२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

चारबिसे तन्नेरी

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
औसत आयु ६९ वर्ष रहेको नेपाली समाजमा ८० वर्ष माथिका लोभलाग्दो क्रियाशील जीवन बिताउने धेरै छन्।

जब पुग्यो साठी – हातमा लाठी

जब पुग्यो सत्तरी – हिंड्न लाग्यो लत्तरी

जब पुग्यो असी – कुनामा बसी

जब पुग्यो नब्बे – हब्बे न कब्बे

जब पुग्यो सय – यमराजको भय

१९९४ सालमा बालकृष्ण समले लेखेको नाटक मुकुन्द–इन्दिरा को यो बुढ्यौली बयान आज पूरै अमिल्दो भइसकेको छ। आठ दशकअघिको रोग, भोक र अशिक्षाग्रस्त समयमा ६० वर्ष कटाउनु ठूलै कुरा हुन्थ्यो। अहिले भने नेपालीको औसत आयु नै ७० पुग्ने तरखरमा छ र ७५ काटेर पनि सक्रिय जीवन बाँचिरहेका 'चार बीसे तन्नेरी' हरूको संख्या मनग्ये बढेको छ। “पहिले ८०/८५ वर्ष बाँच्नु ठूलो कुरा मानिन्थ्यो, अहिले यस्ता दीर्घजीवीहरूको संख्या बढ्दो छ”, राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका पत्रकार राजेन्द्र दाहाल भन्छन्, “चर्चा भने 'क्वालिटी लाइफ' बाँच्नेहरूको मात्र हुने गरेको छ, जुन अस्वाभाविक होइन।”

हुन पनि, ८० देखि १०५ वर्षसम्मका नेपालीको सक्रियताले 'जब पुग्यो साठी– हातमा लाठी' होइन, 'तन बूढो भए पनि मन बूढो हुँदैन' भन्ने भनाइलाई सत्य सावित गरेको छ। भदौ दोस्रो साता हिमाल ले भेट्दा काठमाडौं बानेश्वरका गणेशबहादुर श्रेष्ठ (१०५) बरण्डामा बसेर भकाभक मकै छोडाइरहेका थिए। चन्द्रशमशेर राणाको पालामा जन्मेर प्रजातन्त्रदेखि पञ्चायत, लोकतन्त्र र गणतन्त्रसम्मका शासन व्यवस्थाको चर्तिकला हेरेका उनले भने, “सुतेर बस्ने, ठगेर खानेहरूको काम छैन, त्यसरी धेरै बाँचिंदैन पनि।” शरीरमा फुर्ती र मनमा जोश भएका श्रेष्ठको स्वरमा पनि उस्तै दम छ।

चलनचल्तीको भाषामा वृद्धवृद्धा भनिने मानिसहरूको उर्वर सक्रियताको अध्ययन गर्दा सन्तुलित आहार–विहारसँगै तीव्र इच्छाशक्तिका साथ केही न केही काममा व्यस्त रहनेहरू दीर्घजीवी हुने पाइएको छ। जस्तो, संस्कृतिविद् सत्यमोहन जोशी ९६ वर्षको उमेरमा पनि बेफुर्सदिला छन्। डिल नसमाई भर्‍याङ चढ्ने उनी यो उमेरमा पनि सार्वजनिक यातायात चढ्छन्। मनमा निराशालाई ठाउँ नदिई केही न केही काममा सक्रिय हुँदा इच्छाशक्ति र उमेर दुवै बढ्ने उनको अनुभव छ। यसैगरी, ८५ वर्षको उमेरमा पनि चाहेको ठाउँमा ठमठमी हिंडेर पुग्ने पत्रकार भैरव रिसाल बुढेसकालमा सक्रियता भएन भने मान्छेलाई बाँच्नै मुश्किल पर्ने बताउँछन्। “जीवन आफैंमा उपलब्धि हो भन्ने बुझेर नचल्ने हो भने मानिसले बाँच्नै बिर्सन्छ”, २०१३ सालदेखिको पत्रकारितालाई अझै जारी राखेका रिसाल भन्छन्।

बढ्दो सक्रिय वरिष्ठ

नेपाल सरकारले वृद्ध अवस्था प्रवेशको उमेर ६० वर्ष तोकेको छ। यो मापदण्ड अनुसार २०४८ सालमा वृद्धावस्था प्रवेश गरेका नेपालीको संख्या १० लाख ७१ हजार थियो। २०५८ सालको राष्ट्रिय जनगणनामा यो संख्या करीब १५ लाख पुग्यो भने २०६८ को कुल दुई करोड ६४ लाख ९४ हजार जनसंख्यामा २३ लाख ५१ हजार (९.१ प्रतिशत) ६० वर्षमाथिका देखिए। यो वृद्धिदरले आउँदो दुई दशकमा ६० वर्षमाथिका नेपालीको संख्या दोब्बर अर्थात् ४७ लाखभन्दा धेरै हुने देखाउँछ।

