४-१० साउन २०७१ | 20-26 July 2014

सांस्कृतिक कुठाराघात

Share:
  
- गुणराज लुइँटेल
श्यामार्पा रिम्पोचेको शव (कुदुङ) ल्याउन नदिने निर्णयले सरकार हाँक्नेहरूमा हिमाली संस्कृतिको ज्ञान नभएको देखाउँछ।

काठमाडौं रानीवन फेदीस्थित श्यार् मिन्हुन इन्स्टिच्यूट ।
तिब्बतबाट भागेर काठमाडौंमा आश्रय लिएका दशौं श्यामार्पा रिम्पोचेलाई फिर्ता पठाउन चिनियाँ बादशाहले निकै दबाब दिए पनि नेपालले फिर्ता पठाएन, बरु चीनसँग युद्ध गर्न तयार भयो। १८४६–१८४९ सालको सो लडाइँमा तिनै श्यामार्पा रिम्पोचेले नेपाली सेनालाई तिब्बत जाने बाटोको नक्शा बनाइदिएको इतिहास छ। वि.सं. १८४८ मा श्यामार्पाको निधनपछि पनि चिनियाँ बादशाह छिन्लुङका ज्वाइँ जनरल टुङ थ्याङले राजा रणबहादुर शाहलाई पत्र लेखी लाश पठाइदिन भनेका थिए।

त्यतिबेला राजा रणबहादुर नाबालक भएकाले उनका काका बहादुर शाहको नायवीमा नेपालको शासन संचालित थियो। हिमाली इतिहास–संस्कृतिका जानकार डा. रमेश ढुंगेलको 'नेपाल–तिब्बत सांस्कृतिक सम्बन्ध र तिब्बतका श्यामार्पाहरू' नामक कृतिमा जनरल टुङ थ्याङको चिठी उद्धृत गर्दै भनिएको छ– 'श्यामार्पाको हाड, कविला, चाकर, धन्माल, दिगर्चाको धन्माल, केरुङको साना–ठूला छिन्तापत्र २ त्यो सबै चाँडो पठाउ भन्याको आजसम्म आइनन्...।'

अहिले सरकारले १४औं श्यामार्पा रिम्पोचेको शव अन्तिम संस्कारका निम्ति काठमाडौं ल्याउन रोक लगाएको घटनाले इतिहासका यी प्रसंगहरूको स्मरण गराएको छ। उहिलेको नेपालले आफ्नो शरणमा रहेका लामा गुरुप्रति शरणको मरण नगर्ने र देहत्यागपछि पनि शव नपठाउने निर्णय गरेको थियो। दशौं श्यामार्पा रिम्पोचेको पार्थिव शरीरलाई स्वयम्भूको हारती मन्दिर बगलमै चैत्य बनाएर समाधिस्थ गरिएको थियो। काठमाडौं लक्षबहालमा राखिएको उनको नलीहाड १४औं श्यामार्पा रिम्पोचे आएपछि बुझाइएको डा. ढुंगेल बताउँछन्।

अन्तिम इच्छा

जर्मनीमा रहेका १४औं रिम्पोचेले मृत्युपछि काठमाडौंको रानीवन फेदीस्थित श्यार् मिन्हुन इन्ष्टिच्युट परिसरमा समाधिस्थ हुन चाहेका थिए। यो इन्ष्टिच्युट उनैले स्थापना गरेका थिए। जर्मनीस्थित रिम्पोचेको अर्को संस्था बोधीपथ कर्ग्यु केन्द्र रिन्छेन उलमा २८ जेठमा हृदयघातबाट उनको निधन भएपछि अनुयायीहरूले पार्थिव शरीर नेपाल ल्याउने तयारी गरेका थिए। त्यस अनुसार, उनको कुदुङ जर्मनीबाट भारत ल्याइयो। त्यहाँबाट भूटानको राजदरबारमा अन्तिम दर्शनपछि २९ असारमा काठमाडौं ल्याएर १५ साउनमा समाधिस्थ गर्ने कार्यक्रम थियो। तर, नेपाल सरकारले उनको कुदुङ काठमाडौं ल्याउन नदिने निर्णय १ साउनमा गरेको छ।

