भोजपुर च्याङ्ग्रे तथा तिवारी भञ्ज्याङ्गका दुई भाइ नवराज ('कोsहम') र नारायणप्रसाद ('सोsहम') भट्टराई १ साउनमा बिहारको राजधानी पटनामा भेटिए। असोज २०६५ सालको मुस्कान र उत्साह, जतिबेला नेपालका हरेक जिल्ला तथा दक्षिणएशिया भ्रमण गर्न भनेर दुई भाइ निस्केका थिए। उद्देश्य थियो, 'शान्ति, स्वतन्त्रता, मानवता र विश्वबन्धुत्व' को सन्देश फैलाउने।
आफ्नो मुलुकका सबै जिल्ला घुम्ने क्रममा नवराज र नारायणप्रसादले एउटा पुस्तक लेखे, वृत्तचित्र बनाए। नेपाल भ्रमण सकेपछि बर्मा र भूटान अनि भारतका २८ वटै राज्य घुमे दुई भाइले (त्यतिबेला तेलेङ्गाना छुट्टिइसकेको थिएन आन्ध्रप्रदेशबाट)। जताततै उनीहरूले नेपालीको सहयोग र सहारा पाए, कतै व्यवसायी, कतै प्रोफेसर, कतै मजदूर, कतै कठिन अवस्थामा जीवनयापन गरेकाबाट। साथै भ्रमण गरेका मुलुकवासीसामु यी दुई हँसिला अनुहारले 'इमेज' खस्कँदै गएको आफ्नो वतनको कुरा गरे, शान्ति फर्केको सन्देश दिए।
नारायणप्रसाद भन्छन्, “सबैतिरका नेपालीले गहिरो चिन्ता बोकेर बसेका रहेछन् नेपालको, शिलाङ्गदेखि बैङ्गलोरसम्म।” “आफ्नै देशमा यस्तो इलम गर्न पाएको भए पो...!” सबैको मुखमा अल्झेको थियो, उनी भन्छन्।
नवराज भन्छन्, “बर्मा र उत्तरपूर्वी भारतमा नेपालीभाषीमाझ एक–डेढ शताब्दीअघिको रहनसहन र बोलीचाली पायौं अचम्मै लाग्यो। भूटानमा नेपालीभाषी निर्धक्क प्रस्तुत हुन सक्दारहेनछन्, भारतीय नेपालीमाझ पहिचानको संकट रहेछ।” पटनाबाट आगरा, मथुरा र वृन्दावनहुँदै दुई भाइले साउनको अन्तिमतिर एक समारोहमाझ दिल्लीमा आफ्नो यस चरणको यात्रा अन्त्य गर्ने योजना बनाएका छन्।
कनकमणि दीक्षित