८-१४ भदौ २०७१ | 24-30 August 2014

इबोला भाइरस बच्ने तयारीमा लागौं

Share:
  
- डा. गणेशराज पन्त
मृत्युदर ५० देखि ९० प्रतिशत रहेको इबोला भाइरसबाट बच्न सबै गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता छ।

वैज्ञानिकहरूको अध्ययन एवं विश्व स्वास्थ्य संगठनको प्रकाशित रिपोर्ट अनुसार इबोला भाइरस मध्य र पश्चिम अफ्रिकी मुलुकका दुर्गम तथा ग्रामीण भेगमा पशुबाट मानिसमा सरेको प्राणघातक रोग हो। यो रोग हालसम्म नेपालमा भित्रिएको छैन। इबोला भाइरस– फिलोभाइरिडी परिवारको एक सदस्य हो।

जसका– बुण्डीबुग्यो, जायर, रेस्टोन, सुडान र ताई फरेस्ट प्रजाति छन्। यीमध्ये बुण्डीबुग्यो, जायर र सुडानले घातक इबोला भाइरस रोग वा इबोला हेमोरेजिक फिवर (रक्तस्राव हुने ज्वरो) उत्पन्न गर्दछन्। रेस्टोन र ताई फरेस्टले भने सामान्य रोग मात्र ल्याउँछन्।

यो विषाणु १४ हजार नानो मीटर (एक मीटरको एक लाखौं अंशको १४ अंश) लामो, ८० नानो मीटर (एक मीटरको एक करोड अंशको ८ अंश) मोटाइ भएको र मलिकुलर संरचना अनुसार १९ किलोवाइट लामो, एकसूत्रीय धागो आकारको, सात ओटा प्रोटिनले निर्मित, चिल्लो पदार्थको बाहिरी आवरण भएको आर.एन.ए. भाइरस हो। यो विषाणुलाई सोडियम हाइपोक्लोराइड र मिथाइल अल्कोहल, ग्लुट्रलडिहाइड, एसिटिक एसिड, फर्मलडिहाइड र डिटरजेन्ट (साबुन) को प्रयोगबाट नष्ट गर्न सकिन्छ। ६० डिग्री सेल्सियस तापक्रममा ३० देखि ६० मिनेटसम्म तताएर वा पाँच मिनेटसम्म पानीमा उमाल्दा पनि यो विषाणु नष्ट हुन्छ। घातक उच्च संक्रमण शक्ति भएको यो विषाणु पानी वा सुक्खा वातावरणमा तथा ४ देखि २४ डिग्री सेल्सियस तापक्रममा केही दिन जीवित रहन सक्छ।

यो रोगको उत्पत्ति सन् १९७६ मा सुडान र कंगोमा भएको थियो। सन् २०१२ सम्ममा अफ्रिकाका युगाण्डा, कंगो, गावोन र सुडानमा यो रोगबाट १ हजार ९५० जनाको मृत्यु भएको थियो। सन् २०१४ मा यो रोग गुयाना, लाइवेरिया, सियरालियोन र नाइजेरियामा फैलिएपछि विश्व नै आतंकित बनेको छ। पछिल्लो समय यो रोगले २ हजार १२७ जनालाई बिरामी बनाएकोमा १ हजार १४५ जनाको मृत्यु भएको छ।

