११-१७ साउन २०७१ | 27 July - 2 August 2014

रोजाइमा बीएचएम र बीबीए

Share:
  
- रामजी दाहाल
नेतृत्व क्षमता र व्यवस्थापन कौशलमा निपुण बनाउने भएकोले बीबीए र बीएचएममा विद्यार्थीको रुचि बढेको छ।

युनिग्लोब कलेजमा अध्ययनरत विद्यार्थी।
योग्य जनशक्ति उत्पादन गर्ने प्रभावकारी शैक्षिक कार्यक्रम हो, व्याचलर्स इन बिजनेश एडमिनिष्टे्रशन (बीबीए)। सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइमा जोड दिने भएकोले बीबीए पढाइ पूरा हुनासाथ औद्योगिक–व्यावसायिक प्रतिष्ठान तथा सरकारी सेवामा समेत राम्रो अवसर पाउने हुँदा विद्यार्थीको आकर्षण बढेको हो।

बीबीए पढाइले विद्यार्थीमा नेतृत्वदायी क्षमताका साथै व्यवस्थापन कौशलको विकास गराउने बताउँछन् मोर्डन नेपाल कलेजका भाइस चेयरम्यान किरण डंगोल। यसले विद्यार्थीको व्यवस्थापकीय र अन्तरक्रियात्मक क्षमता बढाउन मद्दत पुर्‍याउँछ। जुनसुकै क्षेत्रको सफलता वा असफलता नेतृत्व तहमा बस्ने व्यक्तिको क्षमतामा निर्भर हुन्छ। पेशा वा व्यवसायमा आइपर्ने समस्या समाधानको लागि चाहिने विश्लेषणात्मक क्षमता बीबीएले दिन्छ। व्यवस्थापनको महत्व बुझेर इञ्जिनियरिङका विद्यार्थी समेत बीबीएमा भर्ना भएको साउथ एशियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट (सायम) कलेजका डीन प्रा. डा. विजय केसी बताउँछन्। ब्याङ्क, इन्स्योरेन्स कम्पनी, निजी क्षेत्र र कर्पोरेट हाउसहरूमा नेपालकै बीबीए जनशक्ति बिकेको कलेज संचालकहरूको भनाइ छ।

नेपालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सन् २००२ देखि बीबीए पढाइ शुरू गरेको हो। हाल त्रिवि, पूर्वाञ्चल, पोखरा, काठमाडौं विश्वविद्यालय र केही विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर करीब ७० वटा कलेजले बीबीएको कक्षा चलाएका छन्।

बढ्दो प्रतिस्पर्धा

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको ललितपुरको जावलाखेलस्थित सायम कलेजले चार वर्षदेखि बीबीए कक्षा चलाएको छ। कलेजका डीन प्रा.डा. केसीको भनाइमा सामान्यतः बीबीए पूरा गर्न रु.५ लाखदेखि रु.६ लाखसम्म शुल्क लाग्ने भए पनि सायमले रु.३ लाख ६० हजारमा पढाउँदै आएको छ। विद्यार्थीलाई 'शेयरिङ एन्ड केयरिङ' सायमको विशेषता भएको उनी बताउँछन्। हरेक विद्यार्थीलाई शिक्षकले राम्रोसँग चिन्न सकून् भनेर यो कलेजले एउटा मात्र सेक्सन चलाएको छ।

सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको मध्यबानेश्वरस्थित युनिग्लोब कलेजले बीबीएसँगै बीबीए इन ब्याङ्किङ एन्ड इन्स्योरेन्सको पढाइ संचालन गरेको छ। ४८ जनाका दरले दुई सेक्सन चलाउँदै आएको यो कलेजले बीबीएमा रु.५ लाख ५५ हजार शुल्क लिने गरेको छ। विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक काममा सहभागी गराउने गरेको कलेजका प्रिन्सिपल नरबहादुर बिष्ट बताउँछन्। यहाँबाट उत्पादित केही विद्यार्थी ब्याङ्कमा कार्यरत छन् भने कतिपय एमबीए पढ्दैछन्। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले आधुनिक व्यवसायमा ध्यान दिएको बताउने प्रिन्सिपल बिष्ट भन्छन्, “स्वदेशी विश्वविद्यालयको पाठ्यक्रम मध्यमस्तरको जनशक्ति तयार गर्ने खालको छ।”

इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड, होटल म्यानेजमेन्टका विद्यार्थी प्रयोगात्मक अभ्यासमा।
सन् २०१२ मा लिंकन युनिभर्सिटी मलेशियाबाट सम्बन्धन लिएर बीबीए कक्षा संचालन गरेको बिजुलीबजारस्थित फोनिक्स कलेजले विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। गरीब तथा जेहेन्दार, दुर्गम क्षेत्र र दश जोड दुईमा राम्रो अंक ल्याएका विद्यार्थी मात्र होइन, हरेक सेमेष्टरमा उत्कृष्ट १० जनालाई छात्रवृत्तिको व्यवस्था गरिएको बताउँछन् कलेजका प्रिन्सिपल डा. विनोदबहादुर क्षेत्री। चार वर्षका लागि चाहिने रु.४ लाख ५० हजार शुल्कमध्ये करीब ७० हजार छात्रवृत्ति दिइने गरिएको क्षेत्रीले बताए। यो कलेजमा व्यावहारिक ज्ञानका लागि विद्यार्थीलाई औद्योगिक भ्रमण गराउनेदेखि बेलाबेलामा ब्याङ्क र कर्पोरेट क्षेत्रका विज्ञ बोलाएर कक्षा लिन लगाउनेसम्मका काम हुन्छ। प्रिन्सिपल डा. क्षेत्रीको बुझाइमा, विज्ञका अनुभव विद्यार्थीका लागि उपयोगी भएको छ। “चौथो वर्षमा विद्यार्थीलाई प्रयोगात्मक पढाइका लागि मलेशिया पठाउने व्यवस्था मिलाएका छौं”, डा. क्षेत्री भन्छन्।

बागबजारस्थित मोर्डन नेपाल कलेजले २०६० सालमा त्रिविबाट सम्बन्धन लिएर बीबीए कक्षा संचालन गरेको छ। दुई सेक्सनमा ३२ जनाका दरले विद्यार्थी राखेको यो कलेजले सरकारी र सामुदायिक विद्यालयका चार जना विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। यहाँ विद्यार्थीले रु.५ लाख ४५ हजार शुल्क बुझ्ाउनुपर्छ। कलेजका भाइस चेयरम्यान किरण डंगोल जुनसुकै व्यवसायमा यो विषयको जनशक्ति चाहिने भएकोले विद्यार्थीको आकर्षण बढेको बताउँछन्। नेपालमा पढेको विद्यार्थी कोर्ष पूरा नभई विदेश जाँदा पनि क्रेडिट ट्रान्सफर हुने भएकोले विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ। हरेक सेमेष्टरमा प्रोजेक्ट वर्क अनिवार्य गर्नुपर्ने भएकोले विद्यार्थीले औद्योगिक प्रतिष्ठान र ब्याङ्क तथा अन्य निकायमा गएर व्यावहारिक ज्ञान लिनुपर्ने डंगोल बताउँछन्।

गत वर्ष पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको पुरानो बानेश्वरस्थित राजधानी कलेजले थप कार्यक्रम संचालनको प्रस्ताव गरेको छ। रु.५ लाख २५ हजार शुल्क लिने यो कलेजले मेधावी, जनजाति र पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। लामो समय शैक्षिक क्षेत्रमा अनुभव बटुलेका शिक्षाविद्हरू संलग्न यो कलेजले जीवनोपयोगी शिक्षामा जोड दिएको संस्थापक प्रिन्सिपल केपी पन्त बताउँछन्। विद्यार्थीलाई व्यावहारिक ज्ञानमा निपुण बनाउनु कलेजको मुख्य उद्देश्य भएको उनको भनाइ छ। प्रिन्सिपल पन्तले कोरियाका ड्यालिम, ह्याङ्डङ् र केआईटी कलेजसँग विद्यार्थी र शिक्षकबीच अनुभव आदानप्रदान कार्यक्रमको सम्झौता गरेको बताए। “यसबाट हाम्रा विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव लिन मद्दत पुग्नेछ”, पन्त भन्छन्।

