४-१० साउन २०७१ | 20-26 July 2014

मिशन कोरिया

Share:
  

शब्द/तस्वीरः बेजल एडवर्ड टेओ

मीनु गुरुङ दशरथ रंगशालामा कोचको निर्देशन ध्यानपूर्वक सुन्छिन् र उसैगरी मुक्का प्रहार गर्छिन्। नेपाली बक्सिङ खेलाडी कोरियामा दुई महीनापछि आयोजना हुने एशियन गेम्सका लागि सघन तयारीमा जुटेका छन्।

मीनुले पार्टनर खेलाडीसँग खेल्दै गर्दा एउटा हातमा सिटी र अर्कोमा टाइमर समाएका कोच ओमकार मास्के 'ब्लक', 'पावर', 'बक्स' भन्दै कराउँदै थिए। २४ वर्षीया मीनुको ६ दिन, दिनको दुईपटक तालीमका लागि रंगशाला पुग्छिन्। अहिले १० जना बक्सरको टोली रंगशालमा अभ्यास गरिरहेको छ, जसमध्ये मीनु सबैभन्दा कान्छी हुन्।

मीनु गुरुङलाई प्रशिक्षण दिंदै ओमकार मास्के।

बक्सर पूर्णबहादुर लामा (३३)।

मीनु गुरुङ (२४)।

पूर्णबहादुर लामा (रातो टीसर्ट)।

“पछिल्लो एशियन गेम्समा बक्सिङले मात्रै नेपाललाई कास्य पदक जिताएको थियो”, मास्के भन्छन्। अहिले उनलाई मीनुबाट धेरै आशा छ।

राष्ट्रिय टोलीबाट बक्सिङ खेल्ने रहरले नै पाँच वर्षअघि मीनु नेपाली सेनामा भर्ना भएकी थिइन्। “सेप्टेम्बरमा गोल्ड मेडल जित्ने आशा छ”, उनले सहजै भनिन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९ जना खेलाडी रहेको नेपाली राष्ट्रिय बक्सिङ टोलीमा दुई महिला र आठ पुरुष गरी जम्मा १० जना छन्। खुला प्रतिस्पर्धाबाट छनोट हुने भए पनि अनुशासन, फिटनेश र लगानीले गर्दा बक्सिङ जस्ता पावर गेममा सुरक्षा निकायकै आधिपत्य रहने गरेको छ।

एथलेट परिवारमा जन्मिएकी मीनुको सानैदेखि पावर गेममा रुचि थियो। उनकी आमा हकी र फूटबल खेलाडी हुन् भने दाजु भारतीय सेनाका बक्सर। “आमा र दाजु निकै सपोर्टिभ हुनुहुन्छ”, मीनुले भनिन्, “शुरुमा त बुबाले बक्सिङलाई क्रूर खेल भन्दै मलाई निरुत्साहित गर्नुभयो, तर मैले प्रतिस्पर्धा जित्दै जाँदा उहाँले पनि सपोर्ट गरिरहनु भा'छ।”

जूनमा भएको छनोट प्रतियोगितामा मीनुले स्वर्णपदक जितेकी थिइन्। पुरुषतर्फ भने पाँच जनाको छनोट हुने भएको छ। रिङमा उत्रिसकेपछि मीनुले महिला भएकै आधारमा 'विशेष' व्यवहार पाउँदिनन्। स्पीड र टेक्निकमा भरपर्ने उनी केटाहरूसँगै तालिम गर्छिन् र आफूभन्दा ठूला र बलिया पार्टनरसँग भिड्छिन्।

लामा र २०१० मा भएको एशियन खेलका कास्यपदक विजेता दीपक महर्जन (दायाँ) ।

“नकआउट नै गर्ने गरी कडा प्रहार गर्न सक्दिनँ होला तर मसँग रक्षाको बलियो कौशल छ र म काउन्टर फाइटर पनि हुँ”, उनले आफ्नो खेल कौशलबारे ढुक्क हुँदै भनिन्।

सशस्त्र प्रहरीका पूर्णबहादुर लामा बक्सिङ टोलीका सबैभन्दा जेठा खेलाडी हुन्। १६ वर्षकै उमेरमा रिङमा उत्रे पनि एशियन खेलका लागि उनी छनोट भएको यो पहिलो पटक हो। “यो मेरो पहिलो एशियन गेम हो र, अन्तिम पनि हुनसक्छ”, जेठा खेलाडीले भने।

कोरियापछि डिसेम्बरमा हुने एशियन बक्सिङ च्याम्पियनशीप र त्यसपछि २०१६ मा हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने मीनुको योजना छ। “मैले ठूलो सपना देखेकी छु र त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि छ”, उनले भनिन्।

comments powered by Disqus

रमझम