१-७ भदौ २०७१ | 17-23 August 2014

'चरी सुट आउट' अप्ठेरोमा प्रहरी

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
प्रहरीको गोलीले ग्याङस्टर 'चरी' मारिएको घटनामा प्रहरीको दाबी कमजोर देखिएको छ।

देबकी बिष्ट
'चरी' की दिदी शान्ति २१ साउनमा भीमढुङ्गामा। अघिल्लो दिन उनलाई भेटेर अदालतमा केस मिलाउन रु.३ लाख रुपैयाँ लिएका थिए।
२१ साउनमा प्रहरीको गोलीबाट मारिएका दिनेश अधिकारी 'चरी' को शवको पोष्टमार्टम ३० साउनसम्म पनि हुनसकेको छैन। स्रोत र प्रमाणहरूले चरी प्रहरीसँग भीमढुङ्गामा भिडन्तमा मारिएको नभएर अन्यत्रै कतै पक्राउ परेको संकेत गर्छन्।

'भृकुटीमण्डपबाट पक्राउ'

प्रहरीले काठमाडौं, भीमढुङ्गामा प्रतिकार गर्ने क्रममा 'चरी' मारिएको बताए पनि उनलाई सोही दिउँसो राजधानीको भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेको आफन्तहरूको भनाइ छ। उनी त्यो बेला एक जना चिनेको मानिससँग अदालत जाने प्रक्रिया बुझन बागबजार जाने क्रममा रहेको आफन्तहरू बताउँछन्।

बिहान ९ बजेतिर 'भाइवर फोन' मा सम्पर्कमा आएका 'चरी' ले कानूनी परामर्शका लागि हिंडिरहेको बताएको तथा २२ या २३ गते अदालत जाने भनेको र बिहान ११ बजेसम्म 'भाइवर' सम्पर्कमा रहेको प्रेमिका खुश्बू ओली बताउँछिन्। चरीले १ र २ बजेको बीचमा बागबजार जाने बताएको चरीका दाजु ध्रुव अधिकारी बताउँछन्। तर, २ बजे 'चरी' समूहका एक जनाको मोबाइलमा नचिनेको नम्बरबाट एक जना पुरुषले चरी पक्राउ परेको समाचार दिएको उनले बताए। फोन गर्ने मानिसले 'दाइ, चरीलाई सादा पोशाकका प्रहरीले भर्खरै समातेर लग्यो, अब मार्छ होला' भनेपछि फोन काटेको उनको भनाइ छ। ध्रुव भन्छन्, “त्यो बेला फोनमा बोल्ने मानिस हाम्रो सम्पर्कमा छन्, छानबिन समितिलाई हामी प्रमाणका रूपमा पेश गर्न सक्छौं।”

हिमाल लाई प्राप्त जानकारी अनुसार, तीन महीनाअघि भारतबाट काठमाडौं आएका 'चरी' ठमेलका होटलहरूमा लुकेर बसिरहेका थिए। उनको सम्पर्कमा बबी, कमल, निरे नामका सहयोगी 'केटाहरू' थिए। अघिल्लो दिन त्रिपुरेश्वरमा 'चरी' भेट्ने उनका साथी रमेश (नाम परिवर्तन) भन्छन्, “मैले बिहान भेट्दा उनी बबीसँग रातो मोटरसाइकलमा आएका थिए। प्रहरीले बरामद गरेको मोटरसाइकल त्यही हो। घटनापछि भने मैले बबीलाई देखेको र भेटेको छैन।” 'चरी' का दाजु ध्रुवका अनुसार उनी २२ या २३ गते अदालतमा हाजिर हुन वकीलसँग कानूनी परामर्श गर्ने क्रममा थिए। २० गते दिउँसो १ बजे चरीले बालाजुको भ्याली कोल्ड स्टोर अगाडि दिदी शान्तिलाई भेटेर अदालतमा केस मिलाउन रु.३ लाख लिएको र त्यो बेलुकासम्म पनि कपाल नकाटेको ध्रुव बताउँछन्।

