१२-२५ असोज २०७१ | 28 September 2014

समाज विकासको माध्यम

Share:
  
- तुफान न्यौपाने
रगत र वैवाहिक सम्बन्धकै कोटिमा पर्ने मितेरी साइनो सामाजिक सद्भाव र एकताका साथै विकासको माध्यम बनेको छ।

एकल सिलवाल
पत्रकार सुरक्षा बराल सन्तमाया चेपाङसँग मीत लगाउँदै।
सुन कथा एउटा गीत, हार मेरो हो कि जीत

कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मीत

माया बसेछ मितेरी साइनोमा...

मितेरी साइनोको महत्व झ्ल्काउने यो गीत डेनी डेन्जोङ्पाले २०४४ मा बनेको चलचित्र 'साइनो' मा गाएका थिए। त्यसयता मीत लगाउने अभ्यासमा केही कमी आए पनि नेपाली समाजमा यसको महत्व घटेको छैन। गत वर्ष दयाहाङ राईको निर्देशनमा मञ्चन भएको 'मीतज्यू' जस्तै नाटक र फिल्मका विषयवस्तुमा झैं नेपाली समाजमा पनि 'मितेरी सम्बन्ध' सान्दर्भिक छ।

मौलिक सम्बन्ध

स्वस्थानी ब्रतकथामा साङ्गेका आठ रोटी 'छोरा भए छोरालाई, नभए मीत छोरालाई दिनू' भनिएको होस् या रामायणका प्रसंग; मीतकै महत्व झ्ल्कन्छ। गाउँघरमा अझै पनि छोरापछिको मीतछोरा भन्ने चलन कायमै छ। पृथ्वीनारायण शाहले मीतबुबा भक्तपुरे राजा वीरनरसिंह मल्लकोमा बसेर काठमाडौं कब्जा गर्ने रणनीति कार्यान्वयन गरेका थिए। गत संविधानसभा निर्वाचनताका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि १२६ जातिसँग मीत लगाउने घोषणा गरेका थिए। तर, नेपाली समाजमा यस्ता स्वार्थप्रेरित होइन, प्रेम र सद्भावको मितेरी सम्बन्ध नै स्थापित भएको पाइन्छ।

रक्त वा वैवाहिक सम्बन्धभन्दा पर मीत लगाएर साइनो गाँस्ने चलन नेपालको तराईदेखि हिमालसम्मै छ। मधेशी, जनजाति, बाहुनक्षेत्री लगायत सबै समुदायमा यो संस्कार छ। तराईमा 'दोस्त, यार' बन्ने यस्तो सम्बन्धलाई थारू समुदायमा 'सखी' भनिन्छ। कर्णाली आसपास र मध्यपहाडका खसदेखि पूर्वी पहाडका राई, लिम्बूमा पनि मीत लगाउने चलन धेरै पहिलेदेखिको हो।

पूर्वी पहाडमा मीत लगाउने चलन प्राचीनकालदेखि चल्दै आएको संगीतकार बुलु मुकारुङ बताउँछन्। पूर्वी पहाडमा प्रचलित मितेरी साइनोलाई कलाकार दयाहाङ राईले 'मीतज्यू' नाटकमा पनि उतारेका छन्। थारू समुदायका अध्येता कृष्णराज 'सर्वहारी' असुरक्षाको महसूस भएपछि एकअर्काको सहयोग पाइने आशमा मितेरीको प्रचलन शुरू भएको हुनसक्ने बताउँछन्। उनी भन्छन्, “अहिले जस्तो यातायात सुविधा र होटल नहुँदा यात्राको क्रममा बास बस्नुपर्ने आवश्यकताले ठाउँ–ठाउँमा मीत लगाउँदै हिंड्ने गरेको इतिहास पाइन्छ।”

डा. होमबहादुर बस्नेत चितवन कान्दाका सीताबहादुर चेपाङसँग मीत लगाएपछि।
वीरगञ्जका पत्रकार चन्द्रकिशोर मीतले घात गर्दैनन् भन्ने विश्वासका साथ यस्तो मौलिक सम्बन्धको विकास भएको हुनसक्ने बताउँछन्। उनका अनुसार तराई–मधेशमा अहिले पनि मुद्दा–मामिलामा मीतविरुद्ध गवाही नदिने, चुनावमा सहयोग गर्ने, विभिन्न धार्मिक–सांस्कृतिक अनुष्ठानहरूमा एकअर्काको परिवारलाई सहयोग गर्ने लगायतका चलन प्रशस्तै देखिन्छ।

