२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

पर्याप्त सम्भावना

Share:
  
- रमेश कुमार
पेन्ट्स बजारले व्यापक पूर्वाधार, संरचना विस्तार र शहरीकरण कुरिरहेको छ।

इन्द्रधनुषको छटा, फूलको बहार, साउनको हरियाली, उदाउँदो सूर्यको लालिमा, आकाशको नीलो शालीनता होस् या पूर्णिमाको जून; प्रकृतिमा रंगको सौन्दर्य वर्णनातीत छ। प्रकृति सिंगार्ने रंगहरूले मानव मनलाई पनि गहिरो आनन्द, मुग्ध अनुभूति र उल्लास दिन्छ। प्रकृतिमा भएका सातै रंग मानव जीवनका क्षणहरूसँग जोडिन्छन्। मान्छेलाई कुनै रंगले उत्साह, कुनैले शान्ति दिन्छ। कुनै रंगले शालीन र कोमल बनाउँछ त कुनैले चञ्चल वा विद्रोही। उमंग, सिर्जनशीलता, हर्ष, उत्साह र प्रेम रंगमै अभिव्यक्त हुन्छ।

दर्शन र विज्ञान दुवैले रंगको असिम महत्व देखाएका छन्। नवजात शिशुले रंगकै माध्यमबाट वस्तु पहिचान गर्छ भने नौजवानलाई रंगले चञ्चल बनाउँछ। मान्छेको मनलाई आकर्षित पार्ने अगाध शक्ति हुन्छ, रंगसँग। त्यसैले मान्छेले आफूलाई चाहिने वस्तुहरूमा मनपर्ने रंगकै छनोट गर्छ। घरको भित्री–बाहिरी सज्जामा सचेततापूर्वक मन छुने रंगको प्रयोगको चलन बढ्नुले पनि रंगसँगको मानवीय सम्बन्ध दर्शाउँछ।

पछिल्लो समय चाडपर्वको उत्सवलाई भव्य बनाउन पनि रंगको प्रयोग बढेको छ। तिहारको रौनकमा रंगको छनोटले रंगप्रति मान्छेको भावना देखाउँछ। फूल, पात र प्रकृति नै शीतल, सौम्य र रंगीन हुने शरद् ऋतुमा पर्ने चाडपर्वमा सचेततापूर्वक प्रयोग हुने रंगले मानवीय अन्तर्यलाई रंग अनुसारकै भाव दिन्छ। त्यसैले सप्तरंगी टीका र रंगीचंगी माला तिहारका खास आकर्षण हुन्। अबिर, केशरी विनाको त कुनै पूजा नै छैन। पूजाआजा र चाडपर्वमा प्रयोग हुने रंगहरूले मानिसको अवसाद र घृणाभाव हटाएर उल्लास सिर्जना गर्छ।

गाउँघरतिर दशैं–तिहारका बेला रातोमाटो र कमेरोले घर सिंगार्ने परम्परा छ। शहरका आधुनिक शैलीका घरका आन्तरिक र बाह्य भित्ताहरू पनि यही बेला रङ्ग्याउने चलन छ। सोख र रुचिले घरलाई रंगीन बनाउनेहरू पनि बढ्दै छन्। मान्छेका कल्पनाका सयौं रंगहरूलाई साकार बनाउन बजारमा पनि दर्जनौं पेन्ट्स कम्पनीका उत्पादन उपलब्ध छन्।

बढ्दो प्रयोग

नेपालमा कमेरो र रातोमाटोले घर रंगाउने चलनलाई चुना र ह्वाइट सिमेन्ट पेन्ट्सले विस्थापन गरेको थियो। आधुनिक रसायनमिश्रित इमल्सन र डिस्टेम्पर आएपछि चुना र ह्वाइट सिमेन्ट पेन्ट्स पनि हराइसकेका छन्। लाहुरेहरूले विदेशमा देखेको घर रङ्ग्याउने कलालाई गाउँ फर्केर अभ्यासमा उतारेपछि रंगको चलन बसेको मानिन्छ। २०४६ सालपछिको खुलापनले आधुनिक घर निर्माणसँगै किसिम–किसिमका रंगको चलन पनि विस्तार गर्‍यो। सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर घर–होटललाई रंगीचंगी बनाउन थालेपछि रंगको कारोबार ह्वात्तै बढेको व्यवसायी बताउँछन्। यसरी घर रंग्याउन दशैं–तिहार पर्खने चलन फेरिएर जुनसुकै बेला रंग लगाउनेमा थिति बसेको छ।