होटल म्यानेजमेन्टको आकर्षण

नेपालमा नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले सन् १९७२ देखि छोटो अवधिको होटल म्यानेजमेन्ट सम्बन्धी तालीम दिंदै आएकोमा सन् २००० देखि विश्वविद्यालय तहको पढाइ शुरू भयो। त्यसअघि होटल म्यानेजमेन्ट पढ्न भारत लगायतका मुलुकमा जानुपर्दथ्यो। अहिले त्रिवि, केयू, पोखरा र पूर्वाञ्चल विश्वविद्यालय तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका करीब ३० वटा क्याम्पसले होटल म्यानेजमेन्ट पढाइरहेका छन्। ए लेभल, मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा जुनसुकै संकायका विद्यार्थी यसमा भर्ना हुन पाउँछन्।

डिल्लीबजारस्थित इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्टले ११ वर्षअघि अष्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्सेसबाट सम्बन्धन लिएर बीएचएमको कक्षा संचालन गरेको छ। यहाँ बिहान र दिउँसो गरी चार सेक्सनमा २०० विद्यार्थी छन्। रु.४ लाख ९५ हजार खर्च हुने ६ सेमेष्टरको पढाइ अन्तर्गत अन्तिम दुई सेमेष्टरमा विद्यार्थीले एक वर्ष चीन र एक वर्ष दुबईमा इन्टर्नशीप गर्ने व्यवस्था मिलाइएको कलेजकी प्रिन्सिपल सम्झ्ना बस्नेत बताउँछिन्। उनका अनुसार हरेक ब्याचमा उत्कृष्ट हुनेका लागि अष्ट्रियामा छात्रवृत्तिको व्यवस्था गरिएको छ।

प्रिन्सिपल बस्नेतका अनुसार यहाँ पढेका विद्यार्थीमध्ये केही थप अध्ययनका लागि अमेरिका, बेलायत लगायतका मुलुकमा पुगेका छन् भने केही अन्तर्राष्ट्रिय एयरलाइन्स र स्वदेशी–विदेशी होटलमा कार्यरत छन्। कलेजले विद्यार्थीलाई जीवनोपयोगी सीपसँगै सकारात्मक सोचको विकासमा सघाएको प्रिन्सिपल बस्नेतको भनाइ छ।

विद्यार्थीको व्यक्तित्व विकास र सकारात्मक सोचाइमा ध्यान दिन्छौं।

सम्झना बस्नेत

प्रिन्सिपल, इन्टरनेशनल स्कूल

अफ टुरिजम एन्ड, होटल म्यानेजमेन्ट

स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ अप्लाइड साइन्सबाट सम्बन्धन लिएको मन्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेशन (गेट) ले सात वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउँदै आएको छ। कलेजका संस्थापक कार्यकारी अधिकृत खेमराज लकाई भन्छन्, “यहाँ भर्ना हुन आउने विद्यार्थीले कुन श्रेणीमा उत्तीर्ण गरेको छ भन्ने नहेरी ऊ कत्तिको मिहिनेती छ भन्नेमा ध्यान दिन्छौं।”

सेमेष्टर प्रणालीको तीनवर्षे यो कोर्षका लागि विद्यार्थीले रु.६ लाख बुझ्ाउनुपर्छ। प्रयोगात्मक पढाइ हुने यो विषयका विद्यार्थीलाई कलेजमै लञ्चको व्यवस्था गरिएको छ। अगष्ट र फेब्रुअरीमा गरी दुई पटक भर्ना लिने यो कलेजले एउटा कक्षामा ३० जनाका दरले दुई सेक्सनमा वार्षिक १२० जना विद्यार्थी भर्ना लिने जानकारी प्रमुख कार्यकारी अधिकृत लकाईले दिए।

विद्यार्थीले कुन श्रेणीमा उत्तीर्ण गरेको छ भन्ने नहेरी कत्तिको मिहिनेती छ भनेर बुझ्छौं।

