८-१४ भदौ २०७१ | 24-30 August 2014

विधिको विकल्प

Share:
  
- केदार शर्मा
जुका घारीमा चर्न छिरेको पाठाले या भोकै बस्नुपर्छ, या त घाँसको मोल रगतले तिर्न तयार हुनुपर्छ।

नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति कर्मचारी युनियनले वीरगन्जमा निकालेको जुलूस।
एउटा पुरानो कथन– 'एक जना मारे ज्यानमारा, दश जना मारे योद्धा, सय जना मारे सेनापति र हजार मारे सम्राट।'

लेखन–अनुसन्धान क्षेत्रको एउटा ठट्टा– 'एक जनाको सारे चोरी, दश जनाको सारे अनुसन्धान, पचास जनाको सारे विद्यावारिधि।'

अहिले आएर भ्रष्टाचारका क्षेत्रमा पनि नयाँ शब्द प्रयोग हुन थालेको छ। एक जनाले खाए घूस हुन्छ, दुई चार जनाले मिलाएर खानेलाई दस्तुर मानिन्छ, तालमेल मिलाएर नहुने काम गर्ने/गराउने धेरैले मिलेर खाने प्रक्रियालाई 'सेटिङ' भनिन्छ।

नेपाली 'सेटिङ'

अंग्रेजी शब्द 'सेटिङ' का अनेक अर्थमध्ये एउटा हो कुनै काम हुने समय, ठाउँ र अवस्था। क्रियापदका रूपमा 'सेट' को अर्थ मिलाउनु हुन्छ। अंग्रेजीमा सेटिङको सबभन्दा बढी प्रयोग कम्प्युटर, मोबाइल फोन आदिको 'कन्पि्कगरेशन' मिलाउने अर्थमा हुन्छ। अंग्रेजी शब्दको अर्थ जे–जे भए पनि नेपाली (देवनागरी लिपि) मा लेखिएको 'सेटिङ' शब्दले भने अवैध तालमेल अर्थात् 'विधिको विकल्पमा तयार गरिएको संयन्त्र' बुझाउँछ।

ठूल्ठूला अवैध काम गर्न/गराउन एक–दुई जनालाई मात्र मिलाएर पुग्दैन। लाभ नपाउने र/वा कहिले नियम कानून नछाड्नेहरूले त्यसमा तगारो तेर्स्याउन सक्छन्। अख्तियारमा बेनामी पत्र हालिदिएर वा हेल्लो सरकारमा फोन गरेर वा पत्रकारहरूलाई खुसुक्क सूचना दिएर पनि हल्ला गराइदिन सक्छन्। यस्तोमा 'सेटिङ मिलाइसकेपछि' सम्बन्धित सबै तैं चूप मै चूप हुन्छन्। नमिल्ने कोही छन् भने ती पाखा लगाइन्छन्। त्यसपछि आवश्यक परे सेटिङले विधि र प्रक्रिया नै पनि फेरफार पारिदिन्छ। अवैध लाभको चास्नीमा डुबाइदिने हो भने कसैका पनि पखेटा फ्याटफ्याट गर्दैनन् भन्ने कुरा सेटिङ मिलाउनेहरूलाई राम्ररी थाहा हुन्छ।

सेटिङ अब अंग्रेजी होइन, नेपाली शब्द हो। चल्तीका अंग्रेजी शब्द राम्रैसित समेटिएको नेपाली बृहत् शब्दकोशमा 'सेट' सम्म छ, 'सेटिङ' ले नयाँ संस्करण पर्खिरहेको छ। सेटिङ लोकतन्त्रको उपफल (बाई प्रोडक्ट) का रूपमा फस्टाएको अवधारणा भएको शब्द प्रयोगको कालक्रम हेर्दा देखिन्छ। अलिअलि अड्डा–अदालत धाउने सर्वसाधारणलाई पनि अहिले यसको अर्थ राम्ररी थाहा छ। छोटै समयमा नेपाली जिब्रोमा चढेको यस शब्दले ग्रहण गरेको अर्थ तालमेल हो।

छोटै समयमा 'भाइरल' विस्तार भएको यो शब्द गुगल गर्दा झ्न्डै दुई लाख प्रविष्टि पाइन्छ। कुनै पनि शब्द प्रयोगको आवृत्तिसँगै त्यसको प्रयोगको सन्दर्भ पनि महत्वपूर्ण हुन आउँछ। गुगल गर्दा यो शब्द सुपारीको व्यापार, वैदेशिक रोजगार, विमानस्थल, अध्यागमन, भन्सार, विद्युत्, पाठ्यपुस्तकको अभाव, सरुवा जस्ता विषयका शब्दहरूसित मिलेर आउँछ। अर्थात्, ती क्षेत्रहरूमा सेटिङ मिलाउने क्षमता चाहिन्छ। कम्प्युटरसित सम्बन्धित विषयमा 'सेटिङ' को प्रयोग तुलनात्मक रूपमा ज्यादै कम भएको पाइयो।

भाषामा एउटा नयाँ शब्द भित्रिएर नेपाली शब्द भण्डार बढेको छ, तर यो खुशी मान्ने कुरा होइन। केही शब्द यस्ता हुन्छन्, जुन भित्रिंदा नागरिक र देशले गरीब हुनुपर्छ। अवैध काम गर्नेहरूको जमात धनी हुँदै जान्छ। समाजले त्यो धनका प्रभाव र परिणामहरू बेहोर्दा हुने हानिको सूची निकै लामो र पर्गेली नसक्नुको छ। घर पोले खरानीको के दुःख भन्छन्।

सेटिङ मूलतः कर्मचारीहरूको हुन्छ। त्यसको इन्जिनियरिङमा भने राजनीतिक दलका गुट–उपगुट, नेता–दादादेखि राशन–हतियार ठेकेदार, जलस्रोतका माफिया र मेडिकल कलेजका मालिक–सञ्चालकसम्मको हात हुन्छ। कुनै मन्त्रीले सेटिङ भत्काउने हिम्मत गर्‍यो भने सेटिङ–संयन्त्रले उसैलाई पाखा लगाइदिन्छ। सेटिङ दलगत भन्दा धनगत चरित्रको हुन्छ। यो यस्तो कुवा हो, जहाँ सबै दलका पशुपक्षी आपसमा ङ्यार्रङुर्र नगरी पानी खान्छन्। बोल्नुपर्ने ठाउँमा सबै मिलेर बोल्छन्, चूप लाग्नुपर्ने ठाउँमा सरसल्लाहसितै मौन हुन्छन्। सेटिङलाई झ्गडा मन पर्दैन, मेलमिलाप भयो भने मात्र ब्रिफकेशहरू भरिन्छन् भन्ने कुरा सेटिङ पण्डितहरूलाई थाहा छ। एकपटक मिलिसकेपछि सेटिङ लामो समयसम्म 'अटोपाइलट' मा उड्छ। त्यससँगै विधि, सुशासन, विकास, लोकतन्त्रप्रतिको जनविश्वास सबै उड्छ। देखिएको, भोगिएको यही हो।

देश चक्रव्यूहमा अभिमन्यु जसरी सेटिङमा फँसिरहेको छ। अन्त्यमा यसको मोल सर्वसाधारण भनिएको नागरिकले तिर्नुपर्छ। सेटिङको घनचक्करमा परेका जनता जुका घारीमा चर्न छिरेको पाठा जस्तो बनेका छन्।

comments powered by Disqus

रमझम