भीमढुङ्गामा चरीको शव।
१ साउन ५ बजेतिर प्रहरीले भीमढुङ्गामा चरी 'इन्काउन्टर' मा मारिएको भन्दै मिडियालाई घटनास्थलमा बोलायो। महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीरा चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीसँगको मुठभेडमा 'चरी' मारिएको प्रहरीको भनाइ छ। उनको शरीरमा आठ गोली लागेका थिए भने कपाल मुण्डन गरिएको लाश नजिकै मोटरसाइकल लडेको थियो।

पोष्टमार्टमको विवाद

अपराधशास्त्री डा. रजितभक्त प्रधानाङ्ग प्रहरीले घटना लगत्तै शवको पोष्टमार्टम नगर्नुले पनि उक्त घटना 'फेक इन्काउन्टर' हुनसक्ने आशंका बढाएको बताउँछन्। पोष्टमार्टम गर्दा घटना भएको समय र गोली कति दुरीबाट प्रहार भएको थाहा पाइने हुनाले पोष्टमार्टम गर्ने अधिकार र कर्तव्य हुँदाहुँदै प्रहरीले नगरेको उनको बुझाइ छ। छानबिन नभई परिवारले 'शव बुझिदनँ' भन्न सक्ने भए पनि पोष्टमार्टम गर्न प्रहरीलाई कसैले रोक्न नसक्ने उनी बताउँछन्। दोहोरो मुठभेड भएको प्रमाण देखाउने आधार नभएकोले प्रहरीले घटनालाई 'भवितव्य' बनाउन सक्ने उनको अनुमान छ। तर, भवितव्य देखाउन पनि गाह्रो हुने उनी बताउँछन्।

अधिवक्ता रविन केसी पनि 'कज अफ डेथ' निकाल्न पोष्टमार्टमले मद्दत गर्ने भएकाले प्रहरीले अरूको अनुमति नलिई पोष्टमार्टम गर्न सक्ने बताउँछन्। पोष्टमार्टम गरेर पनि शव अस्पतालमा राख्न मिल्ने उनको भनाइ छ।

मृतकका दाजु ध्रुव भने प्रहरीले घटनास्थलमा मुचुल्का उठाउँदा परिवार र आफन्तलाई जान नदिएकाले शव नबुझेको बताउँछन्। अहिलेसम्म मृतकको शव हेर्न नपाएको बताउने आफन्तहरूले गृहमन्त्री बामदेव गौतमसहित प्रहरी अधिकारीका विरुद्ध प्रहरीले उजुरी नलिएपछि २८ साउनमा राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। ३० साउनमा उनीहरूले सर्वोच्च अदालतमा पनि मुद्दा दिएका छन्।

भारतमा डाँकू बीरप्पनलाई 'इन्काउन्टर' गर्दा 'समाउन सकिने अवस्था भए पनि हत्या गरियो' भन्दै विरोध भयो।

शम्भु थापा, वरिष्ठ अधिवक्ता

कानूनी प्रश्न

फिल्मी शैलीमा 'चरी' मारिएको घटनालाई लिएर 'न्यायिक' र 'गैरन्यायिक' हत्याको बहस शुरू भएको छ। घटनापछि प्रहरीले दिएको विवरण र घटनास्थलको अवस्था नमिल्दो देखिंदा 'इन्काउन्टर' शंकाको घेरामा परे पनि चर्चित 'गुन्डा' मारिएकोमा खुशी हुने धेरै छन्।

त्यसरी खुशी हुनेहरूमध्ये केहीले यो हत्यालाई मानवअधिकार र कानूनी नजरबाट हेर्ने अधिकारवादी र वकीलहरूलाई तल्लोस्तरको गाली पनि गरिरहेका छन्। यस्तो गाली खानेमा 'चरी' को पक्षमा केस लड्ने तयारी गरिरहेको नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई र वरिष्ठ अधिवक्ता शम्भु थापा प्रमुख छन्। अधिवक्ता भट्टराईले घटना भएकै दिन बेलुकी फेसबुकमा 'गणतन्त्रमा भिडन्तको नाममा एउटा नागरिकको बीभत्स हत्या। जतिसुकै ठूलो अपराधी भए पनि कानून बमोजिमको कारबाही मात्र नागरिक शासनको चरित्र हो' भनेर पोष्ट गरेका थिए।