२०३९ सालमा देशको पहिलो पेन्ट्स उद्योगको रूपमा पशुपति पेन्ट्स खुलेको नेपालमा अहिले सानादेखि बहुराष्ट्रियसम्मका साढे दुई दर्जनभन्दा बढी उद्योग संचालनमा छन्। एउटा कम्पनीले जुन उत्पादन गर्छ, त्यही रंग लगाउने जमाना अब छैन। उद्योगको संख्यासँगै पेन्ट्समा विविधता र छनोटको विकल्प फराकिलो भएको छ। उपभोक्ताले जस्तो खोज्छन्, त्यस्तै रंग उपलब्ध छन्, बजारमा। मूल रंगहरूको संयोजनबाट हजारौं रंगका सेड (छाया) निकाल्न सकिने भएको छ। एउटै आधार रंगबाट विविध रंग निकाल्न सकिने भएकाले प्रकाश छिर्ने अवस्थाका आधारमा घरको भित्ता र कोठा रङ्ग्याउन मिल्छ।

एउटै रंग उत्पादकले कम्प्युटरको सफ्टवेयरमा उपलब्ध हजारौं थरीका रंग हेरेर चाहेजस्तो रंग छान्ने सुविधा दिएका छन्। उत्पादक कम्पनीहरूले डिलरलाई उपलब्ध गराउने टिन्टिङ मेशीनमा आधार रंग राखेर तिनको समिश्रणबाट नयाँ रंग निकालिन्छ। सूर्यबाट निस्कने वा इन्द्रेणीमा हुने रातो, सुन्तला, पहेंलो, हरियो, वैजनी, नीलो र नीर रंगको मिश्रणबाट अनेकौं रंगहरू बनाउन सकिने सत्यलाई प्रविधिले समातेपछि प्रयोग पनि बढेको छ। आर्थिक हैसियतका हिसाबले समेत विभिन्न मूल्य र गुणस्तरका पेन्ट्स उपलब्ध छन्। सामान्य, प्रिमियम र सम्भ्रान्त अनुभूति दिने लक्जरीसम्मका रंगहरू आएका छन्।

पेन्ट्सको बढ्दो मागका कारण वार्षिक बजार १५–२० प्रतिशत बढेर कारोबार रु.७ अर्बको हाराहारीमा पुगेको छ। आधुनिक घर, अपार्टमेन्ट, हाउजिङ, मल, डिपार्टमेन्ट स्टोर, होटल इत्यादिको निर्माण र बढ्दो शहरीकरणले पेन्ट्सको बजार बढाएको छ। घरका भित्ताबाहेक पुल, सडक, पर्खाल जस्ता संरचना रङ्ग्याउन वा चिह्न लगाउन र काठ र स्टीलका सामान, सवारी साधन, विभिन्न लेखनमा पनि पेन्ट्सको प्रयोग बढ्दो छ। पेन्ट्स उत्पादकमा पशुपति, रिलायन्स, एशियन, बर्जर, कन्साई नेरोल्याक जस्ता राष्ट्रिय र बहुराष्ट्रिय कम्पनी छन्।

यी कम्पनीले डेकोरेटिभ र इण्डस्ट्रियल पेन्ट्स उत्पादन गरिरहेका छन्। घर सजाउन डेकोरेटिभ पेन्ट्स प्रयोग हुन्छ भने औद्योगिक प्रायोजनमा इण्डस्ट्रियल पेन्ट्स। डेकोरेटिभ अन्तर्गत पानी पर्ने घरको बाह्य भित्तामा इमल्सन लगाइन्छ भने कोठाभित्र डिस्टेम्पर। सात वर्षसम्म टिक्ने लीड फ्री र वाटरबेस इमल्सन केही महँगो पर्छ। कोठाको भित्तामा प्रयोग गरिने तुलनात्मक रूपमा सस्तो डिस्टेम्परको आयु भने अलि कम हुन्छ। यिनका अतिरिक्त इनामेल, ह्वाइट सिमेन्ट पेन्ट्स, रोडमार्कर आदि समेत उत्पादन भइरहेका छन्।

सौन्दर्य मोहकै कारण घरको भित्ता तथा कोठालाई रंगले सिंगार्ने चलन बढेको हो। घर–कोठामा उत्साह र खुशी दिनेे खालका हलुका पेन्ट्स लगाउने चलन छ। रंगले आफ्नै स्वभाव अनुसारको असर छोड्ने भएका कारण यसले मान्छेको चिन्तन र दृष्टिकोणमा समेत प्रभाव पार्छ। त्यसैले, उपभोक्ताहरू रंग छान्दा विशेष सचेतता अपनाउन थालेका छन्। मानिसका अनुभूतिलाई प्रभावित पार्ने र तरंग सिर्जना गर्ने हुनाले रंगले निराश र खुशी दुवै बनाउने सामर्थ्य राख्छ। रंगको स्वभावका आधारमा कोठाभित्र उत्तेजित पार्ने रातो र यसको मिश्रण भएका रंगभन्दा हरियो, नीलो र वैजनी जस्ता शान्त रंग उपयुक्त हुन्छ।

