४-१० साउन २०७१ | 20-26 July 2014

खेलाँचीमा जोखिम

Share:
  
- डा. सुमनराज ताम्राकार
पेशाजन्य स्वास्थ्य जोखिम कम गर्ने विषयलाई पाठ्यक्रममै समावेश गरिनुपर्छ।

देबकी बिष्ट
हामी नेपाली पेशा–व्यवसायको कारणले आफ्नो ज्ञानेन्द्रिय एवं संवेदनशील अङ्गहरूमा पुग्नसक्ने चोटप्रति कमै सचेत छौं। तर, कृषि लगायत त्यस्ता कुनै पेशा–व्यवसाय छैन, जसमा स्वास्थ्य जोखिम नहोस्। विकसित देशहरूमा जुनसुकै काम गर्दा सुरक्षाका पर्याप्त उपाय–उपकरणहरूको प्रयोग गरेको देखिन्छ, तर हामीकहाँ त्यस्तो छँदै छैन। कामको सिलसिलामा त्यस्तो जोखिम घटाउन वा हटाउन नसकिने होइन, तर परेर पछुताउने हाम्रो बानी छ।

२०४६ सालको परिवर्तनपछि नेपालीको काम गर्ने तौरतरीकामा व्यापक परिवर्तन आएको छ। परम्परागत कृषिमा आश्रित नेपालीको व्यवसाय तथा रोजगारीमा आकाश–जमीनको अन्तर आएको छ। नेपालीको रोजगारीको क्षेत्र फैलिएर मध्यपूर्व र पूर्वी एशियाली क्षेत्रदेखि युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगेको छ। पेशा, व्यवसाय र कामको प्रकृतिमा त्यस्तै विविधता आएको छ। कामको विविधतासँग जोडिएर आउने जोखिमप्रति सावधानी अपनाइएको भने उति देखिंदैन। कोरियामा काम गर्दा गमबुट र हेल्मेट नछाड्ने युवक नेपालमा आफ्नो घर बनाउँदा नाङ्गो खुट्टा र खाली टाउको खट्छन्।

हिजोआज पञ्जा, मास्क, बुट, चश्मा केही नलगाई तरकारी बालीमा विषादी छरिरहेका नेपाली गाउँ–गाउँमा देखिन्छन्। बंगुरपालन, कुखुरापालनमा पनि यही देखिन्छ। यत्रो लापरबाही गर्नेहरू काम सकेलगत्तै राम्रोसँग सरसफाइ गर्ने कुरालाई पनि सजिलै नजरअन्दाज गरिदिन्छन्। विषादी राख्ने, थन्क्काउने कुरामा पनि यस्तै लापरबाही गरिन्छ। बालबालिकाले भोकाएको बेला अन्जानमै विष पिएको समाचार आइरहनु यस्तै लापरबाहीको परिणाम हो। सानो लापरबाहीको कत्रो मूल्य चुकाउनुपर्छ भन्ने कुरा यस्ता घटनाले बारम्बार प्रष्ट पारिरहेका छन्।

ठूला भवन निर्माणको क्रममा वेल्डिङ र अर्थिङको धेरै काम आइपर्छ। तर, कालो चश्मा र शिल्ड लगाउनुपर्ने कुरामा असावधानी गर्दा आँखाको ज्योति गुमेको या करेन्ट लागेर मृत्यु भएका कति कामदारको कुनै लेखाजोखा छैन। विद्युत् र केवल क्षेत्रका कामदारहरू पनि सावधानीका उपकरण बोक्ने वा चलाउने दुःखले भगवान भरोशामा काम गरिरहेका देखिन्छन्।

शहरी क्षेत्रमा अपार्टमेन्ट, शपिङ कम्प्लेक्स र अरू प्रयोजनका अग्ला अग्ला टावरहरू बनाउन खटिएका कामदारहरूले गारो लगाउने, बिजुली जोड्ने, सिसा फिट गर्ने, पुछ्ने क्रममा निकै जोखिम मोल्ने गरेका छन्। डकर्मी, सिकर्मी र नगर सरसफाई गर्ने कामदारहरूले शारीरिक स्वास्थ्य सुरक्षाको लागि चश्मा, पञ्जा, गमबुट लगाउने कुरालाई फाल्तु झ्मेलाको रूपमा (लिने गरेका छन्। कति विडम्बना छ भने, मोटरसाइकल र गाडी चालकहरूलाई सवारी चलाउँदा हेल्मेट लगाउन, सीट बेल्ट बाँध्न, मोबाइलमा कुरा नगर्न ट्राफिक प्रहरीले एक प्रकारको जबर्जस्ती नै गर्नुपरेको छ।

शिक्षित जमातले पनि व्यवसायजन्य स्वास्थ्य जोखिमलाई गम्भीर रूपमा लिएको पाइन्न। जस्तो, लामो समय कम्प्युटरमा काम गर्नुपर्ने पेशेवरहरू बसाइँको तौरतरिका मिलाउनुको साटो आँखा र शरीरको दिनभरिको थकान मेटाउन मद्यपान वा पीडानाशक औषधिको सहारा लिन्छन्, जुन कलेजो र मिर्गौलाका लागि विष समान हुन्छ। प्रहरी, सैनिक, सेक्युरिटी गार्ड, शिक्षक लगायतका पेशाकर्मीका हकमा पनि त्यही नियम लागू हुन्छ।

स्वास्थ्यकर्मी तथा ल्याब स्टाफहरूलाई बिरामीको रगत तान्ने, सलाइन खोल्ने, चिरफार गर्ने सिलसिलामा सियोले घोच्ने र अरू खालका आकस्मिक चोट लाग्ने हुन्छ। यसले उनीहरूलाई एचआईभी, हेपाटाइटिस बी लगायतको जोखिम बढी हुन्छ। तर, यस सम्बन्धी स्पष्ट निर्देशिका हुने र त्यसलाई अद्यावधिक पनि गरिने हुनाले स्वास्थ्यकर्मीहरू अरूको तुलनामा बढी सुरक्षित हुन्छन्। कतिपय स्वास्थ्य संस्थाले आफ्नो स्टाफलाई यस सम्बन्धी तालीम र आवश्यक खोप पनि दिने गरेको पाइन्छ।

वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये धेरैजसोले पेशाजन्य स्वास्थ्य जोखिम नबुझ्ेका वा सावधानी नअपनाएका छन्। गर्मी मुलुकमा गएर काम गर्ने नेपाली दिन र रातको तापक्रमको सन्तुलन कायम राख्न नजानेर वा असावधानीका कारण मर्ने गरेका छन्। त्यस्ता युवा भनेका सम्बन्धित परिवारका मुख्य भरोशा हुन्।

उनीहरूको अङ्गभङ्ग हुँदा वा ज्यान नै गुम्दा परिवारमा पर्ने असर नाप्नै सकिन्न।
नेपालीका लागि पेशाजन्य स्वास्थ्य जोखिमका क्षेत्र धेरै छन्, जसमा कसैको ध्यान पुगिरहेको छैन। यस्तो जोखिम न्यूनीकरणका लागि व्यापक जनचेतनाको पहलकदमी आवश्यक छ। सरकारी स्तरबाट यसको थालनी हुनुपर्छ। पाठ्यक्रममा नै व्यवसायजन्य स्वास्थ्य जोखिमको विषय राख्नु यस सम्बन्धमा गरिने दीर्घकालीन पहलकदमीको एउटा उपाय हुनसक्छ।

comments powered by Disqus

रमझम