भट्टराईको भनाइमा दिनेश दोहोरो भिडन्तमा मारिएको एउटा पनि प्रमाण सरकारले पेश गर्न सकेको छैन। 'चरी' गुन्डा थिए वा थिएनन् भन्दा पनि प्रहरीको गोलीबाट एउटा नागरिक मारिनु तथा दोहोरो भिडन्तको कुनै लक्षण नदेखिनु गैर संवैधानिक र गणतन्त्रविरोधी काम भएको उनी बताउँछन्। सरकारले यो घटनाबारे अन्तर्राष्ट्रिय मञ्चमा जवाफ दिनुपर्ने पनि उनको भनाइ छ।

दोहोरो भिडन्तमा मारिएको एउटा पनि प्रमाण सरकारले पेश गर्न सकेको छैन।

टीकाराम भट्टराई, उपाध्यक्ष

नेपाल बार एसोसिएसन

वरिष्ठ अधिवक्ता शम्भु थापा पनि गोली लागेको घाउले वास्तविकता बताउने भएकाले यो घटनाको छानबिन हुनुपर्ने बताउँछन्। भारतमा सर्वाधिक खोजीमा रहेका डाँकू बीरप्पनलाई 'इन्काउन्टर' गर्दा पनि मानवअधिकारकर्मी र मिडियाले 'समाउन सकिने अवस्था भए पनि हत्या गरियो' भन्दै विरोध जनाएको बताउँदै थापा भन्छन्, “जस्तोसुकै 'मोस्ट वान्टेड' भए पनि यसरी गोली हानेर मार्न पाइँदैन।”

खुश्बू र अर्पणको जुहारी

दिनेश अधिकारी 'चरी' मारिएपछि उनकी प्रेमिका खुश्बू ओली र खुश्बूकै पूर्व प्रेमी अर्पण कोइरालासँगै हनुमानढोकाको केरकार शाखामा कार्यरत प्रहरी निरीक्षक कुमुद ढुङ्गेल चर्चामा छन्। हिमाल ले खुश्बू र अर्पण दुवैसँग गरेको कुराकानी (हे.कुराकानी)मा अर्पणले खुश्बूसँग ६ वर्ष विताउँदा रु.७ करोड सिध्याएको, दुर्व्यसनी पुनर्स्थापना केन्द्र नार्कोनान नेपालमा 'सेकेन्ड मेन' का रहेको भनी गरेको दाबी विश्वासिलो देखिएन। नार्कोनानका प्रमुख बसन्तराज कुँवरले अर्पण दुर्व्यसन मुक्त हुनका लागि ६ महीना पुनर्स्थापनामा बसेको र पछि केही महीना इन्टर्नको रूपमा मात्र काम गरेको बताए। उनले 'अर्पणको परिवारलाई मासिक रु.१० हजार शुल्क तिर्न पनि गाह्रो भएको देखिन्थ्यो' भन्नुले अर्पणले खुश्बूका लागि करोडौं सम्पत्ति सकेको दाबी कमजोर रहेको देखाउँछ।

प्रहरी निरीक्षक कुमुद भने खुश्बूको सबै दाबी झूटो भएको बताउँछन्। दरबारमार्गमा कार्यरत रहँदा सडक बालबालिकाको समस्यामा खुश्बूलाई भेटे पनि प्रेम प्रस्ताव या अरू सम्बन्ध नराखेको कुमुदले बताए। चरीको केसमा आफू संलग्न नरहेको पनि उनको दाबी छ।

साथमा सोहन श्रेष्ठ, धरान


एउटा यस्तो 'इन्काउन्टर'

सोहन श्रेष्ठ
१३ भदौ २०६८ मा ठमेलको शैलुङ गेष्ट हाउसमा अपहरणकारी भनेर प्रहरीले 'इन्काउन्टर' गर्दा पनि बाँचेका धरानका शीतल तुलाधर (३८) (हे.तस्वीर) को सम्झनाः

