१-१५ मंसिर २०६९ | 17-30 November 2012

नयाँ स्वरुपमा फिगो

Share:
  

 

गोल्छा समूहको गो फोर्ड ले नेपाली बजारमा छिट्टै लोकप्रियता कमाएको फोर्डको फिगो कारको नयाँ मोडल बजारमा ल्याएको छ। नयाँ कारमा हेडलाइट, टेलल्याम्प, एलोई ह्विल्स लगायत १० स्टायल र विशेषता थप गरिएको कम्पनीले जनाएको छ। नीलो र हल्का पहेंलो रंगमा उपलब्ध कारको मूल्य पनि केही बढेको छ। अब पेट्रोल इन्धनका फिगो कारको मूल्य रु.१८ लाख ४९ हजारदेखि रु.२३ लाख ७५ हजार तथा डिजल कारको रु.२२ लाखदेखि रु.२७ लाख ४९ हजार पर्नेछ। 
 
एस्कर्टस् ट्रयाक्टर नेपालमा 
एस्कर्टस् इण्डियाले एस्कर्टस् ब्राण्डका दुई नयाँ मोडलका ट्रयाक्टर नेपाली बजारमा उपलब्ध गराएको छ। फामट्रयाक ६०६० र ६०६५ मोडलका ट्रयाक्टरहरू क्रमशः ६० एपची र ३७–४५ एचपीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। चार वटा सिलिण्डर र इन्टरकुल इञ्जिनयुक्त अत्याधुनिक प्रविधिबाट निर्मित यी ट्रयाक्टर धेरै शक्ति लगाएर गुड्न तथा गह्रौं वस्तु तान्न सक्ने भएका कम्पनीको दाबी छ। 
 
समाजसेवामा इत्तेहाद 
इत्तेहाद एयरवेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई आश्रय दिइरहेको 'प्रयास नेपाल' र सहाराविहीन आमाहरूलाई बसोबास गराउने 'आमा घर'लाई जाडोमा चाहिने लत्ताकपडा र कम्बलहरू सहयोग गरेको छ।
 
स्कोडा एक्सचेञ्ज क्याम्प 
स्कोडा कारको अधिकृत विक्रेता मोरङ अटो वर्क्सले दीपावलीको अवसरमा २४ कात्तिकदेखि तीन दिन थापाथलीस्थित आफ्नो शोरुममा स्कोडा को फाविया कारको एक्सचेञ्ज क्याम्प सम्पन्न गरेको छ। क्याम्पमा सरल किस्ताबन्दीमा रिकण्डिसन हाउसहरूबाट पुराना गाडीको उचित मूल्याङ्कन गराई नयाँ साट्ने सुविधा दिइएको थियो। 
 
हिरो विजेता 
हिरो मोटरसाइकलको नेपालस्थित अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले चाडबाडको अवसरमा सञ्चालित योजना अन्तर्गत तेस्रो र चौथो साता बिक्री भएका मोटरसाइकल खरीदकर्तामध्ये गोलाप्रथाद्वारा ६ जना विजेता चयन गरेको छ। विजेताहरू ललितपुरका राजु पोखरेल, काठमाडौंका मुना महर्जन र चन्द्रकान्ता कुमार कलवार, चितवनका कर्णबहादुर थापा, मोरङका चूडामणि नेपाल र महोत्तरीका विश्राम मुखीले फिलिप्स को ३२ इन्चको एलसीडी टीभी जितेको कम्पनीले जनाएको छ। 
 
'एफक्यान अवार्ड' मा जगदम्बा 
जगदम्बा स्टीलले नेपाल निर्माण व्यवसायी महासंघले प्रदान गर्दै आएको 'एफक्यान अवार्ड' प्रायोजनको लागि आगामी तीन वर्षसम्म वार्षिक रु.१२ लाख ९९ हजार सहयोग गर्ने भएको छ। महासंघले राष्ट्रिय निर्माण दिवसको अवसर पारेर २२ मंसीरमा निर्माण क्षेत्रका विभिन्न २६ विधामा 'एफक्यान अवार्ड' प्रदान गर्ने गर्छ। 
 
बेस ब्याट्री नेपालमा 
अग्नि इनर्जी प्रालिले भारतमा निर्मित बेस ब्याट्रीको बिक्री शुरू गरेको छ। पावर ब्याकअप उपकरण तथा सामग्रीमा भारतको अग्रणी ब्याट्री उत्पादन कम्पनी मानिएको बेस का ब्याट्रीले अटोमोबाइल खपत र लोडसेडिङ बढेको नेपालमा छुट्टै पहिचान बनाउने कम्पनीको विश्वास छ। आईसीसी २०११ विश्वकप र क्यानेडियन क्रिकेट टीमलाई प्रायोजन गर्दै आएको बेस कम्पनीले फर्मूला–१ मोटर रेसमा समेत ब्याट्री उपलब्ध गराउँदै आएको छ। 
 