खेमराज लकाई

सीईओ, ग्लोबल एकेडेमी अफ

टुरिज्म एन्ड हस्पिटालिटी एजुकेशन (गेट)

लैनचौरस्थित सिल्भर माउन्टेन कलेजले पनि १३९ वर्षको इतिहास भएको क्वीन मार्गरेट युनिभर्सिटी स्कटल्याण्डबाट सन् २००१ मा सम्बन्धन लिएर होटल म्यानेजमेन्ट पढाउँदै आएको छ। सेमेष्टर प्रणालीमा पढाइ हुने चारवर्षे कोर्षमा यो कलेजमा भर्ना हुन विद्यार्थीले दश जोड दुईमा कम्तीमा ५० प्रतिशत अंक ल्याएको हुनुपर्दछ भने शुल्क रु.६ लाख बुझाउनुपर्छ। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएकोले यहाँ पढेका विद्यार्थीले अन्तर्राष्ट्रिय रूपमा मान्यता पाउँछन्। कलेजका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर तिलक सापकोटा समयमा पढाइ र समयमै परीक्षा अनि अंग्रेजी माध्यमको पढाइले गर्दा विदेशमा सजिलै रोजगारी पाउने भएकोले विद्यार्थीको आकर्षण बढेको बताउँछन्।

होटल म्यानेजमेन्ट पढाउने कलेजहरूले विद्यार्थीलाई प्रयोगात्मक पढाइका लागि विदेशस्थित होटलहरूमा पठाउने व्यवस्था मिलाएका छन्। गेटले आफूकहाँ अध्ययनरत विद्यार्थीलाई इन्टर्नशीपका लागि दुबई, बहराइन, कतार, चीन पठाउने व्यवस्था मिलाएको छ। पहिलो वर्षको परीक्षा दिएपछि विद्यार्थी एक वर्षसम्म बाहिरी मुलुकमा बसेर प्रयोगात्मक ज्ञान हासिल गर्छन्। यसैगरी, सिल्भर माउन्टेनले पनि चौथो सेमेष्टरको पढाइ पूरा भएपछि आफ्ना विद्यार्थीलाई भारत, दुबई, मलेशिया लगायतका मुलुकमा पठाउने व्यवस्था मिलाएको म्यानेजर सापकोटाले बताए। सिल्भर माउन्टेनले विद्यार्थीको प्रयोगात्मक पढाइका लागि कलेज परिसरमै 'टिचिङ होटल' को अवधारणा ल्याएको छ, जहाँ विद्यार्थीले शिक्षकको प्रत्यक्ष निर्देशनमा अतिथि सत्कारदेखि हाउस किपिङ, रेस्टुराँ र बारसमेत चलाउने सापकोटा बताउँछन्।

विद्यार्थीलाई 'शेयरिङ एन्ड केयरिङ' हाम्रो कलेजको मुख्य विशेषता हो।

प्रा.डा. विजय केसी

डीन, सायम कलेज

गेट कलेजले छोटो अवधिको कूक र बारिस्ता (कफी बनाउने) को तालिम पनि संचालन गर्दै आएको छ। ९ महीने कूक तालिमका लागि रु.१ लाख र एक महीने कफी तालिमका लागि रु.१५ हजार बुझाउनुपर्छ। कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईका अनुसार यहाँबाट तालिम लिएका र अध्ययन गरेका विद्यार्थीले अन्तर्राष्ट्रियस्तरका होटलमा रोजगारीको अवसर पाएका छन्। यसैगरी, सिल्भर माउन्टेन कलेजले सन् २००८ देखि हाइअर डिप्लोमा इन कुलिनरी कोर्ष संचालन गरेको छ। तीनवर्षे यो कोर्ष पूरा गर्न विद्यार्थीले रु.४ लाख ६० हजार बुझ्ाउनुपर्छ। अतिथि सत्कार गर्ने संस्कारमा हुर्केका नेपालीलाई होटल सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउन सकिएमा नेपालमा पर्यटन र होटल उद्योगको भविष्य निकै आशलाग्दो हुने लकाईको बुझाइ छ।

comments powered by Disqus

रमझम