धरान–१० पुतलीलाइनको आफ्नै घरमा मेरो परिवारको होटल व्यवसाय छ। ६ वर्षअघि सिंगापुर घुम्न जाँदा उतैकी केटीसँग घरजम गरेका चितवनका साथी इरिक भन्ने गोविन्दबहादुर क्षेत्रीको सल्लाह अनुसार रु.५० लाख लगानी गरेर त्यहींको रेस्टुरेन्टमा पार्टनर बनें। उसले पीआर समेत निकालिदिने भनेकोमा ६ महीनापछि भिसा नै पनि थपिएन। बाध्यताले नेपाल फर्किनुपरेपछि उसले केही समयपछि फोनमा कुरा गर्न पनि छाड्यो। तर, तीन जना साथीसँग सापटी लिएर लगानी गरेकाले मैले ताकेता गर्न छाडिनँ। यस्तैमा सिंगापुरको एउटा साथीबाट उनी बाबुको निधन भएर किरिया बस्न आएको थाहा पाएँ र फोननम्बर पत्ता लगाएँ। पछि ३ भदौ २०६८ मा उसले काठमाडौंबाट फोन गरेर १२ गते नयाँबानेश्वरमा भेट्न बोलायो। भेट्न त्यहाँ पुग्दा उसको भाइसँगै अरू चार जना साथीहरू पनि थिए।

त्यसपछि हामी ठमेल गयौं। ठमेलमा मेरो ट्रेकिङ ब्यागहरूको पसल थियो। उसले भोलिपल्ट रु.३५ लाख दिने सहमति भएपछि हामी दुई त्यहीं बस्यौं, अरू गए।

भोलिपल्ट २ बजेतिर पैसा कहाँ दिने भनेर इरिकको भाइले सोध्यो। ठमेलको शैलुङ गेष्ट हाउसमा हामी थियौं। खाना खाएपछि उसले टाउको दुखेकोले आराम गरौं भनेपछि हामी कोठामै बस्यौं। फोनमा कहिले ठाउँको लोकेशन सोधेको त कहिले पैसा लिएर आउँदैछु भनेको सुनिन्थ्यो। हामी टीभी हेरिरहेको बेला एक्कासी कसैले लात्ती हानेर ढोका खोल्यो। र, ७/८ जना मान्छे छिरे। के हो बुझ्न नभ्याउँदै ममाथि गोली प्रहार भयो। मेरो चिउँडोको तल्लो भाग स्पाइनलमा गोली लाग्यो र म ढलें। सईको कमान्डमा कटुवा पेस्तोलसहित सिभिलमा आएका ७/८ जना प्रहरी रहेछन्। मलाई ढालेपछि अर्को गोली हान्न खोज्दै थिए, तर मर्‍यो भनेको मैले सुनें। त्यसपछि इरिकलाई बाँधेर अनुहारमा झापड र मुक्का हानी रगताम्मे बनाउँदै बाहिर निकाले र कोठाका सिसा र बोतलहरू फुटाले। त्यही रेस्टुरेन्टमा खानेकुरा खाइरहेका दुई जना केटाहरूलाई पनि प्रहरीले मेरो मतियार भन्दै पक्रियो। वाकीटकीमा 'अपहरणकारी मर्‍यो बन्धक छुटायौं' भनेको पनि सुनें। त्यसपछि पत्रकारहरू आएर फोटो खिचे। पछि युनिफर्ममा आएका प्रहरीले मलाई मरेको ठानी अस्पताल लगे। स्पाइनल कर्डको सार्भभाइकल लेवल (चिउँडोको माथिल्लो भाग) मा चोट लागेकोले अहिले पनि मेरो शरीर राम्रोसँग चल्दैन, अपाङ्गताको जीवन बाँचिरहेको छु।

त्यसपछि ममाथि प्रहरीले अपहरण र हातहतियार सम्बन्धी मुद्दा लगायो। दोहोरो भिडन्तमा मैले फायर गरेपछि प्रहरीले गोली चलाएको समाचारहरू पत्रिकामा छापियो। मलाई गोली हान्ने सई अपराध महाशाखाका माताप्रताप थापा रहेछन्। म अस्पतालमा धेरै समय बसें। पछि काठमाडौं जिल्ला अदालतले मलाई ९ वर्ष जेल सजाय सुनायो। म सँगै यही केसमा ती दुई केटाहरूलाई पनि प्रहरीले फँसायो, उनीहरू अहिले जेलमै छन्। मेरै पैसा खानेले प्रहरी बोलाएर मलाई गोली हान्न लगायो। अहिले पनि पुनरावेदन अदालतमा मुद्दा खेपिरहेको छु।


'खुश्बूको प्रेममा रु.७ करोड उडाएँ'

अर्पण कोइराला

तपाईंको बुझाइमा चरी प्रकरण के हो र खुश्बू र प्रहरीको भूमिका कस्तो देख्नुहुन्छ? यो प्रहरीले अपराधीमाथि गरेको कारबा ही हो। यो घटनामा खुश्बूको जस्तै मेरो पनि कुनै 'रोल' छैन। मेरो विचारमा प्रनि कुमुद ढुङ्गेलको पनि हात छैन।

खुश्बूसँग तपाईंको नाम किन जोडिएको हो?

