१२-२५ असोज २०७१ | 28 September 2014

मेरो दशैं मेरो मालश्री

Share:
  
- बुलु मुकारुङ

बिलाश राई
दशैं आयो

खाउँला पिउँला

कहाँ पाउँला

चोरी ल्याउँला

धत् पापी म छुट्टै बसूँला।

सानो छँदा दशैं आउने दिन नजिकिन थालेपछि औंला भाँच्दै यो बालगीत गाइन्थ्यो। पाँच औंलासँग जोडिएको यो गीतको अर्थ भने धेरैपछि मात्र थाहा भयो। दशैंमा नयाँ लुगा लाउन पाउँदाको खुशी अचम्मकै हुन्थ्यो, केटाकेटीमा। ऊबेला रुपियाँ–पैसा वा लुगाफाटाको पौलो थिएनरहेछ कसैसँग पनि। दशैंमा हुनेखाने वा रिनपान गर्नेले पनि 'एकधरो' फेर्ने प्रचलन थियो। टीको लाउन माइती–मावली वा ससुराली जाने गज्जबको चलन बलियो थियो।

टीका मूलघरमा शुरु हुन्थ्यो, जेठो–बडोको हातबाट। साइनो अनुसारको सिसार–कोसेली, छेकुफिला लाने चलन थियो। सिसार अनुसारको दक्षिणा मिल्थ्यो। मुग्लानतिर भासिएका गाउँलेहरू पनि तेल–मसलाका पोका लिएर गाउँघर फर्किन्थे बाटोको बिखुमा छल्दै–छल्दै। बाटोमा बेचिने जाँड–रक्सीमा बिखुमा हाल्ने कर्तुत हुन्थ्यो। घर फर्किने परदेशीहरू बिखुमाले लट्ठिएपछि लूटलाटमा पर्थे। कतिपय त मरे भन्ने सुनिन्थ्यो।

दशैंका बेला गाउँघरमा पीङले रौनक थप्थ्यो। शारदी चन्द्रको पीङको रौनकमा नाचगान र मादल–मुर्चुङ्गा रुन्को थपिंदा गाउँ नै गुञ्जयमान हुन्थ्यो। वय–बैंसालुको भेटघाट हुने थलो पीङडाँडा हुन्थ्यो। सोल्टिनीले कठुवामा ल्याएको तीनपाने पेटमा पुगेपछि नाथु लैबरी, हाक्पारे, पालम वा छेम्बाडो भाका त कति गाइन्थ्यो कति। तीन दिनको एउटै रात भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो– साथमा सोल्टिनी, तीनपाने र मायालु–लय रन्किंदा। कहाँ हुन्थ्यो ऊबेला हिजोआजको जस्तो लुरे दशैं?

हिजोआज त त्यो संस्कृतिले स्वरूप परिवर्तन गर्‍यो रे। हुन पनि, पीङडाँडाहरू सिरुघारी भएका छन्। रोटेपीङ लाउने मान्छे छैनन् गाउँमा। गाउँमा मराउ–पराउ पर्दा लाठे मलामी नै पाइन छोड्यो भन्छन्। गाउँमा बूढाबूढी र नानी केटाकेटी मात्र छन्, यसबेला। यसपालिको दशैं गाउँमा कसरी आउला हँ? चाउचाउको प्याकेट बोकेर? 'खुट्टामा खोल्, पेटमा झोल्, मुखमा खुईखुई– अचेलका केटा' भनेको शायद यही होला!

बर्खामा बलिष्ठ पाखुरा बजार्ने बाउसेहरू अरब–मलेशियातिर नवलाहुरे बनेर ब्रोइलर–बर्गरले दशैं मनाउन थालेका छन्। गाई कि त्रिशूल? भन्दै तामाका ढ्याके पाँच पैसा छन्छनी पार्दै हनुमाने (अहिलेको म्यारिज, क्यासिनो) खेल्न भ्याएका हामी पनि पढ्ने निहुँमा शहर भनिने दहदेश पस्यौं र यतै फस्यौं। हाम्रा लागि शहर चरालाई लिसो–पासो जस्तो भयो। हात–पाखुरा मुलायम भइसकेका हामीमा अब गाउँ फर्कने हुती नै रहेन।

ऊबेला गाउँमा १६ शरद लागेपछि शुरु हुन्थ्यो– शारदीय राग मालश्री। गाउँमा गाउँले खालको लोक र परम्परागत गरी दुई खाले मालश्री गायौं, हामीले। वर्षा ऋतु सकिएपछि शरदमा आलापिने ऋतुराग मालश्री बाँसुरी, मुरली, मुर्चुङ्गामा स्वतः आलापित हुन्थे– तिहुरी ती.... तिहुरी तीती.... तिहुरी ती.....। बाँसको कप्टेरो त हो बजाउँदा बज्थे मज्जाले। बूढापाका भन्थे :
बजाउन जाने पो बज्छ मुरली

फकाउन जाने पो आउँछ तरुनी।

मालश्री ऋतुराग हो। यसले मास, याम वा शारदीय उत्सवलाई उदात्त गर्दै लैजान्छ। गन्धर्वहरू पिङ्गुल भाकामा मालश्री गाउँछन्। सारङ्गीले मङ्गल गाएकै हुन्छ– कालीको। घटस्थापनादेखि नै सनईले राग छोड्छ मालश्री धुनको एकतमास....। मन्दिरमा शङ्ख–घण्ट नबज्ने कुरै आउँदैन। यही ऋतुरागमा आधारित भएर भक्तिगायन सुनिन्छ कण्ठबीणाबाट 'जयदेवी कालिका....असुर मारिणी चण्डिका...' आदि आदि।

उपत्यकामा जुगीबाजा, कुर्लबाजा र ब्याँचुलीबाजाको पुरानो नेवारी परम्परा छ, जसले मालश्री र देवी दुर्गाको स्तुति उराल्दै बिहानको झिसमिसेमै काठमाडौंलाई ब्यूँझाइदिन्छ। यो परम्परा–प्रचलनको प्राचीनता र गहिराइ खोतल्न अझै बाँकी छ।

२०४६ पछिको राजनीतिक परिवर्तनले सांस्कृतिक विचलन पनि ल्यायो। राई–लिम्बू समाजले दशैं मनाउन छाडे। कोही धर्म नै परिवर्तन गरेर 'गरिखाने' भए। मेरै परिवारमा पनि सांस्कृतिक विखण्डन भयो। दाजुहरूले दशैं मान्न छोड्नुभयो। मैले चाहिं दशैंलाई धर्मभन्दा पनि संस्कृति ठानेर मानिरहें। यसपालि पनि मेरो घरमा भिउँठको बालुवामा पहेंलै जमरा उमि्रने छ। मालश्री त गाउने नै छु। डेढ वर्षकी नातिनी 'मनसुवा'को कानमा जमरा शोभायमान भएको देखेर फुरुङ्ग हुनेछु।

comments powered by Disqus

रमझम