८-१४ भदौ २०७१ | 24-30 August 2014

नयाँ टे्रण्ड

Share:
  
- मीना शर्मा
धार्मिक–सांस्कृतिक पर्व हरितालिका (तीज) ले परम्परासँगै आधुनिकता अँगाल्दा व्यापार पनि बढाएको छ।

तस्वीरहरुः देबकी बिष्ट
काठमाडौंको नयाँसडकमा रहेको ऋद्धि–सिद्धि ज्वेलर्समा सुनका गहना किन्दै महिला।
वर्षैभरि कामकाजबाट फुर्सद नपाउने चेलीहरूले मन खोलेर नाच्ने–गाउने र टाढा रहेका दिदीबहिनीसँग भेट्ने पर्व तीज नेपाली घर―आँगनमा आइसकेको छ। बर्खेझरीमा रुझ्दै खेतीपाती सक्नुपर्ने गाउँ होस् या बाह्रैमास भागदौडमा बित्ने शहर; आफूले सकेको खर्चमा सुकिला भएर मीठो–मसिनो खाँदै राम–रमाइलो मनाउने अवसर हो, तीज। यो अवसरको छनक शहरका गहना पसलदेखि सुपरमार्केट र बुटिकसम्म देखिन थालिसकेको छ। कतिपय महिलाले त तीजको किनमेल पनि सकेका छन्।

तीज आफैंमा एउटा परम्परा भए पनि यसले आधुनिकतालाई मजाले अङ्गीकार गरेको देखिन्छ। कतिका लागि यो पर्व उपभोगको अवसर पनि बनेको छ। सासू–बुहारी सम्बन्ध र घरव्यवहारको पीडा बिसाउने अवसरको रूपमा चलेको तीजलाई कतिले लैङ्गिक समानता र सामाजिक विसंगति विरुद्ध आवाज उठाउने अवसर बनाएका छन्। यद्यपि, आधुनिक समयको तीज सबभन्दा बढी चाहिं किनमेलकै अवसर बनेको देखिन्छ।

तीजको किनमेल

तीजको लागि साउनको अन्तिम साता हीराको हार किनेकी काठमाडौं, कोटेश्वरकी अनुशा ढुङ्गानाले यो पटक मन खोलेर खर्च गर्ने बताइन्। तीजमा भेला हुने दिदीबहिनी भन्दा फरक देखिन हीराको हार किनेकी अनुशाले छोरीको लागि लेहेङ्गा साडी किनेकी छन्। तीन वर्षयता माइती नटेकेकी शकुन्तला खनालले पनि यसपालिको तीजमा अर्घाखाँची जान आफू र छोरीका लागि रु.१७ हजारको किनमेल गरेकी छिन्। नुवाकोटकी सीता मगरले मजदूरी गरेरै भए पनि यो पटक विशेष किनमेल गरेर तीज मनाउने बताइन्।

यसैगरी, बुटवलकी अस्मिता कार्कीले तीजको लागि लेहेङ्गा साडी सहित रु.२० हजारको किनमेल गरेको बताइन्। टेलिफिल्म, फिल्म र इन्टरनेटबाट नयाँ―नयाँ पहिरनको जानकारी लिने उनले यो तीजमा लेहेङ्गा साडीले बजार लिने ठोकुवा नै गरिन्। तीजको लागि किनमेल गर्न आमासँग नयाँसडक आएकी नौ वर्षीया निमिसा मगरको रोजाइले पनि अस्मिताको अनुमान सही हुने देखाउँछ। आमाले फ्रक किनिदिन खोज्दा निमिसाले लेहेङ्गा नै किन्न लगाइन्।

कुपन्डोलमा कार्पेट, पर्दा, तन्ना र कुशनको कभर किनिरहेकी काठमाडौंकी सावित्रा पोखरेलले भने आफूलाई भन्दा घरलाई सुन्दर बनाउन लागेको बताइन्। उनले दर खान धेरै दिदीबहिनी आउने भएकोले घरको सजावटलाई महत्व दिएकी हुन्। २० वर्षदेखि तीज व्रत बस्दै आएकी उनले यस पटक पनि व्रत बसी पशुपतिनाथको दर्शन गर्ने योजना बनाएकी छिन्। तीजको लागि किनेका महङ्गा कपडा एक दिन मात्र प्रयोग हुने भएकोले पनि पहिला जस्तो पहिरनमा धेरै खर्च गर्न छाडेको बताउँदै सावित्रा भन्छिन्, “यो तीजमा कपडा–गहनामा भन्दा घर सजावट र खानपानमा बढी खर्च गर्दैछु।”

कुपन्डोलमा रहेको युआर स्टाइलिस बुटिकमा लेहेङ्गा साडी हेर्दै।
२८ साउनमा नयाँ सडकमा एउटै डिजाइनका चार वटा साडी किनेकी भक्तपुरकी संगीता खनालका लागि भने तीज उपहार लिने–दिने अवसर पनि हो। हरेक तीजमा नन्द–आमाजूहरूलाई साडी लगायतका उपहार दिने उनी माइतीबाट पनि उपहार पाउँछिन्। तीजमा सबभन्दा बढी उपहारमै खर्च हुने संगीताले बताइन्। यस पटक २ भदौमा दर खाने कार्यक्रममा उनले आफन्त र साथीसँगिनी गरी ३० जनालाई बोलाएकी थिइन्। कतिपयले भने साउन अन्तिम सातादेखि नै दर खाने कार्यक्रम राखेका थिए। “पछिल्लो समयमा खर्चिलो र भड्किलो बन्दै गएको तीज धेरैका लागि समस्या पनि भएको छ”, संगीता भन्छिन्।

