४-१० साउन २०७१ | 20-26 July 2014

नियन्त्रण गर्न सजिलो छैन

Share:
  
- दीपेश केसी
तस्करीमा नलागी जीवन निर्वाह गर्न सकिने परिस्थिति तयार गर्दा मात्रै सीमा क्षेत्रका बासिन्दालाई अपराधी हुनबाट जोगाउन सकिन्छ।

बिलाश राई
वीरगञ्ज–रक्सौल भन्सार चेकप्वाइन्टसँगै भन्सार कार्यालयको चौतारीको छहारीमा बसेका नाबालकलाई देखाउँदै एक कर्मचारीले भने, “पक्राउ परेको फूल छुटाउन यो केटो दुई दिनदेखि यतै छ, पढ्न छाडेर धन्दामा लागेको यसको जीवन अब तस्करीमै बित्ने देखिन्छ।” रक्सौलमा बस्ने त्यो बालकले ल्याएको फूल पक्राउ पर्नुभन्दा एक साताअघि वीरगञ्जबाट रक्सौलतर्फ तस्कर हुन लागेको रु.५० लाखको सुपारी ट्रक सहित अञ्चल प्रहरी कार्यालय नारायणीले पक्राउ गरेको थियो। प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई मिलेमतो नभई भन्सार चेकप्वाइन्टबाट ट्रक लैजान कसरी आँट गरे होलान् भन्ने जिज्ञासा राख्दा उनी बोल्न सकेनन्। तर, ती घटनाले अन्तरसीमा अपराधको प्रकृति, शैली र त्यसमा संलग्नको सामर्थ्य देखाउँछ।

अन्तरसीमा अपराधलाई दुई देशबीचको सीमाबाट हुने अपराधमा मात्र सीमित राखिनु उपयुक्त हुन्न। राजनीतिक रेखा भनिने सीमामा सुरक्षा र कर प्रणालीले अवरोध गर्ने हुनाले त्यहाँ अपराध हुने गर्छ। किनभने, त्यहाँको अवरोधलाई अवसरमा परिणत गर्दा ठूलो आर्थिक फाइदा हुन्छ। यसका लागि दुवै देशका व्यापारी, प्रहरी प्रशासन, स्थानीय आपराधिक समूहसम्म मिलेमतो गरेर लाग्छन्। भारतबाट नेपालहुँदै चीनतर्फ तस्करी हुने रक्तचन्दनमा भने तीन देशका अपराधी संगठित भएर लागेका थिए। नेपाललाई ट्रान्जिट बनाइएकोले सीमा क्षेत्र बदनाम पनि भयो। तर, त्यसमा स्थानीय गुन्डा मात्र बदनाम भए भने पर्दाभित्रका शक्तिशाली पात्रले उन्मुक्ति पाए। जबकि, यस्तो अपराध रिमोट चलाउनेहरूले संचालन गरेका हुन्छन्। प्रविधिको विकासले संसारको जुनसुकै ठाउँमा बसेर अपराधको सञ्जाल चलाउन सजिलो पारेकै छ।

प्रविधिको आड

राजनीतिक सीमाले प्रविधिलाई यो जमानामा छेक्न सक्दैन। अन्तरदेशीय वैध व्यापार पनि पहिलेभन्दा निकै बढेको छ। त्यही अनुपातमा अन्तरदेशीय अपराध पनि बढेको छ। वन्यजन्तुका सामग्री, जाली नोट, हतियार, लागूऔषध, मानव तस्करी अन्तरदेशीय अपराधका मुख्य क्षेत्र हुन्।

अदृश्य तरीकाले कारोबार गर्न सक्ने प्रविधिले सीमाको भूमिका परिवर्तन भएर जमीन वा पानीको मार्ग प्रयोग नगरी पनि कारोबार गर्न सक्ने स्थिति आएको छ। त्यसमा नियमन बलियो नहुँदा सम्पत्ति शुद्धीकरण, गैरकानूनी तरीकाले पूँजी पलायन हुन्छ। २०६७ मा नेपालबाट एकैपटक रु.६ अर्ब पूँजी पलायन भएको तथ्य बाहिर आएको थियो। अवैध हुण्डी तथा नामी ब्याङ्कहरूबाटै रकम पठाउने र झ्िकाउने गिरोह सक्रिय छन्। उनीहरूले अनेक बाटा प्रयोग गरेर यस्तो अपराध गर्ने गरेका छन्।

लागूऔषध, हतियार, जाली नोट, वन्यजन्तुका आखेटोपहारको तस्करी र सम्पत्ति शुद्धीकरण गर्ने गिरोहबीच बलियो सञ्जाल हुन्छ। तिनले सीमा अवरोध भन्दा अवसर हुन्छ। त्यसका लागि उनीहरूले सीमाका कर्मचारीदेखि सुरक्षाकर्मीसम्मलाई प्रभावमा पारेका हुन्छन्। त्यसपछि ती कर्मचारी र सुरक्षाकर्मीले सीमाको नियमन र चेकजाँच कमजोर बनाइदिन्छन्।

नेपाल र भारतले अन्तरसीमा अपराध र आतंकवाद नियन्त्रण गर्न साढे अठार सय किलोमिटर लामो सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेका छन्। भारतले सीमा सुरक्षा बल एसएसबी परिचालन गरेको छ भने नेपालले सशस्त्र प्रहरी बल। ठूलो र विकसित मुलुक भएकाले नेपालभन्दा भारतीय सुरक्षाकर्मीको उपस्थिति संख्या र प्रविधिका हिसाबले बलियो छ। यस्तोमा सीमामा तारजाली लगाउनुपर्ने तर्क पनि आएका छन्। तर, त्यसले सीमा क्षेत्रको सामाजिक अन्तरसम्बन्धमा नकारात्मक प्रभाव पार्नेछ भन्ने बिर्सनुहुँदैन। त्यसमाथि बलियो सीमा सुरक्षा संगठित अपराधीका लागि भन्दा सामान्य नागरिकका लागि हुने गर्छ। अहिले नै सीमा सुरक्षा बल, भन्सार, चेकप्वाइन्ट र सुरक्षा निकायका कारण सामान्य जनताले अवरोध भोग्नुपरेको छ। घरायसी प्रयोजनका लागि समेत अर्काे मुलुकबाट सामान किन्न रोक लाग्नु भनेको यही हो। अहिले झोलापोकामा तस्करी गर्नेहरूको भूमिका पहिलेभन्दा कमजोर भइसकेको छ।

सीमावासीको समस्या

सीमा क्षेत्रमा बसोबास गर्ने धेरै नागरिकलाई अन्तरसीमा अपराधमा संलग्न रहेको आरोप लाग्ने गर्छ। भौगोलिक सहजता, सामाजिक र आर्थिक सम्बन्धका कारणले तस्करीलाई जीवनपद्धति बनाउनेहरू नभएका भने होइनन्। तथापि सीमा क्षेत्रका नागरिकलाई अपराधी देख्नु ठीक होइन। सीमा क्षेत्रको अपराधमा स्थानीय जति नै बाहिरका पनि सक्रिय छन्। सीमा क्षेत्रकाहरू चाहिं धेरैजसो भरियाका रूपमा काम गर्छन्। नागरिकबीचको निकट सम्बन्ध, मिल्दोजुल्दो सांस्कृतिक सम्बन्ध, रङ्ग र आकृतिको समानताले उनीहरूलाई त्यसो गर्न सजिलो पनि छ। तर, त्यसरी खतरनाक काम गर्दा पनि उनीहरूको जीवनस्तर उस्तै रहनु भने अनौठो छ। यसो हुनुमा तस्करीको लाभ रिमोट चलाउने माथिल्लो तहका अपराधीले लिनु मुख्य कारण रहेको देखिन्छ।