इबोला भाइरस प्राकृतिक रूपले चमेरोमा आश्रित रहेको मानिन्छ। यद्यपि यो रोगका विषाणुको प्राकृतिक बासस्थल, मानिसमा रोग सर्ने प्रक्रिया तथा खोप र औषधिबारे अनुसन्धान गर्न बाँकी छ। अहिलेसम्म पत्ता लागे अनुसार, चमेरोबाट यो विषाणु बाँदर, गुरिल्ला र चिम्पान्जी जस्ता जंगली जनावरमा सर्छ। ती जनावर वा तिनीहरूको रगत, शरीरको अंग वा शरीरबाट निस्केको तरल पदार्थ छुने मानिसको शरीरमा यो विषाणु प्रवेश गर्छ। त्यसपछि त्यस्ता मानिसका शरीरबाट निस्कने वान्ता, आँसु, थुक, र्‍याल पसिना, दिसा, पिसाब, दूध र वीर्यबाट यो विषाणु अरू मानिसमा सर्छ। रोग निको भएको सात हप्तासम्म यौन सम्पर्क गर्दा पनि यो विषाणु अरूलाई सर्ने जोखिम रहन्छ। रोगीलाई प्रयोग गरेको निडिलबाट पनि सर्ने यो रोग हावाबाट भने सर्दैन।

लक्षण

इबोला भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि २१ दिनमा रोगका लक्षणहरू तीन चरणमा देखा पर्छन्। एकदेखि चार दिनमा १०२.२ डिग्रीदेखि १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, मांसपेशी दुख्ने, कमजोरी हुने, घाँटी दुख्ने, निल्न असजिलो हुने, भोक नलाग्ने, वाक्वाकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुने र शरीरमा रातो दाग देखिने लक्षण देखा पर्छन्। पाँचदेखि १३ दिनमा भ्रम उत्पन्न हुने, दिक्क लाग्ने, रीस उठ्ने, बेहोश हुने, सास फेर्न असजिलो हुने, आँखा रातो हुने, शरीरका भित्री र बाहिरी अंगमा रक्तस्राव हुने, दिसा र वान्तामा समेत रगत देखिने लक्षण देखिन्छन्। १३ देखि १८ दिनमा मूर्छा पर्ने तथा कलेजो र मिर्गौला निष्त्रि्कय भई बिरामीको मृत्यु हुन्छ।

रोगबाट बच्दा पनि शारीरिक र मानसिक अपाङ्गता आउने सम्भावना बढी हुन्छ।
यो रोगका लक्षण लेप्टोस्पाइरोसिस, मलेरिया (औलो), हैजा, टाइफाइड र डेंगु जस्ता रोगसँग मेल खाने हुँदा रोग लागेको यकिन गर्न गाह्रो हुन्छ।

स्वास्थ्यकर्मीले रोगीको रगत तथा अन्य नमूना संकलन गर्दा पनि सुरक्षण पोशाक लगाएर गर्नुपर्छ। रोगका लक्षण देखिएको तीनदेखि १० दिनमा नमूना संकलन गर्ने उपयुक्त समय हो। यस्तो नमूनालाई ४ डिग्री सेल्सियसमा भण्डारण गरी विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको बीएसएल–फोरको प्रयोगशालामा पठाउनुपर्छ। नेपाल सरकार अन्तर्गत रहेका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा जापानिज इन्सेफलाइटिस र बर्ड फ्लू निदान गर्न एलाइजा र आरटी–पीसीआर टेस्टको सुविधा र क्षमता रहे पनि बीएसएल–फोरको प्रयोगशाला छैन। त्यसैले इबोला जस्ता घातक रोगसँग लड्न नेपालमा छिट्टै बीएसएल–फोर प्रयोगशाला स्थापना गर्नुपर्छ।

