४-१० साउन २०७१ | 20-26 July 2014

दुश्मन जीवनशैली

Share:
  
- डा. अरुणा उप्रेती
मुटु, मिर्गौला वा क्यान्सरका बिरामीलाई सरकारले उपचार खर्च व्यहोरेको समाचार बने पनि कस्तो खानपिन, अम्मल वा तनावका कारण भन्ने समाचार बन्न सकेको छैन।

हिमाल अर्काइभ
स्वास्थ्य मन्त्रालयले गत वर्ष गरेको एक अध्ययनले नेपालमा मुटु रोग, क्यान्सर, मधुमेह जस्ता नसर्ने रोग बढेको देखाएको छ। अर्को एक अध्ययनले ४२ प्रतिशत मृत्यु नसर्ने रोगबाट भइरहेको देखाएको थियो। तर, यो ४२ प्रतिशतमा पर्नेको मृत्यु समाचारको विषय बनेको छैन। खराब जीवनशैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगको प्रमुख कारण भएकाले हरेकले जीवनशैली सुधार्नुपर्छ भन्ने कुराको पनि उति प्रचार भएको छैन।

यसका लागि न कुनै सरकारी संयन्त्र बनाइएको छ न त अस्पतालहरूमा जीवनशैली–भोजन परामर्श सेवाको व्यवस्था नै गरिएको छ। रोगहरूबारे जनचेतना नफैलाउने हो भने त स्वास्थ्यको लागि छुट्याइएको सारा स्रोत उपचारमै सकिन्छ। नसर्ने रोगबाट पीडित दुरदराजका गाउँले र शहरका गरीबहरू उपचारको अभावमा मरिरहने छन्। युवापुस्ता समेत नसर्ने रोगबाट पीडित भएपछि उनीहरूले श्रम गर्न सक्दैनन् र देश विकासमा नै बाधा पुग्नेछ।

नेपालमा अहिले ०.४ प्रतिशत व्यक्ति मात्र नसर्ने रोगको खतराबाट मुक्त रहेको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ। अर्थात्, ९९ प्रतिशत नेपाली कुनै न कुनै नसर्ने रोगको खतरामा छन्। सानो स्याम्पल साइजमा गरिएको सो अध्ययनको तथ्यांकले पूरा देशको प्रतिनिधित्व नगर्ला, तर यसले स्थितिको गम्भीरता भने प्रष्ट्याउँछ। चुरोट, सुर्ती, जंक फूड, चिनी, तारेका खानासँगै तनाव, शारीरिक निष्त्रि्कयता बढेको बढ्यै छ। यसले गर्दा रगतमा बोसो, रक्तचाप, मधुमेह आदि पनि बढेको बढ्यै छन्। बढी बोसोयुक्त र गुलियो पदार्थ मुटुका लागि शत्रु नै हुन्।

विडम्बना के छ भने, हृदयघात, उच्च रक्तचाप, मधुमेह भएर अस्पताल भर्ना भएका बिरामी कुरुवा र चिकित्साकर्मी नै अस्पतालको क्यान्टिनमा कोकाकोला, पेप्सिकोला आदि पेयसँग चाउचाउ, केक, दुनोट लगायतका पत्रु खाना खाइरहेका देखिन्छन्। यस्तो दृश्य के सरकारी के निजी सबै अस्पतालमा देखिन्छ। यस्तो पत्रु खानाले रगतमा खराब बोसो बढाउँछ। मुटु रोग विशेषज्ञहरूका अनुसार, जँचाउन आउनेमध्ये ६६ प्रतिशतको रगतमा खराब बोसो बढेको छ। त्यो भनेको खतराको घन्टी हो। जब अस्पतालमै यो अवस्था छ भने पोषणबारे अरू कसले दिने जानकारी?

स्वास्थ्य मन्त्रालयमा बालबालिकालाई कसरी कुपोषणबाट बचाउने वा कुपोषणको उपचार कसरी गर्ने भन्ने विषयको एउटा विभाग छ। मन्त्रालयले मधुमेह, उच्च रक्तचाप आदिबारे केही पुस्तिका पनि निकालेको छ, तर नसर्ने रोगबारे कुनै कार्यक्रम बनाएको छैन। यस्ता रोगको खतरा चाहिं कुन रूपमा बढिरहेको छ भन्ने कुरा गाउँ–गाउँमा बढेको धुम्रपान, मद्यपान र विभिन्न किसिमका पत्रु खानाको फेसनले देखाउँछ। प्याकेटका पत्रु खानाले मुटुको समस्या बढाउँछ, उच्च रक्तचाप भएपछि त्यसले मिर्गौलामा समस्या पारिहाल्छ अनि विस्तारै शरीरका अङ्ग प्रत्यङ्ग गल्दै जान्छन् भनेर उपभोक्तालाई बुझाउने कोही छैनन्।

अहिलेको बजेटमा पनि अस्पतालमा निःशुल्क औषधि उपचारका लागि रकम विनियोजन गरिएको छ, तर मुटु लगायत नसर्ने रोगको समस्याबाट बच्ने उपायका लागि रकम छुट्याइएको छैन। उपचार खर्च दिएर ठूला नेताको समस्या समाधान होला, तर आम नेपाली कहाँ जाने? बढी समस्या पर्ने साधारण जनतालाई यस्ता समस्याबाट बचाउन स्वास्थ्य मन्त्रालयले के कार्यक्रम ल्याउँदैछ, थाहा भए राम्रो हुन्थ्यो!

comments powered by Disqus

रमझम