दुई वर्षअघि २०१२ मा पाराग्वेमा भएको 'ग्लोबल कन्फ्रेन्स अन एजिङ' ले विभिन्न सूचकाङ्कहरूको विश्लेषण गर्दै विश्वभर बूढाबूढीको संख्या तीव्र रूपमा बढिरहेको निर्क्योल गरेको थियो। संयुक्त राष्ट्रसंघको एक अध्ययनले विकसित मुलुकहरूमा यो वर्ष (२०१४) भित्र जन्मने दुईमध्ये एक बच्चा १०४ वर्षसम्म बाँच्ने अनुमान गरेको छ। पछिल्ला दशकहरूमा सम्भव भएको पोषण र स्वास्थ्य सुविधाले नेपालीको औसत आयु पनि बढेको छ। राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार सन् १९६० मा ३८.२२ वर्ष रहेको नेपालीको औसत आयु २०१४ मा ६९ वर्ष पुगेको छ। नेपालमा ५५ वर्ष अघि शुरू भएको परिवार नियोजनको सकारात्मक असर नेपालीको उमेर आँकडामा देखिन बाँकी नै छ।

जीवन आफैंमा उपलब्धि हो भन्ने बुझेर नचल्ने हो भने मानिसले बाँच्नै बिर्सन्छ।

भैरव रिसाल (८५), पत्रकार

जापानमा सरकारी सेवाबाट निवृत्त हुने उमेर ६५ देखि ६९ वर्ष छ भने धेरैजसो पश्चिमा मुलुकहरूमा ६५/६७ वर्ष। विकसित देशहरूका वृद्धवृद्धामा निरोगीपन बढी छ। ती मुलुकहरूले दीर्घरोग लागेका वृद्धवृद्धाको उपचारका लागि सरकारी सुविधाको व्यवस्था गरेका छन्। अमेरिकाले ६५ र जर्मनीले ६७ वर्षपछिको उमेरलाई बुढेसकाल मानेको छ। बूढाबूढीको संख्या बढ्दै गएपछि फ्रान्सले पनि अवकाश पाउने उमेर ६५ बाट ६७ वर्ष पुर्‍याउँदैछ। नेपाल सरकारले ५८ वर्षलाई नै कर्मचारीको अवकाश उमेर मानेर त्यसपछिको ४० वर्ष विना काम पेन्सनले पाल्ने नीति लिएको छ। औसत आयु ६९ पुग्दा वरिष्ठ नागरिकहरूको उपचार प्रबन्ध पनि छैन। “५८ वर्षमै अवकाश पाउँदा अब मेरो दिन सकियो भनेर लत्तो छाड्नेहरू धेरै छन्”, पत्रकार राजेन्द्र दाहाल भन्छन्, “धेरैजसोसँग केही गर्ने योजना पनि हुँदैन, तिनैलाई अल्जाइमर, डाइमेन्सिया जस्ता रोगले सताएको छ।”

मानिसलाई दीर्घजीवी भने पोषण र स्वास्थ्य सुविधासँगै परिश्रमी जीवनशैलीले बनाउने जापानीहरूको अनुभवले प्रमाणित गरेको छ। प्रचूर पोषण र स्वास्थ्य सुविधा भएका देशका बासिन्दामध्ये जापानीहरू सबभन्दा दीर्घजीवी देखिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सन् २०१२ को अध्ययन अनुसार, जापानी महिलाको औसत आयु ८६ वर्ष र पुरुषको ८० वर्ष छ। विश्वमा यो नै सबैभन्दा बढी औसत आयु हो। ५० वर्षयता युरोप–अमेरिकामा पनि औसत आयु ८० वर्ष हाराहारीमा पुगेको छ। ६ दशकको पत्रकारितापछि गत असारमा फर्च्युन म्यागजिनको सम्पादकबाट अवकाश लिएकी अमेरिकाकी ८५ वर्षीया क्यारोल लुमिस पश्चिमा विश्वमा बढ्दो उमेर उर्वर सक्रियताको उदाहरण हुन्।

लोभलाग्दो सक्रियता

पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा र नेपाल राष्ट्र ब्याङ्कका प्रथम गभर्नर हिमालयशमशेर जबरा सम्धी–सम्धी हुन्। दुवै जना ८७ मा छन् र दुवैको सक्रियता–व्यस्तता लोभलाग्दो छ। थापाको दैनिकीलाई स्वाभाविक रूपमा राजनीति र जबरालाई अर्थनीतिले व्यस्त बनाइरहेको छ। संविधानसभाको जेष्ठ सभासद् भएको अवस्थाले पनि थापाको राजनीतिक व्यस्तता बढाएको छ। हिमालयन ब्याङ्कका संस्थापक अध्यक्ष जबरा अहिलेको 'रिटायर्ड लाइफ' मा समाजसेवा र गल्फ खेलको तिर्खा मेटाइरहेका छन्। उनी साताको तीन दिन गोकर्ण गल्फ कोर्समा डटिरहेका हुन्छन्। (हे. बक्स)

देशका 'आइकन'हरू संस्कृतिविद् जोशी, राष्ट्रकवि माधव घिमिरे (९५) र संगीतकार अम्बर गुरुङ (७७) को जोश–जाँगरले पनि धेरैलाई आश्चर्यचकित बनाउँछ। यो उमेरमा पनि उनीहरूको निजी दैनिकी र सार्वजनिक सहभागिता भ्याई–नभ्याई छ। उनीहरू आ–आफ्नो क्षेत्रको प्रज्ञा तथा स्मरणशक्तिका साथ दैनिक एकपछि अर्को कार्यक्रमहरूमा सशरीर उपस्थित भएर प्रसंग अनुसारको ज्ञान हस्तान्तरण गरिरहेका छन्। मानिसले चाहे उमेर छेकवार हुँदैन भन्ने प्रमाणित गरेका छन्, उनीहरूले। घर–परिवारदेखि समाज तथा राष्ट्रिय तहसम्मका लागि ज्ञान–अनुभवका भण्डार बनेका यस्ता बडे नागरिकहरूको संख्या देशमा बढ्दै गएको छ।

देशका 'आइकन' हरू संस्कृतिविद् सत्यमोहन जोशी (९६)

राष्ट्रकवि माधव घिमिरे (९५)

संगीतकार अम्बर गुरुङ (७७) को जोश–जाँगरले पनि धेरैलाई आश्चर्यचकित बनाउँछ।

जस्तो, गत ३१ साउनमा राजधानीमा आयोजित एक समारोहमा ९७ वर्षे पूर्व शिक्षक ईश्वरी पोखरेलले लेखेको पुस्तक 'जीवन एक भोगाइ अनेक' को सामूहिक विमोचन गर्नेमा संस्कृतिविद् जोशी र पत्रकार रिसालदेखि पोखरेल पत्नी चोककुमारी (९२), इन्द्रमणि पोखरेल (९९) र लक्ष्मी रेग्मी (९७) सम्म थिए। चारबिसे पुग्न लागेका र नाघेका कमलमणि दीक्षित, मदनमणि दीक्षित, वैरागी काइँला, बिहारीकृष्ण श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ आदिको साहित्यिक र सामाजिक सक्रियता लोभलाग्दो छ। शहरको बौद्धिक कसरतमा मात्र होइन, खेती–किसानी र श्रमको क्षेत्रमा पनि शताब्दी गुजार्न लागेकाहरू थुप्रै छन्। जस्तो, सुदूरपश्चिम कञ्चनपुरकी शोभा ढुङ्गाना (७८) को किसान जोश कत्ति पनि घटेको छैन। लक्ष्मीपुर–६ की ढुङ्गाना यो उमेरमा पनि चूलो–चौकादेखि खेतसम्म व्यस्त हुन्छिन्। काम र सन्तुष्टिले स्वस्थ बनाउने बताउँदै उनी भन्छिन्, “मेरा बूढा ८४ दान गरेपछि बित्नुभयो, म चाहिं त्योभन्दा धेरै नै बाँच्छु जस्तो लाग्छ।”

पूर्वमा झ्ापाका बुधु राजवंशी १७ साउनमा शनिश्चरे बजारमा ४० केजीका चामलका बोरा रिक्सामा लोड गरिरहेका भेटिए। कुनै बेला धान मीलमा क्वीन्टलका बोरा एक्लै टाउकोमा चढाउने उनी अहिले ८१ वर्षको उमेरमा रिक्साको पाइडल मारिरहेका छन्। उनले पाखुरीकै बलमा शनिश्चरे–१ मा घडेरी किनेर भुईंघर जोडे, चार सन्तान हुर्काए। 'काम गर्दागर्दै मर्न पाऊँ, यो ज्यानले अर्काको भर पर्नु नपरोस्' भन्ने राजवंशी हुन् या कञ्चनपुरकी ढुङ्गाना, यी वयोवृद्धहरूको कर्मबाट मुलुकको अर्थतन्त्रमा योगदान नपुगेको होला, तर उनीहरू आफ्नो समाजमा उदाहरणीय बनेका छन्।

उता, मोरङका धुरन्धर सिंह (८५) आफ्नै २१ कट्ठा जमीनको तरकारी खेतीले काम नपुगेर दुई बिघा खेत ठेक्कामा कमाउँछन्। काठमाडौंका डा. गौरीशंकरलाल दास (९०), विराटनगरका तोरेन्द्रमानसिंह प्रधान (८४), धरानका कृष्णप्रसाद श्रेष्ठ (८०), दाङका नारायणप्रसाद शर्मा (८४), नेपालगञ्जका पन्नालाल गुप्ता (८२) आदिको सामाजिक सक्रियता सबैका लागि उदाहरणीय छ। (हे. बक्स)
वृद्धवृद्धाका हितमा क्रियाशील संस्था 'एजिङ होम' का अध्यक्ष कृष्णमुरारि गौतम (६१) आफ्नै पाखुरीले कमाउन छाडेपछि घरपरिवार र समाजले हेप्ने भएकोले पनि ६० काटेपछि आफैं उत्पादनमूलक भइराख्नुपर्ने बताउँछन्। उनका अनुसार, शारीरिक र मानसिक रूपमा आफूलाई सक्रिय राखे मात्रै लामो समय बाँच्न पनि सकिने भएकाले 'अब बूढो भएँ, काम गर्दिनँ' भन्ने सोच राख्नै हुँदैन। त्यसो त, नेपाली समाजमा बूढाबूढीले काम गर्दा पनि धर नदिने चलन छ। गौतम भन्छन्, “बूढा बाबुले हलो जोत्दा या केही काम गर्दा छोरालाई लाज हुन्छ। समाजमा 'बाबुलाई यो उमेरमा पनि काममा दलाउँछौ' या 'बसिखाने उमेरमा पनि काममा जोतिने लोभी बूढा' भन्ने गलत प्रवृत्ति हाबी छ।”