रोकथाम र नियन्त्रणका उपाय

मृत्युदर १०० मा ५० देखि ९० सम्म रहेको इबोला रोगको रोकथाम र उपचारको लागि अहिलेसम्म प्रभावकारी खोप र औषधिको आविष्कार भएको छैन। त्यसैले यो रोग लागेमा रोगीलाई विशेष प्रकारको उपचार कक्षमा छुट्टै राखेर सहायक उपचार दिन मात्र सकिन्छ। रोगीको उपचारमा संलग्न चिकित्सक वा स्वास्थ्यकर्मीले मास्क, चश्मा, ग्लोब, पानी नछिर्ने एप्रोन, प्लास्टिकको जुत्ता लगाउनुपर्छ। एकपटक प्रयोग गरेको सुरक्षण पोशाक उपचार कक्षबाट बाहिर ल्याउन र निसंक्रमण नगरी पुनः प्रयोग गर्नुहुँदैन। यसका अतिरिक्त आवश्यकता अनुसार समय समयमा साबुनपानीले हात धोएर स्पि्रट दलेमा रोग सर्ने जोखिम कम हुन्छ। रोगीको शरीरबाट निस्कने सम्पूर्ण सङ्क्रमित पदार्थ (दिसा, पिसाब, वान्ता र फोहोर पदार्थ) लाई उमालेर निसंक्रमण गरेपछि मात्र बाहिर तह लगाउनुपर्दछ। रोगीले प्रयोग गरेका वा सम्पर्कमा आएका ओछ्यान, लुगा, उपचारमा प्रयोग भएका कपास, वेन्डेज र उपकरणलाई पनि जलाइदिनुपर्छ वा निसंक्रमण गर्नुपर्दछ। रोगीको स्पर्शबाट संक्रमण भएको कोठाको भुईं र भित्तालाई पनि निसंक्रमण गर्नुपर्दछ। रोगीको मृत्यु हुन गएमा आफन्तलाई सुरक्षण पोशाक लगाएर मात्र शवलाई छुन र अन्त्येष्टि गर्न भन्नुपर्छ। अन्त्येष्टिपश्चात् पनि सुरक्षण पोशाक जलाई साबुनपानीले राम्रोसँग नुहाउनुपर्छ।

रोगी तथा विषाणुको प्र्रत्यक्ष सम्पर्कमा आएका स्वदेशी तथा विदेशीहरूलाई देश भित्रिनुपूर्व २१ दिनसम्म छुट्टै स्थान वा क्वारेन्टाइन कक्षमा राखी अनुगमन गर्नुपर्छ। उनीहरूसँग एक मीटरको दुरीमा रहेर मात्र कुरा गर्नुपर्छ। रोगको लक्षण देखिएका व्यक्तिलाई छुट्टै र विशेष उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ। उनीहरूलाई परिवारका सदस्यहरूबाट पन्ध्र मीटर टाढा राख्नुपर्छ। रोगीको रगतको नमूना लिई विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको प्रगोगशाला पठाएर इबोला संक्रमण भए/नभएको यकिन गर्नुपर्छ। चमेरो र बाँदर जस्ता जंगली जनावरलाई ग्लोब र सुरक्षण पोशाक नलगाई छुन र चलाउनुहुँदैन। ती जनावर वा उनीहरूको रगत छोइएमा साबुनपानीले हात सफा गरेर हातमा स्पि्रट दल्नुपर्छ। बंगुर फार्ममा इबोला भाइरस रहे/नरहेको परीक्षण गर्ने तथा चमेरोसँग सम्पर्क नहुने गरी बंगुरपालन गर्नुपर्छ।

रोगीको सम्पर्कमा पुगेपछि रोगको लक्षण देखा नपरे पनि अस्पतालमा गई चिकित्सकसँग सल्लाह गर्नुपर्छ। कुनै व्यक्तिमा इबोला रोगको लक्षण देखापरेको थाहा पाउनासाथ स्वास्थ्य संस्थाहरूलाई जानकारी दिइहाल्नुपर्छ।

स्वास्थ्यसँग सम्बन्धित सरकारी र गैरसरकारी निकायहरूले इबोला भाइरस रोगको नियन्त्रण र रोकथामका लागि आर्थिक, भौतिक र मानवीय स्रोतको व्यवस्थापन गर्न ध्यान दिंदै यसबारे व्यापक रूपमा जनचेतनाका कार्यक्रम संचालन गर्नुपर्छ।

(भेटेरिनरियन डा. पन्त त्रिपुरेश्वरस्थित रेबिज भ्याक्सिन उत्पादन प्रयोगशालाका प्रमुख हुन्।)

comments powered by Disqus

रमझम