४-१० साउन २०७१ | 20-26 July 2014

सेलोका सारथि

Share:
  
तामाङ सेलोको अवस्था बुझाउन यसमा सक्रिय एकसे एक उम्दा कलाकारको संख्या नै काफी छ।

ऋषिराम कट्टेल

इन्दिरा योञ्जन, शशिकला मोक्तान, इन्दिरा गोले, तुलसा वाइवा र जमुना योञ्जन।
उँभो उँभो लाग्यो भेडीगोठ, दम छैन दम छैन, डमडम डम्फू, गोरी गोरी मैच्याङ, डम्फू त बजाई नाचौं न लगायतका लोकप्रिय सेलोबाट चर्चित छन्, गायक तथा संगीतकार चन्द्रकुमार दोङ। काभ्रे, मेच्छेका उनी दुई दशकदेखि सेलो संगीतमा छन्। तामाङ र नेपाली भाषाका गरी करीब हजार गीतमा स्वर तथा संगीत दिएका चन्द्रले सेलो संगीतलाई व्यावसायिक बनाउने जश पनि पाएका छन्।

चन्द्रका अधिकांश सेलोमा इन्दिरा गोले गुरुङ जोडी छिन्। २०४५ देखि तामाङ ह्वाई नामक युगल गायनमा आएकी उनी देउराली गङह्री बाट सेलोमा चम्केकी हुन्। देउडादेखि लोकदोहोरी र आधुनिक गीतसम्म गाए पनि उनको नाम सेलोमै चम्केको छ। थुप्रै कलाकारलाई सेलोमा स्थापित गराएका चन्द्र भन्छन्, “सेलोको क्षेत्रमा यसरी काम गर्दा धेरै स्याब्बासी पाएको छु।”

कलाकारको लर्को

चन्द्र र इन्दिरा बाहेक जमुना योन्जन, तुलसा वाइवा, इन्दिरा योञ्जन, शशिकला मोक्तान, रोज मोक्तान, प्रेम लोप्चन, रामबाबु योञ्जन आदि सेलोका उम्दा नाम हुन्।

२०५१ सालदेखि गायनमा लागेकी सिन्धुपाल्चोक लिसंखुकी जमुना योन्जन ठेट तामाङ सेलो गायनको अग्रपंक्तिमै छिन्। उनको हिम्बुला जात्रा, क्यइलामी दार्वुङ, शिरबन्दी, लेकाली मैच्याङ लगायतका अल्बम धेरै लोकप्रिय छन्। सिन्धुली भद्रकालीकी तुलसा वाइवा र सिन्धुपाल्चोक लिसुकी इन्दिरा योञ्जनको नाम पनि सेलोमा कम छैन। डेढ दशकदेखि यो क्षेत्रमा सक्रिय इन्दिरा र तुलसाले सेलोलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। यी दुईको सहकार्यमा नाच्यो च्याङ्वा, सेलो संगम, चौबन्दी, चलनचल्ती जस्ता अल्बमहरू बजारमा आएका छन्। यसैगरी, रामेछाप दोरम्बाकी शशिकला मोक्तान छोटो अवधिमै सेलो गायनमा चर्चित भएकी गायिका हुन्। अल्बम बाहेक तामाङ भाषी चलचित्रहरूमा पनि उनको स्वर बाक्लै सुन्न पाइन्छ।

तस्वीरहरुः ऋषिराम कट्टेल
रोज मोक्तान, प्रेम लोप्चन र चन्द्रकुमार दोङ।
२०४२ सालमै हिमालयन हिस्टोरी अल्बम निकालेका सिन्धुपाल्चोक भुवा गाउँका प्रेम लोप्चन त तामाङ सेलोका वरिष्ठ नै भइहाले। ३० वर्ष प्रहरी कलाकार भएर काम गरेका उनले हिमालयन हिस्टोरी पछि डम्फू फ्रम हिमालय, कोदाको ढिंडो, दर्शन भाग १ र २, मुक्ति सन्देश, पुरानो दोस्ती, हाम्मैलिला खैलाला जस्ता अल्बम निकालेका प्रेम सेलो होस् वा अरू गीत, तिनले मान्छेको भावना र जीवनशैलीलाई छुनुपर्ने बताउँछन्। दुई वर्षअघि प्रहरी नायव निरीक्षक पदबाट अवकाश लिएका प्रेम भन्छन्, “मौलिक नेपाली नृत्य, गीत र आफ्नै समुदायको सेलोको उत्थानमा काम गर्न पाएकोमा सन्तुष्ट छु।”

उता रोज मोक्तान सेलोमा मात्र हैन नेपाली गीतमा पनि उत्तिकै परिचित बनेका छन्। सेलोका सात वटा अल्बम ल्याइसकेका उनी आफूले २० प्रतिशत अन्य गीत गाएको बताउँछन्।

गोपाल योञ्जन, जयनन्द लामा, कुमार बस्नेत आदि अग्रज कलाकारले लोकप्रिय बनाएको सेलोलाई अहिले नयाँ पुराना गरी दर्जनौं गायक–गायिकाले व्यावसायिक बनाएका छन्। अहिले यो विधामा सानु वाइवा, हेम वाइवा, रोशन फ्युबा, सागर एस वाइवा, विश्व दोङ, संजीव वाइवा, रामबाबु योन्जन, चन्दा घिसिङ, विशाल काल्तान, सुरेश घिसिङ, सोनाम राज मोक्तान, सोनाम बज्यु, फूलकुमार बम्जन, कृष्ण वाइवा लगायतका नाम चर्चामा छन्।

तर, व्यावसायिकता र नयाँ कलाकारहरूको आगमनसँगै तामाङ सेलोमा पश्चिमा संगीतको प्रभाव पर्दै गएको अनुभव गरिएको छ। कतिपय गायक–गायिकामाथि सेलो भन्दै पप, र्‍याप गाउन थालेको आरोप छ। तामाङ कलाकार संघका अध्यक्ष रहेका गायक–संगीतकार चन्द्रकुमार दोङ भन्छन्, “पुरानाहरूले मिहिनेतले जोगाएको सेलोको मौलिकताप्रति नयाँ कलाकार गम्भीर देखिएनन्।”

comments powered by Disqus

रमझम