११-१७ साउन २०७१ | 27 July - 2 August 2014

बारीको 'साथी'

Share:
  

घरको भान्साबाट निस्कने फोहोर टाउकोदुखाइ भएको समयमा काठमाडौं, स्वयम्भूकी सानुमैया महर्जन (४०) ले त्यही फोहोरलाई व्यवस्थापन गरेर महीनामा ७० केजी मल उत्पादन गरिरहेकी छन्। त्यो मलबाट उनी एकहजार वर्गफिटको छतमा काँक्रो, सिमी, बोडी, गोलभेंडा, अकबरे खुर्सानी, भान्टा, फर्सी, लौका, लसुन, अम्बा, धनियाँ, कागती, इस्कुस, मुला, सुन्तला, हरियो धनियाँ लगायत मौसम अनुसारका तरकारी र फलफूल फलाउँछिन्। “नजिकैको बेकरी क्याफेमा प्रयोग भइसकेको चियापत्ती र तरकारी पसलबाट बिग्रेको तरकारी पनि ल्याएर घरकै फोहोरमा मिसाएर मल बनाउँछु”, महर्जन भन्छिन्।

देबकी विष्ट

यसो गर्दा विषादीयुक्त तरकारीमा खर्च हुने पैसा बचत हुने र वातावरण संरक्षणमा सघाउ पुग्नुको साथै समय पनि राम्ररी कट्ने महर्जनको अनुभव छ। २०५६ सालमा महानगरपालिकाबाट मल बनाउने तालीम लिएपछि १० किलो गड्यौलाबाट प्राङ्गारिक मल बनाउन थालेकी महर्जन कहिलेकाहीं धेरै हुँदा मल बेच्छिन् पनि। पहिला तरकारी धेरै हुँदा छिमेकी र आफन्तहरूलाई बाँड्ने उनी अहिले बेच्छिन्। उनीकहाँ हरियो अकबरे खुर्सानी प्रतिकिलो रु.५०० मा पाइन्छ भने त्यसको बिरुवा रु.२० मा।

घरमा मल नबनाउँदा फोहोर लैजाने गाडी कतिखेर आउला भनेर कुरेर बस्ने गरेको सुनाउने महर्जन सानातिना तालीम र जाँगर हुने हो भने घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरेर सजिलै मोहर बनाउन सकिने बताउँछिन्। भान्साबाट निस्कने फोहोरलाई मल बनाउँदा कौसीमा गरिएको खेतीलाई प्रशस्त पुगे पनि पानी नहुँदा चर्को समस्या भोगेकी महर्जनले आकाशे पानी संकलन गरेर त्यो समस्या पनि पार लगाएकी छिन्। २०५९ सालदेखि आकाशे पानी प्रयोगमा ल्याउन थालेकी उनलाई त्यो पानीले ६―८ महीना पुग्दछ। खडेरीको दुई महीना इनारको पानीले काम चलाउने उनले बताइन्।

गमला, बाल्टी, ड्रम, सिमेन्ट र चामलका बोरा मात्र होइन बाटोमा फ्याँकिएको भाँडोमा पनि उनले लटरम्म तरकारी फलाएकी छन्। भूकम्पीय जोखिम र घरले कति अतिरिक्त भार थाम्न सक्छ भन्ने कुरा इन्जिनियरहरूबाट बुझेर उनले कौसी खेती थालेकी हुन्। उनको छतमा तरकारी लगाएका गमला, बाल्टी, ड्रम लगायतका भाँडोहरूलाई बलियो गरी डोरीले बाँधिएको छ। तिनमा फलेका तरकारी र प्राङ्गारिक मललाई उनी कहिलेकाहीं उपहारको रूपमा आफन्तकहाँ पठाउने गर्छिन्।

आकाशे पानी संकलन, मल उत्पादन र कौसी खेतीबारे जानकारी लिन कोही आउँदा उनलाई खुशी लाग्छ। उनले आकाशे पानीलाई खानयोग्य पनि बनाएकी छन्। आकाशको पानी इनार र ट्याङ्करले ल्याउने पानीभन्दा गुणस्तरीय हुने भएकाले संकलन गर्ने सुझाव दिन्छिन्। पछिल्लो समय सानु मैयाले सामाजिक सञ्जाल फेसबुकलाई पनि सचित्र सुझाव टाँस्ने भित्तो बनाएकी छन्। फेसबुकमा आफूले फलाएको नयाँ फसलहरूको तस्वीरसँगै कौसी खेती विधिहरू राख्ने गरेको बताइन्। “कौसी खेतीको सबभन्दा ठूलो फाइदा चाहिं आत्मसन्तुष्टि हो”, महर्जन भन्छिन्।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा काम गर्ने उनी विष्णुमतीका किनारमा बस्नेहरूलाई फोहोरबाट मोहर बनाउन प्रेरित गर्दै हिंड्दा पनि आनन्दित हुन्छिन्। महानगरपालिकाको हरेक फोहोर व्यवस्थापन र कौसी खेती तालीममा सहभागी हुन पाउने भएकाले पनि उनी यसमा बढी जानकार छन्।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम