११-१७ साउन २०७१ | 27 July - 2 August 2014

अनौठा मान्छेको दर्पण

Share:
  

पुस्तक अनौठो मुलुक अनौठा अनुभूति विधा नियात्रा लेखक चन्द्रप्रसाद भट्टराई

प्रकाशक उत्कृष्ट प्रकाशन प्रालि पृष्ठ १९४+१४ मूल्यः रु.२९५

'प्रकृतिको वरदान नेपाल जस्तो सानो तर विविधतापूर्ण भूगोल भएको देश संसारमा निकै कम छन्। तर पनि यस देशको विकास नहुनु दुर्भाग्यपूर्ण लाग्छ।' नेपालबारे अध्ययन अनुसन्धान गर्न आएका प्रायः विदेशी शोधकर्ताहरू यसै भन्छन्। दक्षिणी प्रशान्त महासागर क्षेत्रको सुन्दर देश पपुआ न्युगिनीको अर्थमन्त्रालय अन्तर्गतको एउटा योजनाको सल्लाहकार बनेर त्यता पुगेका चन्द्रप्रसाद भट्टराई त्यस अनौठो राज्यबारे लेख्छन्, 'ठाउँ मात्र राम्रो भएर के गर्नु, मान्छे जति चोरैचोर।' यी दुवै सन्दर्भले कहीं न कहीं मेल खान्छन्।

उमेरको नदी अलिपर नै पुगिसकेपछि लेखक भट्टराईले नेपाली साहित्यको मूल प्रवाहको फेरो समातेका हुन्। एक दशकअघि (२०६१) उनको नियात्रा सङ्ग्रह 'प्रशान्तका छालहरूमा मेरो नेपाल' नामक कृति प्रकाशित भएको थियो। नवीनतम नियात्रा सङ्ग्रह 'अनौठो मुलुक अनौठा अनुभूति' मा उनले पपुआ न्युगिनीमा देखे–भोगेका अनौठा व्यवहार र मान्छेको चित्र खिचेका छन्। आर्थिक गतिविधिको प्रवर्द्धनमा सल्लाहकारको भूमिकामा रहँदा भट्टराईले प्राकृतिक स्रोतसाधनले सम्पन्न पपुआ न्युगिनीको उन्नति हुन नसक्नुको कारण पनि खोतलेका छन्। र, तुलना गरेका छन्– आफ्नो देश नेपाल र आफू पुगेको देश तथा त्यहाँका जनताको अवस्थाको।

शब्दको क्यामेराबाट मान्छेको जीवन खिच्ने उनको शैली आकर्षक छ। भट्टराईको नियात्रा पढिरहँदा लैनसिं बाङ्देलको प्रसिद्ध यात्रा निबन्ध 'रोमको एउटा फूल र प्यारिसको एउटा काँडा' को सम्झना गराउँछ। शीर्षकबाटै बुझ्न सकिन्छ, यो पुस्तक अनौठा सन्दर्भहरूले भरिएको छ। नेपालभन्दा ठूलो क्षेत्रफल भएको पपुआ न्युगिनीमा जम्माजम्मी ६० लाख मान्छे बस्छन्, तर ८०० भाषा बोल्छन्। जम्माजम्मी ५० जनाको समूहले बोल्ने 'कोङ्गी' भाषा छ। भाषाकै कारण विखण्डित मानसिकतामा बाँचिरहेका पपुआ न्युगिनीका बासिन्दाबारे चर्चा गर्दा भट्टराईले नेपाली भाषाको समृद्ध अवस्थाको पनि बयान गरेका छन्। लेखकले खण्डित मन बोकेका एकै भूगोलका बासिन्दालाई बाँध्ने बलियो डोरी भनेको भाषा नै हो र राष्ट्रियता भने पनि देशप्रेम भने पनि भाषाप्रेम नै हो भन्ने सन्देश दिन खोजेका छन्।