बेवास्तामा वृद्धवृद्धा

६० वर्षभन्दा माथिका मानिस संसारभर 'वल्ड पर्सन' मानिन्छन्। यो उमेर समूहको जीवनलाई सबभन्दा राम्रो पार्ने देशमा स्वीडेन पहिलो र नर्वे दोस्रोमा पर्छन्। वृद्धवृद्धाको अवस्था सबभन्दा गएगुज्रेको सूचीमा विश्वका ९१ देश छन्, जसमा ९१औं स्थानमा अफगानिस्तान र नेपाल ७७औं स्थानमा छ। राज्यले कानूनमै उल्लेख गरेको स्वास्थ्य सुविधा, सार्वजनिक यातायातमा शुल्क र सेवाप्रति समेत बेवास्ता गरेको भन्दै १९ महीनाअघिदेखि जेष्ठ नागरिकहरूले लामो समयदेखि आन्दोलन समेत गर्दै आएका छन्। संस्कृतिविद् जोशी नेपाल सरकारको सामाजिक सुरक्षा योजना र बूढाबूढीप्रतिको सामाजिक व्यवहार सन्तोषजनक नभएको बताउँछन्। सरकारले वृद्धवृद्धालाई मासिक रु.५०० दिएर राम्रो गरेको तर, त्यो अपर्याप्त भएको बताउँदै जोशी भन्छन्, “बूढाबूढीका लागि विदेशमा भएको व्यवस्थाको सिको गर्नुपर्छ।”

यहाँ बूढा बाबुले हलो जोत्दा या केही काम गर्दा छोरालाई लाज हुन्छ। समाजमा 'बाबुलाई यो उमेरमा पनि काममा दलाउँछौ' या 'बसिखाने उमेरमा पनि काममा जोतिने लोभी बूढा' भन्ने गलत प्रवृत्ति छ।

कृष्णमुरारि गौतम

अध्यक्ष एजिङ होम, नेपाल

शिक्षासेवी अंगुरबाबा जोशी सरकारले वृद्धभत्ता बढाएर मासिक रु.३००० पुर्‍याए आफ्नै छोराछोरीबाट हेपिएका बाबुआमाले सामान्य दालभात खान पाउने बताउँछिन्। पूर्व गभर्नर राणाको विचारमा, वृद्धभत्तामा नेताहरूको ध्यान पुगेको छैन, अर्थात् देशका वरिष्ठ नागरिकहरू बेवास्तामा छन्। सरकारले अहिले बाँडिरहेको वृद्धभत्ता पनि गाउँका बूढाबूढीका लागि ठूलै कुरा भएको बताउने पूर्व प्रधानमन्त्री थापा राज्यले सबै कुरा गर्न नसकिरहेको अवस्थामा हरेक व्यक्तिले आफूलाई केही न केही काममा सक्रिय राखेर बुढ्यौलीलाई बोझ् हुन दिन नहुने बताउँछन्।

२०५२ को बजेटमा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई रु.१०० भत्ता शुरू गर्ने अर्थमन्त्री भरतमोहन अधिकारी (७८) यही भत्ताको घोषणाबाट नेपालमा सामाजिक सुरक्षा अवधारणा शुरू भए पनि जेष्ठ नागरिकका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

संयुक्त राष्ट्रसंघले सन् १९९१ मा ज्येष्ठ नागरिकका विशेष अधिकारका सिद्धान्तहरू स्थापित गरेको छ, तर नेपालमा यसबारे सरकार र समाजले समेत केही सोचेको छैन। एजिङ होमका अध्यक्ष गौतम लामो जीवन बाँचेका मानिसहरू समाज र देशका लागि उपयोगी भए पनि उनीहरूप्रति निष्ठुर व्यवहार भएको बताउँछन्। उनका अनुसार, वृद्धवृद्धा ज्ञान–अनुभवका भण्डार हुन्, तर न समाजले त्यसको प्रयोग गरेको छ न त वृद्धवृद्धाको हेरचाहमा राज्यले लगानी गरेको छ। “महिला, बालबालिका, दलित, जनजातिका लागि अनेक योजना छन्”, गौतम भन्छन्, “२५ लाख वृद्धवृद्धा लक्षित कुनै कार्यक्रम छैन, बूढाबूढीका लागि एउटा अस्पतालसम्म छैन।”

हुन पनि, अस्पतालहरूमा बाल, महिला वार्ड र विशेषज्ञ छन्, तर बूढाबूढीका लागि केही छैन। बूढाबूढी केयर सेन्टर र स्याहार्ने तालीम केन्द्र पनि छैनन्। बाबुआमा मरेपछि तिनको सम्पत्तिमा स्वतः छोराछोरीको हक लाग्छ, तर तिनै बाबुआमाको ख्याल नगर्ने मनोवृत्ति बढ्दो छ। छोराछोरीलाई बाबुआमाले अंश दिन्न भन्यो भने कानूनले दिलाउँछ, तर छोराछोरीले बाबुआमालाई हेरेन भने कुनै कानून लाग्दैन। शिक्षासेवी अंगुरबाबा जोशी अंश दाबी गर्न सघाउने कानूनले स्वार्थी छोराछोरीलाई निष्ठुरी बनाएको बताउँछिन्। एजिङ होमका अध्यक्ष गौतम भन्छन्, “श्रीमतीलाई घरबाट निकाले अंश दिनुपर्छ, बाबुआमालाई निकाले केही दिनुपर्दैन, उल्टै तिनले आर्जेको सम्पत्ति खान पाइन्छ।”


१०५ वर्षे जोश!

