०० ओटा नेपाली कितापमा प्रकाशकको ठेगानामा भोटाहिटी भन्ने नाम टाँगिएको फेला पर्छ। यति शीर्षकका कममा पनि तीन लाख थान किताप त छापिए नै हुनन् यतिका वर्षसम्म। त्यतिका कितापहरूबाट त्यो नाम उडाउने ताकत कसको होला? रत्न पुस्तक भण्डारले त अब आफ्नो ठेगानामा भोटाहिटी लेख्नै छाड्यो र पो! नत्र त एक हजार भन्दा बढी किसिमका पुस्तक छापिसकेको त्यसले भोटाहिटीको नाम अझ् कति 'उच्च' पार्थ्यो होला!
हामीले भोटाहिटी वा असनलाई बिर्सन नसक्ने अर्को कारण थियो– मछिन्द्रनाथ। सेतो मछिन्द्रनाथको रथ वर्षमा एक चोटि रामनवमीताका मजलिस घरको हाम्रै क्लासको झयाल मुन्तिरबाट असनतिर जान्थ्यो। कत्रो जात्रा हुन्थ्यो! हामीलाई 'एक्साइटमेन्ट' त कति हो कति! हाम्रा घरघरका अभिभावकहरूको भने त्यसबेला सातो गएको हुन्थ्यो– आफ्ना सन्तानहरू मछिन्द्रको रथको पांग्रामुनि पर्लान् भन्ने त्रासले। बिहानैदेखि हामीलाई सम्झाइएको हुन्थ्यो– रथ नजिकै नजानू इत्यादि भनेर।