८-१४ भदौ २०७१ | 24-30 August 2014

भारतको विप्लवमा जङ्गको मद्दत

Share:
  
- ज्ञानमणि नेपाल
वि.सं. १९१४ मा हिन्दुस्तानभरिका राजा–रजौटा तथा नवाफ–बादशाहहरूले अंग्रेज विरुद्ध विद्रोह गर्दा नेपालसँग पनि मद्दत मागेकोमा ब्रिटिश शक्ति बुझेका जंगबहादुर राणाले उनीहरूको कुरा सुनेनन्।

हिन्दुस्तानमा अंग्रेज विरुद्व विप्लव हुँदा नेपालका श्री ३ जंगबहादुर १४ हजार पल्टन लिई आफैं युद्धमा सरिक भएका थिए। पछि अंग्रेज अधिकारी र उनका कर्मचारीले नेपालको साँध मिचेको असन्तुष्टि जाहेर गर्न जंगले पहिले आफूले गरेको सहयोगको सम्पूर्ण विवरण बुझाएका थिए। सो दस्तावेजमा आफूले ज्यानको बाजी लगाएर, ठूलो जनधनको क्षति सहेर सहयोग गरेको र त्यसबापत केही जमीन फिर्ता पाएकोमा कृतार्थ भए पनि अहिले सीमा क्षेत्रमा किचलो झिक्दा आफू असन्तुष्ट भएको जंगले जनाएका छन्। त्यसक्रममा उनले भारतस्थित ब्रिटिश सरकारका लाठ साहेवलाई बुझ्ाएको दस्तावेजमा विद्रोह दबाउन गएका नेपाली पल्टन, युद्धस्थलमा नेतृत्व गर्ने कमान्डर र युद्धको विवरणहरू छन्।

भारतीय विद्रोह दबाउन काठमाडौंबाट २१ पल्टन तथा पाल्पा, डोटी, धनकुटा र सिमानाको कडरबनाबाट पाँच गरी जम्मा २६ पल्टन गएका थिए। गोरखपुर, साहेवगञ्ज आदि ९ ठाउँका युद्धमा १५ पल्टनको नेतृत्व जंग स्वयम्ले गरेका थिए। काठमाडौंबाट १७ पल्टन लिएर गएका कर्णेल पहलमानसिंह बस्नेतले १६/१७ ठाउँमा रेविल (विद्रोही) दबाएका थिए। यसैगरी, मेजर कप्तान श्रीभक्त खड्का र मेजर कप्तान सेवकराम थापाले सोनपुरमा लडेका थिए भने कर्णेल भैरवनरसिंह कुँवरले अलमोडा टंकनगरमा तीन वटा लडाइँ गरेका थिए। त्यसबेला मारिने रेविल संख्या ५ हजार ५५७ र नेपालपट्टिका १३६ जना देखाइएको छ। यताका घाइते ४८१ छन् भने उताका ४०६। यो संख्या जङ्गबहादुरकै अर्को दस्तावेजसँग भने मिल्दैन। विद्रोहमा हार खाएपछि शरणार्थीको रूपमा नेपाल पसेका १८ जना अंग्रेज र उनका मीमहरूलाई कर्णेल सिद्धिमानसिंहले सुब्बा पद्मनाथ जोशी मार्फत ब्रिटिशलाई सुपुर्दगी गरेका थिए। यसैगरी, नेपालतर्फ भागी शरण लिएका राजा वेणीमाधव, उनका भाइ र सैनिकहरूलाई कर्णेल पहलमानसिंह बस्नेतले दाङमा मारिदिएका थिए। त्यो सुपुर्दगी र हत्या वास्तवमा जङ्गको अर्घेल्याईं थियो। उनले राजालाई मार्नु नहुने चलन विपरीत वेणीमाधवको हत्या गराएका थिए। लडाइँ जितिसकेपछि पनि अंग्रेज अनुकूलको त्यस्तो कर्म गर्नु सर्वथा अनुचित थियो। जंगको यो कर्म उनका मावली बा भीमसेन थापाले आफ्नै निगरानीमा रहेका पाल्पाली राजा पृथ्वीपाल सेन, उनका भाइ र उनीहरूका सैनिकहरूलाई नचाहिंदो अप्टिक लगाई मारेको घटनासँग ट्वाक्कै मिल्यो। जंगले पछि फेरि भाइ धीरशमशेरलाई पठाएर शरणार्थी भई तराईमा बसेका हिन्दुस्तानका दुई जना विद्रोही लाठ, एक जर्नेल र चार जना अफिसरलाई पनि सुपुर्दगी गरेका थिए।

comments powered by Disqus

रमझम