तस्वीरहरुः बिक्रम राई

बानेश्वर, काठमाडौंका गणेशबहादुर श्रेष्ठको सक्रियता देख्नेहरू छक्क पर्छन्। चन्द्रशमशेर जबराको शासनकालमा साउन १९६६ मा जन्मिएका श्रेष्ठ जुद्धशमशेर प्रधानमन्त्रीहुँदा १९९४ मा म्याटि्रक पास गरेको केही वर्षपछि सेनामा लेखापाल बने। सुरेन्द्रबहादुर शाह सेनाप्रमुख हुँदा २००५ सालमा भारत यात्रा गर्न पाएको उनी सम्झन्छन्।

६ छोरी, एक छोरा र उनीहरूबाट खनाति–खनातिनीहरू सहित १०० भन्दा बढीको परिवार बनाएका श्रेष्ठ ४५ वर्षअघि विदुर भए। अहिले उनी ५६ वर्षकी छोरी चन्द्रमाया श्रेष्ठसँग बसेका छन्। आठ वर्षमा जागीर छाडेर खेतीपातीमा रमाएका उनी हरेक दिन राति १० बजे सुत्छन् र बिहान ५ बजे उठ्छन्। २५ वर्षदेखि शाकाहारी उनी बिहान दूध, दिउँसो दाल–भात र रोटी खान्छन्। घर वरिपरिको ६ रोपनी जग्गामा उनले कोदालो चलाउन छाडेको एक वर्ष भयो। यसको मतलब, उनले कामै गर्न छाडेको भने होइन। “खन्न मात्र छोडेको”, मकै छोडाउँदै गरेका उनले लाठे स्वरमा भने, “काम त माथि जाने बेलासम्मै गर्ने हो!”


८७ वर्षे गल्फर!

७० वर्षको उमेरसम्म सक्रिय व्यावसायिक जीवन बिताएका हिमालयशमशेर जबरा (८७) अहिले गल्फ खेल र नागरिक सरोकारका विषयमा बढी केन्द्रित छन्। राणाशासनको अन्त्यपछिको प्रजातान्त्रिक सरकारमा अर्थ सचिव र राष्ट्र ब्याङ्कको पहिलो गभर्नर बनेका उनले देशको पुरातन अर्थ व्यवस्थाको आधुनिकीकरणमा उल्लेख्य भूमिका खेले अनि २०१७ सालपछिको २४ वर्ष राष्ट्रसंघीय जागीरमा बिताए। त्यसपछि गोर्खा ब्रुअरी र हिमालयन ब्याङ्क स्थापना गरे। हिमालयन ब्याङ्कका संस्थापक अध्यक्ष उनी अहिले सल्लाहकारको भूमिकामा छन्। खेल, काम, शाकाहारी भोजन र राति १० देखि बिहान ५ बजेसम्मको निद्राले आफूलाई स्वस्थ र सक्रिय राखेको जबराको अनुभव छ। अहिले महीनामा चार वटा सामाजिक कार्यक्रममा सरिक भइरहेका जबरा भन्छन्, “आफूलाई कुनै नै कुनै मिशनमा सक्रिय बनाइराखे बुढेसकालमा पनि धेरै गर्न सकिन्छ।”


८० वर्षे व्यस्त हाकिम

श्री एयरलाइन्सका संस्थापक/संचालक ८० वर्षीय वनवारीलाल मित्तल काम विनाको फुर्सदमा बिरामी हुने भएकोले बेफुर्सदीमा रमाउँछन्। आम रुपमा कामबाट अवकाश लिइने उमेरमा पुगेपछि २० वर्षअघि 'रिटायर्ड' हुनुपर्ने बेला आफूले जीवनमा नयाँ टायर हालेको उनी बताउँछन्। नभन्दै, नयाँ टायर हालेका मित्तल आठबिसे उमेरमा मजाले अर्बौंको कारोबार गरिरहेका छन्। राति ११ बजेसम्ममा विछ्यौनामा पुगिसक्ने शाकाहारी मित्तल हरेक बिहान योगा र पूजापाठ छुटाउँदैनन्। बेलुका अबेरसम्म अफिसमै बिताउने उनी भन्छन्, “मलाई खाली बसेका साथीहरूको गफ सुन्दा जत्तिको दिक्दारी अरु केहीमा लाग्दैन।”