केएलको 'स्वापिङ' 
चाबहिलको केएल टावरले चाडबाडको अवसर पारेर किनमेलको नयाँ तरिका 'स्वापिङ' शुरू गरेको छ। यसअनुसार ग्राहकले आफ्ना पुराना लुगा, जुत्ता र खेलौना स्वाप गर्दा विशेष छुट र विभिन्न उपहार पाउने छन्। साथै रु.१००० भन्दा माथिको खरीदमा एउटा लक्की ड्र कुपन प्राप्त गरी त्यसबाट महिन्द्रा रोडियो स्कुटर, ४० इन्चको सार्प एलईडी टीभी, सार्प वासिङ मेसिन र १० जनाका लागि रु.५००० बराबरको गिफ्ट भौचर उपहार जित्न सक्नेछन्। 
 
म्याक्सको सहयोग 
म्याक्स मिडियाले सामाजिक उत्तरदायित्व अन्तर्गत दोलखा, चरिकोटस्थित गौरीशंकर बालमन्दिरका अनाथ बालबालिकालाई पाठ्यपुस्तक एवं स्टेशनरी सामग्री उपलब्ध गराएको छ। साथै, मन्दिरमा रहेका १७ अनाथ बालबालिकालाई चार महीनासम्म पुग्ने खाद्यान्न समेत सहयोग गरेको कम्पनीले जनाएको छ। 
 
रेज मधुनाशक चिया 
नेचुरल हर्बस् वर्ल्ड प्रालिले मधुमेहका रोगीलाई भनेर रेज मधुनाशक चियाको उत्पादन र बिक्री शुरू गरेको छ। नेपालका जडीबुटीहरूको प्रयोग गरी द्रव्य विशेषज्ञ डा. श्याममणि अधिकारीको अनुसन्धान तथा सिंहदरबार वैद्यखाना विकास समितिका कविराज सतिश पौडेलको निगरानीमा उत्पादित चियाले शहरी जीवनशैलीमा; खासगरी ४० वर्षमाथिको उमेर समूहका मानिसहरूमा, बढ्दो मधुमेह रोग रोकथाम गर्ने कम्पनीको दाबी छ।  
 
मधुमेहका रोगीलाई उम्लिएको एक कप पानीमा आधा चिया चम्चा चिया हाली चार–पाँच मिनेट छोपेर र राम्ररी चलाएर दिनको तीन–चार पटक पिउन सल्लाह दिएको कम्पनीले यसको सेवनबाट शरीरमा ग्लुकोजको मात्रा सन्तुलित भएपछि खानपानमा ध्यान दिए मात्रै पुग्ने बताएको छ। यसले कब्जियत, उच्च रक्तचाप लगायतका रोगलाई पनि फाइदा गर्ने कम्पनीको विश्वास छ। हल्का तीतो स्वादको रेज मधुनाशक चियाको १०० टीब्याग प्याकेटको मूल्य रु.५२५ छ। 
 
मेगा ब्याङ्कले तराईका आठ जिल्लामा उद्यम विकास तथा रोजगारी सिर्जना गर्न 'हेल्भेटास स्वीस इन्टर–कोअपरेशन नेपाल'सँग सम्झ्ौता गरेको छ। हेल्भेटासको इलम कार्यक्रम सञ्चालित रौतहट, सर्लाही, बारा, पर्सा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा संयुक्त रूपमा लघुकर्जा तथा व्यावसायिक सेवामार्फत रोजगारी र उद्यमशीलता विकास गर्ने ब्याङ्कको लक्ष्य छ। यीमध्ये बाँके, कैलाली, पर्सा र सर्लाहीमा मात्र मेगाको शाखा भएकाले अरू स्थानमा हेल्भेटास इलम कार्यक्रमका स्थानीय व्यावसायिक सेवा प्रदायक परिचालन गरेर लघुकर्जा दिइने ब्याङ्कले जनाएको छ। यसैबीच मेगा ब्याङ्कले देशका विभिन्न स्थानमा २८ शाखासहित ३१ वटा एटीएम मेसिन स्थापना गरेको छ।  
 
नविल ब्याङ्कले आफ्ना शेयरधनी प्रा. दिनेशराज पन्तलाई सम्मान गरेको छ। संशोधन मण्डलसँग आवद्ध रहेर ६ दशकदेखि नेपाली इतिहास र संस्कृतिको अध्ययन–अनुसन्धानका साथै ज्योतिषशास्त्र, गणित, व्याकरण र साहित्यमा गरेको योगदानको कदर गर्दै १ कात्तिकमा सम्पन्न साधारण सभामा ब्याङ्कले पन्तलाई सम्मान गरेको हो। 
 
एभरेष्ट ब्याङ्कले गोङ्गबुमा ४८औं शाखा स्थापना गरेको छ। अब दुई एक्सटेन्सन काउन्टर र २० राजस्व संकलन केन्द्रसहित ब्याङ्कका सेवा केन्द्र ७० तथा एटीएम मेसिन ६२ पुगेका छन्। 
 
एनडीईपी डेभलपमेन्ट ब्याङ्क र सम्सारा मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारका लागि सम्झ्ौता भएको छ। सम्झौता अनुसार विश्वका विभिन्न मुलुकबाट सम्सारा मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स एनडीईपी डेभलपमेन्ट ब्याङ्कका शाखाहरूबाट लिन सकिन्छ। 
comments powered by Disqus

रमझम