नवविवाहित दम्पतीका कोठामा उत्तेजनाको प्रतीक रातो रंग लगाउन उपयुक्त भए पनि अन्य कोठामा सेतो, हल्का हरियो, सुनौलो, पहेंलो र कलेजी रंग लगाए उचित हुने जानकार बताउँछन्। उनीहरूका अनुसार, यस्ता रंगको प्रयोगले अध्ययन–चिन्तन गर्न, शान्त रहन र चञ्चल मनलाई स्थिर राख्न सहयोग गर्छ। ज्योतिषशास्त्रले राशि र नक्षत्रका आधारमा रंग मिलाएर प्रयोग गरे शुभ हुने बताउँछ। सबैले विज्ञानसम्मत र सचेततापूर्वक रंग प्रयोग गर्छन् भन्ने चाहिं छैन। जुन रंगले मन खायो त्यही प्रयोग गर्नेहरू पनि हुन्छन्।

पेन्ट्सले घर–कोठालाई आकर्षक मात्र बनाउँदैन; पानी, ढुसी, घाम आदिबाट सुरक्षा पनि गर्छ। पेन्ट्सहरूमा पानी चिप्लने तत्व भएकाले पानी छिर्न पाउँदैन। घामको ताप छेक्ने रसायनले घरलाई चिसो बनाइराख्न पनि सहयोग गर्छ।

स्थिरताको प्रतीक्षा

बढ्दो शहरीकरणका कारण घर निर्माणको क्रम बढेर पेन्ट्सको बजार बढे पनि यो उद्योग पनि मुलुकको अन्य क्षेत्र जस्तै राजनीतिक अस्थिरताको मारमा परेको छ। राजनीतिक अस्थिरताले पूर्वाधार र संरचना निर्माणमा बाधा पुर्‍याइरहेको व्यवसायी बताउँछन्। बर्जर पेन्ट्सका ज्ञानु सिग्देल अहिले पेन्ट्स उद्योगहरूको कुल उत्पादन क्षमताको ६० प्रतिशत मात्र प्रयोग हुनसकेको बताउँछन्। राजनीतिक स्थिरता भएर विकास निर्माणको क्रम नबढेसम्म पेन्ट्स उद्योगको कुल क्षमतामा उत्पादन नहुने सिग्देल बताउँछन्।

विकसित देशमा प्रतिव्यक्ति पेन्ट्स खपत ५–६ लीटरसम्म हुन्छ। नेपालमा भने त्यो २०० मिलिलीटरको हाराहारीमा मात्र छ। भारतमा प्रतिव्यक्ति पेन्ट्स खपत दुई लीटरको हाराहारीमा हुनुले विकासशील राष्ट्रमा उक्लने सपना बोकेको नेपालमा यसको अथाह सम्भावना देखाउँछ। बहुराष्ट्रिय पेन्ट्स उत्पादक कन्साई नेरोल्याकका नेपाल प्रमुख सत्य प्रकाश अबका दुई दशकमा नेपालमा पेन्ट्सको बजार आकाशिने अनुमान गर्छन्। देश विकासको चरणमा रहेको, आर्थिक सामाजिक विस्तारसँगै सर्वसाधारणसम्म रकम पुगेको र पेन्ट्सप्रतिको रुचि बढेकाले प्रकाश यो सम्भावना देख्छन्।

यसैगरी, रिलायन्स पेन्ट्सका प्रबन्ध निर्देशक महावीर बहेती महानगरपालिका र नगरपालिकाहरूले आफ्ना क्षेत्रका घरलाई पेन्ट्सले सिंगार्ने बाध्यकारी वा सुविधाको नीति सार्वजनिक गरे सुन्दरतासँगै पेन्ट्स बजार बढ्ने बताउँछन्। भारतको पश्चिम बंगाल सरकारले कोलकातामा नीलो र खैरो रंग लगाउने घरधनीलाई एक वर्षको कर छूट दिएको उनी बताउँछन्। पशुपति पेन्ट्सका प्रबन्धक शैलेस सिटौला नेपालीहरू विदेशिने क्रमसँगै रेमिट्यान्स र रंगप्रतिको सचेतता बढेका कारण पेन्ट्स बजार माथि जाने बताउँछन्।