बूढो बाघ

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा त्यो बूढो बाघ हो, जसको तागतको अन्दाज लगाउन गाह्रो हुन्छ। ८७ वर्षको उमेरमा उनको शान र सक्रियता यथावत् लाग्छ। “विगत कसरी बित्यो भन्ने कुराले मानिसको वर्तमानलाई प्रभाव पार्ने रहेछ”, थापा भन्छन्, “मेरो जीवनशैली यस्तै ढाँचामा ढालिएर आयो।”

पाँच पटक देशको प्रधानमन्त्री बनेका थापा हरेक बिहान साढे ४ बजे उठेर नुहाई–धुवाई सक्छन्। त्यसपछि टेबुलमा तयार रहेको बेसार, अदुवा, दालचिनीको धूलो मिसिएको चिया आफैं बनाएर खाएपछि रेडियोको धार्मिक कार्यक्रम सुन्छन्। त्यसपछि विभिन्न एफएमका समाचार सुन्दै अखबारहरूका हेडलाइनमा आँखा दौडाउने उनको बानी छ। ८ बजे दूध, उसिनेको स्याउ र अरु ताजा फलफूल खान्छन्। १० बजे खाना खाएपछि भने उनी पूरै व्यस्त हुन्छन्। बेलुकी टेलिभिजन समाचारहरू हेर्दै खाना खाएर १० बजेसम्ममा सुतिसक्छन्। आउँछु भनेका सबैजसो सार्वजनिक कार्यक्रममा सरिक हुने उनी मानिसले उमेर गयो भनेर निराश नभई जीवनको अन्तिम घडीसम्मै व्यस्त रहने सोच बनाउनुपर्ने बताउँछन्।


आफूलाई खुशी राखे पुग्छ

८२ वर्र्षीया अंगुरबाबा जोशीलाई भेट्दा उनले अनेकौ असह्य रोगहरू सहनु परेजस्तो लाग्दैन। घाँटी र स्तन क्यान्सरको उपचार लगत्तै मुटुमा पेसमेकर राखेको भए पनि उनको सक्रियता अचम्म लाग्दो छ। उनी राति १० बजे सुतेर बिहान ५ बजे उठेपछि डेढ घन्टा शारीरिक व्यायाम र ध्यान गर्छिन्। त्यसपछि दूध, मह, बदाम, बेसार, पिस्ता र काजुको खाजा खाएर दिउँसोको कार्यतालिकामा लाग्छिन्। अक्सफोर्ड युनिभर्सिटीबाट कानूनमा स्नातकोत्तर गर्ने पहिलो नेपाली महिलाको खिताब पाएकी उनी लामो समय पद्मकन्या कलेजमा प्रिन्सिपल रहिन्। सामाजिक शिक्षा र दर्शनबारे आधा दर्जन किताब लेखेकी जोशी भन्छिन्, “जीवनलाई सुन्दर बनाउन सधैं खुशी रहे पुग्छ।”


'निष्त्रि्कयताले लाश बनाउँछ'

आउँदो कात्तिकमा ८० वर्ष टेक्ने सूर्य विनायक, भक्तपुरका तेजेश्वरबाबु ग्वँग बल्ल रमाइलो दिन बिताइरहेको बताउँछन्। आफूले सम्हालेको जेसिज सेकेण्डरी स्कूलको प्रधानाध्यापकको जिम्मेवारी गत वैशाखमा ३५ वर्षे तन्नेरीलाई जिम्मा लगाएका ग्वँग भन्छन्, “अब स्वतन्त्र छु, कसैको दबाब र करकाप छैन। आफ्नै दुनियाँमा रमाउन थालेको छु।”

५४ वर्षको उमेरमा स्थानीय विकास मन्त्रालयको उपसचिवबाट अवकाश लिएका ग्वँग शिक्षण, परामर्श र समाजसेवामा सक्रिय छन्। संस्कृतिबारे तीन वटा पुस्तक प्रकाशित गरिसकेका उनी ८०औं जन्मोत्सवको अवसरमा कविता कृति 'चराको गुँड झ्ौं मेरो भक्तपुर' प्रकाशन गर्दैछन्। आफूलाई हरदम तन्नेरी ठान्ने उनी बिहान ५ बजे उठ्छन् र नित्यकर्मपछि डेढ दुई घण्टा लेखपढमा बिताउँछन्। पत्रपत्रिका पढ्छन्, रेडियो सुन्छन्। दिउँसो भेटघाट र बाहिरी कार्यक्रममा व्यस्त हुने उनी बेलुका ५ बजे सुतेर ७ बजे उठ्छन्। साँझको खाना खाएर ढिलोमा १२ बजेसम्म लेखपढ गरेर सुत्छन्। उनको खानामा रोटी, तरकारी र थोरै भात हुन्छ। पत्रपत्रिकाहरूमा नियमित लेख–रचना लेख्ने ग्वँग फुर्सदमा फूलबारी गोडमेल गर्न रुचाउँछन्। शरीरले साथ दिउन्जेल केही न केही गरिरहने, लेखिरहने बताउँदै उनी भन्छन्, “निष्त्रि्कय बस्नु भनेको जिउँदो लाशसरह हुनु हो, तर मन नभए केही गर्न सकिन्न।”


