२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

मजलिस घरबाट–१३

Share:
  
- कमलमणि दीक्षित

मजलिस घरको पूर्वमा रहेको 'छिमेकी' र रानीपोखरीको झ्ण्डैझ्ण्डै समवयसी एउटा स्थापत्यको त हामीले ऐलेसम्म चर्चै गरेका रहेनछौं! घण्टाघर, त्रिचन्द्र कलेजभन्दा एक–दुई शताब्दी जेठा र तिनकै अगलबगलमा खडा दुइटा मस्जिदहरू, काश्मीरी तकीया र नेपाली जामे मस्जिदबारे अलिकति नबोली यस स्तम्भको बिट मार्नु हुँदैनथ्यो मैले। त्यसैले आज म त्यही जमर्को गर्दैछु। तर त्यसो गर्दा नेपालको इतिहासभित्र अलिकति नछिरी हुँदैन। लौ तः

आफूले उपत्यका सर गर्नुभन्दा पैले नै पृथ्वीनारायण शाहले काठमाण्डूका 'ठूलाबडा' साहू–महाजनहरूलाई हात लिने जमर्को गरिसकेका थिए। त्यसै प्रसङ्गमा, निकै पैलेदेखि यहाँ घरबास गरी रैथाने सरह भइसकेका काश्मीरी मुसलमान साहू सदुल्लाजी मोजमजीलाई पनि पृथ्वीनारायण शाहले एउटा चिठी लेखेका रहेछन् १८२२ साल वैशाखमा। यस्तोः “तुम्रा नेपालको घर षेत जति छन्. सभ हाँमीले माफ गरिबक्स्यौं. नेपालमहाँ हाम्रो अंबल प्रबेस् हुँदाका दिन सभ महाजनहरूकन सलामी ज्या लागला. सो चह्राउँनु परला. तुम्रा घर्षेतकन माफ् गरिबक्स्यौं. कौनै बातको संदेहज नमान.” त्यस चिठीमा भने जस्तै, उपत्यका आफ्नो अम्बलमा आएपछि ती सदुल्लाजीलाई पनि पृथ्वीनारायणले 'पिछा' (शरण) मा लिएकै देखिन्छ। किनभने उनका नाति रणबहादुर शाहले उनै सदुल्लाजी काश्मीरीलाई १८३६ सालमा गरिदिएको रुक्कामा भनेका छन्ः “मौजमजि कास्मीरि के, तुम षातिर्जामासौं ईस जगहपर बसेरहो. किसु बातका अन्देसा नमानो.” त्यसपछि १८५१ साल फागुनमा उनै मोजमजीका छोरा सुनाउल्ला काश्मीरीलाई गरिदिएको अर्को रुक्कामा अझै स्पष्टसँग रणबहादुर शाहले भनेका छन्ः “रानीपोषरीछेउको तकिया साँध पूर्व १ हात जिमिनको षेत पश्चिम मूलबाटो उत्तर वाहा १ जिमिनको तकीया दक्षिण तेर्सो बाटो यति चार किल्लाभित्रको तकीया अघी नेपालका पालादेषि तेरा बाबू मौजंजिले धर्मसाला तुल्याई मुष्तियारी र अंबल गरेको थियो. आज सोही जगाको मुषतियारी र अंबल पनि थामिबक्स्यौं. आफ्ना षातिरजमासित अघिको दस्तुरबमोजिम चलन गर.”

