२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

आनीको आवाजमा मङ्गलवाणी

Share:
  

'धर्म विज्ञान हो, सत्य हो। अन्धविश्वास र कर्मकाण्ड होइन। एकता हो विभाजन होइन।'

विपश्यना ध्यान विधिका गुरु सत्यनारायण गोयन्काको यो आध्यात्मिक दर्शन आनीको स्वरमा बजारमा आएको छ। मङ्गलवाणी नाम दिइएको यो अल्बमको सात खण्डमा धर्म दर्शनहरू समेटिएका छन्। हिन्दीमा प्रचलित यी दर्शनलाई कवि दुर्गालाल श्रेष्ठले नेपालीमा रुपान्तरण गरेका हुन्। शब्दहरू न्ह्यू बज्राचार्यको संगीतमा सजिएका छन्। बुद्ध मन्त्रहरूमा आनीको मधुर स्वर नेपालीको लागि नौलो कुरा होइन। गोयन्काको दर्शनमा पनि उनको आवाज उस्तै आनन्ददायी सुनिएको छ। आनीको आवाजमा रम्नेहरूका लागि यो अर्को उपहार हुनसक्छ– दर्शन र माधुर्यको सम्मिश्रण सहितको।

धर्म त भन्छन् धर्मको मर्म बुझ्यो कसले

धर्म त्यही हो शुद्ध भई कर्म गर्‍यो जसले।

धर्म फुस्रो कल्पना र दैव भजन हैन। यसको सार कर्ममा निहित छ। जो कर्ममा लीन छ धार्मिक त्यही हो। भाग्यको पछि लाग्ने र सफलता/असफलताको दोष दैवलाई दिने प्रवृत्ति चिर्ने दर्शनहरू यसमा छन्। धर्मले स्वतन्त्र, भयरहित र बलवान बनाउँछ भन्ने भाव अल्बममा समेटिएका गीतहरूमा छन्, जसले परनिर्भरता र सम्प्रदायको बन्धनलाई अस्वीकार गर्छ।

'धर्म न हिन्दू, बौद्ध हो,

सिख, इस्लाम, न जैन।

धर्म चित्तको शुद्धता,

धर्म शान्ति सुख चैन।।

कवि दुर्गालाल श्रेष्ठले हिन्दीमा लिपिबद्व दर्शनका भावहरूलाई निकै सतर्कता साथ उतारेका छन्। उनले मूलको मिठास नमारी नेपालीमा सार उतारेका छन्। आनीको आवाजले यो ओजस्वी तर सरल दर्शनलाई बोक्न सकेको छ।

देश रहोस् र त धर्ममा सम्प्रदायताहीन सुखद् शान्ति छर्दै फुलोस् नि त गणतन्त्र नवीन।

साम्प्रदायिक अहंले धर्मलाई कमजोर बनाउँछ। साम्प्रदायिक क्लेश धर्मको विष हो भन्ने भावना यसमा छ। संविधानलेखनका क्रममा धर्मलाई लिएर बहस–विवाद छेडिएको हाम्रो मुलुकमा यो दर्शनले गहन अर्थ राख्छ। सुखद् र प्रेममयी जीवन जिउने कला नै धर्म हो भन्ने दर्शन यो अल्बमको सार हो। कवि श्रेष्ठ, आनी र न्ह्यू बज्राचार्यको सहकार्यले जीवन दर्शन समेटिएको मेलोडियस गीतहरू ल्याउने गरेको पाइन्छ। गोयन्काका शब्दहरूलाई नेपालीमा प्रस्तुत गरेर यो टीमले आफ्नो क्षितिज फराकिलो पारेको छ। कुनै पनि सम्प्रदायको लेप नलागेको र सबैप्रति सहभाव समेटेको दर्शनले धार्मिक सोचको दायरा पनि फराकिलो पार्ने तागत बोकेको छ।

शुरुदेखि अन्तसम्म सुन्दा संगीतको ओजन र मिठासको कमि छैन। गोयन्काको आवाजमा दर्शन सुनेकाहरूले बेला बेलामा त्यही टोन खोज्न भने थाल्छन्। प्रत्येक गीतमा फरक लयको अपेक्षा गर्दै सुनिराख्दा उस्तै उस्तै लाग्ने धुन र लयले अलिकति खल्ल्ाो भने पार्छ। यो अल्बमले आनन्दसँगै धर्मप्रतिको दृष्टिकोणलाई सही दिशा दिन पनि सघाउँछ। अन्धभक्ति र अन्धविश्वास कदापि धर्म होइन, मान्छेको सुख र दुःख उसकै हातमा छ अरु कसैको हातमा हुनै सक्दैन भन्ने भाव बलियो गरी मनमा बस्छ सुन्दै जाँदा।

कुदरतको कानुन यत्ति छ यो बलवान्

मैलो मन व्याकुल सदा, मैलो मन बेचैन।

कुदरतको कानुन सबैमा एक समान लागू हुन्छ। मनको मैलो दुःखको कारण, मनको उज्यालो सुखको कारण। बेचैन मन लिएर सुनिरहे पनि अन्तमा दीप्त र शान्त मन लिएर उभिनसक्ने बनाउने बल यो अल्बममा छ।

सरला गौतम

comments powered by Disqus

रमझम