रिम्पोचेसँग लाखौं मानिस जोडिएका छन्। उनको पार्थिव शरीरलाई समाधिस्थ गर्न धेरै मुलुक तयार छन्। तर, लगाव र लगानीका कारण उनले नेपालमै समाधिस्थ हुने अन्तिम इच्छा व्यक्त गरेका थिए। नेपाल सरकारले शुरूमा विदेशी नागरिक भएकोले ल्याउन नदिने भनेकोमा १ साउनमा फेरि अन्त्येष्टिमा आउने हजारौं अनुयायीका कारण सुरक्षा खतरा हुने भन्दै ल्याउन नदिने निर्णय गर्‍यो। रिम्पोचेका अनुयायीहरूले सरकारका मन्त्री र सचिवदेखि राष्ट्रपतिसम्मलाई भेटेर सो निर्णयमा पुनर्विचार गराउन आग्रह गरेका छन्।

८ फागुन २०६७ मा राष्ट्रपति डा. रामवरण यादवले श्यामार्पा रिम्पोचेले बौद्धको चुच्चेपाटीमा आयोजना गरेको शान्ति महोत्सव मोन्लाम छेन्मोको उद्घाटन गरेका थिए। राष्ट्रपति यादवले श्यामार्पाबारे आफू जानकार रहेको र सरकारलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने आश्वासन दिएका थिए। तर, कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सरकार रिम्पोचेको शव ल्याउन दिन असमर्थ रहेको जानकारी राष्ट्रपतिलाई गराएका छन्। स्वतन्त्र तिब्बत समर्थकहरूले काठमाडौंको विशाल जमघटमा कुनै घटना गराए त्यसलाई धान्न नसक्ने गौतमको तर्क छ।

हचुवा सरकार

इन्टरनेट तस्वीर
८ फागुन २०६७ मा बौद्धको चुच्चेपाटीमा आयोजित शान्ति महोत्सव उद्घाटनमा राष्ट्रपति डा. रामवरण यादव र श्यामार्पा रिम्पोचे।
श्यामार्पा रिम्पोचे राजनीति होइन, अध्यात्ममा रमाएका लामा गुरु हुन्। तिब्बतमा जन्मिएका उनलाई ६ वर्षको उमेरमा १४औं श्यामार्पा रिम्पोचेको अवतार भएको थाहा पाएपछि शिक्षा–दीक्षाका लागि सिक्किमको रुमतेक गुम्बामा लगिएको थियो। उनले पटक–पटक चीन र तिब्बतको यात्रा गरेका थिए। रिम्पोचेका निकटहरू उनलाई काठमाडौंमा समाधिस्थ गर्ने कुरामा चीनको आपत्ति हुनुपर्ने कारण नरहेको बताउँछन्। “उहाँप्रति चीन कहिल्यै नकारात्मक थिएन”, डा. ढुंगेल भन्छन्, “बोधगयाको कार्यक्रममा ठूल्ठूला चिनियाँ अधिकारीहरूले रिम्पोचेलाई भेटेको मैले देखेको छु।”

