११-१७ साउन २०७१ | 27 July - 2 August 2014

मन जित्ने प्रहशन

Share:
  
महजोडीले यसपटक घुसखोरी, भ्रष्टाचार र गुण्डाराजलाई प्रश्रय दिएर देशलाई अँध्यारोमा धकेल्ने नेतालाई निशाना बनाएका छन्।

मह जात्रामा 'बाहुनबहादुर र नेवारबहादुर' बनेका मह जोडी।
अष्ट्रेलिया र बेलायतपछि काठमाडौंका दर्शकमाझ प्रस्तुत 'महजात्रा २०७१' ले दर्शकलाई हाँसोको फोहोराबीच उद्वेलित बनायो। ३० असारदेखि १० साउनसम्म प्रज्ञा भवनमा दोस्रो पटक प्रस्तुत महजात्रा १६–१९ साउनमा पोखरा र त्यसपछि देशका अन्य शहरमा प्रस्तुत हुँदैछ।

सात वर्षपछि रंगमञ्चमा फर्किएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पहिले र अहिले सबै उमेरका दर्शकको भीड उस्तै भए पनि आफ्ना प्रस्तुतिमा बदलाव आएको बताउँछन्। देश गणतन्त्रमय भएपछि बदलिएको माहोलमा मह 'बाहुनबहादुर र नेवारबहादुर' र 'म डनको स्टुडियो' नामक सामाजिक विसंगति विरुद्धको प्रहसनका साथ प्रस्तुत भएका छन्। बाहुन भएर नेवार बनेका हरिवंश र नेवार भएर बाहुन बनेका मदनकृष्ण बीचको सम्वादले पेट मिचीमिची हँसाउँदै जातीय सद्भावको सन्देश दिन्छ।

'महजात्रा २०७१' मा मह भजन (हे.बक्स), तीन वटा प्रहसन, तीन गीत र नृत्यले अढाइ घन्टासम्म दर्शकलाई मनोरञ्जन दिन्छ। महसँगै राजाराम पौडेल, किरण केसी र शिवहरि पौडेलको प्रहसन 'बोर्डर चेकपोष्ट' ले मिचिएको सिमाना र राजनीतिक विसंगति माथि चोटिलो प्रहार गरेको छ। हरिवंशको 'म त सारङ्गी...' गीतमा नायक दिलीप रायमाझीको नृत्य जमेको छ। यो जात्राले महका छोराहरु यमन श्रेष्ठ र मोहितवंश आचार्यलाई पनि एउटै मञ्चमा ल्याएको छ। यमनले 'खासखुस खासखुस...' बोलको हास्यगीत गाएका छन् भने मोहित 'बाहुनबहादुर र नेवारबहादुर' मा बसुन्धरा भुसालसँग मञ्चमा प्रस्तुत भएका छन्।

'बोर्डर चेकपोष्ट' मा किरण केसी, शिवहरि पौडेल र राजाराम पौडेल।
जातीय एकतामा जोड दिएको महजात्राले यसपटक नेताहरुलाई देश र जनताको लागि प्रतिबद्ध भएर लाग्न आह्वान गरेको छ। संविधान नबनाउने, जातीय द्वन्द्व बढाउने, विदेशीको इशारामा चल्ने, गुण्डाराजलाई प्रश्रय दिने नेताहरु महको कडा निशानामा छन्। मञ्चमा नेताहरु पेलिंदा दर्शकदीर्घामा ताली र हाँसोको फोहोरा छुट्छ। “देश उँभो नलाग्नुमा नेताहरुकै हात छ”, यसबारे हरिवंश भन्छन् “उनीहरुलाई नपेलेर कसलाई पेल्ने त?”

अनुशील

मह भजन

ईश्वर तिमीले जगत बनायौ

चन्द्र बनायौ सूर्य बनायौ

यति सुन्दर पृथ्वी बनायौ

पृथ्वीमै राम्रो नेपाल बनायौ!

यही नेपालमा हिमाल खन्यायौ

पहाड खन्यायौ तराई खन्यायौ

एउटा राम्रो नेता दिनलाई

किन तिमीले टाउको कन्यायौ?

एउटा राम्रो नेता दिए नेपाल राम्रो हुन्थ्यो

नेपाल धनी भा'भए हाम्रो नाकै यत्रो हुन्थ्यो

नेपालमै काम पाए अरबमा को पो जान्थ्यो

आमाबाउको काखमा बसी हाँसी हाँसी खान्थ्यो

एउटा राम्रो नेता द्या'भे तिम्रो के पो जान्थ्यो!

ईश्वर तिम्ले सुन बनायौ

चाँदी बनायौ तामा बनायौ

तर नेपालको नेतालाई किन

गुण्डाहरुको मामा बनायौ!

भात खानलाई चामल बनायौ रोटी खान गहुँ

एउटा राम्रो नेता खोज्ने तीनकरोड हामी छौं

ढिंडो खान मकै बनायौ तेल पेल्नलाई तोरी

देश बिग्रेर रोइरा'छौं तिम्रा छोराछोरी!

ईश्वर तिम्ले आगो बनायौ

हावा बनायौ पानी बनायौ

नेपालका नेतालाई किन घुस खाने बनायौ!

उसिनेर खान आलु बनायौ भुटेर खान भटमास बनायौ

नेपालका नेताहरुलाई किन तिम्ले बदमास बनायौ!

comments powered by Disqus

रमझम