अरू आयुर्वेदिक औषधिहरू पनि त्यसरी आधामोलमा दिइँदा हुन् तर म सम्झ्न्नँ। किनभने मेरो चासो त जैले पनि त्यही यौटा च्यवनप्राशमै केन्द्रित हुन्थ्यो। चार रुपियाँको च्यवनप्राश (एक धार्नीको होला) दुई रुपियाँमा पाइने हुनाले गोर्खापत्र मा त्यो सूचना छापिनासाथ आमासँग त्यति पैसा लिएर म भोलिपल्टै पीयूषवर्षी पुगिहाल्थें, दरबार स्कूलबाट फर्कंदा। मेरो आमालाई च्यवनप्राशमा खूब विश्वास थियो र मलाई छाती बलियो हुन्छ भनेर सधैं खुवाउनुहुन्थ्यो। यसरी पीयूषवर्षीको आधामोलको च्यवनप्राश चार/पाँच वर्षसम्म मैले नित्य खाएको छु। मेरो स्वास्थ्यमा ऐले पनि त्यो 'आधामोलको' राम्रो प्रभाव छ भन्ने मलाई लाग्छ!
मैले पीयूषवर्षीलाई सम्झिने अर्को कारण त्यस आयुर्वेदिक औषधालयका संस्थापक 'नीलो टोपी गुभाजू' भनिने नीलवज्र वैद्यराज श्रीदरबारका पनि दरबन्दीवाला 'वैद्यबा' हुनु हो। श्री ३ बडामहारानी बालकुमारीका दरबारिया वैद्य रहेका उनी महारानीको स्वर्गवासपछि मदनशमशेर जर्साबको दर्बारका वैद्य भए। त्यही नाताले मैले पनि उनको हातबाट पाचक र केही औषधि खाएको छु। नीलवज्रको निधनपछि त्यो दरबन्दीमा उनका नाति दिव्यवज्र 'नातिवैद्य' भर्ना भए। 'नातिवैद्य' सँग मेरो बढी सम्पर्क भएन, सात सालको प्रजातन्त्रपछि उनले त्यो जागीर छाडेकाले।
मैले नीलवज्र वैद्यराजलाई सम्झ्ने अर्को ठूलो कारण पनि छ। उनलाई नचिन्दै मैले उनको 'जङ्कु' देखेको थिएँ। म दरबार स्कूलको मजलिस घरमै पढ्दै गरेको बेलाको कुरा हो, साथीभाइको लहैलहैमा लागेर 'बिहे हेर्न' भागेर महाबौद्ध पुगेको थिएँ। तर कहाँ बिहे हुनु? जङ्कु पो रहेछ! तर हामीलाई त बिहे होस् कि जङ्कु, तमासा हेर्नुथियो! तमासा पनि कस्तो! त्यस्तो त मैले कहिल्यै देखेकै थिएन। सानासाना पांग्रा भएको एउटा खटमा एक जना बूढा मान्छे बसेका थिए। उनलाई फेटा बाँधेर सजाइएको थियो। उनको त्यो खटलाई चाहिं डोरी लगाएर एकापट्टि लोग्नेमान्छे र अर्कोपट्टि आइमाईहरूले दुईतिरबाट तान्दै थिए। त्यो दृश्य बिर्सिनसक्नु थियो। ती ४०/५० जना आइमाई शिरदेखि पाउसम्म सुनका गहनाले ढाकिएका थिए। त्यो रथ (खट) लाई महाबौद्धको चीबहाल घुमाएर मासंगल्लीतिरै लगेको हेरिरह्यौं हामीले त्यस दिन।
तर, मासंगल्लीको नीलवज्रजीको घर त्यो औषधालयभन्दा पनि अर्को कुराले विश्वविख्यात भएको हो। विद्वान् नयराज पन्तले चलाएको गुरुकुल, संशोधन मण्डलको कार्यस्थल त्यहीं थियो। नेपालको इतिहासमा खोज गर्नुपर्छ भन्ने र मह140वपूर्ण अनुसन्धानहरू गर्ने संशोधन मण्डललाई जन्माउने थलो भएकाले नीलवज्र बज्राचार्यको त्यो भवन नै अमर भयो। संशोधन मण्डलका बारेमा 'विकीपिडिया' ले यस्तो परिचय दिएको भेटिन्छः 'संशोधन मण्डल विद्वान् नयराज पन्तले स्थापना गरेको संस्था हो। र इतिहासका त्रुटि र कमी–कमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना २००९ साल असोज ५ गते भएको हो। संशोधन मण्डलले 'पूर्णिमा' लगायत केही कृति पनि प्रकाशन गरेको छ। त्यसमध्ये 'इतिहास संशोधनको प्रमाण प्रमेय पहिलो भाग' एक हो। २००९ सालमा शुरू गर्दा संशोधन मण्डलमा २१ जना विद्यार्थी विद्वान् संलग्न थिए। पहिलो पल्ट यो मण्डलबाट इतिहासकार बालचन्द्र शर्माले २००८ सालमा छापेको 'नेपालको इतिहासको रूपरेखा' मा भएका त्रुटिलाई सच्याइएको थियो। (हे. फोटो) 'इतिहास संशोधन' को त्यो पहिलो अंकले धेरैपछिसम्म निरन्तरता पायो। अनि पछि 'अभिलेख संग्रह', 'सावधानपत्र', 'व्याकरण संशोधन', 'पञ्चाङ्ग संशोधन' लगायत पत्रपत्रिका र जर्नल प्रकाशित हुँदै गए। संशोधन मण्डलले २०२१ साल वैशाखदेखि 'पूर्णिमा' त्रैमासिक प्रकाशित गर्न थाल्यो। संस्थापक नयराज पन्तको २०५९ सालमा निधन भएपछि उनका दुई पुत्र महेशराज र दिनेशराज पन्तले यस संस्था तथा अभियानलाई निरन्तरता दिइरहेका छन्।