८-१४ भदौ २०७१ | 24-30 August 2014

'साना' को ठूलो चमत्कार

Share:
  

औपचारिक क्रिकेट प्रतियोगितामा भाग नलिएका अनिल खरेल (१३) ले मलेशियामा सबैलाई चकित पारे। क्रिकेटका लागि उर्वर जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरका अनिलका पिता लीलाम्बर खरेल जापानमा छन् भने घरमा आमा कौशिल्या, भाइ र हजुरबुबा बस्छन्। आमा कौशिल्या भन्छिन्, “सानैदेखि पढाइमा उत्कृष्ट रहेको छोराले अहिले खेलमा देशकै नाम राख्यो।” रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लका अनुसार अनिलले राम्ररी अभ्यास समेत गर्न पाएका थिएनन्। अनिललाई पांँच महीनाअघि रुपन्देही क्रिकेट संघले यु–१६ टीम बनाउन चलाएको क्याम्पमा सहभागी २०० जना बाल क्रिकेटरमध्येबाट छानेको थियो। उनी लेफ्ट आर्म स्पिन बलिङ्ग गर्छन्।

उनी अध्ययनरत एपेक्स स्कूलले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ। प्राचार्य दीपक गौतमका अनुसार अहिले ८ कक्षामा पढ्ने अनिलले सो विद्यालयमा १२ कक्षासम्म पूर्ण छात्रवृत्ति पाउने छन्। विद्यालयले नेपाली टीमका मुख्य प्रशिक्षक वसन्त शाहीलाई पनि विशेष पुरस्कार दिने घोषणा गरेको छ। ओमन विरुद्धको खेलमा उत्कृष्ट बलिङ्ग गर्दै ६ विकेट हात पारेका अनिलको यो सफलता र खेलमा केही गज्जबका संयोग छन्ः

** टीमका कान्छा खेलाडी अनिल र मुख्य प्रशिक्षक वसन्त रुपन्देहीकै हुन्। त्यो पनि यौटै विद्यालय शंकरनगरको एपेक्स स्कूलका चेला―गुरु।

** अनिलको जस्तै मुख्य प्रशिक्षकको रुपमा वसन्तले पनि पहिलो प्रतियोगितामा ऐतिहासिक जीत हात पारे।

** क्षेत्र नम्बर ४ बाट ६ जनाको नाम पठाइएकोमा अनिल मात्रै 'बोन टेस्ट' मा उत्तीर्ण भएका थिए।

** १३ वर्षका अनिलले १३ बिकेट लिए।

** नेपाली राष्ट्रिय क्रिकेट महिला टीमका खेलाडी इन्दु बर्मा र प्रतीक्षा बस्याल पनि अनिलकै स्कूलका उत्पादन हुन्।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम