२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

कमजोर बढी पीडित

Share:
  
बलात्कारका पीडितमा कमजोरहरू नै बढी देखिएका छन्।

गोपाल गडतौला
सामूहिक बलात्कारमा परेकी एक किशोरी।
सात महीनाअघिको एक रात ११ बजेतिर १५ वर्षे किशोरी 'ए' र उनकी एक जना साथीलाई सतासीधाम–९ स्थित छिमेकीकहाँ न्वारानपछिको पूजा र नाचगान हेरेर राति फर्किंदा चार जना युवाले हल्ला गरे मारिदिन्छौं भन्दै नियन्त्रणमा लिए। त्यसपछि नजिकै रतुवामाई वृक्षरोपण आयोजनाको नर्सरीमा लगेर पिट्दै अलग्गै बनाएर बलात्कार गरेको 'ए' बताउँछिन्। साथीको खोजखबर नगरी घर पुगेकी उनले मारिदिने धम्कीका कारण त्यो घटनाबारे कसैलाई बताइनन्। पछि महीनावारी रोकिएर पेट बढ्दै गएपछि प्रहरीमा पुग्दा घटना भएको ३५ दिन नाघेको भन्दै प्रहरीले बलात्कारको उजुरी लिन मानेन। “मलाई बलात्कार गर्ने झिलझिले बजारको नीमा तामाङ हो” १९ भदौमा आमा समूह र महिला अधिकारकर्मीहरूको मद्दतमा झापा जिल्ला अदालतमा नाता कायमको किटानी मुद्दा दर्ता गरेकी 'ए' ले भनिन्। आमा अर्कैसँग पोइल गएको र बाबु पनि बेपत्ता भएपछि उनी मावली हजुरबा हजुरआमासाथ बस्छिन्। मजदूरी गरेर गुजारा गर्ने हजुरबा हजुरआमासँग गर्भिणी नातिनीलाई खाना खुवाउने ल्याकत पनि छैन।

३० जेठ अपराह्न ४ बजेतिर भाइलाई बिस्कुट किन्न घरबाट पसल गएकी झापा जुरोपानी–९ की १२ वर्षीया अस्मिता राजवंशी दुई दिनसम्म फर्किनन्। तेस्रो दिन सड्न लागेको नग्न अवस्थाको उनको लाश घरबाट करीब ५० मीटर दक्षिण झाडीमा भेटियो। प्रहरी अनुसन्धानले बलात्कारपछि अन्यत्रै हत्या गरेर लाश त्यहाँ फालेको देखायो। घटनाका अभियुक्तहरू छिमेकी उमेश माझी (१९), राम माझी (२५), यादव बिक (१६) र मिसा माझी (१८) पुर्पक्षमा थुनामा छन्।

४ जेठमा झापा तोपगाछी–७ केरखामा १६ वर्षे एक किशोरी सामूहिक बलात्कारको शिकार भइन्। तर, पीडकहरूको धम्कीका कारण उनले मुख खोल्न सकिनन्। आफन्तको घरमा बसेर स्कूल पढिरहेकी उनले निद्रामा चर्को स्वरमा चिच्याउन थालेपछि परिवार र छिमेकीले थाहा पाए। उनीहरूले प्रहरीमा १३ जना विरुद्ध उजुरी दिएकोमा सुरेश ढकाल (२२) र विशाल गिरी (२०) पुर्पक्षमा थुनामा छन् भने बाँकी फरार छन्। किशोरीलाई रातको समयमा झुक्याई केटाहरू भएको एकान्त ठाउँमा पुर्‍याउने राई थरकी एक जना महिला तारेखमा छुटेकी छिन्।

बलात्कार र यौनजन्य हिंसाका धेरैजसो घटनामा आदिवासी, दलित र जनजाति समुदायका महिला, किशोरी र बालिका पीडित हुने गरेका छन्। उनीहरूमा पनि अभिभावकको प्रत्यक्ष संरक्षणमा नरहेका र गरीब परिवारका बुढी छन्। जिल्ला प्रहरी कार्यालय झ्ापाको महिला तथा बालबालिका सेलकी सहायक निरीक्षक मिलनकुमारी राईका अनुसार आर्थिक वर्ष २०७०/७१ मा परेका बलात्कार तथा बलात्कार प्रयासका ६८ घटनामध्ये ५० वटामा आदिवासी, दलित र जनजाति समुदायका महिला, किशोरी र बालबालिका थिए। पीडितहरू चारवर्षे बालिकादेखि ६४ वर्षे वृद्धासम्म थिए। चालु आवको शुरूको एक महीनामा झापामा बलात्कारका दुई र बलात्कार प्रयासका तीन मुद्दा दर्ता भएका छन्।

घरभित्र अभिभावकबीचको बेमेलले पनि छोरीहरूलाई असुरक्षित बनाएको अधिवक्ता उमा कार्की बताउँछिन्। “कमजोर नै असुरक्षित हुँदोरहेछ”, बलात्कारपछि गर्भवती भएकी 'ए' को मुद्दा लिएर झापा जिल्ला अदालत पुगेकी अधिवक्ता कार्कीले भनिन्।

जिल्ला प्रहरीमा गत आवमा बलात्कारका ४६ र बलात्कार प्रयासका २२ मुद्दा दर्ता भएका थिए। यसैगरी आव २०६९/७० मा बलात्कारका ४१ र बलात्कार प्रयासका १८ गरी ५९ मुद्दा दर्ता भएका थिए। आव २०६८/६९ मा बलात्कारका ३९ र बलात्कार प्रयासका ११ गरी ५० मुद्दा दर्ता भएका थिए।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम