ललितकला प्रज्ञा–प्रतिष्ठानको नक्सालस्थित अरनिको ग्यालरीमा ३–७ साउनमा भएको आफ्नो पहिलो एकल प्रदर्शनीबाटै गहिरो प्रभाव पार्न सफल भएका छन्– कलाकार रामकुमार लामा। काष्ठकर्मीहरुसँग काम गर्दागर्दै कलामा रुचि जगाएका उनले २०५९ सालदेखि २०६३ सालसम्म ललितपुरको पुल्चोकस्थित अक्षेश्वर महाविहारमा चित्रकला, मूर्तिकला, बौद्ध धर्म–संस्कृतिबारे प्रशिक्षण लिएका थिए।
त्यसबेला डीबी लामा उनको मूर्ति–चित्रकला र राजकुमार शाक्य परम्परागत चित्र, बौद्ध दर्शन–इतिहासका गुरु थिए। त्यहीबेला उनले पूर्णकाजी शाक्यबाट विश्वकला सम्बन्धी शिक्षा लिए भने अन्य विभिन्न गुरुबाट बौद्ध दर्शन बुझे। त्यसपछिको एक–डेढ वर्ष ललितकला क्याम्पसमा पोट्रेटको लागि उपयोगी 'स्टील लाइभ्स' कलाको प्रशिक्षण लिए।
अपरिचित प्रतिभा
रामकुमारको पहिलो एकल प्रदर्शनीका केही विशेषता रहे। प्रदर्शनीमा उनले फाइबर ग्लासको बुद्ध मूर्तिसँगै विविध रंगको अष्टमण्डललाई भुईंमा सजाएका थिए। फाइबरका बुद्ध जति सजीव थिए, त्यत्तिकै चित्ताकर्षक र पूर्ण थिए उनका अष्टमण्डल र अरु चित्रहरू। प्रदर्शनीमा उनका तीन प्रकारका चित्र थिए– श्याम–श्वेत फोटो पोट्रेटहरू सहित। यस श्रृंखलामा गोर्खा सिपाही र केही विख्यात व्यक्तिका पोट्रेटहरु थिए भने अरु क्यानभास इम्बोस र प्लाइउड इम्बोस गरिएका थाङ्का शैली र परम्परागत चित्रहरू थिए।
ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले रामकुमारलाई लुकेको प्रतिभा भन्दै उनका चित्रहरूमा परिपक्वता रहेको बताए। मानन्धरले पछि यो पंक्तिकारसँग यति धेरै संख्यामा क्यानभास इम्बोस र प्लाइउड गरिएका परम्परागत चित्रहरू प्रदर्शनी गरिएको यो नै सम्भवतः पहिलो प्रदर्शनी भएको बताएका थिए। “इम्बोस त अरुले पनि गरेका होलान्, तर यसरी एकैपल्ट एकल प्रदर्शनी गरिएको यो नै पहिलो हुनुपर्छ”, उनले भनेका थिए।
रामकुमारको इम्बोस अर्थात् क्यानभास र प्लाइउडमा कोरिएका चित्रहरुलाई भुक्क उठाउने कला जीवन्त थियो। उनी कलामा इम्बोस प्रविधिको सूक्ष्म प्रयोगमा परिपक्व देखिएका छन्। उनका पद्मपाणि, लोकेश्वर, श्वेतभैरव, पद्मसम्भव, नटराज ड्रागन, अष्टमण्डल, कालचक्र मन्त्र लगायत बौद्ध दर्शनमा आधारित चित्रहरूले नेपाली संस्कृति तथा चित्रकलाको समृद्ध परम्परालाई प्रस्तुत गरेका थिए। रामकुमारले भैरवलाई विभिन्न रुप, रंग र मुद्रामा प्रस्तुत गरेका थिए। शिवको एउटा रुप मानिने भैरव हामीकहाँ श्वेत भैरव, काल भैरव, उन्मत्त भैरव लगायत विभिन्न रुप, कथा र किम्बदन्तीमा प्रचलित छन्।
रामकुमारका 'स्टील लाइभ्स' श्याम–श्वेत चित्रहरूको मोल रु.२५ हजारभन्दा माथि थियो भने क्यानभास र प्लाइउड इम्बोसहरु रु.५ लाख पच्चीस हजारसम्मका। उनले ड्रागन, पद्मपाणि लोकेश्वर लगायत विभिन्न चित्रमा सुनौलो जलप लगाउन तीन–चार तोला त सुन नै पगालेका थिए। परम्परागत शैलीमा हात बसाएका सरल स्वभावका रामकुमारले अहिलेसम्मको चित्रकलामा कमाउनेभन्दा गुमाउने नै गरेका छन्। पुर्ख्यौली जमीन बेच्दै कलामा लगानी गरिरहेका उनका चित्रहरू महँगा लागे पनि नेपालीले किन्नै नसक्ने भने छैनन्। उनको समय, मिहिनेत र खर्चको हिसाब गर्ने हो भने त ती चित्रहरूलाई सस्तो भन्नुपर्ने हुन्छ।
रामकुमार पारखीहरूको नजर नपरेको र कला बजारले नचिनेको प्रतिभाकै रुपमा छन्, अहिलेसम्म। बौद्ध दर्शनमा आधारित कलामा उनीसँग भएको सम्भावना पहिलो प्रदर्शनीबाटै उजागर भएको छ। तर, नेपालको सांस्कृतिक क्षेत्रको जिम्मेवारी सम्हालेका, केही गर्न सक्ने ठाउँ पाएका र औद्योगिक–व्यापारी घरानाकाहरु यस्ता प्रदर्शनीमा विरलै जान्छन्। नेपाली कलालाई बजारसँग जोड्ने काम पनि हुनसकेको छैन। त्यो हुनसके नेपाली कलाकारहरूले कलाको लागि आफ्नो खेतबारी बेच्नु पर्दैनथ्यो!
पीडाको तस्वीर पुरस्कृत
रिहाना शेखलाई ३ चैत २०७० मा बाँकेको हिरमिनियास्थित आफ्नै घरमा पति र सासूले आगो लगाएर मार्ने प्रयास गरे। काठमाडौंमा ४० दिनको उपचारपछि नेपालगञ्जस्थित माइती फर्किंदा नागरिक दैनिकका फोटो पत्रकार विजय गजमेरले रिहानाको तस्वीर खिचे। पीजे क्लबले ७ साउनमा काठमाडौंको आर्ट काउन्सिलमा आयोजना गरेको ग्लोबल आईएमई ब्याङ्क नेपाल फोटो प्रतियोगिता २०१४ मा त्यही तस्वीर 'फोटो अफ द इयर' भएर विजयले रु.१ लाख पुरस्कार जिते। काठमाडौंदेखि नेपालगञ्जसम्म रिहानालाई पछ्याएका विजयकै पोल्टामा गयो, 'फोटो स्टोरी' अवार्ड पनि। प्रतियोगिताको 'नेपाल स्माइल' शीर्षकको अवार्ड दीपेश श्रेष्ठले जिते भने 'डेली लाइफ अवार्ड' शैलेन्द्र खरेलले। यसैगरी, विकास द्वारेले 'नेचर एन्ड वाइल्ड लाइफ', निमेशजंग राईले 'कल्चर एन्ड टुरिज्म' र मनोज पौडेलले 'आरजे स्पोर्टस्' विधाका अवार्ड हात पारे। ६ हजार ५४९ मध्येबाट छानिएका १६५ फोटोको प्रदर्शनी १२ साउनसम्म चल्नेछ।