१०० माथि बाँच्ने इच्छा

९० वर्षका डा. गौरीशंकरलाल दासले बिरामी हेर्न अझै छाडेका छैनन्। राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष समेत रहेका उनी योग गुरुको भूमिकामा पनि छन्। २००९ सालमा एमबीबीएस गरेर काठमाडौं पसेका सिरहाका दासले लामो समय वीर अस्पतालमा काम गरे। बैंसका दिनमा ब्याडमिन्टन र भलिबलका खेलाडी रहेका उनी एक–एक महीना हिंडेर तीन पटक मानसरोवर पुगे। दुई पटक गोसाईंकुण्ड गए। काठमाडौंबाट दाङ, तुलसीपुर, सल्यान, जाजरकोट, दैलेख र सिन्धुपाल्चोकको तातोपानी पनि हिंडेरै पुगे। उनी अहिले पनि सागसब्जी किन्न आफैं बजार जान्छन्, आफ्नो लुगा आफैं धुन्छन्। लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग र नागरिक समाजमा पनि काम गरिसकेका उनी अहिले पनि १४ वटा संघ–संस्थाको काम भ्याइरहेका छन्। नेपाल र माल्दिभ्सको राष्ट्रिय स्वास्थ्य योजना बनाएका डा. दास अझै १० वर्ष यसरी नै काम गर्ने र सय वर्षभन्दा बढी बाँच्ने बताउँछन्। डाक्टर दासको सल्लाह छ, “चिल्लो कम खानुहोस्, तौल नबढाउनुस्, ब्लड प्रेसर नियन्त्रण गर्नुस्, मानसिक र शारीरिक रुपले सक्रिय रहनुहोस्, दीर्घजीवी भइन्छ।”


८५ मा पनि हलो

कटहरी–५ मोरङका धुरन्धर सिंह ८५ वर्षका भए, तर उनको किसान जाँगरलाई भेट्टाउने युवक नेपालमा कमै होलान्। तीन बिघा खेत आफैं जोत्ने उनले बिरामी भएर अहिलेसम्म दबाई खाएका छैनन्। तरकारी, धान र गहुँबाट वार्षिक रु.२ लाख आम्दानी गर्ने सिंहले तरकारीबाट जोडेको १५ कट्ठा खेत चार छोरालाई बाँडिदिएका छन्। बिहान ५ बजे खेत पुगिसक्ने उनी ८ बजे खाजा र दिउँसो १ बजे खाना खाएपछि दुई घण्टा आराम गरेर ३ देखि ६ बजेसम्म खेतमा काम गर्छन्। अगुवा कृषक पुरस्कार समेत पाएका उनी जवानीमा कुस्तीवाज थिए। आफ्नो खान्कीबारे सिंह भन्छन्, “हरेक छाकमा आठ वटा रोटीसँग आधा लीटर गाईको दूध र मासु वा माछा खान्छु।”


८२ वर्षे सम्पादक

नेपालगञ्जका पन्नालाल गुप्ता (८२) अझै पनि समाचार सुँघ्दै साइकलमा दौडिन छाडेका छैनन्। जनविरोधी सत्ताको विरोधमा पर्चा–पम्प्लेट निकाल्दा निकाल्दै पत्रकारिता थालेका गुप्ताले पञ्चायतकालमा तीन पटक जेलयात्रा गरे। चार दशक पुरानो 'किरण साप्ताहिक' लाई निरन्तरता दिइरहेका गुप्ता निष्त्रि्कयताले मानिसको जीवन समाप्त पार्ने बताउँछन्।

उता, दाङका ८४ वर्षीय नारायणप्रसाद शर्मा पनि पत्रकारितामा डटेकै छन्। २०३३ सालमै युगबोध पत्रिका दर्ता गराएका जेठा पत्रकार शर्माको अरु सामाजिक क्रियाशीलता पनि उस्तै छ। व्यवस्था विरोधी राजनीति गरेर ४३ महीना जेल परेका उनी बीचमा सभासद् र पे्रस काउन्सिल नेपालका अध्यक्ष समेत भए।

सन् १९९१

संयुक्त राष्ट्रसंघले वृद्धवृद्धाहरुको जेष्ठ नागरिकका विशेष अधिकारका सिद्धान्तहरु स्थापित गरेको साल।

सन् १९८४

अष्ट्रियामा सम्पन्न संयुक्त राष्ट्रसंघको पहलमा भएको ग्लोबल एजिङ कन्फ्रेन्सले विश्वव्यापी रुपमा बढ्दो जनसंख्या नियन्त्रण गर्ने योजना बनाएको थियो।

१०४ वर्ष

एक अध्ययनको अनुमानः २०१४ मा जन्मेका दुईमध्ये एक बच्चा बाँच्ने उमेर

१ अक्टुबर, डे अफ ओल्डर पर्सन

१४ डिसेम्बर १९९० मा संयुक्त राष्ट्रसंघले हरेक वर्षको १ अक्टुबरलाई वृद्ध–वृद्धा दिवसका रुपमा मनाउने निर्णय गरेको हो।


