१-७ भदौ २०७१ | 17-23 August 2014

शिष्यमा सपना

Share:
  

देबकी बिष्ट
काठमाडौं आलापोटका अशोक खड्का (२८) सानैदेखि पढाइमा प्रथम हुन्थे। वक्तृत्वकलामा पनि प्रथम हुने उनी जुनियर तेक्वान्दो स्पर्धाहरुमा स्वर्णपदक जित्थे। उनको स्प्राइरिङ किक् हेर्नेहरु छक्क पर्थे। अहिले अशोकको कोठा स्थानीय, जिल्लास्तरीय, क्षेत्रीय र राष्ट्रिय खेलमा जितेका ३० स्वर्ण, पाँच रजत र तीन वटा काश्य पदकले सजिएको छ। अन्तर्राष्ट्रिय स्तरका खेल भने उनका लागि अफापसिद्ध भयो। १०औं दक्षिण एशियाली खेलको छनोट चरणमा उनको बायाँ खुट्टा भाँचियो। दोस्रो पटक सन् २००९ मा भारतको लखनऊमा भएको अर्को अन्तर्राष्ट्रिय खेलको सेमी फाइनलमा फेरि त्यही खुट्टा भाँचियो। त्योभन्दा पनि दुर्भाग्य, लखनऊमा उनको खुट्टामा प्लाष्टर गर्ने डक्टरले लापरबाही गरेछन्। समस्या देखिएपछि जोरपाटीस्थित अर्थोपेडिक अस्पतालमा देखाउँदा हड्डी पाक्ने क्रोनिक ओस्टोमोलाइटिस भइसकेको थाहा भयो। अब एउटा होनहार तेक्वान्दो खेलाडीको खुट्टा नै काट्नुपर्ने भयो। तर, रुसमा विशेषज्ञता हासिल गरेका अर्थोपेडिक डाक्टर कैलाश भण्डारीले इलिजा रोप प्रविधिबाट खुट्टालाई टेक्न सक्ने बनाइदिए– १३ महीनामा १४ पटक अपरेशन गरेर।

त्यो बेला उनलाई सरकारले जम्मा साढे दुई लाख रुपैयाँ दिएको थियो। बरु त्यत्ति नै रकम प्रह्लाद कुँवर नामका एक जना मनकारीले सहयोग गरेको अशोक सम्झ्ान्छन्। अब स्प्राइरिङमा तेजिलो किक् देखाउन नसक्ने उनी देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने अधुरो सपना आफ्ना शिष्यहरुबाट पूरा गर्ने सोचमा छन्। साथै नेपाली तेक्वान्दोको विकास र खेलाडीहरुका लागि एकेडेमी खोल्ने प्रयासमा पनि छन्। खुट्टाले धोका दिए पनि दुइटा डोजाङ्गमा तेक्वान्दो सिकाइरहेका अशोक भन्छन्, “खेलाडीहरु देशका लागि खेल्छन्, तर उनीहरुलाई केही भएमा कसैले पनि ध्यान दिन्नन्।”

comments powered by Disqus

रमझम