१२-२५ असोज २०७१ | 28 September 2014

नाताको 'नोस्टाल्जिया'

Share:
  
- चन्द्रकिशोर
तराई–मधेशको समाजलाई नाता–कुटुम्ब निर्वाहको पारम्परिक संरचनाले नै भरथेग गरेको छ।

चन्द्रकिशोर
आफन्तकहाँ निम्तो मान्न विभिन्न परिकारका खाना बोकेर जाँदै पाहुना।
सर्लाही बलराका मेरा हजुरबुबाको मावली भारत, बिहारको बेल गाउँ हो। बेल नेपालको लोकतान्त्रिक आन्दोलनसँग साइनो जोडिएको बैरगनियाको छेउमा पर्छ। यहाँ यो प्रसङ्ग किनभने, बेलका आफन्तहरूसँग आज पनि हाम्रो सम्पर्क छ। मैथिल परम्परा अनुसारको 'न्योत–हँकार' अर्थात् सुख–दुःखमा सहभागिता टुटेको छैन। अरू बेला नभए पनि बिहे, ब्रतबन्ध वा श्राद्धमा एकअर्का परिवारलाई निम्त्याउने परम्परा अद्यापि कायम छ। हाम्रो परिवारमा कुनै संस्कारको आयोजना हुँदा हजुरबुबाको मावली खलकका पछिल्ला पुस्ताका आफन्त आइपुग्छन्। उताको आयोजनामा हामी पनि जान्छौं। चार–पाँच पुस्ताका आफन्तहरूको जमघट गतिलै हुन पुग्छ।

यी सन्दर्भहरूको आलोकमा के भन्न खोजिएको हो भने नाता जति पुरानो हुँदै गयो, त्यो त्यतिकै सम्मानित बन्छ। मेरो घरमा बेलबाट कोही आफन्त आउँदा चर्चा हजुरबुबाको पनि आमासम्म पुग्छ। यो सम्बन्धको निर्वाह पारम्परिक तरीकामा भइराखेको छ।

नजिकको कुटुम्बको भलो

बज्जिका भाषामा एउटा लोकोक्ति छ– 'गोएर बिआहे से मर्द।' यो भनाइले छिमेकी गाउँमा बिहेवारी गर्नेहरूलाई पुरुषार्थी मान्छ। पहिला यातायात र सञ्चार सुविधा थिएन। त्यसैले नजिकको बिहेवारी सुविधाजनक हुन्थ्यो। मलाई सम्झ्ना छ, टाढा माइत भएकी मेरी ठूली काकी दिनभरि बैलगाडामा सवार भएर आउनुहुन्थ्यो। समाज कृषि संस्कृतिमा चलेको थियो। व्यक्तिको जीवनमा व्यावसायिकता फलिफाप भएको थिएन। दुःख–सुखको बेला नजिकका नाता कुटुम्बहरू नै सहयोगी बन्थे। एक त टाढाका कुटुम्बहरूकहाँ खबर पुर्‍याउनै गाह्रो, सूचना पुगे पनि आउनै ढीलो। त्यसैले नजिकमा आफन्तहरू हुनुलाई राम्रो मानिन्थ्यो।

लघु ऋण उपलब्ध गराउने अवधारणा नआइसकेको त्यो समयमा आफन्तहरू नै साहू–महाजनको चक्रवृद्धि व्याजको गोलचक्करबाट जोगाउने ब्याङ्क हुन्थे। दिदीले दिएको गहना बन्धकी राखेर आफूले जग्गा जोडेको कुरा मेरा हजुरबुबाले सुनाइरहनुहुन्थ्यो। चलन कस्तो थियो भने, ब्रतबन्ध होस् वा श्राद्ध, त्यतिबेला निम्त्याइएका आफन्तहरू भारमा चिउरा, चामल, दही लगायतका सामग्री लिएर आइपुग्थे। त्यसले ठूलै पारिवारिक अनुष्ठानहरूलाई पनि सहज बनाइदिन्थ्यो। दुनियाँका सामुन्ने कोही पनि 'उघार' अर्थात् उदाङ्गो हुनु पर्दैनथ्यो। यसरी तराई–मधेशका व्यक्ति र परिवारलाई नाता–कुटुम्ब निर्वाहको पारम्परिक संरचनाले नै भरथेग गरेको थियो।

गाउँको साइनो सम्बन्ध

हाम्रो छिमेकमा खखन कुर्मीको घर थियो। उनलाई म खखन काका भन्थें। उनकी दुई पत्नीलाई माइती–गाउँको नामसँग जोडेर बोलाउँथे। उनीहरू मेरा मसाहीवाली काकी र विशुनपुरवाली काकी थिए। गाउँका सबैसँग कुनै न कुनै साइनो जोडिएको हुन्थ्यो। गाउँको कसैकी छोरी बिहे गरेका व्यक्ति सिङ्गो गाउँको 'मेहमान' हुन्थे। संयुक्त परिवारले घरलाई गाउँजस्तो बनाएको हुन्थ्यो भने साइनो सम्बन्धको हार्दिकताले गाउँलाई एउटा परिवार जस्तो। यसरी सबै एकापसमा निर्भर थिए र थिए एकअर्काका पूरक।