मिल्ने साथीबीच स्वेच्छाले र कतैकतै पारिवारिक– सामाजिक पहलमा पनि मीत लगाउने गरिन्छ। पूर्वी पहाडमा झ्गडा गर्नेहरूबीच मिलापत्र गराएर मीत लगाइदिने चलन रहेको मुकारूङ बताउँछन्। जुनसुकै उद्देश्यले मीत लगाएको भए पनि त्यसलाई ठूलो आस्थाले निर्वाह गर्ने चलन छ। “मीतको ठूलो विशेषता नै यही हो”, मुकारुङ भन्छन्, “दोस्रो, तेस्रो पुस्तासम्म पनि मितेरी साइनो हस्तान्तरण र निर्वाह हुँदै जान्छ।”

लेखक अमर न्यौपाने मिल्ने साथीबीच स्वेच्छाले मीत लगाउनेमा पर्छन्। उनी पाँच कक्षामा पढ्दा नै सँगै पढ्ने हेमलाल गुरुङसँग टाउको ठोक्काएर मीत लगाएको सम्झ्न्छन्। “अपरिपक्व अवस्थामा मीत लगाए पनि सम्बन्ध गाढा हुँदै गयो” न्यौपाने भन्छन्, “चाडबाडमा एकअर्काकोमा टीका लगाउन जान्छौं, दाजुभाइसँग भन्दा गहिरो र आत्मीय सम्बन्ध हुँदोरहेछ।” नेपाली संगीतक्षेत्रका दुई शिखर व्यक्तित्व नारायणगोपाल र गोपालयोन्जनबीचको मितेरी सम्बन्ध चर्चित नै छ। उनीहरूलाई गीतकार ईश्वर बल्लवले मीत लगाइदिएका थिए। त्यस्तै अरुण थापा र ओमविक्रम बिष्ट पनि मीतज्यू थिए।

सामाजिक सम्बन्ध विस्तार, सामाजिक सुरक्षा लगायत उद्देश्यका लागि मितेरी साइनो लगाइने प्रचलन रहेको नेपाली समाजमा पातलै रूपमा भए पनि अहिलेसम्म मीत साइनोको प्रभाव छँदैछ। दशैंमा मीतबुबा वा आमाको हातको र तिहारमा मितिनी दिदी वा बहिनीसँग टीका थाप्नेहरू प्रशस्तै छन्।

एउटै जातिमा लगाएको मीत नफाप्ने लोक विश्वासमा शुरूदेखि नै अन्तरजातीय मितेरी साइनो गाँस्ने चलन रहेको संगीतकार मुकारूङ बताउँछन्। यस्तो चलनले सामाजिक एकता बलियो बनाउनुको साथै जातीय–धार्मिक सद्भाव बढाउने काम गरेको छ। सामाजिक एकीकरणका लागि यस्तो सम्बन्धको ठूलो महत्व हुने समाजशास्त्री/मानवशास्त्रीहरूको भनाइ छ।

जातीय विभेद रहेको तराईमा अन्तरजातीय मितेरी सम्बन्धले सद्भाव बढाएको पत्रकार चन्द्रकिशोर बताउँछन्। लेखक न्यौपानेको अनुभव पनि त्यस्तै छ।

मितेरी अभियान

धादिङको सलाङ गाउँका एकल सिलवालले १४ वर्षकै उमेरमा २०५० मा मूलपानीका रवीन्द्रसिंह बानियाँसँग मीत लगाएका थिए। सिलवाल अहिले पत्रकार छन्, बानियाँ रंगकर्मी। समयसँगै उनीहरूको मितेरी सम्बन्ध झ्न् गाढा हुँदैछ। जेठ २०६७ मा जङ्गली च्याउ खाँदा एकैघरका ८ जनाको मृत्यु भएको चितवनको कान्दा गाउँमा रिपोर्टिङका लागि पुगेका सिलवाल त्यहाँको गरीबी देखेर मर्माहत भए।

