२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

बौद्धिक 'असहमति'

Share:
  
पाठकको दिमाग हुँडल्ने क्षमता राख्ने सौरभका कतिपय लेख भने तथ्यभन्दा टाढा देखिन्छन्।

पुस्तक असहमति लेखक सौरभ

प्रकाशक अर्किड बुक्स

पृष्ठ २७१+

मूल्य रु.३७५

बितेको दशकमा नेपाली पाठकबीच बौद्धिक विमर्शका कारण निकै लोकप्रिय र विवादित लेखक हुन्, सौरभ। लोकप्रिय यस अर्थमा कि उनका कतिपय लेखनले राज्य केन्द्रमा चलिरहेको बहसलाई बढार्ने हैसियत राख्छन्। पाठकको ज्ञान केन्द्रलाई भित्रैसम्म पुगेर हल्लाइदिन्छन्, हुण्डरी पैदा गर्ने गरी। विवादित यस अर्थमा कि अक्सर स्रोत र तथ्य उल्लेख नगरी आउने सौरभका लेखहरू यज्ञमा पण्डितले सुनाउने ऐतिहासिक कथ्य जस्तो लाग्छन्। उनको लेखनमा एकखाले आग्रह रहेको मान्नेहरूको संख्या पनि उत्तिकै छ। खासगरी परिवर्तित सन्दर्भमा गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, संघीयता जस्ता प्रसंगमा उनको लेखनमा पूर्वाग्रह रहेको मान्नेहरूबाट लेख छापिएको पत्रिकाले सडकमा जल्ने नियति पनि भोगेका छन्। तर, विभाजित र ध्रुवीकृत समाजमा पक्ष–विपक्षमा प्रतिक्रिया आउनुले लेखकको सामर्थ्य नै पुष्टि गर्छ। अध्ययनलाई फोकटको कर्म मान्ने हाम्रो समाजमा सांस्कृतिक, ऐतिहासिक लेखनले यस्तो प्रतिक्रिया पाउनुले पनि त्यही देखाउँछ। अहिले सौरभको विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित र एकाध अप्रकाशित लेखहरूको संग्रह 'असहमति' बजारमा आएको छ। राष्ट्रियता, सार्वभौमिकता, संस्कृतिको ऐतिहासिकता, मिथक र स्थानीय जनश्रुतिलाई सौरभले यो पुस्तकमा पनि मूलकेन्द्र बनाएका छन्। उनका अरु लेखहरूले जस्तै यो पुस्तकका लेखहरूले पनि पाठकको मनलाई तरंगित पार्ने क्षमता राख्छन्।

'असहमति' मा समाविष्ट बहुसंख्यक लेखहरूमा गणतन्त्रकालपछिको नेपालमा चलेका केही उत्ताउला र आधारविनाका बहसमाथि सौरभका असहमतिहरू छन्। समाजमा अति सरल रुपमा लिइन थालेका विषयलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट चर्को बहसमा उतार्नु सौरभको लेखनीको खुबी देखिन्छ। झ्ाण्डाको जीववैज्ञानिक आयाम, 'आधिकारिक पोशाक' बारे, तीज बहिष्कार?, अमान्य संज्ञा 'आदिवासी', अनादिवासी खस!, 'आपत्तिजनक सम्झ्ाौता' प्रति, नभएको 'किराँतकाल', फिरंगी मिथक 'नसकटापुर', अनुचित 'बालाजु बिक्री' बारे शीर्षकका लेख नेपाली समाजमा चर्को बहस र विवाद सिर्जना गर्ने सामर्थ्य राख्छन्। तर, उनका लेख बौद्धिक पाठकलाई समेत सजिलै मथ्न मुश्किल पर्छ।