सीमा क्षेत्रका नागरिक भौगोलिक रूपमा मात्र नभएर अरू हिसाबले पनि केन्द्रबाट टाढा देखिन्छन्। राज्यको महत्वपूर्ण निकायमा उनीहरूको पहुँच कम हुन्छ। उनीहरूलाई विदेशी भनेर हेरिन्छ। यो समस्या दुवैतर्फका नागरिकको हो। सुगौली सन्धिको राजनीतिक सीमाले बनाएको यो अवस्थाबाट उनीहरू सन्तुष्ट छैनन्।

उनीहरू अपराधमा लाग्नुको एउटा कारण यो असन्तुष्टि पनि हो। यस्तो अवस्थामा सरकारी र राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था भने अपराध नियन्त्रणमा प्रगति भएको देखाएरै सन्तुष्ट बनेको देखिन्छ। उनीहरू यो समस्याको दिगो समाधान गर्न गम्भीर देखिंदैनन्। जस्तैः २०६६ ताका नारायणी अञ्चलको समथर भूभागमा गाँजा र अफिम व्यापक उत्पादन भयो। २०७१ सम्ममा मकवानपुरबाहेक अधिकांश ठाउँमा गाँजा खेती नियन्त्रणमा आए पनि नजिकका केही पहाडी जिल्लामा अझ्ै उत्पादन भइरहेको छ। संगठित आपराधिक समूहले लागूऔषध तस्करी गर्ने तरीका पनि फेरेका छन्। आम रूपमा यस्तो अपराधमा संलग्नहरू १ प्रतिशत मात्र पक्राउ पर्ने हुनाले प्रहरीको तथ्याङ्कमा मात्र भर पर्नुहुँदैन।

नेपाल–भारत अन्तरसीमा अपराधलाई सीमा क्षेत्रको गरीबीसँग जोड्ने गरिन्छ। गरीबी त्यसको एउटा कारण भएकोमा विवाद पनि छैन। तर, आर्थिक रूपले समृद्ध स्क्यान्डिनेभियन देशहरूले समेत सीमामा कडा सुरक्षा अपनाएकाले गरीबीलाई मात्र त्यसको कारण मान्न सकिंदैन। संयुक्त राज्य अमेरिका र मेक्सिकोबीचको सीमा पनि उस्तै बदनाम छ। त्यसैले सीमाको समस्या र स्थानीयको जीवनशैलीलाई बुझ्ेर मात्र नियन्त्रण गर्ने कानून र विधि बनाउनुपर्छ। त्यसो नगर्दा परिस्थिति झ्न् प्रतिकूल हुन सक्छ। पहिलेदेखि गरिआएको काम छोडाउन त्यति सजिलो पनि हुँदैन। त्यसका लागि राज्यले रोजगारीको विकल्प दिनसक्नु पर्छ।

समाधानको उपाय

सीमा अपराध नियन्त्रण गर्न सुरक्षाफौजको तैनाथी र बल प्रयोग गरेर मात्र सम्भव छैन। सीमाको एकातिरबाट मात्र अपराध नियन्त्रण गर्न पनि सकिन्न। त्यसका लागि अन्तरसीमा अपराधको सामाजिक, आर्थिक र राजनीतिक कारण केलाउनुपर्छ। सीमाको समाजशास्त्र नबुझी नीति बनाउँदा असफल सावित हुन्छ। दुवै मुलुकको निश्चित भू–भाग समेटेर दुवै सरकारले सामाजिक सुधार, शैक्षिक र आर्थिक विकासका कार्यक्रम ल्याउनु सबैभन्दा उत्तम तरीका हुन सक्छ।

सदीऔंदेखि आन्तरिक र बाह्य शोषण, दमन र विभेदको शिकार बन्दै आएका सीमा क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार नगरेसम्म अपराधलाई जीवनपद्धति बनाउने प्रवृत्ति रोकिंदैन। द्विपक्षीय सुरक्षा सम्बन्धले पनि अन्तरसीमा अपराध रोकिंदैन। सीमा क्षेत्रका जनतालाई तस्करी, गैरकानूनी वस्तु उत्पादनमा संलग्न नहुँदा पनि सहज जीवन बाँच्न सक्ने परिस्थिति निर्माण गर्नु सबैभन्दा उपयुक्त तरिका हो।

comments powered by Disqus

रमझम