केही दशकअघिसम्म पपुआ न्युगिनीका कतिपय जाति मान्छेको मासु खान्थे! उनीहरूलाई जापानीहरूको मासु सबभन्दा मीठो लाग्थ्यो! त्यहाँका मानिसहरू अहिले पनि धामीझाँक्री र टुनामुनामा विश्वास गर्छन्। टुनामुनामाथिको विश्वासका कारण भाषा बढी भएको कतिपय अध्ययनले देखाएका छन्। त्यही कारण हुनुपर्छ– 'स्टकब्रोकर र थिएटरप्रेमी न्युयोर्क जानु, मानवशास्त्रीहरू पपुआ न्युगिनी' भन्ने भनाइ चलेको। यस्ता अन्य थुप्रै अनौठा सन्दर्भ नियात्राकार भट्टराईले यस पुस्तकमा समेटेका छन्।

भट्टराईका अनुसार, पपुआ न्युगिनीवासी आज सिकायो भोलि बिर्सियो स्वभावका छन्। यस्तो लाग्छ, उनीहरूमा कुनै इच्छाशक्ति छैन। यस्तो मानसिकताका जनता भएको देशमा सरकारले चाहेर मात्रै केही नहुने रहेछ भन्ने भट्टराईको ठहर छ। पुस्तकको एउटा नियात्रा 'निलार विन' को बीचका केही अनुच्छेद हटाइदिने हो भने यो सुन्दर कथा बन्छ। कुल २३ नियात्रामध्ये ११ वटा छोटा छन्। केही नियात्रा सपाट वर्णन जस्ता लाग्छन्– विना कलाका। तथापि, तिनलाई मानवशास्त्रीय, अर्थशास्त्रीय र समाजशास्त्रीय दृष्टिले महत्वपूर्ण बनाएको छ।

मान्छेसँग घुलमिल भएर नयाँ–नयाँ कुरा सिक्न भट्टराई खप्पिस छन्। नत्र, पपुआ न्युगिनी जस्तो अनौठो देशको सम्पर्क भाषा पिजिन् सिकेर जनजीवनलाई अक्षरमा उतार्नु सहज हुने थिएन। उनले पाठकलाई यो सङ्ग्रह मार्फत त्यो अनौठो समाजभित्र सजिलै प्रवेश गराएका छन्।

राजेन्द्र पराजुली


वाणिज्य ज्ञान भण्डार

पुस्तक वाणिज्य कानूनः शब्द परिचय सम्पादक भरतराज उप्रेती

प्रकाशक कानून अनुसन्धान तथा विकास फोरम (फ्रिडिल) पृष्ठ २४०, मूल्य रु.३००

कानूनमा परिभाषित र प्रयुक्त धेरैजसो शब्द–शब्दावलीको अर्थ–मर्म बुझ्न सबैलाई सहज हुँदैन। सुन्दा एकथरी लाग्ने शब्दको अर्थ अर्कै हुन सक्छ। त्यसखाले शब्द–शब्दावलीहरुलाई सरल रुपमा प्रस्तुत गर्दा मात्र ऐन–कानूनका व्यवस्थाको अर्थ–मर्म बुझ्न सहज हुन्छ। कानून अनुसन्धान तथा विकास फोरमले निकालेको वाणिज्य कानून : शब्द परिचय पुस्तक त्यही सजिलोको खोजी हो।

वरिष्ठ अधिवक्ता भरतराज उप्रेतीद्वारा सम्पादित पुस्तकमा वाणिज्य कानूनका जटिल र प्राविधिक शब्दावलीहरुलाई बुझ्न सजिलो हुने किसिमले प्रस्तुत गरिएको छ। सात खण्डमा विभाजित पुस्तकले कम्पनी कानून, दामासाही कानून, दूरसञ्चार, धितोपत्र, बीमा व्यवसाय, ब्याङ्क तथा वित्तीय संस्था र लेखा व्यवस्थापनमा प्रयोग हुने कानूनी प्रावधान तथा त्यसमा समावेश हुने शब्दावलीलाई आवश्यक व्याख्यासहित सरल ढंगले प्रस्तुत गरेको छ। सर्वोच्च अदालतमा न्यायाधीश रहिसकेका 'कर्पोरेट लयर' उप्रेतीले जटिल शब्दावलीहरुलाई सरल भाषामा अर्थ्याएका छन्। यो पुस्तक समग्र वाणिज्य क्षेत्रमा प्रयोग हुने भाषा र शब्दावली बुझ्न उपयोगी छ ।

comments powered by Disqus

रमझम