१२-२५ असोज २०७१ | 28 September 2014

दशैंमा शाकाहारी व्यञ्जन

Share:
  

सञ्जय वन, सेफ

इन्ट्रान्स क्याफे, बखुन्डोल

ललितपुर

भेज मन्चुरियन

घरमै बनाउन सकिने भेज परिकारमध्ये मन्चुरियन पनि एक हो। बन्दा, गाजर र सिमीको टुक्रालाई अण्डा, मैदा र पेपर साल्टसँग मुछेर स–सानो डल्लो बनाउने। त्यसलाई तेलमा तारेर प्लेटमा राख्ने। अर्को भाँडामा तेल हालेर खुर्सानी पड्काई लसुन, अदुवा, टमाटर केचप राख्दै जाने। चिल्ली पेस्ट पनि त्यसैमा हालेर १०० मिली जति पानी मिसाउने। त्यसलाई भेनेगर, पेपर साल्ट हालेर ५–६ मिनेट उमालेपछि कर्नफ्लोर राखेर बाक्लो बनाउने। त्यसमा अघि तयार भएको डल्लाहरुलाई ४० सेकेण्ड डुबाएपछि मन्चुरियन तयार हुन्छ। यसलाई फ्राइड राइस, राइस, पास्तासँग सर्भ गर्न सकिन्छ। स्न्याक्सका रुपमा पनि खान सकिन्छ।

आवश्यक सामग्री

बन्दा ५० ग्राम

गाजर १० ग्राम

सिमी १० ग्राम

हरियो धनियाँ ५ ग्राम

अदुवा आधा टेबल चम्चा

लसुन आधा टेबल चम्चा

हरियो खुर्सानी आधा टेबल चम्चा

सोया सस एक टेबल चम्चा

ह्वाइटर भेनेगर एक टेबल चम्चा

टमाटर केचप एक टेबल चम्चा

चिल्ली पेस्ट आधा टेबल चम्चा

अण्डा एउटा

मैदा पाँच ग्राम

कर्नफ्लोर एक टेबुल चम्चा

सनफ्लावर तेल १० मिलिलीटर

पेपर साल्ट एक चिम्टी


दही सलाद

आवश्यक सामग्री

स्याउ ५० ग्राम

मेवा २५ ग्राम

खरबुजा १० ग्राम

अनार ५ ग्राम

दही १ कप

अरेन्ज जुस १० मिलि

चिनी आधा टेबल चम्चा

पुदिना आवश्यकता अनुसार

बनाउने तरीका

पखालेको स–सानो टुक्रा बनाएको स्याउ, मेवा र खरबुजामा अनार मिसाउने। त्यसमा छुट्टै भाँडोमा तयार गरिएको दही, चिनी र अरेन्ज जुसको मिश्रण खन्याउने। त्यसमाथि हरियो पुदिना (मिन्ट) छर्कने। यो स्वास्थ्यवर्द्धक सलादले राम्रो डिजर्टको पनि काम गर्छ।


स्पाईसी तोफु

श्याम लामा, सेफ

ढोकैमा क्याफे

पाटनढोका, ललितपुर

आवश्यक सामग्री

मैदा ५० ग्राम

पनिर २०० ग्राम

सुकेको खुर्सानी ३–५ वटा

लसुन/अदुवा/प्याज ५० ग्राम

तेल २ कप (सानो)

नुन स्वाद अनुसार

तिल एक चम्चा

खुर्सानीको सस एक चम्चा

बनाउने तरीका

मैदालाई घोलेर लेदो बनाई पनिरका टुक्रा मोल्ने। त्यसलाई तेलमा ३–५ मिनेट भुटेपछि तोफु पाक्छ। पिसेको लसुन, अदुवा र प्याजलाई छुट्टै तेलमा भुट्ने। सुकेको सिंगो खुर्सानी पनि भुट्ने। तोफु, भुटेको लसुन, अदुवा, प्याज र खुर्सानीलाई प्लेटमा राखेर तिल र खुर्सानीको सससँग खाने।


सिसिमी फ्रेस बिन

आवश्यक सामग्री

सिमी २०० ग्राम

तिल एक चम्चा

तेल २ कप (सानो)

लसुन, अदुवा र हरियो प्याज ५० ग्राम

मरिचको धूलो स्वाद अनुसार

नुन स्वाद अनुसार

बनाउने तरीका

तेलमा सिमी भुटेर झिकेपछि लसुन, अदुवा, प्याज ब्ल्याक बिन सस फ्राई गर्ने। त्यसपछि सिमीमा यो मसला मिसाएर स्वाद अनुसार नुन र मरिचको धूलो छर्कने। यो शाकाहारी परिकार १०–१५ मिनेटमै तयार हुन्छ।


भरेको नजाकद (आलु भरेको)

गणेशसिं विष्ट, सेफ

दि यल्लो चिल्ली, त्रिपुरेश्वर

आवश्यक सामग्री

आलु २ वटा (ठूलो)