बहुचर्चित मीत गोपाल योञ्जन र नारायणगोपाल।

त्यहाँबाट फर्केपछि 'मीतज्यू' बानियाँसँग गाउँको अवस्था बयान गर्दा उनले 'जनहितका लागि मीत' भन्ने नारा लिएर काम गर्न सुझाए। त्यसपछि दुई मीत मिलेर कान्दा गाउँमा सहयोग पुर्‍याउने अभियान थालेका उनीहरूले फेसबूकबाट सार्वजनिक आह्वान गरेर तत्कालै पूरै गाउँलाई पुग्ने कपडा संकलन गरे। रु.१ लाख ४१ हजार संकलन गरेर दशैंका लागि खाद्यान्न र लत्ताकपडा पनि पुर्‍याए। उनीहरूले गाउँमा स्कूल मर्मत, स्वास्थ्य शिविर सञ्चालनलगायत काम गरे।

दुई मीतको कामको मिडिया कभरेज भएपछि पत्रकार रवीन्द्र मिश्रले किताबको रोयल्टी दिने भए। मिश्रसहित प्रकाशक फाइनप्रिन्ट र व्यवसायी उपेन्द्र महतोले एकमुष्ट रु.२ लाख २८ हजार दिए। यस्ता सहयोग परिचालन गर्न संस्था आवश्यक भयो। यसरी दुई मीतले २५ चैत २०६७ मा 'मितेरी फाउन्डेसन, नेपाल' खोले। फाउन्डेसनले गाउँमा स्वास्थ्य शिविर सञ्चालन, खाद्यान्न तथा लत्ताकपडा वितरण लगायत काम गर्दै आएको छ। फाउण्डेशनले वार्षिकोत्सव र अन्य अवसरमा मितेरी मेला आयोजना गर्छ– मीत लगाउने अभियानको समन्वय गर्न। फाउण्डेशनलाई सहयोग गर्न पुग्नेहरूले स्थानीय चेपाङ समुदायका व्यक्तिसँग मितेरी साइनो गाँस्छन्।

यस क्रममा भेटेरिनरी डाक्टर होमबहादुर बस्नेतले सीताबहादुर चेपाङ, रङ्गकर्मी बानियाँले श्रीराम चेपाङ र अर्थोपेडिक्स डाक्टर कृष्णप्रसाद पौडेलले कृष्णबहादुर चेपाङसँग मीत लगाएका छन्। त्यस्तै डेन्टिष्ट अजय शाक्यले वीरमान चेपाङ, पत्रकार सुरक्षा बरालले सन्तमाया चेपाङ र विनोदबाबु रिजालले विभक चेपाङसँग मीत लगाएका छन्। त्यसरी १९ जोडीको मितेरी सम्बन्ध गाँसिएको छ। “मीत छोराछोरी, मीत भाइबहिनी मात्र हैन”, फाउण्डेशनका अध्यक्ष सिलवाल भन्छन्, “मीतको मीत महामीत हुने हुँदा यो सम्बन्ध फैलिएर कहाँ–कहाँ पुगिसकेको छ।”

यस वर्षको मदन पुरस्कार पाएको कृति खलङ्गामा हमला की लेखिका राधा पौडेलको सक्रियतामा खुलेको संस्था 'एक्सन वर्क' ले पनि जुम्ला र कालीकोटमा मितेरी अभियान चलाइरहेको छ। “हाम्रो नारा नै मितेरी गाउँ भन्ने हो” राधा भन्छिन्, “जुम्लामा मितेरी रक्तदान कोष, मितेरी आमा/बाबा समूह, मितेरी छाउपडी मुक्त गाउँ, मितेरी शान्ति बाटिका बनाएका छौं।”

मितेरी सम्बन्ध आपसी प्रेम र सद्भावको नाता भएकाले यस्तो साइनो विस्तारबाट सामाजिक काम गर्न सजिलो भएको राधाको अनुभव छ। उनी भन्छिन्, “अष्ट्रेलियाका नागरिकले जुम्लामा मीत लगाएर सहयोग गर्ने वातावरण बनाएका छौं।”

comments powered by Disqus

रमझम