११-१७ साउन २०७१ | 27 July - 2 August 2014

नसोचे घातक

Share:
  
- डा. सुमनराज ताम्राकार
१२ साउनको विश्व हेपाटाइटिस दिवसको 'पुनः सोचौं' भन्ने नाराबारे नसोच्दा पछुताउनुपर्ने हुन सक्छ।

हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाइन्छ। प्रा. ब्लुमवर्गको सम्झ्ना र भाइरल हेपाटाइटिसबाट हुने स्वास्थ्य समस्याबारे बुझनु–बुझाउनु यो दिवसको मूल उद्देश्य हो। हेपाटाइटिस सम्बन्धी जनचेतना, रोकथाम, निदान, नियन्त्रण तथा हेपाटाइटिस बी खोपको 'कभरेज' वृद्धि आजको आवश्यकता हो।

भाइरल हेपाटाइटिस भनेको संक्रामक रोगहरूको समूह हो, जसमा हेपाटाइटिस ए, बी, सी, डी र ई समेटिएको हुन्छ। सख्त तथा जीर्ण प्रकारका हेपाटाइटिसले विश्वमा वर्षेनि करीब १४ लाख मानिसको ज्यान लिने गरे पनि कतै यसबारे यथेष्ट जानकारी नै छैन भने कतै बेवास्ता गरिएको छ।

हेपाटाइटिस ए

दूषित खाना तथा पानीजन्य संक्रमणका मुख्य कारकमध्येको एक यो भाइरल संक्रमणले गम्भीर प्रकृतिको समस्या गराउन सक्छ। यो संक्रमण र स्वच्छ पानीको अभाव तथा नाजुक ढल निकासबीच प्रत्यक्ष सम्बन्ध छ। हेपाटाइटिस एले सन् १९८८ मा चीनको सांघाईमा एकै पटक तीन लाख मानिसलाई समातेर भयानक स्थिति खडा गरेको थियो।

हेपाटाइटिस ए विरलै प्राणघातक सावित भए पनि संक्रमितलाई थला पारेर छाड्छ। वातावरणमा यसको भाइरस हतपत्ति नमर्ने हुनाले खाद्य उत्पादन प्रक्रियाका दौरान गरिएका व्याक्टेरिया नियन्त्रण उपक्रमहरूले राम्रो परिणाम नदेखाउन सक्छ।

हेपाटाइटिस ए संक्रमणमा ज्वरो आउने, अल्छी लाग्ने, खाना अरुचि हुने, पखाला–वाक्वाकी लाग्ने, पेट असहज हुने, गाढा रंगको पिसाब हुने तथा आँखा र छाला पनि पहेंलो हुने हुन्छ। तर, सबै संक्रमितमा यी लक्षणहरू नदेखिन सक्छ। अन्य प्रकारको हेपाटाइटिसमा पनि यस्तै लक्षण देखिनसक्ने हुनाले लक्षणकै आधारमा हेपाटाइटिस ए छु्ट्याउन सकिंदैन। त्यसको लागि रगत जाँच नै गर्नुपर्छ। हेपाटाइटिस एको उपचार भनेको रोग पहिचान अनि संक्रमित व्यक्तिलाई सजिलो बनाउने, पोषिलो खाना ख्वाउने र झडापखालाका कारण खेर गएको लवण परिपूर्ति गर्ने हो। बिरामीलाई तङ्ग्रिन समय लाग्छ।

हेपाटाइटिस बी

यो भाइरल संक्रमणले कलेजोमा एक्कासी दीर्घकालीन आक्रमण गर्छ। हेपाटाइटिस बी रगत र अन्य शारीरिक श्रावबाट अरू व्यक्तिमा र संक्रमित आमाबाट गर्भे शिशुमा सर्छ। यसले विश्वमा वर्षेनि करीब ८ लाख मानिसको ज्यान लिने गरेको छ। स्वास्थ्यकर्मीहरूको लागि हेपाटाइटिस बी पेशागत स्वास्थ्य जोखिम हो। प्रभावकारी खोप उपलब्धताका कारण हेपाटाइटिस बी कम खतरनाक बन्दै गएको छ।

मानव शरीर बाहिर एक सातासम्म बाँच्न सक्ने यो भाइरसले कालान्तरमा बिरामीलाई कलेजोको सिरोसिस वा क्यान्सर गराउन सक्छ, तर ९० प्रतिशतभन्दा बढी बिरामी निको हुन्छन्। यसको उपचारमा हेपाटाइटिसको एकै नियम लागू हुन्छ। यस विरुद्ध एन्टरफेरोन र एन्टी भाइरल औषधि छन्, तर खोप उपचारको मुख्य आधार हो। यस्तो खोप शिशु जन्मेको २४ घन्टाभित्रै दिन सकिन्छ। नेपालमा यसलाई राष्ट्रिय खोप तालिकामा पारिएको छ।

पूर्वी एशिया र अफ्रिकी क्षेत्र जाने पर्यटकले अनिवार्य रूपमा खोप लिनुपर्छ। रगत लिइराख्नुपर्ने, डाइलाइसिस गराउनुपर्ने, नसाद्वारा लागूपदार्थ लिने, घरमा कसैलाई हेपाटाइटिस बी संक्रमण छ भने वा संक्रमित वा धेरै जनासँग यौन सम्बन्ध राख्नेले पनि हेपाटाइटिस बीको खोप लिनुपर्छ।

हेपाटाइटिस ई

गर्भवतीहरूका लागि खतराको घन्टी नै हो– हेपाटाइटिस ई। विश्वमा वर्षेनि दुई करोड मानिस यसबाट प्रभावित हुन्छन्। तीमध्ये करीब ३० लाख नराम्ररी थलिएर निको हुन्छन् भने करीब ५६ हजार बाँच्दैनन्। हेपाटाइटिस ई प्रायः आफैं निको भए पनि यसले कलेजोलाई फेल गराउन सक्छ। यसको संक्रमण पूर्वी तथा दक्षिण एशियामा बढी छ। संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी र मृत्यु हुनेमध्ये ६५ प्रतिशत तिनै क्षेत्रका छन्। युद्धग्रस्त क्षेत्र, शरणार्थी शिविर र विस्थापित परिवारमा पनि यसको बढी आक्रमण हुन्छ।

हेपाटाइटिस ईबाट संक्रमित गर्भवती महिलामध्ये २० प्रतिशतको मृत्यु हुने गरेको छ। कलेजोमा हेपाटाइटिस ईको संक्रमण भएका व्यक्ति र गर्भवतीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ। हेपाटाइटिस ए र ईबाट बच्न स्वच्छ आहारबिहार र हेपाटाइटिस बी र सीबाट बच्न निर्मलीकरण गरिएको सुई, सुरक्षित यौन सम्पर्क, राम्ररी जाँचिएको रगत तथा रगतजन्य पदार्थको उपयोगमा होशियार हुनुपर्छ।

comments powered by Disqus

रमझम