सामुदायिक विद्यालयको यस्तो दयनीय अवस्था हुनुमा शिक्षाविद् डा. विद्यानाथ कोइराला शिक्षकहरूको अक्षमतालाई कारण मान्छन्। विकसित चेतनायुक्त बालबालिकालाई पाठ्यक्रमले मात्र थेग्न नसक्ने हुँदा योग्य शिक्षक आवश्यक पर्ने उनको भनाइ छ। श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि सुर्खेतका प्रधानाध्यापक गेहेन्द्रप्रसाद दाहाल पनि विद्यार्थीप्रति शिक्षक उत्तरदायी नबन्दासम्म शिक्षा क्षेत्रको अवस्था नफेरिने बताउँछन्। शिक्षकमा अभिभावक, विद्यार्थी र शैक्षिक वातावरणलाई दोष दिएर पन्छिने प्रवृत्ति रहँदासम्म शिक्षा क्षेत्र नसुधि्रने बाग्लुङस्थित जनप्रेम उच्च माविका शिक्षक नइन्द्र गुरुङको धारणा छ। गुरुङ भन्छन्, “प्रतिकूलतालाई अनुकूलतामा बदल्ने क्षमता शिक्षकमा हुँदा मात्र परिवर्तन सम्भव हुन्छ।”
उदाहरणीय शिक्षक
२०६४/६५ मा श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि सुर्खेतमा सरकारले रु.६६ लाख ६३ हजार ६१८ लगानी गरेको त्यही वर्ष शिक्षक बनेका गेहेन्द्रप्रसाद दाहाल बताउँछन्। कक्षा १–१२ का ३०० विद्यार्थीलाई पढाउने १७ शिक्षकको तलबमा त्यो लगानी भएको थियो। तर, राम्रो पढाइ नभएकाले धेरै विद्यार्थीले विद्यालय छाडे।
दाहाल शिक्षक भएर आएपछि भने त्यहाँ विद्यार्थी संख्या बढेर एक हजार ७०० पुगेको छ। चार वर्षयता एसएलसीमा शतप्रतिशत नतीजा आएपछि निजी विद्यालय छाडेर ३०० विद्यार्थी त्यहाँ आएका छन्। राम्रो शैक्षिक वातावरण निर्माण गरेर अभिभावक र विद्यार्थीको मन जितेकाले यो परिवर्तन आएको अहिले प्रधानाध्यापक रहेका दाहाल बताउँछन्। शिक्षक र विद्यार्थीका गतिविधि हेर्न हरेक कक्षामा सीसीटीभी पनि जडान गरिएको छ।
सामुदायिक विद्यालयका शिक्षक अल्छी हुँदा शैक्षिक अवस्था बिग्रिएको बताउने बाग्लुङको जनप्रेम उमाविका प्रअ नइन्द्र गुरुङले पनि विद्यालय राम्रो बनाउन शिक्षक सुधार्ने अभियान नै थाले। त्यसको सुरुआतमा उनी आफैं अनुशासित बने। त्यसपछि पहिले एसएलसीमा मुश्किलले एक–दुई विद्यार्थी पास हुने गरेको सो विद्यालयमा शतप्रतिशत विद्यार्थी पास हुन थाले।
उनले शिक्षक सुधार्न २०६२ देखि विद्यार्थीको मतबाट 'वर्ष असल शिक्षक' चुन्ने व्यवस्था मिलाएका थिए। त्यसपछि उनले आफ्नो प्रशासनबारे पनि विद्यार्थीलाई मत दिन लगाए। प्रशासनबारे २०७१ मा भएको मतदानमा ३०७ विद्यार्थीमध्ये ११ जनाले मात्र विपक्षमा मत दिएका थिए। विद्यार्थीमा पढ्ने, लेख्ने, सोच्ने र सिक्ने बानीको विकास गराउन उनले कक्षा ९ सम्म सात पटक र कक्षा १० मा ११ पटक परीक्षा लिएका थिए। यसले विद्यार्थीलाई परीक्षा दिने बानी पारेको उनको भनाइ छ। निजी विद्यालयका अभिभावकले जस्तो सामुदायिक विद्यालयका अभिभावकले विद्यार्थीको पढाइमा रुचि नराख्दा सामुदायिक विद्यालयको शिक्षा बिग्रिएको भन्ने भनाइसँग काठमाडौं मूलपानीको नेपाल राष्ट्रिय उमाविका शिक्षक वासुदेव सुवेदी सहमत छैनन्। उनको भनाइमा सरकारले समुदायमा परिवर्तन ल्याउन शिक्षकमा लगानी गरेकाले समुदायलाई दोष दिएर उम्किन मिल्दैन।
मजदूरका बालबच्चा बढी पढ्ने उनको विद्यालय विद्यार्थी नआएर कुनै बेला बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो। त्यसपछि उनले विद्यार्थी किन आएनन् भन्ने बुझन सबै शिक्षकलाई उनीहरूको समस्या पहिचान गर्ने जिम्मेवारी दिए। शिक्षकहरू पनि आफ्नो भागमा परेका विद्यार्थीको समस्या बुझन घरसम्म पुगे। त्यसपछि ती समस्या सकेसम्म समाधान गर्दै घरमा पढ्ने वातावरण बनाउने प्रयास गरियो। शिक्षक सुवेदीको भागमा पनि २८ विद्यार्थी परेका थिए, जसलाई उनले आफ्ना छोराछोरी जसरी नै पढ्ने वातावरण बनाउन सघाउने गर्छन्। त्यसपछि विद्यालयको पढाइ सुधि्रएको उनी बताउँछन्। गत वर्ष एसएलसीमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका उनी भन्छन्, “अभिभावकले शिक्षक परिवर्तन गर्न गाह्रो छ, तर शिक्षकले चाहने हो भने अभिभावकलाई बदल्न सक्छ।”
तम्घास, गुल्मीको महेन्द्र उमाविको सफलताको कथा पनि झ्ण्डै उस्तै छ। प्रअ केशरबहादुर थापा २०५५ मा यो विद्यालयमा आउँदा एसएलसीमा १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। विद्यार्थीलाई सन्तान मानेर सिकाउँदा थकाइ नलाग्ने तथा राम्रो नतीजा पनि दिन सकिने उनी बताउँछन्। शिक्षकमा प्रतिबद्धता र इमानदारी भयो भने पनि विद्यालयलाई राम्रो बनाउन सकिने उनको भनाइ छ।
विद्यालय सुधार्न प्रअ बन्नु नपर्ने उदाहरण देखाएका छन्, कञ्चनपुरको महेन्द्रनगर उच्च माविका शिक्षक तिलकराज कलाउनीले। बीएस्सी शिक्षक कलाउनीले विद्यार्थी अंग्रेजीमा कमजोर पाएपछि अंग्रेजी माध्यममा पढाउन थाले। त्यही कारण– २०४८, २०५६, २०६० र २०६४ को एसएलसी परीक्षामा यो विद्यालयले क्षेत्रभरिमै उत्कृष्ट नतीजा ल्याएर उत्कृष्ट पुरस्कार पायो।