१२-२५ असोज २०७१ | 28 September 2014

माटोमाथि उभिएर

Share:
  

नरेन्द्रकुमार नगरकोटी

जून नउदाएको रात

कसरी हेर्नु माटोको परिचयपत्र!

वर्षौं भयो

बिर्सिएर आफूलाई समेत

खोजिरहेछौं हिउँमा कुँदिएका

पाइतालाका डोबहरू

हामीले नै टेकेका हौं

पहिलो पाइला

लेख्नेहरूले लेखिदिएछन् –

'दोस्रो पाइला टेकेका हौ तिमीहरूले'

त्यसै दिनदेखि

हाम्रा पाइतालाहरू हाम्रै माटोमाथि

'सेकेण्ड आइडेन्टिटी' बोकेर हिंडेका हुन्

यो आलो माटोमा

कहिले फुल्ला स्वाभिमानको लालीगुराँस?

कहिले फल्ला स्वाधीनताको ऐंसेलु?

फुल्न त कत्ति धेरै फुलिरहेछन्

मनै कुँडाउने गरी 'लाहुरे फूलहरू'

फलिरहेछ 'शरणार्थी सपना'

माटोलाई मुठ्ठीमा कब्जा गर्न खोज्नेहरू पनि

निर्धक्क सास फेरिरहेकै छन्

यही माटो कुल्चेर

एकपटक घडीलाई उल्टो घुमाएर हेर्नुछ

क–कसले जितेको हो समयको दौड

कसरी जितिएको हो

म भन्छु–

अन्तिम पटक निखारेर सत्य

देश–देशान्तर फैलिनेछ माटोको सुगन्ध

र ढुङ्गामा खोपिएको अक्षरजत्तिकै

सुरक्षित हुनेछ

किनकि

अब कहिल्यै लेखिने छैनन् हिउँमा

हाम्रो परिचयपत्रका अक्षरहरू।


एक साँझ चोरबाटोमा

यम बाँस्तोला

भाग्न सकिन

कोशीको रफ्तारमा

सकिन लुक्न

हाम फालेर असला झै कुरभित्र

साँझ: धमिल्याउँदै थियो बाटो

अस्ताउँदै थियो आँखाको ज्योति

घामको बाटो हुँदै―

लुगलुग―लुगलुग काम्दै थियो डर

मसँगै

मेरो कमजोर नाडीमा

पुरानो एचएमटी क्वीनर

आफ्नो टिक–टिक लुकाउन

बन्द गर्दै थियो सास―

हजुरबाको नासो

साहिंली औंलाको औंठी

नक्कली चाँदीमा, नक्कली पुष्पराज

मधुरो बनाउँदै थियो आफ्नो चमक

जीवन रक्षाका लागि

छालाको कालो चाइनिज पर्स

हामफाल्न खोज्दै थियो

जामुनको फेदतिर―

विष घोलिएको पानीमा माछाहरु जस्तै

उकुस―मुकुस भएर

चोरगोजीका चानचुने पैसाहरु

पाखा लाग्न खोज्दै थिए

अस्तित्व जोगाउन

साँझ बलवान बन्दै गएपछि

गल्दै गयो मेरो अर्जुनशक्ति

मलिन बन्दै गयो आवाज―

जब सकियो

वलिष्ठ हातहरुद्वारा

मेरो शरीरको खानतलासी

सकियो, घडीको टिकटिक

हरायो, पुष्पराजको मधुरो चमक

सबैथोक सकिए पनि

बाँकी थियो

मैले बीस वर्ष जोगाएको

कुमारी इज्जत―

एक साँझ : चोरबाटोमा

फोरियो;

ढुङ्गाको ओछ्यानमाथि

मेरो अस्मिताको ओखर।


प्रिय सावाँअक्षर

तुलसीहरि कोइराला

कक्षाकोठाको कालोपाटीमा

भूगोल शिक्षकले देशको नक्शा कोरेर

नानीहरुलाई देशबारे पढाउँदै गर्दा

तिनै नानीहरुमध्येको म नानी

भूगोलसँगै इतिहासलाई पनि हल नारेर

एकीकरणका महानायकहरु पढिरहेथें

सोच्थें– कदाचित यी कर्मवीरहरुले पौरखका पाखुरी र

दृढताका पाइताला नचालेका हुँदा हुन् त

लक्ष्मीनरसिंह मल्लले समेटेको म ओखलढुंगे

कुन देशको नागरिक कहलिन्थें?

मेरो देशको साँध–सीमा कहाँसम्म हुन्थ्यो?

इतिहासका पानामा कोरिएका

स्वर्णाक्षरी अजम्बरी थुप्रै नामहरु घोकेर

म नेपाली हुनुको गौरव गरिरहेथें।

अर्को घण्टीमा–

'भूगोललाई बाँध्ने आफ्नोपनको माला त भाषा पो हो'

नेपाली गुरुले भाषाभक्त भानुभक्त पढाइरहँदा

आदिकविलाई सम्मानको सलाम गर्न लगाएपछि

फेरि एक पटक सोचमग्न भएथें–

नेपाली भाषालाई

जन्म दिने आमालाई जस्तै माया गर्नेहरुले

यसरी नफैल्याइदिएका भए

म ओखलढुंगे कुन भाषामा पो बोलिरहेको हुन्थें?

यतिबेला

धेरै बुझेर पनि बुझ्न बाँकी कुराहरु

धेरै देखेर पनि देख्न बाँकी सम्भावित घटनाहरु

धेरै भोगेर पनि भोग्न बाँकी पीर–बेथाहरु

अग्रगामी फड्कोका नाममा

मडारिंदा छन् मैले टेकेको माटोमा

भाषाले भूगोल नाघिसकेको बेला

जहाँ रहे पनि के फरक छ र?

नक्शालाई खण्डित पार्न खोज्नेहरुलाई

आफ्नै भाषा र भेष खिपेर छातीमा

खबरदारी गरौं हामी नेपाली

भनौं– खोस्ने दुस्साहस गर्दै नगर

हाम्रा प्रिय सावाँअक्षर।

comments powered by Disqus

रमझम