सौरभका लेखहरू पाँच खण्डमा राखिएका छन्। प्रतिवाद खण्डमा समावेश लेखहरू विभिन्न पत्रिकामा प्रकाशित लेखहरूबारे सौरभले पठाएका प्रकाशित, अप्रकाशित पाठकपत्रहरूको संग्रह हो। व्यक्तिचित्र खण्डमा सिन्धुली दुम्जाका रामप्रसाद कोइराला र नेपालका प्रख्यात इन्जिनियर किशोरनरसिंह राणाबारे खोजमूलक लेख समावेश छ। आत्मबोध, साम्प्रदायिकतापारि र फुर्सदमा खण्डमा पछिल्लो दशकमा परिवर्तित सन्दर्भमा चलेका विभिन्न बहस र विवादमाथि सौरभका असहमतिहरू समावेश छन्। उनका यी लेखले नेपाली समाज, समाजका विभिन्न खाले विश्वास, संस्कार र परम्परामाथि गहिरो विमर्श र संवाद गर्ने प्रयत्न गरेका छन्। तर उनले आफ्नो लेखनलाई पुष्टि गर्ने तथ्यहरू भने दिएका छैनन्। जबकि, उनले पुस्तकैभरि अरुका लेखनमाथि स्रोत के, प्रमाण के भनेर प्रश्नहरूको बौछार गरेका छन्। प्रा. माणिकलाल श्रेष्ठको लेखनमाथि त हरफैपिच्छे स्रोत के भनेर प्रश्न गरेका छन्। यस्तोमा इतिहास प्रमाणका आधारमा लेख्ने कि अनुकूल कल्पनाले भन्ने विवाद सौरभको लेखनले पनि ल्याउँछ। सौरभका कतिपय लेखमा इतिहास र समाजका सामान्य विद्यार्थीले समेत प्रश्न गर्ने ठाउँ भेटिन्छ।

जस्तो, पृष्ठ २३ मा उनी लेख्छन् '...र नै पृथ्वीनारायण शाहले गणेश पाण्डे र नारायणदास अर्याललाई सहयोगी बनाए होलान्।' इतिहासको साधारण विद्यार्थी समेतले हेक्का राख्ने यथार्थ के हो भने गणेश पाण्डे (इतिहासका पुस्तकहरूमा पाँडे उल्लेख गर्ने गरिएको) र नारायणदास अर्याल पृथ्वीनारायण शाहका नभएर द्रव्य शाहका सहयोगी हुन्। दिनेशराज पन्तबाट लिखित गोरखाको इतिहास भाग–१, पृष्ठ ४८ का अनुसार इश्माका नारायणदास अर्यालले लमजुङे राजा यशोब्रम्ह शाहका छोराहरूको चिना हेरेका थिए। गणेश पाँडे मुकुन्द सेनको फौजमा काम गरेका र गोरखा छोप्राकमा बसोबास गर्ने सैनिक पृष्ठभूमिका व्यक्ति थिए। कालान्तरमा तिनै नारायणदास अर्याल, गणेश पाँडेले द्रव्य शाहलाई लिगलिगकोट र गोरखा राज्य कब्जा जमाउन सक्रिय सहयोग गरेका थिए। द्रव्य शाहका दशौं पुस्ताका पृथ्वीनारायण शाहले उनीहरूको सहयोग लिएको कुरा सौरभको प्रमाणसहितको नयाँ खोज होइन भने इतिहाससँग मेल खाँदैन।

पृष्ठ २५ मा सौरभ लेख्छन्– 'त्यहाँ विकासक्रम टुट्दा नहर्कीको परिचय दलितमा पुगेर लोप भएको छ।' दलितमा पुगेर परिचय लोप भएका नहर्की पनि छन्, तर सबै नहर्कीहरू दलितको रुपमा मात्रै परिचित छैनन्। मैले नै चिनेका धादिङको बेनीघाटपारि, त्रिशूली र बूढीगण्डकीको संगम दोभाननेर, गोरखाको घ्याल्चोक गाविसको स्युरेन्टार भनेर परिचित ठाउँमा जैसी बाहुन नहर्कीहरूको बसोबास छ।
यसरी, कतिपय प्रसंगमा सौरभ हचुवा देखिन्छन्। अन्य प्रसंग समेत प्रथम वचनको आधारमा उनले यसरी व्याख्या गरेका छन् कि ती घटना आफैं देखे, भोगेका हुन्। तर, पाठकहरूले तथ्यहरूको माग गर्लान् भनेर उनले भूमिकामा सन्दर्भ सूची सहित लेखिए हुन्थ्यो भन्ने पाठकको प्रतिक्रियालाई सुनेको मात्रै बताएका छन्। समाजशास्त्रको विषयमा पनि सौरभका लेखहरू मनको तीतो पोख्न मात्रै लेखिएको पाठकलाई अनुभूति हुने खालको लाग्छन्।

यादव देवकोटा

comments powered by Disqus

रमझम