११-१७ साउन २०७१ | 27 July - 2 August 2014

नेपालमा पनि चाहियो

Share:
  
अहिले सस्तो र सामान्य भइसकेको प्रविधिको प्रयोगबाट नेपालका सडकलाई सुरक्षित बनाउन सकिन्छ।

सुर्खेतका महेन्द्र थापाले ट्राफिक प्रहरीविहीन अष्ट्रेलियाको सडक चोकमा रातो बत्ती बले पनि मोटरसाइकल नरोक्दा चार किलोमिटर पर पुगेपछि १०० डलर जरिवाना तिर्नुपर्‍यो। त्यस्तै, डेनमार्क बस्ने काठमाडौंका मनोज घिमिरे गाडी बेतोडले हाँकेको डीभीडी र जरिवाना रसिद आफूभन्दा पहिल्यै घर पुगिसकेको सुनाउँछन्। स्वीडेनमा सडक सुरक्षा सम्बन्धी अध्ययन गरेका सडक विभागका इन्जिनियर केशव शर्मा भन्छन्, “त्यस्ता प्रविधिमध्ये एकतिहाइ मात्र अपनाउँदा पनि नेपालको सवारी व्यवस्थापन अहिलेको भन्दा दश गुणा राम्रो हुन्छ।”

ट्राफिक प्रहरीका अनुसार नेपालमा सडक दुर्घटनाबाट हुने वार्षिक मृत्युदर सरदर ८७३ जना पुगेको छ। २०४६ सालयता सडक दुर्घटनामा परेकाहरूलाई राहत र क्षतिपूर्ति बापत दिइएको रकम नै रु.४ अर्ब पुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वमा मानिसको ज्यान जाने प्रमुख १० कारणमध्ये सडक दुर्घटना ९औं नम्बरमा छ। यसले वर्षेनि १५ लाखभन्दा बढीको ज्यान लिन्छ, जसमध्ये नेपाल जस्ता अल्पविकसित देशका बढी हुन्छन्। सन् २०३० सम्ममा मानिसको ज्यान लिने तेस्रो कारण सडक दुर्घटना बन्ने डब्लुएचओको चेतावनी छ।

चिपकार्डदेखि सेन्सरसम्म

अव्यवस्थित ट्राफिक, दुर्घटना र डकैती नेपाली सडकका प्रमुख समस्या हुन्। लामो दुरीका बस बीचमै लुटिन्छन्। मोबाइल नेटवर्क बाहिरको ठाउँमा गाडी बिग्रँदा यात्रुहरू घन्टौं सम्पर्कविहीन हुन्छन्। ब्याङ्क लुटिंदा वा हत्याका घटना हुँदा लुटेरा वा हत्याराहरू बाइकबाट भागेको समाचार आउँछ। बाइकलाई 'ट्रेस' गर्ने प्रविधि भए अपराधीहरू जति भागे पनि जेलमै पुग्ने थिए। हाम्रा सडकमा जथाभावी गाडी हाँक्ने, हर्न बजाउने चालकहरूको राज छ। विकसित मुलुकमा ट्राफिक प्रहरीको आँखा नपुग्ने ठाउँहरूमा चालकको गतिविधि नियाल्ने प्रविधि जडान गरेर सडक संस्कृति विकास गरिएको हुन्छ।

विदेशतिर ट्राफिक जाम हुँदा पनि दुई वटा गाडीको बीचमा कम्तीमा पाँच मिटर दुरी कायम गरिएको देखिन्छ। ट्राफिक प्रहरी विनै नियम पालना हुन्छ। कसैले हेलचेक्र्याईं गर्‍यो भने पनि उम्कँदैन। ती देशहरूमा दर्ता गर्दा नै गाडीमा सेन्सर राखिएको हुन्छ। त्यसले सडकको रिसिभर सेन्सरसँग संचार गर्छ र कति नम्बरको गाडी अहिले कहाँ छ भन्ने लगायतका जानकारी सम्बन्धित सर्भरहरूमा पठाउँछ।
कुनै गाडी वर्षभरि कहाँ कहाँ पुग्यो, कति सडक कर तिर्‍यो, कुन पार्किङमा कति बेर अडियो भन्ने समेत पत्ता लाग्छ। पश्चिमा देशहरुमा स्मार्ट टिकटको रूपमा चिपकार्ड प्रयोग गरिन्छ। तय गरेको दुरी चिपकार्डमा हेरेर पैसा काटिन्छ। यो प्रविधिले कुन यात्रुले कहाँदेखि कहाँसम्मको यात्रा गर्‍यो भन्ने तथ्यांक राखेर अपराध नियन्त्रणमा पनि भूमिका खेलिरहेको हुन्छ।

यातायात व्यवस्था विभागका प्रवक्ता मुक्ति केसी नेपालमा पनि आगामी वर्षभित्र एक लाखभन्दा बढी सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताबलाई स्मार्ट कार्डमा बदल्न लागिएको बताउँछन्। यसले नक्कली गाडी र लाइसेन्सको धन्दालाई निरुत्साहित बनाउने केसीले बताए। तर, यो बाहेक अरू योजना छैन, अहिलेलाई। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) वसन्त पन्त भने सबै गाडीमा 'इम्बोस्ड' (अक्षर उठेको) नम्बर प्लेट राखेर सडकहरूमा पनि सेन्सरहरू जडान गर्न अत्यावश्यक भइसकेको बताउँछन्, जसबाट गाडीहरूलाई 'ट्रेस' गर्न सकियोस्।

बढ्दो सवारीचापका बीच ट्राफिक प्रहरी पूरै 'म्यानुअल' तरीकाले काम गरिरहेको छ। यस्तोमा धेरै जनशक्ति चाहिने भए पनि प्रहरीमा थुप्रै दरबन्दी खाली छ। कम जनशक्तिमा पनि प्रहरीलाई सफल बनाउन ट्राफिक लाइट, सीसीटीभी, सेन्सर डिभाइस, डिजिटल लाइसेन्स स्क्यानर जस्ता उपकरण चाहिन्छ। यसबाट सवारी व्यवस्थापनसँगै जनधनको क्षति तथा अपराध न्यूनीकरण हुन्छ। गाडीमा सेन्सर जडान र इम्बोस्ड नम्बरप्लेट राख्न सवारी धनीले बढीमा रु.१५ हजार खर्च गर्नुपर्ने हुन सक्छ।

सवारी करमार्फत राज्यले उठाइरहेको करोडौं रुपैयाँमध्ये एक वर्षको आम्दानी खर्च गर्दा देशभरका सबै मुख्य सडकमा सेन्सर जडान हुन्छ। टिकटलाई 'स्मार्ट' बनाउन ब्याङ्कहरूले एटीएम कार्ड छापेभन्दा बढी खर्च नहोला। चिपकार्ड वितरण गर्नेले केही लाखको मेशीन किन्नुपर्ला अनि त्यसबाट निस्कने एउटा चिपकार्डका लागि एकजनाले रु.३–४ सय तिर्नुपर्ला। विदेशमा पुरानो भइसकेको प्रविधिले हाम्रो सवारी व्यवस्थापन र सडक सुरक्षालाई यति नयाँ र सहज बनाइदिन्छन् कि, त्यसका लागि शुरूमा गरेको खर्चलाई भुल्न धेरै बेर लाग्दैन।

गणेश आचार्य

सवारी व्यवस्थापनका प्रविधि

जीपीएसः कुन गाडी कहाँ छ, कति गतिमा दौडिरहेको छ, ट्रेस गर्ने प्रविधि।

फ्याटिग डिटेक्सनः गाडी चलाउँदा चलाउँदै ड्राइभरमा शारीरिक समस्या आयो भने त्यसको जानकारी दिने ताररहित प्रविधि।

इन–कार इमोसन एन्ड एनिमल डिटेक्सनः गाडी कुदिरहेको बेला मान्छे, जनावर, खाल्डा–खुल्डी, भीर या अरू खतरा आउँदा आफैं ब्रेक लाग्ने प्रविधि।

फरवार्ड कोलिजन एभोइडेन्सः गाडीहरूलाई एक आपसमा ठोक्किन नदिन बीचमा निश्चित दुरी कायम गर्ने ताररहित प्रविधि।

पोटेन्सियल कोलिजन डिटेक्सन सिस्टमः कतैबाट केही ठोक्किन आउने सम्भावना भए, त्यसको श्रव्य–दृश्य ड्राइभरको स्त्रि्कनमा आइपुग्ने प्रविधि।

सक रेसिस्टेन्सः गाडीले निश्चित परिमाणको धक्का थेग्न सक्ने प्रविधि ।

comments powered by Disqus

रमझम