व्यापारको मौसम

बागबजारमा बुटिक खोलेकी बिन्दु थापाले पछिल्लो समयको तीज व्यापारका लागि पनि चाड हुने गरेको बताइन्। यो तीजमा लेहेङ्गा, साडी, ब्लाउज र कुर्ता सलवारको सोचे जस्तै व्यापार भएको उनले सुनाइन्। यस पटक भेल्भेटको ब्लाउज र इम्ब्रोइडरी साडी पनि निकै चलेको बताउने बिन्दुले रु.१० हजार गोटाको ब्लाउज बिक्री हुने समय पनि तीज नै भएको बताइन्।

उता, कुपन्डोलमा युआर स्टाइलिस बुटिक सञ्चालन गरेकी फेशन डिजाइनर रेश्मा श्रेष्ठले तीजमा दोब्बर व्यापार हुने बताइन्। पछिल्लो समय तीजमा नयाँ–नयाँ डिजाइनको कपडाको माग बढेको बताउने रेश्माका अनुसार, अहिले त रातो नै लगाउने भन्ने पनि छैन, पहेंलो र हरियो पनि निकै चलेको छ। “गृहिणीहरूले पनि विभिन्न रंगका डिजाइन गरिएका पहिरन रोज्न थालेका छन्”, रेश्माले भनिन्। नक्सालस्थित स्वस्ति लेजर एन्ड स्किन केयरकी सञ्चालक कल्पी कार्की तीजको बेला महिलाहरूले कपाल र छालाको हेरचाहमा पनि निकै खर्च गर्न थालेको बताइन्।

त्यस्तै, नयाँसडकको गणपति ज्वेलर्सका व्यवस्थापक सम्पत सिंहले तीजमा तिलहरी र जन्तरको व्यापारमा ७०―८० प्रतिशत वृद्धि भएको बताए। नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्य ४०―५० वर्ष पहिला निकै चलेको जन्तर र चन्द्रमाको दिन फेरि फर्केको बताउँछन्। उनका अनुसार, असारभरि शून्य रहेको सुनको व्यापार २० साउनबाट ह्वात्त बढेको थियो। “गत वर्षको तुलनामा यसपालि सुनको मूल्य घटेकाले पनि व्यापार बढ्यो”, शाक्य भन्छन्, “तीजको बेला यो पटक काठमाडौंमा दैनिक ४०―४५ किलो सुन बिक्री भयो।”

ऋद्धि–सिद्धि ज्वेलर्सका प्रबन्ध निर्देशक नरेन्द्र गुप्ताका अनुसार, वर्षभरिको व्यापारमा तीजको ठूलो हिस्सा हुन्छ। पैसा चाहिएको बेला सजिलै बिक्री गर्न मिल्ने भएकोले पनि तीजमा सुनमा लगानी गर्ने चलन छ। दरबारमार्गको गीताञ्जली ज्वेलर्सले भने यो पटक हीराका गहनाको बिक्री बढाउन २५ प्रतिशत तीज छूट दिएको छ।

ज्वेलर्सका प्रबन्ध निर्देशक प्रसुन जालानले तीजभरि सुनका गहना बनाउने ग्राहकबाट पनि ज्याला नलिने बताए। तीजको अवसरमा ब्याङ्कहरू पनि व्यापार प्रवर्द्धनमा अग्रसर हुन थालेका छन्। जस्तो, एनबी ब्याङ्कले भदौ २―३१ सम्म गृहिणी बचत खाता खोल्न आउने महिलाहरूलाई ब्याङ्कको लोगो अंकित छाता तीज उपहार दिंदैछ। ब्याङ्कले महिला ग्राहकका लागि दर कार्यक्रम पनि राखेको मार्केटिङ प्रमुख प्रतिभा लिम्बूले बताइन्। यो ब्याङ्कले अघिल्लो तीजमा महिला ग्राहकहरूलाई चुरा–पोते उपहार दिएको थियो।

तीजले दुग्ध विकास संस्थानलाई पनि भ्याई–नभ्याई बनाएको छ। गत वर्षको तीजमा दूध–दहीको माग पुर्‍याउन नसकेकोले यो तीजमा उत्पादन बढाएको संस्थानका व्यापार प्रबन्धक सञ्जिभ झाले बताए। उनका अनुसार, गत वर्ष काठमाडौंमा एक लाख ४० हजार लीटर दूध बिक्री भएकोमा यस पटक तीन लाख लीटरको माग छ। यसैगरी, पोहोर ३७ हजार लीटर दही बिक्री गरेको संस्थानले यो तीजमा ४५ हजार लीटर बेच्ने व्यवस्था गरेको छ।

मानवशास्त्री सुरेश ढकाल पतिको दीर्घायुको एकोहोरो कामना गर्ने तीजले यति उपभोगमुखी हुँदा महिलाको मनोवैज्ञानिक र सामाजिक आवश्यकता पूरा गर्न सकेकाले आधुनिक समयमा पनि महत्व पाएको बताउँछन्। “उपभोक्तावादी संस्कृति हावी हुँदा तीजले नयाँपन पाएको देखिन्छ”, ढकाल भन्छन्।

comments powered by Disqus

रमझम