एउटा हुन्थ्यो 'दोस्त घराना', जुन मेरो परिवारको पनि थियो। आफ्नो जाति वा नाता भन्दा बाहिरको 'दोस्त घराना' सँग परिवारको मितेरी सम्बन्ध हुन्थ्यो। त्यो सम्बन्धले आफ्नो खेतबारीमा उब्जिएको तरकारी, फलफूल, गाई–भैंसीको दूध–दही पठाउनेदेखि गर्जो पर्दा लेनदेन र मुद्दा मुकदमा परेको बेला साक्षी–सहयोग गर्नेसम्मको काम गर्थ्यो। यसबाट व्यक्ति वा परिवारले सुरक्षाबोध गर्थ्यो। यसरी 'दोस्त घराना' रगतको साइनो भन्दा पनि गाढा बन्न पुग्थ्यो। १२ वर्षअघि दिवंगत हुनुभएका मेरा सय वर्षका हजुरबुबा निकै भावुक हुँदै यस्ता सम्बन्धहरूको नालीबेली सुनाउनुहुन्थ्यो।

नाता व्यक्ति वा परिवारसँग मात्र नभई माटोसँग पनि हुन्थ्यो। देउताहरूको प्रतिमूर्तिहरू माटोकै 'पिढिया'को रूपमा हुन्थ्यो। गाउँको भलोका लागि ग्राम्यदेवताको सामूहिक पूजा हुन्थ्यो। लोकभाकाहरूमा मिथिलाको माटोको उब्जनी 'सीता बेटी'को महिमा गान गर्ने चलन अद्यापि छँदैछ। यसरी नातागोता, छिमेकी र माटो गाउँलेसँग जोडिएका हुन्थे। आफन्तहरूकहाँ वर्षमा एक–दुई पटक जानुपर्छ भन्ने मान्यता थियो। त्यसले परिवारहरूबीचको सम्बन्ध प्रगाढ बनाउँथ्यो।

अहिले भएको सडक र सञ्चारको विकासले नाता कुटुम्बको आयामलाई साँघुरो बनाउँदै लगेको छ। आफन्तहरूकहाँ पुग्न सहज भए पनि प्रायः फोनमै कुरा टुंगिन थालेको छ। बिहेबारी पनि टाढा–टाढा हुनथालेका छन्। कृषिकर्मीहरू पेशा परिवर्तन गरेर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारी, फोन र टाढाको वैवाहिक सम्बन्धका कारण पारिवारिक भेटघाट पातलिएको छ। नयाँ पुस्ताले नजिकका आफन्तलाई पनि चिन्न छाडेका छन्।

अर्को गाउँभित्र शहर छिर्दै जाँदा गाउँको नाता सम्बन्ध र सामूहिक भावना कमजोर बन्दै गएको छ। गाउँमा भित्रिरहेको रेमिट्यान्सले परिवार टुक्रिने क्रमलाई बढवा दिएको छ। यस्ता परिदृश्यहरूका बीचमा सम्बन्धका नयाँ स्वरुपहरू पनि देखा पर्दैछन्। हरियाणा–पंजाबतिर कमाउन जाने र कतार–मलेशिया जानेहरूको नयाँ–नयाँ सहयोगी समूहहरू देखा पर्न थालेका छन्। अर्कातिर, हिजोसम्म समाजका निष्त्रि्कय सदस्य जस्ता देखिएका महिलाहरूले सामाजिक सम्बन्धहरूमा नयाँ आयाम निकाल्न थालेका छन्।

उसो त मधेशका महिलाहरू पहिले पनि ससुराली गाउँका अर्को बुहारी वा नन्दसँग मितेरी गाँस्थे, जसलाई 'सखी' भनेर चिनिन्थ्यो। सखी सम्बन्धले पनि एकअर्को परिवारलाई हार्दिकतामा जोड्थ्यो। तर, अहिले मधेशको सामाजिक जीवनमा महिलाहरूले नयाँ अग्रसरता लिन थालेका छन्। महिलाहरू आमा समूह, बचत समूह जस्ता समूहमा संगठित हुन थाल्दा सामाजिक सम्बन्धका नयाँ ढोकाहरू खुल्न थालेका छन्। यद्यपि, समाजलाई बढ्दो विश्रृङ्खताबाट जोगाउँदै अगाडि बढाउने मुख्य कडी भने अझ्ै पनि परम्परागत सम्बन्धका तन्तुहरू नै छन्।

comments powered by Disqus

रमझम