इमामबाडा धर्मशाला, पुरानो तकीया (रातो घेरामा)। जामे मस्जिदको नयाँ ढोका (तल)।

रणबहादुर शाहले आफ्ना रुक्कामा 'अघि नेपालका पालादेखि' भनेको मल्लकालका राजाहरूलाई इङ्गित गरेको हो। त्यो भनेको रानीपोखरी खनाउने राजा प्रताप मल्ललाई सङ्केत गरिएको हुनुपर्छ। किनभने प्रताप मल्लसँग जोडिएको नेपालका मुस्लिम समाजमा प्रचलित एउटा कथाले भन्छ प्रताप मल्लका समयमा एक जना मुसलमान सिद्धपुरुष हजरत ख्वाजा हाजी मिस्किन शाह साहब नेपाल आएका थिए। उनले प्रताप मल्ललाई भेट्दा केही चमत्कार (औलिया काम) भएका थिए रे! त्यसबाट प्रभावित भएर राजाले ती सिद्धपुरुषलाई 'म तपाईंको के सेवा गरूँ?' भनेर सोधेछन् र हजरत मिस्किन साहबले 'मलाई बस्ने एउटा ठाउँ दिनुस्' भनेछन्। रानीपोखरीदेखि पूर्व त्यो बेला पूरै खाली र जङ्गल जस्तो थियो रे, त्यही जमीन राजाले उनलाई दिए रे! त्यसै ठाउँमा हजरत शाहले धर्मशाला जस्तो इमामबाडा बनाएका हुन् इत्यादि। त्यही कुरालाई सम्झेका हुनन् रणबहादुर शाहले त्यस रुक्कामा। पक्का केही भन्न सकिन्न किनभने यी कुरा कतै लेखिएको पाइँदैन। हाम्रा नेपाली मुस्लिम बन्धुहरूले पनि आफ्नो यहाँको इतिहास केही लेखेको मैले पढ्न पाएको छैन। जे होस्, ऐले रानीपोखरी पूर्व घण्टाघरका दुईतिर दुइटा मस्जिदहरू मौजूद छन्। र ती दुवै ऐतिहासिक हुन्। यो पक्का छ।

नेपालका वंशावलीहरूमा नेपालमा मुसलमानहरूको प्रवेश सर्वप्रथम राजा रत्न मल्लको समय (ईस्वी १५००) तिर भएको कुरा लेखिएको छ। काश्मीरी मुसलमानहरू ल्हासाको बाटो भएर नेपाल छिरेका हुन् भन्छ वंशावली। त्यस्तै सत्रौं शताब्दीको अन्त्यतिर पश्चिमका बाइसी चौबीसी रजौटाहरूले पनि भारततिरबाट केही मुसलमान तोप्चीहरू बोलाएर राखेका थिए आफ्ना राज्यमा बन्दूकहरू बनाउने काम गराउन। त्यसबाहेक नेपाली आइमाईका सौभाग्य वस्तु, चुरापोते बनाउने कालिगड या त्यस्ताको व्यापार गर्नेहरू पनि त्यतैबाट पहाडहुँदो भित्रिए भन्ने पनि थाहा हुन्छ। तर रानीपोखरीछेउका ती दुई मस्जिदहरू ठीक कैलेकैले निर्माण भएका हुन् भन्ने तथ्याङ्क पाइँदैन।

माथि पहिलो प्याराग्राफमा मैले यो स्तम्भको बिट मार्ने कुरा लेखें। त्यसबारे मैले यहाँ अलिकति खुलासा दिनुपर्छ। यो 'मजलिस घरबाट' भन्ने स्तम्भ कसरी शुरू भयो भन्ने कुरो मैले त्यो पहिलो स्तम्भ ('हिमाल' को ३० चैत २०७० ― ६ वैशाख २०७१ अंक) मै स्पष्ट पारेको थिएँ। ६ महीनामा मैले १२ ओटा टुक्रा लेख्ने भन्ने उसै बेला तय भएको हो। मलाई यो आफ्नो स्तम्भमा जे लेखे पनि हुन्छ भनिएको थियो। भन्नाले जेसुकै गर्ने छूट पाएको थिएँ मैले सम्पादकजीबाट। नभन्दै मेरो 'मनपरी' नै चल्यो यी बाह्र ओटा (र यौटा आत्मसंशोधन) लेखमा। मजलिस घरसँग जोडिने नजोडिने जस्तोसुकै कुरो पनि मैले यिनमा ल्याएर जडेको छु। म इतिहासकार होइन। इतिहासज्ञ त झ्न् हुँदैहोइन म। त्यस्तो मान्छेले सुनेका भरमा बखानेको इतिहास कति भरपर्दो भयो होला र? भए पनि, बालकृष्ण समले 'मुटुको व्यथा' आफ्नो लेखोटका बारेमा भनेका कुरा यहाँ मलाई पनि मिल्छ कि भन्दै बिदा हुन्छु, “.... आँटेर तैपनि लेख्यो, आठै रस गुमे पनि घृणा सबैको पाएमा बीभत्स रस बन्दछ”।

comments powered by Disqus

रमझम