खुश्बूजीको मसँग ६ वर्ष लामो सम्बन्ध रह्यो। तर, बीचमा दिनेश अधिकारी 'चरी' ले खुश्बूलाई मेरो विरुद्धमा भड्काए। चरी खुश्बूभन्दा अघिदेखि चिनेको भाइ जस्तै साथी हो र उनी खुश्बूलाई भाउजू भन्थे।

खुश्बूले तपाईंले प्रनि कुमुद ढुङ्गेलसँग मिलेर चरीको हत्या गराएको आरोप लगाएकी छन् नि?

दिनेशले अनेक गतिविधि गरेर खुश्बूको अगाडि मलाई नराम्रो बनायो। मलाई क्यासिनोको लत लगाउनेदेखि केटीसम्म प्रयोग गरेर खराब देखायो। मैले त्यो सबै दिनेशले गराएको थाहा पाउँदासम्म उनीहरूको सम्बन्ध भइसकेको रहेछ। त्यो सम्बन्धको मैले विरोध गरेपछि उनीहरू मलाई गलत देखाउन थाले। यो आरोप पनि त्यही हो।

खुश्बूले तपाईं लागूऔषध दुर्व्यसनी हुँदा पुनर्स्थापना केन्द्रमा लगेर सुधारेको, आफ्नै घरमा राखेको पनि भनेकी छन् नि?

म खुश्बूलाई भेट्नुअघि नै सन् २००५ मा बसन्त कुँवरको नार्कोनान नेपालमा बसेर दुर्व्यसनमुक्त भइसकेको थिएँ। २००६ पछि मैले नार्कोनानमै 'सेकेण्ड मेन' को रूपमा काम गरें। खुश्बूसँगको सम्बन्ध मेरो परिवार, छरछिमेकी तथा लन्डनका मेरा साथीहरूलाई थाहा छ।

खुश्बूसँग लन्डन–नेपाल आउजाउ गर्ने पैसा कहाँबाट आउँथ्यो?

राजधानीको बिजुलीबजार, बालकोट र कलङ्कीको मेरो परिवारको तीन वटा घर बेचेर मैले उहाँमाथि रु.७ करोड जति सिध्याएँ।

तपाईंको सम्पत्ति सकिएपछि खुश्बू चरीसँग लागेकी हुन्?

म बर्बाद भएर सडकमा आएको थिइनँ। त्यसपछि पनि म जागीर खाएर मध्यम वर्गको हैसियतमा परिवार बसाउन सक्थें। उनलाई चरीले मबाट टाढा हुने वातावरण बनाइदिएको हो।

तपाईंले ८ वर्षअघि भेट्दा खुश्बूको आर्थिक हैसियत कस्तो थियो?

मध्यम वर्गको राम्रै थियो। उनी जेभियर इन्टरनेशनलमा १२ कक्षामा पढ्थिन्।

त्यसो भए तपाईंको त्यत्रो खर्च कसरी भयो त?

४/५ वटा गाडी फेरें। खुश्बूजीको बुबा–आमालाई यूरोपको ९ वटा मुलुक, सिंगापुर, बैंकक् घुमाएँ। लन्डनको अक्सफोर्ड र अर्को एउटा युनिभर्सिटीमा खुश्बूलाई पढ्न रु.७० लाख खर्च गरें। हरेक वर्ष लन्डन र नेपालमा उहाँको वर्थ डे पार्टी हुने गरेमा काठमाडौंको पाँचतारे होटलमा रु.११ लाख र लन्डनमा रु.९ लाखसम्मको बिल तिरेको छु।

सर्वस्व सुम्पेर प्रेम गर्नुभएको रहेछ ..?

