१२-२५ असोज २०७१ | 28 September 2014

लीलाप्रधान कथा

Share:
  

नेपाली साहित्यमा लामा, छोटा र लघुकथाको परिभाषा स्पष्ट छैन। हामीले शब्दका आधारमा लामो भनेका कथालाई पश्चिमाहरू 'सर्ट स्टोरी' भन्छन्। कति लामो भएमा लामा कथा र कत्रोलाई छोटा भन्ने विषय अझै पनि निर्क्योल भएको छैन। अर्कोतिर हामी जेलाई लघुकथा भनिरहेका छौं, ती अधिकांश चुट्किला जस्ता छन्। कथाको आयतनबारे यो सन्दर्भ भर्खरै प्रकाशित रत्नमणि नेपालको कथासङ्ग्रह सँगसँगै का निम्ति जोडिएको हो। उनले सात वटा लामा कथा मार्फत समसामयिक नेपाली कथालेखन परम्परा भत्काउने चेष्टा गरेका छन्, कुनै नयाँ सिद्धान्त वा शैली प्रयोग गरेर होइन।

पुस्तक सँगसँगै

कथाकार रत्नमणि नेपाल

प्रकाशक साङ्ग्रिला पुस्तक

पृष्ठ १६४+४

मूल्य रु.२२५

दार्जीलिङका प्रसिद्ध नेपाली साहित्यकार इन्द्रबहादुर राईले चार दशकअघि 'लीलालेखन' नामको एउटा शैली शुरु गरेका थिए, जसलाई उनले कहिल्यै 'वाद' वा 'इज्म' भनेनन्। त्यसो भनेका भए लीलालेखन 'लीलावाद' भइसक्थ्यो। यही लीलालेखनको टेको समातेर कथाकार नेपाल नेपाली साहित्यको आख्यान दुनियाँमा प्रवेश गरेका हुन्। उनले आईबी राईको बलिया अनुयायी हुने सम्भावना देखाएका छन्।

सँगसँगै मा लामोमा ४४ पृष्ठ (मधेश) र सबभन्दा छोटो (गनाएको गनायै छ) मा १२ पृष्ठको कथा छ। कथा लामा हुन् वा छोटा रोचक हुनसक्दा पढिन्छन् नै। सङ्ग्रहका 'मधेश' र 'गनाएको गनायै छ' तुलनात्मक रुपमा बढी रुचिकर छन्। सर्वाधिक लीला गरिएको शीर्षक कथा 'सँगसँगै' कतिपयलाई मन नपर्न पनि सक्छ। मूल पात्र पानीलालको भोगाइको तीतो यथार्थ नै पर्याप्त छ। त्यसमा लीला गरिरहनु आवश्यक छैन। जिन्दगी लीला मात्रै पनि त होइन!

'मधेश' कथामा कथाकारले केही वर्षअघिको मधेश आन्दोलनताका चलेको 'पहाडविरोधी' अभियानलाई उतारेका छन्। यो कथामा कथावाचकलाई प्रवेश गराएर लीलालेखनको परम्परा धान्ने प्रयास गरिएको छ। सबभन्दा छोटो कथा 'गनाएको गनायै छ' गैरलीलामा लेखिएको रुचिकर कथा हो। हरेक कुरामा सरकारको मुख ताक्ने आम प्रवृत्तिलाई यसमा उजागर गरिएको छ। एक साताअघि मरेको कुकुरका कारण दुर्गन्धले टोलवासी सबैलाई पिरोलेको छ, तर त्यसलाई हटाउन कोही अघि सर्दैनन्। नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वले सकारात्मक कम र नकारात्मक असर बढी पारेको कथाकारको कथा–निष्कर्ष छ। पछिल्लो समय नेपाली कथा केही सङ्कटमा छ। मझौला आकारका कथाहरू पहिल्यै पत्रपत्रिकामा प्रकाशित भएर पछि पुस्तकाकारमा आउँदा पाठकलाई नयाँ लाग्दैन।

सोही कारण त्यसको बजार मागमा केही ह्रास आएको छ। सम्भवतः यही तथ्य मनन गरेर कथाकार नेपालले चलनचल्तीका भन्दा लामा र अप्रकाशित कथा निकालेका छन्।