हेलम्बुमा श्यामार्पाको आठौं अवतार भएको परिवारमै जन्मेका दावा साङ्वो योल्मोपा, रिम्पोचेले गोकर्णको १०० रोपनी जग्गा बेचेर तिब्बतको याङपचेत (वैशाली महाविहार) को जीर्णोद्धार गराएको बताउँछन्। रिम्पोचे नेपाल, भूटान, चीन, भारत र युरोपेली मुलुकको यात्रा गरिरहन्थे– नेपाली 'ट्राभल डकुमेन्ट' मा। पछि भूटानका राजाले कूटनीतिक पासपोर्ट दिएपछि उनले नेपाली राहदानी फिर्ता गरेका थिए। आठौं श्यामार्पाको अवतार हेलम्बुमै भएकोले पनि नेपालप्रति रिम्पोचेको विशेष मोह थियो। उनले ह्योल्मो जातिको संस्कारबारे किताब पनि लेखेका छन्। शिक्षा, संस्कृति र आध्यात्मिक गतिविधिमा मात्र संलग्न यी लामाको कुदुङ नेपाल ल्याउन रोक्नुपर्ने अवस्था नभएको चिनियाँ दूतावासका अधिकारी पान चीले बताए। “तर, यो नेपाल सरकारको कार्यक्षेत्र हो”, चीले भने, “हामीले केही भन्न मिल्दैन।”

चीनको सुरक्षा चासो बुझिदिनु नेपालको कर्तव्य हो, तर यसको अर्थ इतिहास–संस्कृति नै बिर्सिनु होइन। रिन्पोचेको अन्त्येष्टिमा सुरक्षा व्यवस्था मिलाउन नसकिने पनि होइन। यति व्यवस्था पनि मिलाउन नसके के राज्य भन्ने?

त्यसमाथि, काठमाडौंमै रिम्पोचेको निधन भएको भए सरकारले अन्त्येष्टिमा रोक लगाउन सक्ने थिएन। रिम्पोचेको कुदुङ ल्याउन नदिने सरकारको हचुवा निर्णयले बौद्ध समुदायलाई दुःखी बनाएको छ। शान्ति सुरक्षाको कुरा उठाएर कुदुङ ल्याउन नदिने सरकारलाई राष्ट्रपति सरिक भएको चुच्चेपाटीको कार्यक्रम सम्झ्िन बौद्ध समुदायको आग्रह छ। हुन पनि, अनुयायीहरू आउँदैमा अशान्ति हुने भए त्यतिबेला पनि हुन सक्थ्यो।

बौद्ध धर्मावलम्बीहरूको धर्मोदय सभाले श्यामार्पा रिम्पोचेको निधनमा गहिरो शोक व्यक्त गर्दै उनको नेपाल सम्बन्धमाथि प्रकाश पारेको छ। रानीवनस्थित केन्द्रमा उनका विशाल तस्वीरहरू सजाइएका छन् भने सडकमा ठूल्ठूला गेटहरू पनि बनाइएका छन्। अनुयायीहरू पनि धमाधम आउन थालेका छन्। हिमाली संस्कृतिप्रतिको अज्ञानताका कारण रिम्पोचेको कुदुङ ल्याउन झ्मेला झिकिएको बताउने डा. ढुंगेलको भनाइमा, यस्ता ठूला लामाको समाधिस्थल नेपालमा हुनु भाग्यको कुरा हो। “रिम्पोचे जस्ता लामाको स्थायी बसोबास कहीं हुँदैन”, ढुंगेल भन्छन्, “एउटा सांसारिक व्यक्तिले 'वतन ढाँटेको' जस्तो निहुँ पारेर उहाँको कुदुङ ल्याउन नदिनु दुर्भाग्य हो।”

महान् बौद्ध गुरुहरू पद्मसम्भव, मिलारेपा आदिले नेपालमा तपस्या गरेका थिए। यस आधारमा संसारभरका बौद्ध गुरुहरू एक/दुई महीना भए पनि नेपालमा ध्यान गर्न चाहन्छन्। तर, हाम्रो गृह प्रशासनले बौद्ध गुरुहरूलाई भारतमा निर्वासित दलाई लामासँग जोडेर राजनीतिक रूपले हेर्छ। सरकारका एकथरी मान्छेहरू हिमाली संस्कृति र परम्परामा पस्नै नचाहने डा. ढुंगेल बताउँछन्। त्यही कारण रिम्पोचेको कुदुङ ल्याउन नदिएर सांस्कृतिक कुठाराघात भएको छ।

comments powered by Disqus

रमझम