कुनै शंका छैन। संसारको सबै सम्पत्ति म खुशीले उनको प्रेममा लुटाइदिन्थें। मलाई त्यसमा अफसोच पनि छैन।

अहिले तिनै खुश्बूले चरीको हत्यारा भन्दा कस्तो लागिरहेको छ?

एकदम दुःख लागिरहेको छ। दिनेशले मलाई धम्क्याएको हो, मार्छु भनेको हो तर उसको मृत्यु होस् भन्ने मेरो मनमा थिएन। कानूनी कारबाही चाहिं चाहेकै हो।

चरीलाई तपार्इंले मार्ने धम्की दिएको एसएमएस र खुश्बूले ललितपुर प्रहरीमा दिएको उजुरी चाहिं के हो नि?

म भारतमा हुँदा खुश्बूले उसको साथीलाई फेसबुकमा मलाई गाली गर्दै दिनेशसँग रोमान्टिक लाइफ बिताइरहेको म्यासेज पठाएको देखेपछि मलाई रीस उठ्यो र मैले खुश्बूलाई गाली गरें। पछि दिनेशले यो थाहा पाएर 'खुश्बू तँसँगै जान्छ लन्डन लिएर जा, उतै बस्' भनेपछि मैले उसलाई पनि गाली गरें। खुश्बूले सबैलाई देखाएको एसएमएस चरीले मलाई पठाएको हो।

खुश्बूले चढेको गाडी तपाईंले 'क्लेम' गरेको हो?

हो। मैले उनका लागि लिएको गाडीको किस्ता उनले तिरेको छैन होला र पछि ब्याङ्कले मलाई कारबाही गर्ला भनेर गाडी फिर्ताको लागि उजुरी दिएको हो। तर, उहाँले भित्रभित्रै ब्याङ्कमा किस्ता नतिरेको भनेर कागज बनाएर गाडी आफ्नो नाममा लिइसक्नुभएको रहेछ।

तपाईं चरीको हत्यापछि भागेर दिल्ली गएको आरोप छ नि?

मेरो आमाबुबा बिरामी भएकोले उपचार गराउन दिल्ली आउनुपरेको हो। म सेप्टेम्बरमा आएर सबैलाई जवाफ दिन्छु।


'अर्पणसँग रु.७ करोड कहाँबाट आयो?'

खुश्बू ओली

दिनेश अधिकारी 'चरी' मारिएको घटनामा अर्पण कोइराला र कुमुद ढुंगेलको संलग्नता कस्तो हो?

छानबिन भएपछि थाहा भइहाल्छ। उनीहरूको संलग्नता सावित हुन धेरै समय लाग्दैन।

तपाईंले लेनदेनमा धोका दिएको, जबर्जस्ती पैसा उठाएको आरोप लागेको छ नि?

यो सबै अफवाह हो। त्यस्तो दाबी गर्ने कोही अघि आउँछ भने म 'डिल' गर्न तयार छु। अर्पणले लुकेर न्यूज लेखाउँदै भ्रम छर्दैछ, सक्छ भने यहाँ आएर प्रत्यक्ष कुरा गरोस्। मैले भनेको एकशब्द पनि गलत रहेछ भने म सजाय भोग्न तयार छु।
उसको बारेमा जान्न अन्नपूर्ण होटल गएर सोध्दा कति रुपैयाँ नतिरी भागेको छ भन्ने थाहा भइहाल्छ। उसले फर्पिङको पुर्ख्यौली घरको छिमेकीको छोरी पूजालाई ललाईफकाई सहकारी संस्थाबाट रु.७० हजार निकाल्न लगाएर लगेकोमा त्यहाँको प्रहरी कार्यालयमा उजुरी परेको छ। नयाँबजारको 'मेजेस्टिक ट्राभल एन्ड टुर्स' मा टिकटको पैसा नतिरी भागेको छ। कृष्ण गौतम भन्ने मान्छेसँग कलंकीको ठूलीआमाको घर धरौटी राखेर रु.७० लाख निकालेको छ। गौतमलाई एकैछिन धितो फुकुवा गर्न लगाएर अर्काे मानिसलाई त्यो घर पास गरिदिएको छ। उसले क्यासिनोमा कति डुबाएको भन्ने कुमारी ब्याङ्कको ब्याङ्क स्टेटमेन्ट हेर्दा हुन्छ। ब्याङ्कको पियन प्रेम भन्ने मानिसको समेत रु.५० हजार खाएको थाहा पाइयो। मेरो भिनाजु सुरेश शाहलाई उसले दिएको डेढ करोड रुपैयाँको बाउन्स चेक अहिले पनि मेरो घरमै छ। ऊ अहिले लुकेर इन्डियामा बसेको छ। लागूऔषधको कुलतबाट उसलाई मैले नै निकालेको हो।

