४-१० साउन २०७१ | 20-26 July 2014

उदाउँदो स्टार

Share:
  
तनहुँ गजरकोटका राज सिग्देल (३०) नेपाली संगीताकाशमा प्रतिभाशाली गायकको रुपमा देखा परेका छन्।

ऊ जितेर गई या हारेर गई, नतीजा आफैंतिर पारेर गई... बोलको गजलबाट गायनमा आएका राज वरिष्ठदेखि कनिष्ठसम्मका संगीतकार र श्रोताको आँखामा परेका छन्। संगीतकार सुरेश अधिकारी राजको आगमनलाई नेपाली गायन विधामा एउटा शुभसंकेत मान्छन्। गत आठ वर्षदेखि चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीत सिकिरहेका उनी सबै खाले गीतमा उम्दा छन्। उनले मधुमास, महसूस, स्टुपिड मन लगायत आधा दर्जन फिल्ममा गाइसकेका छन्।

२०५७ मा एसएलसी सकेर काठमाडौं आएका उनी राम भुजेललाई बाँसुरी गुरु थापेपछि गायनतिर मोडिन पुगेका थिए। बाँसुरीवादक हुने ठूलो इच्छाका साथ आफूकहाँ आएका राजको गुनगुन सुनेपछि भुजेलले 'बाँसुरीमा भन्दा गायनमा तिम्रो भविष्य छ' भन्दै हौस्याएका थिए। “त्यसपछि चण्डीप्रसाद गुरुकहाँ पुगें”, राज भन्छन्, “पहिलो अल्बमको नाम पनि गुरुहरूप्रतिको सम्मानमा गुरु नै राखें।” तिम्रो मुस्कानमा..., मन पराएँ..., माया हराएको शहर.... लगायत ६ दर्जन गीत–गजल गाइसकेका राजका मुख्य संगीतकार पनि काफ्ले नै हुन्। दुई/चार महीना सारेगम रटेका गायक–गायिकाको बोलवाला भएको बेला साधना र धैर्यमा विश्वास गर्ने उनको गायकी साँच्चै आशालाग्दो छ।

शब्द/तस्वीरः ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम