२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

एसियाडमा जम्बो टोली

Share:
  
ढिलो गरी एसियाडमा सहभागी हुने निर्णय गरेको नेपालले छैटौं ठूलो टोली पठाउँदैछ।

राजेन्द्र केसी/अन्नपूर्ण
३ असोजदेखि दक्षिण कोरियाको इन्चोनमा शुरु हुने १७ औं एशियाली खेलकुद (एसियाड) मा नेपालले धेरै किसिमले नयाँ 'रेकर्ड' बनाउँदैछ। प्रतियोगितामा समावेश गरिएका ३६ विधामध्ये नेपालले २४ विधामा सहभागिता जनाउँदैछ, नेपालले दक्षिण एशियाली खेलकुद (साग) मा समेत २३ विधामा मात्र भाग लिएको थियो।

३६ विधाका ४३९ इभेन्ट समावेश हुने यो प्रतियोगितामा अहिलेसम्मकै बढी २०१ जना नेपाली खेलाडीले भाग लिंदैछन्। ४५ राष्ट्र सहभागी हुने ओलम्पिक काउन्सिल अफ एशिया (ओसीए) ले आयोजना गर्ने यो प्रतियोगितामा सहभागी हुने खेलाडीको हिसाबले नेपाल छैटौं ठूलो हो। नेपालभन्दा धेरै खेलाडी पठाउनेमा चीन (८९९), दक्षिण कोरिया (८३१), जापान (७१७), भारत (५१६) र सिङ्गापुर (२२७) मात्र छन्। खेलाडी बाहेक प्रशिक्षक, टीम म्यानेजर, अन्य अफिसियल तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट जानेहरू समेत जोड्दा प्रतियोगितामा ३०० भन्दा बढी नेपाली पुग्नेछन्। नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ पनि एसियाडमा जाने टोली ३०० पुग्ने बताउँछन्।

सरकारले एसियाडका लागि रु.५ करोड ९० लाख ५५ हजार बजेट छुट्याएको छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग सम्बन्धित व्यक्तिहरूको समेत खर्च जोड्दा एसियाडको बजेट रु.६ करोड ५० लाख जति पुग्ने सम्बद्धहरूको भनाइ छ।

लक्ष्य एक्स्पोजर

डेढ महीनाअघिसम्म पनि नेपालको १७औं एसियाडमा सहभागिताको टुंगो लागेको थिएन। खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादले सहभागिता अन्योलमा परेकाले खेलाडीहरूले पर्याप्त तयारी गर्न पाएनन्। सरकारले एसियाडमा सहभागी हुने निर्णय लिएपछि मात्र २० साउनदेखि खेलाडीहरू एसियाड प्रशिक्षणमा औपचारिक रुपमा सहभागी भएका थिए। राखेपका एक अधिकारी भन्छन्, “सहभागी हुने निर्णय ढिलो भएकाले राम्रोसँग अभ्यास गर्ने र उच्च मनोबल लिएर खेल्न जाने वातावरण खेलाडीहरूले पाएनन्।”

तयारीमा पर्याप्त ध्यान नदिइए पनि ठूलो टोली पठाउने निर्णय गर्न भने विलम्ब गरिएन। नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले यसपटक 'टीम इभेन्ट' धेरै भएकाले ठूलो टीम सहभागी हुन लागेको बताए। पहिले टीम इभेन्टमा नेपालको सहभागिता नहुने वा कमै मात्र हुने गरेकोमा यसपटक टीम इभेन्ट बढेको तथा नेपालले पनि तिनमा भाग लिएकाले अस्वाभाविक मान्नु नहुने उनको तर्क छ। “यसपालि फूटबल, क्रिकेटमा पुरुष र महिला तथा बास्केटबलमा महिला टीम सहभागी हुँदैछन्” श्रेष्ठ भन्छन्, “१०० जति खेलाडी त टीम गेममै सहभागी हुँदैछन्।”

एशियाली खेलकुदमा सहभागिताका लागि छनोट चरण पार गर्नु नपर्ने भएकाले सम्बन्धित देशले पठाउने टोली स्वतः सहभागी हुन पाउँछन्। यसले गर्दा पनि नेपाली टोली जम्बो हुन पुगेको हो। एशियाली खेलकुदमा ठूलो टोलीको सहभागिताबारे युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, “हामी चाहेर पनि वर्ल्डकप र ओलम्पिक खेल्न सक्दैनौं, त्यसैले यो मौकाको सक्दो सदुपयोग गर्नुपर्छ।”

उनले भने जस्तै दक्षिण एशियाली खेलकुद बाहेक ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र अन्तर्राष्ट्रिय एक्स्पोजरको अवसर नपाउने नेपाली खेलाडीका निम्ति एसियाड राम्रो अवसर पनि हो, जसले उनीहरूको अनुभव र आत्मबल बढाउन ठूलो मद्दत गर्छ। नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ भन्छन्, “सबैले खेल्न पाउने एशियाली खेलकुदमा खेलाडीले एक्स्पोजर र क्षमता निखार्ने अवसर पाउने भएकाले पनि हाम्रो खेलकुदको स्तर बढाउने राम्रो अवसर हुनेछ।” मिहिनेत गरेका र क्षमता भएका खेलाडी सहभागी हुने केही व्यक्तिगत गेममा पदकको आशा गरे पनि यो स्तरको प्रतियोगिता सहभागिता, अनुभव र आत्मबल बढाउने अवसर हुने उनको भनाइ छ। एशियाली खेलकुदमा राम्रो प्रदर्शन गर्ने खेलाडीका निम्ति दक्षिण एशियाली वरियतामा माथि आउने अवसर भने हुनेछ।

एसियाडमा नेपालले अहिलेसम्म तेक्वान्दो, कराँते र बक्सिङमा पदक जितेको छ। तेक्वान्दोकी सविता राजभण्डारीले १३ औं (ब्याङ्कक्) एसियाडमा जितेको रजत पदक नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक हो। नेपालले यसपालि पनि तेक्वान्दो, कराँते र बक्सिङ (महिला) मा पदकको आशा राखेको छ।

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम