पासाङ ल्हामु शेर्पा 'आकिता'
सोलुखुम्बुकी म, ओखलढुंगाकी माया शेर्पा र दोलखाकी दावायाङजमु शेर्पा माउन्टेन गाइड हौं। महिलाहरू पाइलट, इन्जिनियर, डाक्टर, ड्राइभर बन्न सक्छन् भने हिमालमा पनि काम गर्न सक्छन् भनेर हामी माउन्टेन गाइड बनेका थियौं। हामीले विदेशी पर्वतारोही लिएर यलपिक, लवुचे पिक, आमादब्लम, सगरमाथा लगायतका हिमाल आरोहण गर्यौं। यसक्रममा सन् २००८ देखि पाकिस्तानको के–टु हिमाल चढ्ने योजना बनाइरहेका थियौं।
विश्वकै दोस्रो अग्लो माउन्ट के–टुको आरोहणको दुनियाँमा नाम/बदनाम दुवै छ। कहलिएका आरोहीहरू समेत हच्कने के–टुलाई कतिले हिमालहरूको हिमाल भन्छन् भने कतिले ज्यानमारा हिमाल। आरोहणका लागि माउन्ट के–टु सगरमाथाभन्दा कठिन मानिन्छ। छिनछिनमै बदलिने मौसम र ढुंगा खसिरहने एकदमै ठाडो उकालो भएको यो हिमाल चढ्न जति गाह्रो छ, ओर्लन पनि उस्तै कठिन। हामीभन्दा अघि ३१७ आरोही के–टु पुगेकामा ८० जनाको मृत्यु भएको रहेछ। र पनि, हामीलाई यो हिमाल आरोहण गर्नै थियो।
कहिले चढ्ने भन्ने कुरा चलिरहेको बेला पाकिस्तान सरकारले यो हिमालको हीरक जयन्ती मनाउने तयारी गरिरहेको थाहा पाएपछि 'प्रथम माउन्ट के–टु नेपाली महिला पर्वतारोहण दल–२०१४' नामबाट पहल थाल्यौं। विश्वव्यापी जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असरलाई मुद्दा बनायौं। जति नै मितव्ययिता अपनाउँदा पनि अभियानका लागि कम्तीमा रु.८० लाख लाग्ने भयो। त्यसमा इसिमोड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल, शेर्पा एड्भेन्चर गियर, याक माउन्टेन गियर र विभिन्न ट्रेकिङ एजेन्सीहरूले सहयोग गरे।
यसरी हामी इस्लामावाद पुग्यौं। इस्लामावादबाट स्कार्दुहुँदै सात दिन हिंडेर १८ असारमा बेसक्याम्प पुग्यौं। डरलाग्दो ठाउँ, लम्बे पैदल यात्रामा बस्ने–खाने होटलहरू छैनन्। त्यो हेर्दा सगरमाथा क्षेत्र त निकै विलासी पो रहेछ। बेसक्याम्पमा पुगेपछि लगातार एक साता मौसम बिग्रियो। सातौं दिनमा पूजा गरेर वातावरणमा घुलमिल हुन क्याम्प–थ्री सम्म जाने–फर्कने गर्न थाल्यौं। मौसम राम्रो हुनासाथ १० साउनमा हामीले के–टुको शिरमा पाइला राख्यौं र संसार जितेको अनुभव गर्यौं। नेपाली समय अनुसार, अपरान्ह ३.३५ बजे के–टुको शिखरमा एकअर्कालाई अँगालो मारेर रोइरह्यौं। हामी त्यहाँ पुग्न धेरैको लगानी थियो, ती सबैलाई सम्झियौं।
टोलीमा अरु नेपालीहरू पनि थिए। त्यसले सजिलो बनायो नै। पेम्बा शेर्पा, कान्छा लाक्पा शेर्पा, मिङदोर्जी शेर्पा र मिङगेलु शेर्पाले हामीलाई धेरै सहज बनाइदिनुभयो। हिमालयन महिला कल्याणकारी समाजले सेभेन समिट ट्रेकको व्यवस्थापनमा आयोजना गरेको यो आरोहणले हामीलाई नयाँ पहिचान दियो। यो कीर्तिमान पहिलो नेपाली नारीको कीर्तिमान त हो नै, महिला आरोहण दलको रुपमा के–टु चढ्ने विश्वकै पहिलो टोली पनि भयौं हामी। हामीभन्दा अघि सात जना महिला आरोहीले माउन्ट के–टु विजय गरेका रहेछन्।
हरेक आरोहीलाई एउटा टाकुरो उक्लिएपछि त्योभन्दा अग्लो चुचुरो टेक्न पाए हुन्थ्यो भन्ने लाग्छ। त्यसैले हामीले गाह्रो हिमाल के–टु ताकेका थियौं। त्यो सपना पूरा भयो। यसबाट नेपालको पनि नाम रहेको हामी ठान्छौं।
प्रस्तुतिः ऋषिराम कट्टेल