मकै (कलिलो) ५० ग्राम

काजु ४–५ दाना

किसमिस ४–५ दाना

चाट मसला आधा चम्चा

खुर्सानीको धूलो आधा चम्चा

नुन स्वाद अनुसार

कपडामा छानेको बाक्लो दही ३ चम्चा

बनाउने तरीका

पखालेर ताछेको आलुमा ३–४ वटा प्वाल बनाउने। प्वाल बनाउँदा निस्कने मसिनो टुक्रालाई छुट्टै भुट्ने। भुटेको मसिनो टुक्रा, कलिलो मकै, काजु, किसमिसलाई मिक्स्चरमा पिंधेर फेरि प्वालमा राख्ने। त्यसमा दही दलेर सिन्कामा उनेर १०–१५ मिनेट आगोमा सेकाउने। आलु पाकेर रातो भएपछि टुक्र्याएर प्लेटमा राख्ने अनि चाट मसला राखेर खाने।


च्याउको सेकुवा (सबनम कि मोती)

आवश्यक सामग्री

डल्ले च्याउ १२ वटा

काजु १०० ग्राम

दूध एक कप

चिज ५० ग्राम

अलैंचीको धूलो एक चम्चा

ग्रीन चिल्ली पेष्ट एक चम्चा

नुन स्वाद अनुसार

बनाउने तरीका

च्याउको डाँठ निकाल्ने। निकालेको डाँठको किमा बनाएर चिज, नुन, अलैंचीको धूलो, हरियो खुर्सानीको पेष्टमा मिलाउने। त्यो मिक्स्चरलाई डाँठ झिकिएको च्याउभित्र राख्ने। केही समय दूधमा भिजाएको काजु पिसेर ह्वाइट सस बनाउने। डाँठ झिकिएका दुइटा च्याउ जोडेर ह्वाइट ससमा डुबाउने। अब च्याउको बीचबाट सिन्को उनेर १०–१५ मिनेट तन्दुरीमा राखेपछि सबनम कि मोती तयार हुन्छ। यसमा चाट मसला, चिज आदि राखेर खाने।


इस्कुसको पक्कु

किरण शर्मा

आवश्यक सामग्री

छिप्पिएको इस्कुस १ किलो

प्याज १ दाना

लसुन ४ पोटी

तेल २ चम्चा

नौमसला १ चम्चा

आलसको छोप १ चम्चा

तिलको छोप आधा चम्चा

सिलामको छोप आधा चम्चा

जिरा र धनियाँको धूलो १ चम्चा

बेसार आधा चम्चा

कागतीको झोल १ चम्चा।

तेजपात दुई पात

बनाउने तरीका

सस्तो र क्यालोरी कम हुने भएकोले इस्कुसको पक्कु जो–कोहीलाई राम्रो हुन्छ। रासायनिक मल वा विषादी प्रयोग नगरी उत्पादन गरिने तरकारी पनि इस्कुस नै हो। पक्कु बनाउन सबभन्दा पहिला इस्कुसलाई बोक्रा नताछी आँप काटे जसरी कोया नकाटिने गरी काट्नुपर्छ। कोयालाई चार टुक्रा बनाउने। प्रेसर कुकरमा तेल तताएर नौमसला पट्काउने। प्याज र तेजपात त्यसैमा हाल्ने। त्यसपछि लगत्तै जीरा–धनियाँको धूलो, बेसार र इस्कुस पनि हाल्ने। अदुवा र लसुन काटेर वा पिसेर हालेपछि कागतीको झोल, स्वाद अनुसार नुन र खुर्सानी राख्ने। तिल, सिलाम र आलसको छोप हालेर एक सिठी लगाइदिने। लगत्तै हावा फ्याँकेर एकछिन चलाउँदै पकाउने। त्यही बीचमा धनियाँको पात काटेर हाल्ने। अब इस्कुसको स्वादिष्ट पक्कु तयार भयो।


दहीस्त्रि्कम

आवश्यक सामग्री

दूध आधा लीटर

दही एक लीटर

अदुवा ५० ग्राम

बनाउने तरीका

दूधको कस्टड, दही र अदुवा मिलेर बन्ने मीठो परिकार हो दहीस्त्रि्कम। यो आइसक्रिमको विकल्प हो। दहीस्त्रि्कमका लागि सबभन्दा पहिले दूधको कस्टर्ड बनाउने। मलमलको कपडामा दही छानेर पानी छुट्याइदिने। त्यसपछि कस्टर्ड र दही पिसेको अदुवासहित मजाले फिट्ने। यसरी तयार भएको दहीस्त्रि्कमलाई फ्रिजमा चिसो पारेर खाने।

प्रस्तुतिः सन्त गाहा मगर, रमेश कुमार र तुफान न्यौपाने

तस्वीरः बिक्रम राई र देबकी बिष्ट

comments powered by Disqus

रमझम