उनी त बसन्त कुँवरको पुनर्स्थापना केन्द्रबाट दुर्व्यसनमुक्त भएको बताउँछन् त?

बसन्त कुँवरपछि मैले पनि १६ महीना पुनर्स्थापना केन्द्रमा राखेकी हुँ।

तपाईंसँग ६ वर्ष बस्दा रु.७ करोडको तीन वटा घर सिध्याएको भन्ने उनको भनाइ छ नि?

एउटा घर बाहेक केही नभएको मान्छेले भ्रम फैलाएर हुन्छ? ऊ ट्याक्सी चढ्दा मलाई मेरो बुबाले स्कूल, कलेज आफ्नै गाडीमा पुर्‍याउनुहुन्थ्यो। ऊसँग रु.७ करोड कहाँबाट आयो? उसले क्यासिनोमा पैसा डुबाएर बाबुआमालाई उठीबास लगाएको चाहिं साँचो हो।

तपाईंको वर्थ डे पार्टीमा उनले रु.१०/११ लाखको बिल तिरेको होइन?

अर्पणले होटलमा बिल तिरेको भए देखाए हुन्छ, बोलेर मात्र हुँदैन। बुबाले वर्थ डे मनाउन दिएको पैसा म समाजसेवामा खर्च गर्थें। दुई वर्षअघि प्लाटिनम् डिस्कोमा मैले वर्थ डे मनाएकी थिएँ, त्यो खर्च आफ्नै खाताबाट निकालेर तिरेकी थिएँ।

अर्पण र चरीसँगको तपाईंको सम्बन्ध कस्तो हो?

अर्पण र म सँगै थियौं, तर ऊ सुध्रेन। क्यासिनो जाने, वेश्या लिएर हिंड्ने र दुव्यर्सनीमा लागेको उसलाई सुधार्न नसकेपछि छाडें। त्यसैबीच दिनेशलाई भेटें। उसको सहयोगी भावना र प्रेमले म प्रभावित भएँ र बिहे गर्ने अवस्थासम्म पुगें।

तपाईंको लन्डनको पढाइ खर्च रु.७० लाख अर्पणले तिरेको होइन?

ग्यालेक्सी पढें, जेभियर पढें, केयु पढें, मलाई अर्काले पढाउनुपर्ने स्थिति थिएन, सबै खर्च मेरो बुबाले गर्नुभएको हो। अक्सफोर्ड युनिभर्सिटीमा पनि बुबाले नै पढाउनुभएको हो।

अर्पण अहिले बुबाआमाको उपचार गर्न दिल्लीमा छन् हैन?

हस्पिटलमा बसेको भए रिपोर्ट पठाए भइहाल्यो नि हो। ऊ त्यहाँ लुकेर बसेको छ।

नयाँ घर किन्न दिनेशले मधुकुमारको फाइनान्सबाट रु.२५ लाख दिएको र व्यापारी मित्तलको पैसा तपाईंले लिएको भन्ने छ नि?

त्यत्रो रकम दिंदा फाइनान्समा रेकर्ड पनि त होला, देखाए भइहाल्यो नि। मित्तलको रु.५० लाख लिए ऊ त्यतिकै बस्ला? प्रमाण लिएर आए भइहाल्यो नि।

तपाईंको नयाँ घरको वास्तविकता के हो?

यहाँ आएर बुझ्दा हुन्छ। यो सबै अर्पणले फैलाएको हौवा हो। काठमाडौंमा मेरो घर भएको १५/२० वर्ष भयो। प्रहरीले मेरो सम्पत्ति छानबिन गरे हुन्छ।

comments powered by Disqus

रमझम