कन्साई नेरोल्याकले अहिले नै करीब ८०० डिलरमार्फत देशभरि आफ्नो उत्पादन बिक्री गरिरहेको छ। गुणस्तरीय र वातावरण सुहाउँदो रंग उत्पादन गरिरहेको नेरोल्याक प्राविधिक रूपमा अग्रणी भएको कम्पनीका नेपाल प्रमुख सत्य प्रकाशको दाबी छ। सन् १९८५ देखि नेपालमा उत्पादन थालेको अर्को बहुराष्ट्रिय कम्पनी एशियन पेन्ट्सले देशका सबै शहरमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ। एशियनले घरको आन्तरिक र बाह्य, फलाम–टायलमा प्रयोग हुने, पानी छिर्नबाट जोगाउने, विशेष प्रभाव सिर्जना गर्ने लगायतका दर्जनौं रंग उत्पादन र बिक्री गरिरहेको छ। अर्को प्रमुख उत्पादक बर्जरले विभिन्न सेग्मेन्टमा २० भन्दा बढी डेकोरेटिभ पेन्ट्स उत्पादन र बिक्री गरिरहेको छ। यसले बाह्य सेग्मेन्ट अन्तर्गत सातवर्षे वारेन्टी सहितका उत्पादन, आन्तरिक सेग्मेन्टमा गन्धरहित र काठ, फलाम आदिमा प्रयोग हुने पेन्ट्स ८०० भन्दा बढी डिलर नेटवर्कमार्फत बिक्री गर्दै आएको छ।

स्वदेशी उत्पादक रिलायन्सले १२ वर्षदेखि डेकोरेटिभ र इण्डस्ट्रियल पेन्ट्स उत्पादन गरिरहेको छ। कम्पनीले देशभर सयौं डिलरमार्फत अनेकौं थरीका रंग बिक्री गरिरहेको छ। कम मूल्यमा अनेकौं श्रेणीका गुणस्तरीय रंग बिक्री गरिरहेको कम्पनीको दाबी छ। नेपालकै पहिलो पशुपति पेन्ट्सले घरको आन्तरिक र बाह्य प्रयोगमा आउने पेन्ट्स, इनामेलसँगै औद्योगिक प्रायोजनका गुणस्तरीय रंगहरू उत्पादन गरिरहेको जनाएको छ। तीन दशक पुरानो पशुपति पेन्ट्सले विभिन्न श्रेणीका रंगहरू डिलरमार्फत देशैभर बिक्री गर्छ।

गुणस्तरहीन पनि

नेपाली बजारमा विभिन्न खाले विदेशी पेन्ट्स पनि उपलब्ध छन्। एशियन पेन्ट्सका शंकर बन्जाडे भने विदेशबाट आउने पेन्ट्स सस्तो भए पनि कम गुणस्तरको देखिएको बताउँछन्। उनका अनुसार, सरकारी नीतिका केही कमजोरीको फाइदा उठाउँदै त्यस्ता पेन्ट्स आयात भइरहेका छन्। रिलायन्स पेन्ट्सका प्रबन्ध निर्देशक महावीर बहेती खुल्ला सिमानाको कारण भारतबाट रंगको चोरी पैठारी हुनु, उत्पादकहरूले कारोबार कम देखाएर विना बिल व्यापार गर्नु, अमेरिका र थाइल्याण्डबाट अवधि सकिएका गुणस्तरहीन उत्पादन भित्रिनु र तयार रंगमा कच्चा पदार्थको भन्दा बढी आयात भन्सार दर हुनु जस्ता कारणले नेपाली पेन्ट्स उद्योगले अपेक्षित विस्तार नपाएको बताउँछन्। बहेती भन्छन्, “तयारी वालपुट्टीको आयातमा १० प्रतिशत र यसको कच्चा पदार्थको आयातमा ३० प्रतिशत भन्सार दरले नेपाल सरकारको अदूरदर्शिता झ्ल्काउँछ।”

पशुपति पेन्ट्सका प्रबन्धक सिटौला नेपाल सरकारले भारतीय टेलिभिजनमा आउने पेन्ट्सका विज्ञापन रोक्नुपर्ने बताउँछन्।

त्यसो त रंगमा कतिसम्म लीड प्रयोग गर्न मिल्ने भन्ने मापदण्ड पनि बनेको छैन। पेन्ट्स उत्पादकहरू भने आफ्ना उत्पादनहरू लीड मुक्त र वातावरण सुहाउँदो भएको दाबी गर्छन्। कन्साईका सत्य प्रकाश भन्छन्, “नेपालमा वातावरणमैत्री पेन्ट्स स्थापित गर्ने हामी नै हौं।”

comments powered by Disqus

रमझम