राजेन्द्र पराजुली


कथामा सम्भावना

सिरहा, गोलबजारका श्याम साह पहिलो संग्रह अब्बा मार्फत नेपाली कथा साहित्यमा गतिलो संभावना लिएर आएका छन्। मधेशको यो नयाँ कलमले मूलधारको नेपाली साहित्यमा यसअघि भवानी भिक्षुले बनाएको बाटोलाई अझ फराकिलो पार्ने ल्याकत देखाएको छ।

अब्बा का १२ कथामध्ये अधिकांशले मधेशी जनजीवनको ढुकढुकी छामेका छन्। संग्रहमा मधेशमा माओवादी द्वन्द्वका असर र पहाडको गरीबीदेखि राजधानीमा वेश्यावृत्ति गर्न विवश युवतीको मनोदशासम्म अटेका छन्। अर्थ र संकेतहरुले ओजनदार सबै कथा सरल छन्। प्रयोगात्मक शैलीको 'तेह्र हजार दुई सय छयालीस' कथाको पनि अर्थ बुझ्न बल गरिरहनुपर्दैन। विषय छनोटका हिसाबले पनि प्रखर लाग्ने कथाहरुमा वैचारिक पक्ष शक्तिशाली छ। पाठकलाई विषयको गहिराइमा पुर्‍याउन सक्षम कथाकारले नेपाली समाजका निमुखाहरुको खुल्ला पक्षपोषण गरेका छन्। कथाहरुमा थिचिएका–पिसिएकाहरुको आक्रोश छन्। कथाकारले तिनलाई नारा हुनबाट जोगाउने कुशलता देखाएका छन्।

पुस्तक अब्बा

लेखक श्याम साह

सम्पादक सङ्गीतश्रोता

प्रकाशक फोनिक्स बुक्स

पृष्ठ २१०+४

मूल्य रु.२७५

शीर्ष कथा अब्बा मा माओवादी द्वन्द्वले तराईमा पारेको प्रभावको दुर्दान्त चित्र छ। कथामा एक जना सरल ग्रामीण अस्लमको परिवारलाई द्वन्द्वले ध्वस्त बनाउँछ। राज्य र सशस्त्र विद्रोहीबीचको द्वन्द्वको बाछिटाले गाउँलाई छुन थाल्दा अस्लमका निर्दोष बाबु मारिन्छन्। अस्लमकी पत्नी सरकारी फौजको बलात्कार पछि बेपत्ता हुन्छिन्। अस्लमको पक्षमा आवाज उठाउने सांसद्को हत्या हुन्छ। न्याय खोजिरहेका अस्लम पनि मारिन्छन्। श्यामले अस्लमलाई तराईका ती सयकडौं अस्लमहरूको प्रतिनिधि पात्र बनाएका छन्, जसलाई द्वन्द्वसँग कुनै लेनादेना थिएन, तर पनि उनीहरु मारिए वा बेपत्ता पारिए। उनीहरूको परिवार तहसनहस भयो।

संग्रहको पहिलो कथा 'लाटीको छोरो' ले नेपाली समाजका कथित ठालुहरूलाई कठोर व्यङ्ग्य गरेको छ। कथामा एउटी गर्भवती लाटी युवती र मजदूर सुर्जा चमारमाथि ठालुहरुले थोपरेको अन्यायको शब्दचित्र छ। अर्को कथा 'मन्त्रीकी प्रेमिका' ले मधेश आन्दोलनको सह–उत्पादनको रुपमा रातारात नेता बनेकाहरूको वास्तविकता देखाउँछ। 'म मरेपछि' कथामा मानिसको अस्तित्वको खोजी छ।

मधेशमा जन्मेहुर्केका कथाकारको कृतिमा मधेशी परिवेशको प्राधान्य हुनु अस्वाभाविक होइन। द्वन्द्वकालमा विद्रोही पक्षबाट पनि थुप्रै हत्या, बलात्कार, कुटपीट, बेपत्ता जस्ता अपराध भएका थिए, तर धेरैजसो कथामा सरकार पक्षकालाई बढी खलपात्र बनाइएको छ। यसलाई कथाकारको कमजोरी भन्न सकिन्छ। यद्यपि, पहिलो कृतिमै यति सशक्त कथाहरु दिन सक्नु श्यामको खुबी हो। यसले पाठकको अपेक्षा पक्कै बढाएको छ। कथाकारको लागि यो पनि एउटा चुनौती हो।

तुफान न्यौपाने

comments powered by Disqus

रमझम