४-१० साउन २०७१ | 20-26 July 2014

मधेशको मर्म

Share:
  

पुस्तक मधेश अध्ययन लेखक राजेन्द्र महर्जन र तुलानारायण साह

प्रकाशक मधेश अध्ययन फाउन्डेशन पृष्ठ २०० मूल्य रु.२५०

नेपालमा संघीयताको मुद्दा स्थापित गरेको मधेशी आन्दोलनले तराई–मधेशको सामाजिक अन्तरसम्बन्धहरूको बहुआयामिक चर्चा–परिचर्चा पनि बढाएको छ। यसक्रममा विभिन्न प्राज्ञिक अध्ययन तथा खोज अनुसन्धान हुन थालेका छन्। यो काममा 'नेपाल मधेश फाउन्डेसन' पनि लागिपरेको छ। फाउन्डेसनको 'मधेश' अर्ध–वार्षिक जर्नलको तेस्रो अंकले मधेशी समाजको अन्तरसम्बन्ध तथा विशेषता गहिरो रुपमा केलाउने प्रयास गरेको छ।

मधेशका विभिन्न जातजातिको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था केलाएको यो जर्नलमा नौ वटा लेख समाविष्ट छन्, जसलाई मधेशी पहिचान, संस्कृति र प्रकृति तथा सीमान्त गरी तीन उप–शीर्षकमा राखिएको छ। लेखले पहिचानको राजनीतिको रुपमा मधेशमा उदाएका राजनीतिक दल क्षेत्रीय उत्पीडनसँग कसरी जोडिन्छन् भनेर प्रष्ट्याउन खोजेका छन्। पहिचानको बहससँगै राष्ट्रवाद र योसँग जोडिएर आउने 'उप–राष्ट्रवाद' को पनि चर्चा गरिएको छ। राष्ट्रिय राजनीतिक दलहरूभित्र मधेशी नेताहरूको सीमाका साथै मधेश आन्दोलनको मिहीन विश्लेषण प्रयास भएको लेखहरूमा तराई–मधेशका सदियौं पुराना बासिन्दाहरूको संस्कृति तथा प्रकृतिसँगको सम्बन्धमाथि राज्यले गरेको हस्तक्षेपको चर्चा छन्।

स्थानीय भाषा राज्यद्वारा निर्धारित सम्पर्क भाषाको थिचाइमा परेर प्रस्फुटित हुन नसक्दा मधेश कसरी उत्पीडनमा पर्‍यो भन्ने विश्लेषणले जर्नललाई गहकिलो बनाएको छ। जर्नलले राज्यको एक भाषा नीतिबाट निर्देशित शिक्षा प्रणालीले मुलुकका अन्य भाषाहरूको अस्तित्वलाई कसरी कमजोर तुल्यायो भन्नेदेखि चुरेको अन्धो दोहनले तराई–मधेशलाई कसरी मरुभूमिकरण गरिरहेको छ भन्नेसम्मको विश्लेषण छ।

'सीमान्त' शीर्षकमा मोहना अन्सारीले राजनीतिमा मुस्लिम महिलाको सम्भावना, बाधा र समाधानको उपाय देखाएकी छन्। यसक्रममा उनले नेपालका मुस्लिम समुदाय वा पुरुषलाई महिलाप्रति दक्षिणएशियामै सबभन्दा उदारको रुपमा चित्रण गरेकी छन्। कृष्णराज सर्वहारीले थारु कल्याणकारी सभाको उतारचढावको चर्चा गर्दै राणाकालमै स्थापित यो जातीय संस्थाको नेतृत्वहरूले समयको आकांक्षालाई राम्ररी आत्मसात् गर्न नसकेको विश्लेषण गरेका छन्। अन्तिममा राखिएको लोकराज बरालको संस्मरणात्मक लेख भने उति प्रासंगिक लाग्दैन।

समग्रमा, सिंगो देशभित्र चलिरहेको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक बहसको सन्दर्भमा मधेशलाई मधेशी आँखाबाट विश्लेषण गर्न खोज्नु यो जर्नलको विशेषता हो। मधेश र मधेशीको मात्र नभई नेपालका अन्य समुदाय र क्षेत्रको उत्पीडित भावनाको समेत प्रतिनिधित्व गरेको यो जर्नल सबैको लागि पठनीय/मननीय छ।

भानु बोखिम


छलछाममाथि छलफल

पुस्तक मेरो पत्रकारिताको खबर लेखक रघु मैनाली र विनोद भट्टराई

प्रकाशक एलायन्स फर सोसल डायलग पृष्ठ १०२+१८

नेपाली मिडियामा 'सेल्फ सेन्सरसीप' माथि छलफल चलाउने पत्रकारद्वय रघु मैनाली र विनोद भट्टराईको किताबको लेखकीय भन्छ– 'नेपाली समाचार कक्षहरूमा पत्रकारिताका मूल्य तथा मापदण्ड र दैनिक अभ्यासबीच चर्को विरोधाभास चलिरहेको छ। पत्रकारको दक्षता तथा प्रभावकारिता, पेशागत मर्यादा र विश्वसनीयता सबै पक्षमा यसले असर गरेको छ। जुन अवस्था पत्रकारिताले निर्वाह गर्नुपर्ने वास्तविक भूमिकाभन्दा धेरै अर्थमा विचलित र विमुख छ।' यसले बुझाउँछ, खास गरेर पत्रकारहरूले पढ्नै पर्ने यो किताबको महत्व।

लघुकथामा सम्भावना

पुस्तक विस्थापित शुक्रराज लेखक/प्रकाशक कैलाशकुमार सिवाकोटी

पृष्ठ १६८+४ मूल्य रु.१२५

मानवअधिकारको क्षेत्रमा क्रियाशील कैशालकुमार सिवाकोटी यसअघि 'मानवअधिकार कोश' निकालेर प्रशंसित भएका थिए। उनी एक जना प्रतिभाशाली कथाकार पनि भएको हालै प्रकाशित विस्थापित शुक्रराज ले प्रमाणित गरेको छ। ८७ थान लघुकथा सङ्गृहीत किताबले समकालीन नेपाली समाजको नाडी राम्रैसँग छामेको छ। सिवाकोटीका सबै कथाले 'लघु' हुनुको स्वभाव अनुसार राष्ट्रिय जीवनको हर क्षेत्रका चरित्रलाई रोचक–घोचक ढंगमा प्रस्तुत गरेका छन्। उनको लेखनीबाट नेपाली लघुकथा भण्डारले थप अपेक्षा गर्न सक्छ।

comments powered by Disqus

रमझम