उनका नाटकहरू दर्शकसँगै नेपाली रंगकर्मीहरूका लागि पनि नहेरी नहुने बनेका छन्। त्यो किनभने, उनी युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट नाटकमा पीएचडी र जर्जियाको एटलान्टास्थित ओगलथोर्प युनिभर्सिटीमा थिएटरकी सह–प्राध्यापक पनि हुन्। वान वर्ल्ड थिएटर स्थापना गरेकी डेबोराले नेपालमा नेपाली आमा, मास्टर हेराल्ड एन्ड द व्वाइज्, ओली आना, द म्याडनेस अफ लभ, अ वाइल्डरनेस टेलिङ अ टेल लगायत १० नाटक मञ्चन गरिसकेकी छन्। पुरानो बानेश्वरको आइसर कलेजमा एमए र एमफिलका विद्यार्थीलाई ड्रामाटिक लिटरेचर र सोसल जस्टिस पढाइरहेकी उनी अब यतै बसेर रंगकर्म अघि बढाउने योजनामा छिन्।
उनका अनुसार, राम्रो नाटकका लागि गतिलो स्त्रि्कप्ट र जीवन्त अभिनय हुनैपर्छ। यथार्थपरक र सांस्कृतिक कुरा भएका नाटकले दर्शकलाई बाँध्ने उनको अनुभव छ। एक दशकदेखि नेपाली रंगकर्मलाई नियालिरहेकी डेबोराको अनुभवमा नेपाली नाट्य विधाले ठूलो फड्को मारेको छ। “म आउँदा यहाँ गुरुकुल बाहेक अर्को थिएटर थिएन, अहिले त थिएटर र तिनमा नाटकको बहार आएको छ” डेबोरा भन्छिन्, “छानीछानी भिन्न भिन्न स्वादका नाटक हेर्न पाइन्छ।”
शब्द/तस्वीरः ऋषिराम कट्टेल