आँटबाट कर्म

पोखराको सीतापाइलास्थित पोखरा वृद्धाश्रममा ७० हाराहारीका ६४ वृद्धवृद्धा छन्। वृद्धाश्रम संचाआँटबाट कर्मलक बसन्त केशव पराजुली चाहिं ७६ वर्ष पुगे। २९ वर्ष शिक्षणमा बिताएका उनी वृद्धाश्रमलाई देशकै नमूना बनाउन तल्लीन छन्। उनले विभिन्न दाता खोजेर करीब तीन करोडको भौतिक संरचना निर्माण गरिसकेका छन्। वृ्द्धाश्रममा उनको खटाइ कुनै तन्नेरीको भन्दा कम छैन। पराजुली भन्छन्, “काममा आँट गरे उमेरले छेक्दैन।”

श्रममय जीवन

झापा शनिश्चरेका वुधु राजवंशी (८१) ले मजदूरी गर्न थालेको ६० वर्ष भइसक्यो। २१ वर्षको तन्नेरी छँदा धान मीलमा क्वीन्टलका धानका बोरा उचाल्ने उनी अहिले यो उमेरमा पनि मजदूरी गरिरहेका छन्।

काममै आनन्द

धरान–१५ पाथीभरा लाइनका दिलबहादुर शाक्य (८४) ले १६ वर्षदेखि ६५ वर्षसम्म धेरै दुःख गरे। उनी अहिले पनि धातुको हस्तकला र भाँडावर्तन उत्पादन गर्ने पेशामा सक्रिय छन्। हिजोआज पहिले जस्तो भाँडाकुडाको व्यापार गर्न पहाड–मधेशका गाउँ–गाउँ नपुगे पनि काम छाडेका छैनन्। शाक्य भन्छन्, “काम छाडेको दिन त मरिगइयो नि!”

अनौठो खुबी, लगातार सक्रिय

१२ वर्षमा विवाह र २७ वर्षमा विधवा भएकी धरान–१४ विजयपुरकी कृष्णदेवी पोख्रेल (८८) ले अनेक दुःख झेलेर ६ सन्तानलाई उच्च शिक्षा दिइन्, आफू पनि स्वाध्यायनबाट साक्षर भइन्। उनका कान्छा छोरा राजेन्द्र धरानमै प्राध्यापक छन् भने जेठा बालकृष्ण भाषाशास्त्रीका रुपमा प्रख्यात छन्। हराएको सरसामान पत्ता लगाउन आर्जे हेर्ने खुबीका कारण अहिले पनि कृष्णदेवीको समय जमघटमै बित्छ। अर्को अनौठो, उनलाई विजयपुर क्षेत्रका पुराना सबैको जन्ममिति याद छ। नेपाल महिला संगठन धरान–१४ की अध्यक्ष भएर यो क्षेत्रको विकासमा योगदान पुर्‍याएकी कृष्णदेवी पोख्रेलको सामाजिक सक्रियता जारी छ।

लौरो टेक्नु परेको छैन

महेश्वरा गजमेर

हीरादेवी गजमेर

महेश्वरा गजमेर गत वैशाखदेखि ८३ लागिन्। ४ मंसीर २०७० मा संविधानसभाको चुनावमा भोट खसाल्न जाँदा लडेर खुट्टामा चोट लाग्नुअघिसम्म बजार गएर किनमेल गर्ने र बारीमा तुलफूल लगाउनेदेखि नातिनी बुहारीहरूलाई मेलोमा सघाउनेसम्मको दैनिकी थियो, उनको। गजमेर भन्छिन्, “लडेपछि पनि यो ज्यानले लौरोको सहारा चाहिं लिनु परेको छैन।” झापाको दमक–१३ मा नातिसँग रहेकी उनी ९ छोराछोरी, २९ नातिनातिनी र २७ पनाति–पनातिनीकी धनी छिन्। सुर्ती–बिंडी र जाँडरक्सीबाट सधैं टाढा उनी सागसब्जीमा अझै बल गर्छिन्। महेश्वराकी देउरानी हीरादेवी गजमेर (७९) पनि दमक–१३ मै छोरी लीलादेवीसँग बस्छिन्। जीवनमा चार सौता बेहोरेकी उनका चार छोराछोरी, २० नातिनातिनी र ९ पनाति–पनातिनी छन्। कुनै अम्मल नभएकी उनी घरको आधा काम भ्याउँछिन्।

धरानका पुस्तकालय

धरान–४ लक्ष्मी सडकका कृष्णप्रसाद श्रेष्ठ (८०) लाई मानिसहरू पुस्तकालय भन्छन्। धरानका पहिलो बीए उनले लामो समय अध्यापनमा बिताए। त्योसँगै पुस्तक–पत्रपत्रिकाको अम्मल जारी रह्यो। अहिले पनि खोजी–खोजी नयाँ किताब पढ्ने बानी छ। पुस्तकालय सहितको श्रेष्ठको घरमा आउनेहरू थुप्रै हुन्छन्। देशको राजनीतिबारे 'अपडेट' हुने र स्थानीय पत्रपत्रिकामा लेख–रचना पठाइरहने श्रेष्ठ भन्छन्, “नयाँ किताबले मानिसलाई नयाँ ऊर्जा दिन्छ।”

साथमा तुफान न्यौपाने, गोपाल गडतौला झापा, सोहन श्रेष्ठ धरान, कमल रिमाल विराटनगर, माधव बराल पोखरा, बच्चु बिक धनगढी

comments powered by Disqus

रमझम