प्राविधिक रित्तिंदै

Share:
  
काम गरिरहेकाले धमाधम छोड्ने र नयाँ पदपूर्ति नहुँदा दुई महत्वपूर्ण निकाय नेपाल कृषि अनुसन्धान परिषद् तथा खानी विभाग विज्ञविहीन बन्दैछन्।
p42
 
नार्कको कार्यालय।
तस्वीर: विक्रम राई

कृषिमा आधुनिकीकरण गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिकहरूको ४११ पदमध्ये १६८ खाली छ। सेवानिवृत्त हुने बाहेक नार्कका वैज्ञानिकहरू राम्रो अवसरका लागि विदेश पलायन हुने प्रवृत्तिले संस्था रित्तिंदै गएको हो। “विश्वविद्यालयबाट निस्किएका नयाँ जनशक्ति कि आकर्षक तलब सुविधाका लागि विदेशिन्छन् कि गैरसरकारी संस्थातिर लाग्छन्”, वरिष्ठ वैज्ञानिक विष्णुहरि अधिकारी भन्छन्, “अमेरिका, अष्टे्रलिया, इजरायल, क्यानडा आदि देशमा वैज्ञानिक जनशक्तिको ठूलो माग छ।” 

नार्कमा विभिन्न समूहका आठौं तहसम्मको दरबन्दी खाली छ। 'एस–५' भनिने पाँचौं तहको मुख्य वैज्ञानिकका ३३ मध्ये २६ पद रिक्त छन्, जसमा समूहकृत नहुने सातमध्ये सातवटै, माटो विज्ञानका चारमध्ये तीन र पोमोलोजी/ओलरीकल्चर, प्लान्ट प्याथोलोजी, इण्टोमोलोजी, एनिमल न्यूट्रीसन एण्ड फिडिङ, एग्रोनेमी प्लाण्ट ब्रिडिङ एण्ड जेनेटिक्स, एग्री इन्जिनियरिङका १६ पद पर्दछन्। 'एस–३' तहको १२० वरिष्ठ वैज्ञानिकमध्ये ९१ पद खाली छन्। यो तहमा एग्रोनेमी प्लाण्ट ब्रिडिङ एण्ड जेनेटिक्समा २३, प्लान्ट प्याथोलोजीमा १५ र माटो विज्ञानमा १३ वैज्ञानिकको आवश्यकता छ। हरेक वर्ष करीब एक दर्जन वैज्ञानिक सेवा निवृत्त हुने नार्कमा १००३ दरबन्दी भएको दक्ष प्राविधिकमा ६७८ जना मात्र कार्यरत छन्।  
 
यसरी वैज्ञानिकविहीन हुँदै जाँदा नार्कको अनुसन्धान प्रभावित भएको मुख्य वैज्ञानिक टेकबहादुर गुरुङले बताए। यसले तरकारी, खाद्यान्न, बोटबिरुवा, पशु लगायतका कृषि सम्बन्धी अनुसन्धान प्रभावित हुने र देशको कृषि उत्पादकत्वमा दीर्घकालीन असर पर्ने अवस्था आएको छ। प्रशासन प्रमुख डा. यज्ञगजाधर खड्का वर्षौंदेखि उपयुक्त जनशक्तिको खोजी भइरहे पनि नभेटिएको बताउँछन्।  
 
नयाँ विज्ञापन गर्दा पनि आवेदन पर्न छाडेको नार्कका वरिष्ठ वैज्ञानिक अधिकारीले सुनाए। गएको वर्ष नार्कले विभिन्न विषयका १५० कृषि वैज्ञानिकको माग गर्दा ७० वटा मात्र आवेदन परेको थियो। यो वर्ष विभिन्न प्राविधिक पदका १४३ को विज्ञापन भइसकेको छ भने वैज्ञानिक र वरिष्ठ वैज्ञानिकको विज्ञापन हुँदैछ। तर अहिले पनि आवेदन नपर्ने निश्चित जस्तै छ। कृषि वैज्ञानिकका लागि कृषि विज्ञानमा स्नातकोत्तर र वरिष्ठ वैज्ञानिकका लागि स्नातकोत्तर गरेर आठ वर्षको वा विद्यावारिधि गरेर चार वर्षको कार्यअनुभवको मापदण्डका कारण पनि माग अनुसारको पदपूर्ति हुन नसकेको जानकारहरूको भनाइ छ। कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. कैलाशनाथ प्याकुरेलका अनुसार चितवनको रामपुर कृषि क्याम्पसबाट वर्षमा करिब २५ जनाले मात्र स्नातकोत्तर गरिरहेका छन्।  
 
खानीमा पनि उही हाल 
देशको खनिज पदार्थको अनुसन्धान र उत्खनन्मा सहयोग पुर्‍याउन स्थापित खानी तथा भूगर्भ विभागमा पनि विशेषज्ञहरू रित्तिंदै छन्। डेढ दशकदेखि खनिज (माइनिङ) र धातु (मेटलर्जी) इन्जिनियर थपिएका छैनन् भने काम गरिरहेकाहरू विदेशिएका छन्। विभागका वरिष्ठ मेटलर्जिस्ट कृष्णदेव झा देशमा खनिज र धातु विषयको पढाइ नहुने, विदेशमा पढेकाहरू आकर्षक सेवा सुविधा छोडेर देश फर्कन नचाहने भएकाले यस्तो जनशक्ति नपाएको बताउँछन्। 
 
उपसचिवको चार पद खाली रहेको विभागमा धातु विषय पढेका आठ इन्जिनियरको दरबन्दीमा तीन जना मात्र कार्यरत छन्। तीमध्ये पनि दुई जना लामो समयदेखि बिदामा बसेर विदेशमा काम गरिरहेकाले फर्कने सम्भावना कम छ। खनिजमा रिक्त आठ इन्जिनियरमध्ये दुई उपसचिव र ६ अधिकृत तहका छन्। लोकसेवा आयोगले विभागका लागि प्रत्येक वर्ष इन्जिनियरहरूको दरखास्त आह्वान गरे पनि आवेदन नपरेको झा बताउँछन्।  
 
धातु र खनिजसम्बन्धी इन्जिनियर नहुँदा फलाम, तामा, चुनढुङ्गा, सुन, म्याग्नेसाइट, खरी लगायतका खनिजको अन्वेषण र उत्खननमा प्रत्यक्ष प्रभाव परेको विभागका महानिर्देशक सर्वजित महतोले बताए। उनी भन्छन्, “यही स्थिति रहे केही वर्षमा विभाग इन्जिनियरविहीन हुनेछ।” 
 
रमेश कुमार 
comments powered by Disqus

रमझम