१-७ भदौ २०७१ | 17-23 August 2014

सुरुङ्गामा खुश्बू

Share:
  

सुरुङ्गामा रिक्सा भ्यान हस्तान्तरण गर्न आउँदा अतिथि बनेकी खुश्बू
गत साता काठमाडौंमा प्रहरीको गोलीबाट मारिएका ग्याङस्टर दिनेश अधिकारी 'चरी' की प्रेमिका खुश्बू ओलीको जन्मस्थान झापाको सुरुङ्गामा पहिले अर्कै छवि थियो।

झापाको सुरुङ्गा बजार बस्ने जयकला ओली (५६) ले अहिले चर्चामा रहेकी उनकी भतिजी खुश्बू ओलीबारे पछिल्लो समय धेरै थाहा नभएको बताए पनि त्यहाँका अरू भने खुश्बू र उनका पिता श्यामसुन्दर बेला–बेला आइरहने बताउँछन्। खुश्बूका मीतबुबा श्याम पौडेलले दुई महीनाअघि मात्र मीतलाई सुरुङ्गामा भेटेको तथा ४ मंसीरको संविधानसभा चुनावताका मीतले दुई साता एमालेको पक्षमा प्रचार गरेको बताए। खुश्बू पनि चार महीनाअघि त्यहाँ पुगेको उनको भनाइ छ।

अर्पण पनि परिचित

सुरुङ्गाका सामाजिक संघ–संस्थामा कार्यरतहरूले खुश्बूका पूर्व प्रेमी अर्पण कोइरालालाई पनि चिनेका छन्। खुश्बूका मीतबुबा श्याम पौडेल सचिव रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गालाई झापा–४ की तत्कालीन सभासद् धर्मशिला चापागाईंको उपस्थितिमा ७ जेठ २०६६ मा खुश्बू र अर्पणले रु.९ लाख मूल्यको एम्बुलेन्स सहयोग दिएका थिए। ३ मार्च २००८ मा पनि उपशाखाको आगन्तुक पुस्तिकामा खुश्बू, अर्पण र उनीहरूसँग आएका दुई जना विदेशीले शुभकामना सन्देश दिएका छन्, जसमा खुश्बूले आफूलाई 'ह्युमन वेलफेयर ग्रुप' सँग आबद्ध भनी चिनाएकी छिन्। त्यसलगत्तै उपशाखाको सिफारिशमा रेडक्रसले श्यामसुन्दर, उनकी पत्नी शकुन्तला, खुश्बू र अर्पणलाई रु.१ लाखभन्दा बढी चन्दादातालाई दिइने यशस्कर सदस्यता प्रदान गर्‍यो।

सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरिया आफ्नो कार्यकालमा २०६६ ताका अर्पण र खुश्बूले जेसिज मार्फत सुरुङ्गामा रु.२ लाख ३० हजार मूल्यको २० थान रिक्सा वितरण गरेको र उनीहरूलाई सम्मान गरिएको सम्झ्न्छन्। उनका अनुसार, सुरुङ्गा जेसिजको भवन निर्माणमा पनि अर्पणले रु.१ लाख र श्यामसुन्दरले रु.५० हजार सहयोग गरेका थिए।

खुश्बू र अर्पणले दिएको एम्बुलेन्स ।
खुश्बूले २०६६ मा सुरुङ्गाको कनकाई माविलाई पनि रु.२५ लाख सहयोग गर्ने भन्दै प्रस्ताव ल्याउन प्रधानाध्यापक ईश्वरीप्रसाद शिवाकोटीलाई भनिन्। शिवाकोटीका अनुसार, खुश्बूले त्यसअघि रु.१ लाख अक्षयकोषका लागि र दुई पटक रु.२५ हजारका दरले सहयोग गरेकी थिइन्।

रु.२५ लाख सहयोगको सम्झौता गर्न कात्तिक २०६७ मा खुश्बूले बोलाएपछि काठमाडौं पुगेका प्रधानाध्यापक शिवाकोटीलाई पहिलो दिन याक एन्ड यती र दोस्रो दिन एभरेष्ट होटलमा केही विदेशीसँग आएकी खुश्बूले कागजातहरूमा हस्ताक्षर गराइन्। एक दिन विद्यालयको छाप पनि राखेकी खुश्बूले कुन संस्थासँग सम्झौता गरेको नबताएको तथा पत्र पनि नदिएको प्रधानाध्यापक शिवाकोटी बताउँछन्।

सम्झौतापछि खुश्बूले कुमारी ब्याङ्कमा विद्यालयको खाता खोल्न भनेकाले प्रधानाध्यापक शिवाकोटीले झापा बिर्तामोड शाखामा १२०१५२४६०५४४०१६ नं. को खाता खोले। तर, चार वर्ष ताकेता गरेपछि श्यामसुन्दरले पुस २०६९ मा जम्मा दुई लाख रुपैयाँको चेक दिए।

डिट्ठाकी नातिनी

तेह्रथुमको आठराईबाट झापाको सुरुङ्गा झ्रेका खुश्बूका हजुरबुबा देवीप्रसाद ओलीलाई सुरुङ्गामा डिट्ठा भनिन्थ्यो। चार पत्नी ल्याएका देवीप्रसादले कनकाई माविलाई २०३५ सालमा रु.२५०० सहयोग गरेका थिए। पञ्चायतकालमा सुरुङ्गा ८ का वडाध्यक्ष रहेका देवीप्रसाद फागुन २०५५ मा दिवंगत भए। श्यामसुन्दर र उनका दाजु भूमिका देवीप्रसादका माइली पत्नी डम्बरकुमारी (८६) तर्फका हुन्।
देवीप्रसादको मृत्युअघि अंशबण्डा हुँदा श्यामसुन्दरको भागमा परेको सुरुङ्गा–८ को तीन बिघा खेत तीन वर्षअघि नै बेचेको अर्की आमाबाट जन्मेका भाइ खगेन्द्रमणि (५३) बताउँछन्। सुरुङ्गा–५ को एक कट्ठा ८ धुर घडेरी पनि उनले २०६५ तिरै रु.४३ लाखमा बेचेको खगेन्द्रमणिको भनाइ छ। खगेन्द्रमणिका अनुसार, विद्युत् प्राधिकरण विराटनगरमा जागीर खाँदा सुरुङ्गाबाट काठपात लगी बनाएको घर र मोरङको सलकपुरमा जोडेको दुई बिघा जमीन पनि श्यामसुन्दरले दश वर्षअघि बेचेका तथा काठमाडौंको कीर्तिपुरमा घर बनाएका थिए।

पहिले नेपाल प्रहरीमा असई रहेका श्यामसुन्दर नेपाल विद्युत् प्राधिकरणमा पाँचौं तहमा तथा श्याम पौडेल पनि त्यहीं कार्यरत हुँदा २०४३ सालमा मीत लगाएका थिए। २०४३ देखि काठमाडौं बस्न थालेका श्यामसुन्दरले २०४९ मा प्राधिकरणको जागीर छोडे। त्यसपछि उनले खुश्बू ट्रेडर्स, खुश्बू इन्टरप्राइजेज र अर्काे एउटा कम्पनीबाट कारोबार गरेको तथा २०५९ देखि २०६३ सम्म आफू पनि तिनमा साझ्ेदार रहेको श्याम पौडेल बताउँछन्।

खुश्बूको एमाले अध्यक्ष केपी ओलीसँग नजिकको नाता रहेको चर्चा चल्ने गरेकोमा खुश्बूको परिवारका सदस्यहरू भने नजिकको नाता नपर्ने बताउँछन्। झ्ापाको बिर्ताबजार घर भएका विराटज्योति बोर्डिङका संचालक गणेश ओली खुश्बूघका हजुरबुबा देवीप्रसादका भतिजा हुन्। “श्यामसुन्दर, उसको दाजु भूमिका र मैले केपीलाई काका भन्नुपर्छ” गणेशले भने “तर, आठ पुस्तासम्म उहाँ र हाम्रो हाँगो जोडिएको वंशावलीमा देखिंदैन।”

गोपाल गडतौला

comments powered by Disqus

रमझम